नेपाल फोटो प्रतियोगितामा नभेष चित्रकारको फोटो स्टोरी तेस्रो भएको छ। रोयटर्समा काम गर्ने चित्रकारका यी फोटो केही अघि विभिन्न विदेशी मिडियाले पनि छापेका थिए।
यो कथा हो ६८ वर्षका हजुरबुबा दुर्गा कामीको। हरेक बिहान सेतो दाह्रीलाई मिलाउँदै स्कूल युनिफर्म लगाएर लौरो टेक्दै एक घण्टा हिँडेर उनी क्लासमा पुग्छन्। गरिबीका कारण उनले सानोमा पढाइ पूरा गरेर शिक्षक हुने इच्छा पूरा गर्न पाएनन्। त्यसैले अहिले ६ सन्तानका बाबु र ८ नातिका हजुरबुबा हप्ताको ६ दिन स्कूल जान्छन्, पत्नीको मृत्युपछिको एकलकाँटे जीवनबाट जोगिन। स्याङ्ग्जाको श्री कालभैरव उच्च माध्यमिक विद्यालयमा उनी पढ्छन्।
म मेरो दुःख भुल्नका लागि स्कूल जान्छु, कामी भन्छन्। उनका सहपाठीहरु १४ र १५ वर्षका छन्। कामीका सबै सन्तानहरुले उनलाई छाडेर गइसकेका छन्। सुरुमा उनले कहरे प्राथमिक विद्यालयमा सात र आठ वर्षकाहरुसँग पढ्न र लेख्न सिकेका थिए। ११ वर्षकाहरुसँग पाँच कक्षा पढिसकेपछि श्री कालभैरवका शिक्षक डि आर कोइरालाले उनलाई आफ्नो स्कूलमा पढ्न बोलाए, स्कूलले नै उनलाई स्टेसनरी र युनिफर्म पनि दिए।
पिताको उमेरका कसैलाई पढाउनु मेरो पहिलो अनुभव हो, कोइराला भन्छन्। स्कूलको स्कलरसिपमा खाना पर्दैन। त्यसैले कामीआफैले भात र गुन्द्रुक घरबाट खाजाका रुपमा ल्याउँछन्। कक्षा १० का २० जना विद्यार्थीले उनलाई कामी बा भन्ने गर्छन्।
उमेरले पाको भए पनि उनी क्लासका सबै गतिविधिमा सहभागी हुन्छन्। जसमा भलिबल खेल्नु पनि पर्छ। उनका १४ वर्षका सहपाठी सागर थापा भन्छन्, ‘म सोच्ने गर्थेँ किन यी बूढा हामीसँग पढ्न स्कूल आइरहेको छ। तर समय बित्दै गर्दा उहाँसँगको साथ मलाई रमाइलो लाग्न थालेको छ। पढ्नमा हामी भन्दा अलि कमजोर हुनुहुन्छ तर हामी उहाँलाई सहयोग गर्छौँ।’
कामीले आफू नमरेसम्म पढाइ जारी राख्ने बताएका छन्। उमेरले पढ्न सिक्न रोक्दैन भन्ने कुरामा अरुलाई पनि प्रेरित गर्ने आशा उनले राखेका छन्। ‘म जस्तो दाह्री फूलेको मान्छे स्कूल गएर पढेको देखे भने उनीहरु पनि प्रेरित होलान् नि’, उनी भन्छन्।
स्याङ्जास्थित घरमा बत्ती नभएको बेला टर्च बालेर पढ्दै।
स्कूल जानका लागि ड्रेस लगाउँदै।
स्कूल जानुअगाडि दाह्री मिलाउँदै। उनले आफ्ना साथी सागर थापालाई १० कक्षा पास भयो भने दाह्री काट्ने वचन दिएका छन्।
१४ वर्षको सहपाठीसित स्कूल जाँदै।
क्लासमा शिक्षकले सोधेको प्रश्नको जवाफ दिँदै।
दुर्गाको इंग्लिस नोटबुक।
स्कूलमा भलिबल खेल्दै।
कक्षाका साथीहरुसित ग्रुप फोटो खिचाउँदै।
स्कूल ड्रेसमा चौतारीमा आराम गर्दै।
रातिको खाना पकाउँदै।
(यी र यस्तै उत्कृष्ट फोटोहरुको प्रदर्शनी अहिले काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा भइरहेको छ। दशैँपछि नेपाल फोटो प्रतियोगितााका उत्कृष्ट फोटोहरुको प्रदर्शनी विराटनगर, धरान, सौराहा, भैरहवा ,पोखरा, नेपालगन्ज र धनगढीमा गरिनेछ।)
जीवनको उत्तरार्धमा निश्कृय भएर मृत्यु कुर्नु भन्दा सकृय भएर बाँच्नु ठुलो कुरा हो । रिटायर्ड जीवनमा कति जेष्ठ नागरिकहरु बिरक्तिएर बसेको पनि देखेको छु । चलाक रहेछन् बाजे कुँजो भएर बस्नु भन्दा सिर्जनशिलताको लागि शिक्षा प्राप्त गर्न पट्टि लागेका रहेछन् । हामी सबै मिलेर बाजेको उत्तरोतर प्रगतिको कामना गरौँ ।
स्कुल ड्रेस मा चौतारीमा आराम गर्दै बुढा ले हल्का दिएछन नि |
के गर्नु बिद्द्यार्थी धर्म निभाउने पर्यो |