-राजु आचार्य-
‘दिदी तपाईँको माइत कता हो’ मैल सोधेँ।
‘बझांगको, कैलाश गाविस’ उनले हाँसेर भनिन्।
‘बझांग पो! कतिको जानु हुन्छ माइततिर?’ मैले जिज्ञासा राखेँ।
‘सात वर्ष भो नगएको, बिहे गरेदेखि गको छैन’ उनले भनिन्।
‘सात वर्ष! अनि माइत जान मन लाग्दैन?’ मैले सोध्न नपाउदै छेवैमा बसेको साथीले भने ‘हाम्रो बजारतिर भएको भए त सम्बन्ध विच्छेद भैसक्थ्यो।
‘जान त मन लाग्छ नि!!!’ उनी टोलाइन्। शायद माइत सम्झी होलिन्। तीजमात्र होइन भाइटीकामा समेत नजाने यिनका माइततिरकाहरुले के सोच्दा हुन्? यो प्रश्नले मलाई पछ्याई रह्यो।
हुम्लाको डांडाफोया नजिकै चौकेधारामा होटेल व्यापार गरिरहेकी यी महिलाको कुरा सुनेपछि अनौठो लाग्यो मलाई। मैले थप कुरा सोध्न नपाउँदै छेवैमा बसेका एक जना पुरुषले भने, ‘बिहा गरेपछि घरतिरको कामले फुर्सद नै हुँदैन, फुर्सद नै भए पनि माइत जानमात्रै ११ दिन लाग्छ, कसरी जानु?’
मैले ती महिलातिर हेरेँ। उनी टोलाइरहेकी थिइन्। उनको अनुहार एकाएक उज्यालो भयो। ‘मेरो सासुको माइत पनि उतै हो। उनी अहिले ९५ वर्ष भइन्। उनी बिहेपछि फर्केकी छैनन्।’
मलाई यिनको बारेमा थप जान्न मन लाग्यो। मैले नाम सोधेँ। ‘नाम दिया बेची देउला’ (नाम भनेमा लगेर बेची दिन्छौं कि !) उनले भनिन्।
उनले भनेको कुरा बुझ्न समय लाग्यो। सँगै गएका यादव घिमिरेले भने, ‘नाम चाँही ‘बेची’ र थर ‘देउला’ हो?’ हामी हाँस्यौँ। सबै कुरा सोधेपछि नाम पनि सोधेकोले मानव बेचबिखनमा संलग्न हो कि शंका गरेकी रहिछन्। तिनले नाम त भनिनन् तर होटेलको बोर्डमा प्रोपाइटर पाण्डवी शाही लेखिएको थियो।
————-
हुम्ला जिल्लाको डाडाफोयो, धारापुरी, खोल्सी, हिल्दम लगायतका छेत्रमा बझांग क्षेत्रबाट विवाह गरेका करिब ४०० महिलाहरु छन्। सबैको दैनिकी र समस्या उस्तैउस्तै छ। हुम्लाको तल्लो भेगमा कालिकोटबाट विवाह गर्नेको बाहुल्य छ। दैलेख र दार्चुलादेखि विवाह गर्नेहरु पनि फाट्टफुफुट्ट भेटिन्छन्। बझांगतिर सिंह थरका धेरै हुने र ती सबै आफन्त पर्ने भएकोले शाही थरका खोज्दै यहाँ बिहेबारी हुने गर्छ। विवाहको चाँजोपाँजो पनि आफन्तले तय गर्छन् र सो बेलामा दुलाहा समेत २-३ जना गएर बेहुली लिएर आउने गर्छन्।
‘माइतको कुकुर पनि प्यारो’ भन्ने उखान यहाँ किन लागू हुँदैन? विवाह गरेपछि किन चट्टक्कै बिर्सन्छन्? माइत किन जादैनन् ? राजनीतज्ञ तथा संस्कृतविद् छक्कबहादुर लामा भन्नुहुन्छ ‘भौगोलिक दुरी नै सबैभन्दा प्रमुख कारण हो। माइत गएर फर्कन कम्तिमा तीन हप्ता त बाटोमानै बिताउनु पर्छ। आर्थिक अवस्था पनि अर्को कारण हो। तर आजभोलि केही पैसा हुनेहरु सिमिकोटबाट नेपालगन्ज हवाईजहाजमा र बझांगसम्म बसको प्रयोग गरेर माइत पुग्छन्।‘ उनले प्रतिप्रश्न गरे ‘माइत जान कसलाई मन लाग्दैन र?’
————-
शहरमा हरेक वर्ष महिना दिन अगाडिबाट तीज मनाइरहँदा दूरदराजका महिलाहरु भने वर्षौंदेखि माइत जान पाएका छैनन्। एउटा पार्टीमा लाखौं खर्च गर्नेहरुलाई यस्ता पीडाहरु थाहा छ कि छैन कुन्नि? हाम्रो टोलीका एक जना सदस्यले भने ‘यिनलाई एक पटक माइत पठाउन पाए कस्तो हुन्थ्यो होला?
“घर मात्र जान खोज्ने लोग्ने मान्छे र माईत मात्र जान खोज्ने स्वास्नी मान्छेले प्रगतिपथमा कहिल्यै अगाडी बढ्न सक्दैन”
चाणक्य नीति
कर्मबीरहरुको आफ्नै सन्सार हुन्छ । ब्लगमा उल्लेखित चेलीको पनि आफ्नै सन्सार छ । माईती जान खोज्दा सायद उनको प्रगतिपथमा केही समय अथवा हप्ताको रोकावट हुन सक्दछ अथवा आर्थिक र सामाजिक सन्तुलन हल्लिन पनि सक्दछ । जीवन रुपी समुन्द्रको छालमा पौडी खेल्दा खेल्दै कुनै दिन उनले आफ्ना माईतीसँग साक्षातकार गर्न पाउन अथवा भनौँ माईतीको अङ्गालोमा बेरिएर १/२ दशदेखि थुनिएको उनको आँसुको मुहान फुटाउन पाउन । यहि हाम्रो शुभकामना। महान छिन ती चेली । हार्दिक नमन गर्दछु ।