Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘क्यामेरा हराएको मान्छे’ भएपछि सिड्नीमा सिकियो महँगो ज्ञान

Posted on September 26, 2016October 17, 2016 by Salokya

sal_0115
सिड्नीमा आइतबार मध्यरात हुनुअघि रेलमा क्यामेरा छुट्दा लागेको थियो- त्यत्रा सिसिटिभी क्यामेरा जडान हुन्छन् रेलभित्र-बाहिर। देख्ला भनेर कसैले उठाएर नलैजालान्। रिभ्सबीको त्यो स्टेसनमा हामी झर्दा त्यो डिब्बा र वरपरका पनि कोही थिएनन्। क्यामेरा रेलभित्रै छ भनेर थाहा पाउँदा रेल गुडिसकेको थियो। रेल गुडेको केही समयमै हामीले सिड्नी ट्रेनमा मोबाइलबाट रिपोर्ट गरिसकेका थियौँ। यहाँबाट यहाँ जाने, प्लेटफर्म नम्बर यो, यति बजे छुटेको, माथिल्लो तल्ला, बीचको डब्बा- सब विवरण। तर अहँ, भेटिएन क्यामेरा। बरु काठमाडौँको एयरपोर्टमा हराएको भए भेटिन्थ्यो होला, यहाँ त भेटिएला जस्तो लागेन। हराएको रातसम्म भेटिहाल्ला नि जस्तो लागेको थियो, तर १२ घण्टा नपुग्दै भेटिन गाह्रो भएको टुङ्गोमा पुगियो।

पुलिस रिपोर्ट
अस्ट्रेलियाको ‘कान्तिपुर’का रुपमा परिचित ‘नेपालीपत्र’का सम्पादक ऋषि आचार्यले सिड्नी ट्रेनको एउटा स्टेसन म्यानेजमेन्ट गर्ने नेपालीसित सोधखोज गर्दा रेलभित्रको यस्तो घटनामा सिसिक्यामेरा सामान्यतया नहेर्ने भनेर बुझियो। किनभने यहाँ कुनै अपराध भएको थिएन। हेरेकै भए पनि त्यसको अनुहार पत्ता लगाएर, ट्र्याक गरेर खर्चिलो अनुसन्धान किन गर्नु!

कुनै इमान्दारले भेट्टाएर पुलिस वा सिडनी ट्रेनको लस्ट एन्ड फाउन्डमा लगेर दिएको भए चाहिँ भेटिन सक्छ भन्ने आशा रहेछ। उनले लस्ट एन्ड फाउन्डमा सोमबार साँझसम्मको रिपोर्ट हेर्दा त्यसमा क्यामेरा कसैले बुझाएको देखिएन।

प्रहरीमा रिपोर्ट गर्दा पनि प्रहरीले खासै गम्भीर रुपमा यसलाई नलिने धेरैले भने। किनभने सामान्यतया यहाँका सामानहरुमा इन्स्योरेन्स हुने रहेछ। पुलिसमा रिपोर्ट गरेपछि इन्स्योरेन्स क्लेम हुन्छ अनि सोधभर्ना भइहाल्छ नि भन्ने मान्यता यहाँ हुने रहेछ। कसैले सामान छाडेको अनि कसैले उठाएको घटना ‘क्राइम’ नभएकोले हजार डलरको सामानको लागि प्रहरीले आफ्नो स्रोतसाधन खर्च नगर्ने प्रवृत्ति हुँदो रहेछ।

मैले क्यामेरा हराएकोबारे लेख्दा फेसबुकमा तत्काल मेलबर्नमा रहेका व्यवसायिक फोटोग्राफर साथी प्रकाश केसीले आफ्नो अनुभव सुनाउँदै अब पाइन्न भनेका थिए। त्यतिबेला हैट यस्तो त हुन्न होला, पाइने केही आशा त छ नि जस्तो लागेको थियो। त्यो आशा सकिएपछि आज उनीसित लामो कुरा भयो। उनको पनि आइफोन हराएको रहेछ। आफू सँधै आउने जाने गरेको ट्याक्सी मै छुट्दा पनि र चिनेकै ट्याक्सी ड्राइभर हुँदा पनि आइफोन भेटिएनछ। ड्राइभरले मैले देखिनँ भनिदिएछ।

यहीँ रहेर डिपिए न्युज एजेन्सीका लागि कार्यरत सुवेलले पनि आइभिएलपीमा पहिलो पटक अमेरिका जाँदा पार्कमा क्यामेरा छुटेको केही मिनेटमै फर्केर जाँदा क्यामेरा गायब भएको प्रसंग फोनमा सुनाए। मन्डला कन्सलटेन्सीका सञ्जीव पाण्डेले सिसिटिभी मुनि नै साइकल पार्क गरेर फर्कँदा दुई पटक साइकल हराएको सुनाए।

तर पनि मनले मानेन र ऋषिकै सहयोगमा पासपोर्ट र भिसा कागजातसहित यहाँको प्रहरीमा रिपोर्ट गरियो। रिपोर्ट स्वीकार गरिएको कन्फरमेसन पनि इमेलमा आयो। तर अस्ट्रेलियन पुलिसले सरकारी प्रक्रिया अघि बढाएर, एक विदेशीको जाबो एउटा हजार डलर पर्ने क्यामेराको लागि स्रोत साधन खर्च गर्ने काम चाहिँ असम्भव नै हुन्छ है भन्ने ज्ञान पनि यहाँका जानकारले सुनाए। रेल यात्रामा साह्रै अलर्ट हुनुपर्ने रहेछ- साह्रै महँगो ज्ञान पाइयो। दिनभर र यतिबेला बिहानको सवा २ बज्दा यी अक्षरहरु टाइप गरिरहँदा पनि यसैले तनाव दिइरहेको छ।
lost
कस्तो संयोग!
सिड्नीका लागि उड्दै गर्दा काठमाडौँ विमानस्थलमा निकोन क्यामेरा कसैको हराएको भए लिन आउनू भनेर अनाउन्समेन्ट भएको सुनिएको थियो। आफूले पनि के के न राम्रो फोटो खिचौँला भन्दै आफ्नो पुरानो क्याननको क्यामेरा नबोकी पहिलोपोस्टको कार्यालय प्रयोजनको निकोन डी ७२०० क्यामेरा बोकेको थिएँ।

निकोन क्यामेरा कसले छोडेछ रे एयरपोर्टको सेक्युरिटी चेकमा। अनाउन्समेन्ट हुँदैछ। एयरपोर्टमा सबै बेइमानमात्र छैनन् है ।

— salokya (@salokya) September 20, 2016

त्यो अनाउन्समेन्ट हुँदा पनि कतै मैले मेरैे क्यामेरा त छाडिनँ जस्तो भइरहेको थियो। किन हो कुन्नि। तर ब्यागै खोलेर चाहिँ हेरिएन।

यता सिड्नीमा आफ्नै क्यामेरा हराउनु रहेछ र पो।

आइतबार सिड्नीको Kogaraha School of Arts को भरिएको हलमा छोटो स्लाइडसहितको प्रस्तुति र त्यसपछि सञ्जीव पान्डेसितको अन्तर्क्रिया सोचे भन्दा रमाइलो भएको थियो। नेपालमा हुँदा उतैको कामको चटारो विमानस्थल छोड्दासम्म थियो। हतार हतारमा स्लाइड बनाएको थिएँ। कार्यक्रम सुरु हुने समय भइसक्दा पनि स्लाइड बनाउने काम जारी थियो। सुरुमा त मलाई पहिलो पटक यसरी सार्वजनिक रुपमा बोल्दा अलमलिन्छु कि जस्तो भएको थियो। तर त्यस्तो भएन। दर्शकसँगको प्रश्न उत्तर पनि रमाइलो भयो। निष्प्रभ सजी र बुद्धिसागरसितको अन्तर्क्रियामा पनि उपस्थितहरुको प्रश्नले साहित्यप्रति गम्भीर दर्शकहरुको उपस्थिति रहेको बुझिन्थ्यो। आयोजकहरुले सिड्नीमा नेपाली समुदायको यति सफल कार्यक्रम विरलै हुन्छ भने। रमाइलै भइरहेको थियो।


चार/साढे चार बजेतिर कार्यक्रम सकाएर साँझ चाहिँ सिटी घुम्ने योजनासहित बुद्धिसागर र म आयोजकहरु नेपालीपत्रका सम्पादक ऋषि आचार्य, डार्लिङ हार्बरका लेखक निष्प्रभ सजी, मन्डला कन्सलटेन्सीका सन्जीव पाण्डेसित निस्केका थियौँ। केही फोटो खिचेको थिएँ रातको सिड्नी सिटीका। हामी सिडनीको नाइट लाइफ हेर्न चाहन्थ्यौँ तर नेपाली रेस्टुरेन्टको नेपाली परिकारमा सीमित भएर फर्किने तर्खर भयो।

बाटैमा ट्राफिक लाइटको खम्बामाथि गमला राखिएको, सहरको बीचमा युनिभर्सिटी आदि फोटो खिच्दै थिएँ (जुन क्यामेरासँगै अब हरायो)। एउटा कलेज अगाडि उभिएर एक विदेशी युवतीलाई त्यही क्यामेराबाट ग्रुप फोटो क्लिक पनि गर्न लगाएको थिएँ। मुख्य रेल स्टेसन सेन्ट्रलमा हिँड्दै गर्दा पनि फोटो खिचेकोसम्म मलाई याद छ। त्यसपछि एकै पटक रेलबाट झरिसकेपछि क्यामेरा याद आयो।

१२ बजिसकेको थिएन तर साथीहरु निद्राले झ्याप्प थिए। ऋषि आचार्य र म निदाइरहेका बुद्धिसागर र निष्प्रभ सजीको फोटो खिचेर जिस्कँदै थियौँ। बेभर्ली हिल स्टेसनमा ऋषि झर्नुभयो। त्यसपछि बाँकी रह्यौँ बुद्धिसागर, निष्प्रभ सजी र म। एप्स हेरेर कुन ठाउँमा कति बजे झर्ने भनेर तयार थिएँ म। रिभर्सबीमा पुगेपछि त्यहाँ केही समयमात्र रेल रोकिने भएकोले ओर्लनै हतार भयो।

निष्प्रभजीले केही चिज त छुटेन नि भन्दा क्यामेरा छुटेको हो कि भन्ने भयो। यो कन्फ्युजन भइसकेपछि म दौडेर रेलभित्र गइहाल्नु पर्थ्यो। बरु रेल गुडिहालेर झर्न नसकेको भए अर्को स्टेसनमा झर्नु हुन्थ्यो। तर म ब्याग खोतल्न तिर लागेँ। यो ब्याग पनि मैले क्यामेरा राख्नुपर्छ भनेरै बोकेको थिएँ,ब्याग नबोकी क्यामेरामात्र यत्तिकै बोक्दा हराउन सक्छ भनेर। तर हराउनु रहेछ, के जोगिन्थ्यो! बरु ब्यागसहितै हराएको भए पाउने सम्भावना हुन्थ्यो कि। तर त्यो पनि ‘कि’को कुरामात्रै भयो। ब्याग हराएको भए त झन् पासपोर्टसम्म त्यसमै थियो।

मलाई मैले आफ्नै क्याननको क्यामेरा ल्याएर हराएको भए पनि यति तनाव हुने थिएन होला। किनभने त्यो निकै पुरानो भइसकेको थियो। मुस्ताङ जाँदा बिग्रेको लेन्सको लक महिनौँ लगाएर बनाएर यता उड्ने दिन नै विकास कार्कीको हातबाट लिएर आएको थिएँ। यतै हराउनु रहेछ र पो।

बुद्धिसागर मलाई उकास्दै छन्- चिन्ता नगर्नुस् अब ‘क्यामेरा हराएको मान्छे’ शीर्षकमा किताब लेख्नुस्। किताब त हैन ब्लग लेखेँ। मैले सिकेको पाठ कसैलाई काम पो लाग्छ कि।
sal_0344

17 thoughts on “‘क्यामेरा हराएको मान्छे’ भएपछि सिड्नीमा सिकियो महँगो ज्ञान”

  1. sumangurung says:
    October 6, 2016 at 5:45 am

    क्यामेरा किन्न नसकेर एउटा सपना जस्तो मानेका खैरे हरु भेट्टाए कहा दिन्छन. मेरो भर्खर किनेको आइफोन चोरिदा पनि सारै दुख लागेको थियो धन्न मेरो इन्सुरेन्स थियो. कुइरे हरु खास मा धेरै गरिब हुन्छन. मन र धन दुवै को. जति गरिब भएपनि चुरोट र बियर नभई नहुने, काम गरेको तलब ले कोठा भाडा र डान्स गयो क्यामेरा किन्ने सपना बोकेर हिद्छान अनि.

    Reply
  2. dor prasad says:
    October 3, 2016 at 10:48 pm

    स्मार्ट फोन लै ट्रयाक गर्न सकिन्छ – अमेरिकन पुलिश ले मेरो साथीको येयेर पोर्ट मा हरायको फोन फेला परेर र राख्ने / चोरने लै मुध्हा चलाउने कि भनेर सोध्यो – साथी माफ गरयि दियो – चोर साना केटा केटि रहेछन – एक चोटी चोरि मा पर्दा फेरि जागिर नै जान्छ |

    तपाई को केमेरा को सेरिअल नम्बर दिनु भो त पुलिश लै ! स्मार्ट कमेर हो जिपियेस को मद्धत ले पत्ता लगाउन सकिन्छ सजिलै ! सुभकामना !

    Reply
  3. Harke says:
    October 2, 2016 at 1:23 pm

    सालोक्य ज्यु तपाईंको क्यामेरा अब इन्डियन रेस्टोरेन्ट को किचन तिर भाडा माझ्दै होला किन कि त्यो हराएको होइन लुकेको हुनु पर्छ , हाम्रा “होनहार” खेलाडि हरु जापान कोरिया मा लुकेको जस्तै ।

    Reply
  4. Basant says:
    September 30, 2016 at 7:58 am

    १०/१५ हजार को लोभ ले हामी नेपाली कतै लामो यात्रा गर्दा इन्सुरेन्स लाई खासै महत्व दियेको पाइदैन जब घटना घट्छ फ्री मा सुबिधाको अपेक्छा गर्छौ बिकसित देश हरुमा धेरै जसो इन्सुरेन्स ले कबर गरेको हुन्छ ट्रावल इन्सुरेन्स गरेर लामो यात्रा गर्दा नसोचेको घटना बाट जोगिन सकिन्छ

    Reply
  5. bikalpa says:
    September 29, 2016 at 11:54 pm

    मैले पनि अमेरिका मा तीन पटक पर्स ( पैसा सहित ) हराएर भेटाएको छु ! जे होस् बिकसित मुलुकमा इमान्दारिता अलि बढिनै हुन्छ I तेस्को मतलब सबै धर्मराज युधिस्तिर नै हुन्छन भन्ने चाही पटक्कै होइन I

    Reply
  6. Rohini says:
    September 29, 2016 at 12:14 pm

    एक चोटी म उतै सिड्नी मै हुँदा खेरी काममा हतारमा जाँदा ट्याक्सीमा आइफोन छुटेछ | फोन गरेको द्रैभाराले उसको फुर्सद टाइम मिलाएर workplace मै पुर्याउन ल्यायो, मैले चाहिं त्यो वापत ट्याक्सी भाडा तिरें |

    Reply
  7. प्रविण says:
    September 28, 2016 at 12:05 pm

    अनि सालोक्यजी अष्ट्रेलियाबाट अर्को नयाँ क्यामेरा किनेर ल्याउनु भएन ?

    Reply
  8. Bibek says:
    September 28, 2016 at 11:58 am

    सायद सिड्नी सहरले तपाइको ब्लगमा प्राय अस्ट्रेलिया को बारेमा नराम्रो कुराहरु मात्र प्रचार गरिन्छ भनेर थाहा पाएर एकपटक अनुभब दिम न त भनेर तेसो भएको हुन सक्छ,

    Reply
  9. Shankar says:
    September 28, 2016 at 10:37 am

    येस्तै हो , हुनेको हराउछ | आफु सग त् छैन , हराउदैन पनि |
    आफुलाई चोट परेको बेला येसो भन्यो भनेर दुख चै न मान्नु होला |
    सानो तिनो चिज हराउदा दुख लागे , ज्ञानेन्द्रलाई सम्झनुस | राजगद्दी , राज पाठ हराउदा कति चोट लागेर बसेको होलान नागार्जुन मा ?
    तरसुख दुख सोचाइ मा भर पर्ने कुरा हुन्

    Reply
  10. Ashok says:
    September 28, 2016 at 1:04 am

    अत्यन्तै दुख लाग्यो तपाइँको क्यामेरा हराएको सुनेर | हराएको समान बिरलै भेट्टिन्छ | यसमा भाग्य नै हो भन्नु पर्छ | मैले नेदरल्यान्ड्स मा ट्याक्सी मा छाडेको फोन म बसेको होटेलमा नै पुर्याउन आएको ड्राइवर सम्झिन्छु, पैसो दिन खोज्दा ट्याक्सी को खर्च मात्र लियो | बेलायात मा मेरो ल्याप्टप ब्याग बस मै बिर्सेको बेला, बस नम्बर लिएर खोज्दै जाँदा भेट्टियो [नेपाल जान एयरपोर्ट जादा पासपोर्ट समेत त्यहि ब्याग मा थियो] | नेपाल मै म मेरो गल स्टोन अपेरसन गर्न २५ हज्जार बोकेर गएको म [बिराटनगर बाट] चकलेट किन्दा पसल मा पर्स भुलेर त्यतिक्कै बिराटनगर फर्किएको छु | अनि यस्तै घटना अरु केहि भएका छन्, जसबाट मैले के जाने भने देश र स्थान ले केहि फरक पार्ला, तर हराएको समान भेट्टिनु एक सन्जोग मात्र हुने रहेछ | मलाइ तपाइको ब्लग मन पर्छ, धेरै बर्ष भयो यसलाई फलो गरेको | अब यौटा क्यामेरा फेरी किन्नु पर्ला | सम्झिनु हुन्छ, तपाइले मलाइ जिमेल इनबक्स को इन्भिटेसन पठाएको ? धन्यबाद फेरी पनि |

    Reply
  11. सिर्जने says:
    September 27, 2016 at 9:55 pm

    क्यामेरा भेट्यो त पासा?

    Reply
  12. Bishwamitraa says:
    September 27, 2016 at 3:12 pm

    Aba kahi katai bata TRAVEL INSURANCE bhanni gareko bhaya tyatai claim garne…hoina bhane Samjhana Birsana Salalala……Time bhaya Sydney Bata Yaso bahira niskera…Australia ko FARMING herni ki… .. Halka KRISHI patrakaarita pani jamaidinu paryo…

    Reply
  13. Pradeep says:
    September 27, 2016 at 1:40 pm

    म कतारमा छु, गत मे महिनामा मैले नेपाल पठाउन लागेको ने रु छ लाख (६०००००) अल खोर को exchange को अगाडी खसालेछु, ४० सेकेन्ड पैसा बेपत्ता | पुलिसलाई रिपोर्ट गरें | कतारको पुलिस ले के गर्लान र जस्तो लागेको थियो, ४ दिनमा समातेरै छोडे | ने रु १५,००० जति खर्च गरिसकेको रहेछ त्यो पनि कतार सरकारले थपेर दियो | हराएको ४ दिनमा मैले आफ्नो पुरै पैसा पाएँ | यहाँको कानुन व्यवस्था प्रति विश्वास जाग्यो |

    Reply
  14. Ang Dawa Jangbu Sherpa says:
    September 27, 2016 at 7:21 am

    सालोक्य जि !

    अप्रिय घटनाको लागी साहनुभूती प्रकट गर्दै, “क्यामेरा पाउँदाको खुशी ” शिर्षक ब्लग पढ्न पाउने आशा राख्दछु ।

    आङ दावा जाङबु शेर्पा
    पर्थ

    Reply
  15. sushil says:
    September 27, 2016 at 6:29 am

    तेस्तै हो हजुर, अमेरिकनको क्यामरा भए देखि कुकुर लगाएर खोज्थे होलान, हरियो पासपोर्ट बोक्नेहरुलाई जताततै हेप्छन.
    जे होस् कतिपय नेपालीहरु भन्दा भाग्यमानी क्यामरा रैछ, अस्ट्रेलियामा हराउन पायो…

    Reply
  16. nepali hridaya says:
    September 27, 2016 at 2:14 am

    saalokya ji ,

    dukha laagyo, camera harayeko thaha pauda.

    yestai ho, harai ta sakyo aba ke garne ta bhanera chitta bujhaunu bahek aru bikalpa maile dekhina. asa garau, kuani imandaar le bhettayera puna firta paiyos, bharosa garau aba feri camera bokda ajha dherai sachet hunuhos.

    Reply
  17. jitu says:
    September 26, 2016 at 11:58 pm

    garo parechha ta Salokya ji, hope you will find it.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme