Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मेलबर्नमा स्थानीय चुनावको रन्को : नेपालीविरुद्ध नेपाली नै‍ उम्मेदवार, भोट नहाले जरिवाना

Posted on October 21, 2016October 22, 2016 by Salokya

raju-shakya-parsuram
अस्ट्रेलियामा नेपालीहरु बसोबास गर्ने राज्यहरुमध्ये दोस्रो नम्बरमा पर्छ भिक्टोरिया। यसैको राजधानी मेलबर्नको मोरल्यान्ड सिटी काउन्सिलका ११ सदस्य छान्न आज शनिबार स्थानीय समय अनुसार बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुँदैछ। निर्वाचनमा तीन जना नेपाली मूलका उम्मेदवार पनि छन्। अस्ट्रेलियाको चुनावमा नेपाली मूलका उम्मेदवार बनेको यो पहिलो अवसर हो। त्यसैले यस पटकको यहाँको स्थानीय निर्वाचन नेपालीहरुलाई चासोको विषय बनेको छ। अझ चर्को प्रतिस्पर्धा त चार जना सदस्य छान्नु पर्ने North-West Ward मा दुई जना नेपालीको उम्मेदवारीले भएको छ। एक जना नेपाली हुन् भने एक जना नेपाली मूलका भुटानी। नेपाली Vs नेपालीको प्रतिस्पर्धाले नेपाली-नेपालीबीच वादविवादको प्रत्यक्षदर्शी पनि हामी भयौँ।

चुनाव प्रचार
यो महिनाको सुरुमा मेलबर्नमा पाइला टेक्दा निद्राले सताइरहेको थियो। शनिबार रातभर नसुती सिडनीको नाइट लाइफको प्रत्यक्षदर्शी बनेका हामी बिहान सबेरैको फ्लाइट समात्न एयरपोर्ट कुदिहाल्नुपर्ने थियो। आइतबार बिहान बुद्धिसागर र मेरो अन्तर्क्रिया थियो कोबर्ग लाइब्रेरीको हलमा। त्यसको संयोजन पेशल लुइँटेललेे गरेका थिए। दीपेन्द्रले हामीलाई आफ्नो गाडीमा एयरपोर्टबाट पेशलको निवाससम्म लग्ने क्रममा बाटो छेउछाउका धेरै घरमा प्लेकार्ड ठडिएको देख्यौँ। खासमा यो स्थानीय चुनावको प्रचार रहेछ। अक्टोबरको अन्तिम साता हुन लागेको मोरल्यान्ड सिटी काउन्सिल चुनावको रन्को लागेको रहेछ यहाँ।

केको चुनाव?
morelandsummary चुनाव मोरल्यान्ड सिटी काउन्सिलका ११ काउन्सिलरको हो। यो सिटी काउन्सिलमा तीन वटा वडा छन्। दुई वटा वडाबाट चार-चार जना काउन्सिलर चुनिन्छन् भने एउटा वडाबाट तीन जना। चुनिएका काउन्सिलरहरुले आफू आफूबाट एक जना मेयर र एक जना डेपुटी मेयर चुन्छन्। North-West Ward मा Gowanbrae, Glenroy, Hadfield, Oak Park, Pascoe Vale र Pascoe Vale South रहेका छन्। यो वार्डमा दुई जना नेपाली उम्मेदवार छन्। North-East Ward मा Fawkner, Coburg North र Coburg रहेको छ। त्यस्तै South Ward मा Brunswick का अधिकांश भाग, Brunswick West र Brunswick East रहेका छन्। यो वार्डमा एक जना नेपाली उम्मेदवार छन्।

राजु शाक्यको प्रचार सामाग्री। फोटो: उनकै फेसबुक
राजु शाक्यको प्रचार सामाग्री। फोटो: उनकै फेसबुक

नेपाली Vs भुटानी
‘मूल’ एउटै हो नेपाली। तर पहिलेदेखि आएका नेपालका नेपाली र भुटानबाट लखेटिएपछि नेपालमा शरण लिई बसेकाहरुलाई शरणार्थी शिविरबाट पुनर्स्थापनका लागि ल्याइएका ‘नेपाली’ बीच खाडल रहेछ। परशुराम शर्मा लुइँटेल भुटानी नेपाली हुन्। दुई वर्ष अघि उनी न्यु अस्ट्रेलियन अफ दि इयर अवार्डबाट विभुषषित भएका थिए। हाल भिक्टोरिया पुलिसमा multicultural liaison officer का रुपमा कार्यरत उनी पढ्नलाई अस्ट्रेलिया आएका थिए, पछि भुटानबाट आफ्नो परिवारलाई धपाइयो भन्दै प्रोटेक्सन अप्लाइ गरेर मेलबर्नमा बसेका थिए। नेपाली समुदायमाझ उनले विभाजनकारी भूमिका खेलेको आरोप उनका आलोचकहरु लगाउँछन्। परशुले उम्मेदवारी दिने घोषणा धेरै अघि गरेका थिए। त्यसको धेरै पछि अर्का नेपाली राजु शाक्यले पनि उम्मेदवारी दिए। यसले नेपाली Vs भुटानी नेपालीको स्थिति देखा पर्‍यो। परशुका समर्थकहरु परशुलाई हराउन राजु शाक्य उठेको आरोप लगाउँछन्। राजु धेरै पहिले नै अस्ट्रेलियामा सेटल भएका नेपाली हुन्। उनी मेलबर्नमा नेपाली कार्यक्रम गरिरहने स‍ंस्था सोल्याङ्गचरका क्रियटिभ डाइरेक्टर पनि हुन्।

राजु शाक्य Vs परशुराम
मेलबर्न बसाइका क्रममा राजु शाक्यका समर्थक Vs परशुरामका समर्थकहरुको दोहोरी हेर्न निकै रमाइलो भयो। नेपालमा स्थानीय निकायको चुनाव नभएको जुग भइसक्यो। तर यहाँ विदेशमा नेपालीहरु विदेशी स्थानीय चुनावमा उम्मेदवार भई समर्थन र विरोधमा दोहोरी चलाइरहेका रहेछन्।

पेशल लुइँटेल र गुणराज लुइँटेल दुवै ‘लुइँटेल’ थिए। गाउँले पनि। तर एक जना लुइँटेल उम्मेदवारका समर्थक थिए भने अर्का विरोधी। डिनरमा उनीहरुबीच झगडा स्टाइलको वादविवाद र चर्काचर्कीको हामी प्रत्यक्षदर्शी भयौँ। त्यो ठाउँका अनेकौँ घरका आँगनमा झैँ आफ्नो आँगनमा गुणराजले परशुरामको प्रचारको प्लेकार्ड गाडेका थिए। त्यतिबेला राजु शाक्यको प्लेकार्ड भने हामीले कतै देखेनौँ।

परशुरामका समर्थक। फोटो: उनकै फेसबुक
परशुरामका समर्थक। फोटो: उनकै फेसबुक

लुइँटेल कि लुइटाल
परशुरामलाई नेपाली भाषा पनि पढ्न पनि आउँदैन भनेर उनका विरोधीहरु भन्दा रहेछन्। उनको थरको पनि रमाइलो प्रसङ्ग रहेछ। उनले आफ्नो नाम अङ्ग्रेजीमा Parsuram Sharma-Luital लेख्ने गर्छन्। उनका एक विरोधीले सुनाए- एक पटक एउटा पत्रिकाले उनको थर Luitel लेखेर छापिदिएछ। त्यसको प्रतिक्रिया परशुरामले- ‘के हो भिक्टोरियामा बस्ने मन छैन?’ भनेर धम्क्याएर दिए रे।

दुवै जित्दैनन्!
त्यहाँको स्थिति हेर्दा दुवै नेपाली उम्मेदवार जित्ने स्थितिमा देखिँदैनन्। भोट हाल्न अस्ट्रेलियाली नागरिक नै हुनुपर्ने जरुरी छैन। पिआर भएर घर पनि भएर मतदाता नामावलीमा दर्ता गरेको भए मात्र भोट हाल्न पाइन्छ। लगभग ७/८ सय नेपालीको भोट रहेकोमा २/३ सय जनाले मात्र भोट दिन पाउने गरी दर्ता भएका छन्। चार जना निर्वाचित हुने त्यो वार्डमा १४ जना उम्मेदवार छन्। मतदाताले प्राथमिकता अनुसार हरेक उम्मेदवारलाई १, २, ३ गरी भोट दिनुपर्ने हुन्छ। नेपालीको यसै त भोट कम, त्यसमाथि नेपाली – नेपालीबीच नै प्रतिस्पर्धा भएकोले दुवै हार्ने स्थिति देखिन्छ।

डिनर वादविवादमा उठेको एउटा व्यङ्ग्य यस्तो पनि थियो- ‘परशुरामले हारे भने नेपालीले भोट नदिएर हारेको भन्नेछन्। जित्यो भने चाहिँ नेपालीहरुको भोटले जितेको हो र, अरु कम्युनिटीले भोट दिएकोले पो जितेको भन्नेछन्।’

साउथ वार्डको ३ जना सदस्य चुनिने ठाउँमा उम्मेदवार भएका विजय भुषालको बारेमा भने त्यति चर्चा भएको मैले पाइनँ। हुनत त्यो ठाउँमा बस्ने नेपालीहरुसँग भेटघाट नभएकोले पनि होला। त्यहाँका १३ उम्मेदवार मध्ये विजय एक्ला नेपाली हुन्। उनलाई नेपाली बाहेक पाकिस्तानी लगायतका समुदायको पनि समर्थन रहेको भनिन्छ। तर भारतीयहरु बलियो भएको ठाउँमा पाकिस्तानी सहयोगले नेपालीको विजय होला त? परिणाम हेर्न बाँकी छ।

भोट नहाले जरिवाना
खासमा यताका वासिन्दालाई स्थानीय चुनावको चासो नहुने रहेछ। त्यसैले अनिवार्य मतदानको कानुन बनाइएको छ। मतदाता सूचीमा नाम भएर पनि भोट हाल्न नगएमा जरिवाना तिर्नुपर्ने रहेछ।

जरिवानाको प्रसङ्ग चाहिँ अनौठो लाग्यो मलाई। हामीकहाँतिर कहिले पनि प्रचलनमा नआएको। कति तिर्नुपर्ने रहेछ त जरिवाना? चासो लागेर त्यहाँको निर्वाचन आयोगमा बुझ्दा थाहा भयो, जरिवाना ७८ डलर रहेछ। भोट हाल्न नगए सुरुमा किन भोट नहालेको स्पष्टीकरण देऊ भनेर पत्र आउने रहेछ। ७० वर्ष पुगेको मतदाता रहेछ भने चाहिँ माफ गरिदिने रहेछन्।

स्पष्टीकरण चित्तबुझ्दो नभए जरिवाना तिर्न पत्र आउने रहेछ। ४२ दिनभित्र जरिवाना नतिरे पेनाल्टी रिमाइन्डर नोटिस आउने रहेछ त्यसले थप ४२ दिनको समय दिने रहेछ। जरिवाना रकम भने बढ्दै जाने रहेछ। अझै पनि जरिवाना रकम नतिरे अदालत ( Infringements Court) मा विवरण पठाइन्छ र अदालतले नोटिसलाई आदेशका रुपमा परिणत गर्छ। त्यसपछि नतिरी सुखै भएन। त्यतिसम्म जाँदा तिर्नुपर्ने रकम झन् बढी भइसक्छ।

एक नम्बरको फाइदा
यसरी अनिवार्य मतदान हुने भएकोले मतपत्रमा एक नम्बरमा रहेका राजु शाक्यलाई North-West Ward मा फाइदा हुनसक्ने पनि अनुमान यताकाहरुले गर्ने रहेछन्। मतपत्रमा यस्तो हुने रहेछ सूची

North-West Ward (4 vacancies)
Name
SHAKYA, Raju
O’BRIEN, Mark
KAVANAGH, John
MULIPOLA, Alesio
MINEHAN, Shaun
YILDIZ, Oscar
PRYOR, Alice Judith
ASTUTO, Tony
SHARMA LUITAL, Parsu
ELMUSTAPHA, Mohamad
DAVIDSON, Helen
NELSON, Sian
EL-HALABI, Milad
MARTIN, Dale

कुन उम्मेदवारको नाम कहाँ रहने भनेर चाहिँ गोलाप्रथा हुने रहेछ। मतदाताले प्राथमिकता अनुसार हरेक उम्मेदवारलाई १, २, ३ भनेर १४ नम्बरसम्मै दिनुपर्ने हुन्छ। राजनीतिमा खास चासो नभएका र जरिवाना जोगाउन भोट मात्र दिन जानेहरुले माथिदेखि नै १, २, ३ गर्दै नम्बर दियो भने राजु शाक्यलाई फाइदा हुने तर्क रहेछ।
14670751_1115801241788983_5727754485245691622_n
14606364_10210779753595463_739069084678467629_n

साउथ वार्डको तीन सदस्य चुनिने ठाउँमा भने विजय भुसालको नाम तेस्रो नम्बरमा छ।

South Ward (3 vacancies)
Name
PASTOORS, Ray
HANSEN, Chris
BHUSAL, Vijay
O’BRIEN, Dave
TAPINOS, Lambros
O’CALLAGHAN, Dean Norman
CAPUTO, Joe
DORNEY, Jess
SMITH, Kelly Maree
RATNAM, Samantha
YUAN, Melissa
RILEY, Mark
HOPPER, Meghan

14702352_10154389155755935_5657777915893023298_n

मतगणनाको प्रोभिजनल परिणाम आगामी शनिबारदेखि आइतबारका बीच आउनेछ।

1 thought on “मेलबर्नमा स्थानीय चुनावको रन्को : नेपालीविरुद्ध नेपाली नै‍ उम्मेदवार, भोट नहाले जरिवाना”

  1. Ram Babu Shrestha says:
    October 22, 2016 at 11:18 am

    नेपाली िबरुद्ध नेपाली नै लागेर नेपालीपन प्रदर्शन गरेको होला । आखिर नेपालीहरु जहाँ गए पनि नेपालीपन ज्यूंका त्यूं रहने रहेछ । यो मन त मेरो नेपाली हो ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme