“अंकल खानु न मकै। भर्खर पोलेको कती मिठो छ। एउटा खाने हो अंकल?”
एउटा ११ -१२ वर्षे केटो मेरो सामुन्ने मकैको बाटा लिएर उभियो। बाटामा ५-६ वटा पोलेका मकै देखे। संसारमा थरी-थरीका मान्छे भए झैँ मकै पनि थरि-थरिका देखेँ केही साना, केही ठूला, केही डढेका त केही काँचा।
एकछिन आफैसँग अल्झिएँ, के-भनुँ के-नभनुँ पो भयो। खै किन हो असमन्जसमा परेछु। जीवनमा पहिलो पटक कसैले अंकल भनेर बोलाएको थियो। सम्बन्धका त्यान्द्राहरु आफै-आफै अल्झिँदा रहेछन्। कतिखेर मीठा र कतिखेर आफै-आफै तीता बन्दा रहेछन्। हिजोसम्म आफूलाई तन्नेरी ठान्ने म, कति छिटो बूढो भएछु जस्तो लाग्यो। अनायासै भविश्यको चिन्ताले सताउन थाल्यो। कतै सपनाको संसारमा रुमलियेर यथार्थबाट धेरै टाढा त पुगिनँ? के सही के गलत ठम्याउन सकिनँ। हुन त भविश्यको चिन्ताले आज मात्र सताएको हैन मलाई। आज भन्दा ९ बर्ष पहिले पनि यस्तै चिन्ता लगेको थियो। अचानक केही छविचित्रहरु पर्दामा फिलिम चले झै आँखा अगाडि नाच्न थाले।
२०६४ साल असोजको महिना। कक्षा १२ को परिक्षाफल प्रकाशित हुने दिन। डर र खुशीको मिश्रित अनुभव तर परिक्षाफलको लागि मात्र हैन जीवनको लागि। परिक्षाफल आयो फर्स्ट डिभिजनमा पास भएछु। घरमा खुशीको लहर छायो। बाबा, मामु निक्कै खुशी हुनुभयो। छोरा लाई डाक्टर बनाउने या ईन्जिनियर भन्ने बिषयमा भलाकुसारी सुरु भयो। “Bio र Math दुबै बिषयमा अव्वल नम्बर छ। जे पढ्दा पनि हुन्छ तर मेरो मान्छौ भने MBBS पढेको राम्रो।” बाबाले आफ्नै तर्क दिनुभयो।
“मैले सुनेको यो जहाज उडाउने (खै के भन्छ त्यस्लाई) ले पनि राम्रो तलब पाउछन रे। हाम्रो बाबु ले त तेइ पढेनि हुनी हामी पनि सरर जहाज चडथेउ होला।” मामु आफ्नै संसारमा रम्नु भयो।
तर म भने भित्रभित्रै जल्दै छु। त्यो भर्भराउदो आगोको राफले उकुस मुकुस बनएको छ। छाती पोलीरछ तर कस्ले देख्ने त्यो आगो, त्यो पीडा। कती तिखो हुदो रैछ आत्म-ग्लानीको घोचाइ। छाती छिया-छिया भये जस्तो लाग्यो। एक पटक त लाग्यो, गल्ती गरेछु। फेरी सम्भालिये, सोचे म आफ्ना इक्षा रहरहरु किन मारौ। मैले कुनै गल्ती गरेको छैन। के भन्ने? कसरी भन्ने? कती गाह्रो हुँदो रैछ जीवनका पाइलाहरु सार्न। आफ्नै जीवनका पाइला चाल्न पनि अरुको मुख ताक्नु पर्ने कस्तो जिन्दगी। खै कहाँ बाट ल्याये तर भएभर्को सामर्थ बोकेर अन्त्यमा भने।
“बाबा म नेपाल नबस्ने। म बिदेश जाने हो।” बाबा-मामुको मुहार हेरे अक्क-बक्क पर्नु भएछ।
“हैन के भन्छ। का बाट आयो यो बिदेश को भूत? हिजो सम्म त ठिकै थिस्। आज बिदेश जान्छु पो भन्छ।” म बाबाको अभिप्राय बुझ्थे (खै बुझ्थे भनम कि बुझ्दिन्थे भनम। बुझ्ने भये त मान्थे होला नि। शायद नबुझेर नै होला नमानेको। अल्लारे थिए शायद बुझ्न त बुझे तर अल्लारे दिमागले अल्लारे रुप मै बुझ्यो।)
“बाबा बिदेशमा धेरै opportunity छ। म पढ्न सक्छु, धेरै पैसा कमाउन सक्छु।” बाबालाई यथार्थ सँग अवगत गराउने कोशीस गरे।
“सोचे जस्तो हुन्न बिदेसी जीवन। जीवनको यथार्थ भोगे पछी थाहा हुन्छ।” तर बाबा म भन्दा धेरै जाने-बुझेको मान्छे। शायद मेरो यथार्थ उहा लाई स्वप्निल संसार लाग्यो।
“बाबा आजका युवाको लागि नेपालमा कुनै scope छैन। हरेक दिन नेपाल बन्द, राजनीतिको नाममा मारकाट। के गर्नु यस्तो देशमा बाचेर। भोली फेरी युद्ध न होला के ग्यारेन्टि छ? भोली फेरी अर्को हत्या-काण्ड हुन्छ अनी फेरी अर्को बाघी समुह जन्मन्छ। फेरी हामी भोक प्यास त्यागेर देशको नाममा सडकमा उत्रिन्छौ र फेरी सडक भरिन्छ। हजुरले पनि त बुझ्नु भएको छ, देशको अवस्था। हजुरनै हैन लुकी लुकी मलाई ट्युसन क्लासमा पुर्याउने। यस्तो देशमा बस्नुको के फाइदा? भन्नुस् त?” वाद्-विवादमा थुप्रै मेडल जितेको थिए मैले। तेसै हैन रैछ।
“अब आफ्नो देशमा र आफ्ना बाबु-आमासँग बस्न पनि फाईदा चाइयो हैन तलाई।” बाबाले कुरा मोड्न खोजे जस्तो लाग्यो।
“मैले तेसो भन्न खोजेको हैन। तपाईंले अर्थको अनर्थ लगाउनु भो। म त बिदेश गएर आफ्नो भविष्य राम्रो बनाउछुपो भनेको।” आफ्नो तर्क राखे।
“हैन नेपालमा किन बन्दैन तेरो भविष्य। तलाई काम गर त भनेको छैन नि। काठमाण्डौ गएर MBBS को तयारी गर पो भनेको।” बाबा अली अक्रोशित हुनुभयो। आफ्नो बिचार म माथि थोपर्न थालनु भयो। शायद मैले केही गलत भनेछु, के गलत भने बुझिन, नबुझिकनै आफ्नो गल्ती स्वीकारे। अरु म गर्न पनि के सक्थे।
“बाबा भात कुहिए पछि जाँड बन्छ दुङ्दुङ्ती गनाउने जाडँ, हो सुन्दर बोतलमा प्याक गरेर रक्सी भन्दै तेस्को नाम र दाम परिवर्तन गन्र सकिएला तर त्यो गनाउन छोड्दैन। म जीवनमा रक्सी बन्न चाहन्न, गनाउन चाहन्न। यथार्थ भन्नुपर्दा म २ महिना पैले काठमाडौं म्यानपावरको कामले गएको थिए। त्यहा गएर बुझ्दा उनीहरुले २-४ महिने एकाउन्टको तालिम लिनुस् तेइ बिचमा तपाईंको १२ को रिजल्ट पनि आउछ अनी तपाईंको फरम भरौला जस्तो कुरा गरे। तेसैले मैले गत २ महिनादेखी एकाउन्टको क्लास लिदैछु। तपाईंलाई चोट पुग्लाकि भनेर भन्न पनि सकिन तर नभनी पनि भएन।” भर्खर पानी परेर खुलेको आकाश झै ठुलो बोझबाट मुक्त भये झै लाग्यो।
“बाबु तिमी ठुलो भएछौ आफ्नो निर्णय आँफै लिन सक्ने। मेरो भन्नु यती मात्र थियो। बाँकी तिम्रो इक्षा। तिम्ले निर्णयनै लि सके पछी भन्नु, सम्झाउनु को के अर्थ रह्यो र। गर जे गर्न मन छ।” बाबामा एक्कासी आएको परिवर्तन राम्रो त लाग्यो तर खै किन मिठो लागेन। कस्तो-कस्तो नमिठो लागिरह्यो, उहाको त्यो वाक्यले बारम्बार घोची रहे जस्तो लाग्यो।
४-५ महिनामा भिसा लाग्यो। दुबइ जाने भए। एउटा सपिङ मालमा सेल काउन्टर को काम रे। “भाई तपाईंले त कस्तो सजिलो काम पाउनु भो। ए. सि. मा बसेर नोट गन्ने कामपो त, झन तलब पनि राम्रै छ।“ म्यानपावरको दाईले झनै फुर्क्याइदिओ। आफु भाग्यमानि भा जस्तो लाग्यो। यती छिटो यती राम्रो काम पाए। हेर्दा-हेर्दै उड्ने दिन पनि आएछ। मामुले घरबटै बिदा दिनुभयो र बाबाले बस-पार्क बाट। कस्तो खल्लो लाग्यो। पहिलो पटक बिदेश जाने र बाबा-मामु कोइ पनि बिदाइ गर्न आउनु भएन। मामु एअरपोर्ट सम्म जाने भन्नुहुन्थ्यो तर मैले भो भनिदिये, बाबाले भने एकपटक जान्छु सम्म भन्नु भएन। कती सम्म निस्ठुरी हुनसक्नु भएको होला। सन्तान थरी-थरीका भन्ने उखान सुनेको थिए तर आज आमा-बाबु को मन पनि थरी-थरीको हुदोरहेछ भन्ने थाहा भयो।
काम र दाम दुबै ठिकै लाग्यो। दिन्चर्या सुरु भयो, बेला-बेलामा बाबा-मामु लाई फोन गर्थे। आफु सञ्चै भएको र काममा धेरै दु:ख नभएको खबर दियेपछी, बाबा पनि बोल्न थाल्नु भयो। एकपटक सरी भन्नुभयो, मलाई स्वतंत्र भई आफ्नो निर्णय लिन न दिएकाले। तर पनि, अझै मलाई नेपाल आएर डाक्टर बनेर नेपाल मै बस्न आग्रह गरी रह्नुहुन्थ्यो। समय बित्दै गयो समय अन्तराल सङै परिवर्तन आउछ भनेको सत्य रहेछ। म मा परिवर्तन आएछ।
त्यो परिवर्तनको कारण र किसिम चै पत्तो लगाउन सकिन। म अब बाबा-मामुका निम्ती अली बिजी हुन थालेको थिए। बाबा-मामु सँग फोनमा गफ गर्ने समय छोट्याउदै-छोट्याउदै र अन्तराल बढाउदै-बढाउदै लगे। नयाँ नयाँ साथीहरु बन्न थालदा बाबा-मामु लाई बिर्सिन थालेछु। अवस्था यहाँ सम्म पुग्यो, मामुको ४- ५ पटक मिस्स-कल आएपछी बल्ल कल-ब्याक गर्थे र तेस्मा पनि मामु म मीटिङमा छु या बहिर छु जस्ता बाहाना बनाएर छिटो भन्दा छिटो फोन राख्ने कोशीश गर्थे। बाबासँग त महिनौ पछी कुरा हुन्थ्यो। मामु सँग भने हप्ताको एकपटक कल भईहाल्थ्यो। मामु त २ दिन बिराइ कल गर्नु हुन्थ्यो म नै कल उठाउथिन। तेती धेरै बिजी त थिन। तै पनि खै किन हो माया मारेको (मामु सधैं भन्नु हुन्थ्यो तैले हाम्रो माया मारिस। म सधैं प्रतिवाद गर्थे तर यथार्थ मा म आँफै सँग प्रश्न गर्थे के मेरो प्रतिवाद सही हो ?) तर छोरा हुनुको कर्तव्य निभाइ रहेको थिए। हरेक महिना बाबाको बैंक अकाउन्टमा पैसा भने पठाउन बिर्सिन्नथे। मामु कहिलेकाही भक्कानिनुन्थ्यो उहाका बिलौना सुन्दा नराम्रो लाग्थ्यो भर्खर फर्कौ जस्तो लाग्थ्यो तर केही समय पछी म पुन: यथार्थको संसारमा आउथे। मामु का बिलौना सानो बालक को स्मृति झै धुमिल हुँदै जान्थे र अन्त्यमा मेटिन्थे ।
…………………………………………………………….
“ओह अंकल सब सिधियो एउटा मात्र छ अब, खाने कि नखाने?” स्मृति रुपी बगैचामा विचरण गरिरहेको म, डोर्याउदै पुन: वर्तमानमा ल्याइ दियो त्यो बालकले।
“खान्न” मैले उस्लाई भगाउने प्रयास गरे।
“यो लास्ट स्टोप हो अंकल बेनिघाट पछी अब सिधै नारायणघाट रोक्छ माईक्रोले, भोक लाग्ला है बाटोमा।” कुसल व्यापारी रहेछ जाने नाम नै लिदैन।
“फुच्छे कुरा त खुब जानेको रैछस्। यो जाबो बेनिघाटमा बसेर एक-दुईवटा माईक्रोको मान्छेलाई मकै बेचेर कती कमाउछस बरु काठमाडौं जा अली बडी पैसा पाउछस।” उस्लाई आफ्नो भविश्य प्रती सजक बनाउने कोशीस गरे।
“जान्न अंकल या आमा छे बिरामी भई राख्छे । म गये भने तेस्लाई औषधी कस्ले दिन्छ।” उस्ले आफ्नो द्विधा व्यक्त गर्यो।
“लाटा तेइ त भनेको काठमाडौं गइस भने धेरै पैसा कमाउछस अनी आमा को पनि राम्रो अस्पतालमा उपचार गराउन पाउछस नि त।” मैले उस्लाई आफुले देखे र भोगे झै स्वर्निम संसार देखाउन खोजे।
“अनी मैले पैसा कमाइन्जेल मेरो आमाको चै हेरचार कस्ले गर्छ नि। पैसा आमा भन्दा ठुलो हैन नि अंकल। पैला आमा अनी पैसा।“उस्को त्यो वाक्यले पुन: मलाई स्मृतिको गहिरो खाडलमा गुल्ट्याए झै लाग्यो।
……………………………………………………………..
(२ दिन पहिले)
बेलुकाको सात बज्दै थियो मोबाईल बज्न थाल्यो एसो स्क्रीन हेरेको त मामुको रैछ। केटाहरु सँग पार्टीको प्लान थियो तेसैले हतार-हतार ड्रेसअप गर्दै थिए ३ पटक सम्म साइलेन्ट गरे चौथो पटक फेरी बज्यो। काटेर कल ब्याक गरे।
“हेल्लो भन्नु मामु लास्टै बिजी छु। छिटो भन्नु” फोन स्पिकरमा राखेर आफ्ना काम गर्दै उत्तर दिये।
“बाबु तिमी धेरै बिजी मान्छे। तर तिम्री मामु धेरै बिरामी भएकी ले र तिम्लाई देख्न मन गरेकी ले मात्र फोन गरेको हो। सधैं तिम्रो नाम लिएर रोइ रहन्छे। म कती अभागिनी रैछु, एउटा भएको छोरो पनि आँखा समुन्ने छैन, भन्दै आफुलाई कोस्छे। आमा-बाबुको लागि अलिकती समय मिलाउन मिल्छ भने एकपटक नेपाल आउछौ कि भनेर कल गरेको हो।आमा भन्दा पैसा ठुलो हैन बाबु। ” बाबाले फोन राख्नु भयो। गफ गर्दा गर्दै भक्कनिए जस्तो लाग्यो।
के गरौ? के नगरु? भए हतार-हतार अन्लाईन हेरे सबै फ्लाईट फुल रैछ बल्ल-बल्ल एउटा पर्सीको फ्लाईट पाए तर काठमाडौं ३ बजे मात्र पुग्ने रैछ चितवनको डोमेस्टिक फ्लाईट छुत्ने भो केही छैन माईक्रोबाट जानुपर्ला।
……………………………………………………………
ह्या अंकल तपाईं मकै खाने कि नखाने।” यस्पालि भने आफ्ना हाथले नै झक्झक्यौदै उस्ले मलाई स्मरणबाट बाहिर ल्यायो।
“मकै चै नखाने बरु यो लि आमाको उपचार गराएस।” गोजी बाट १०० रुपैयाँ निकालेर उस्को हातमा राखीदिए। उस्को आँखामा अचम्मको चमक देखे।
थ्यांक-यू पनि नभनी उ दौडियो म आफ्ना नजरले उस्लाई पछ्याउन थाले। दुई बित्ता पर रैछ उस्को कटेरो। नजरले भेटे सम्म हेरे। भित्र देख्न सकिन के गर्नु मान्छे को आँखा पर्यो। एक्छिन पछी फेरी दौडिदै आयो।
“अंकल थ्यांक-यू ल, भन्नै बिर्सेंछु। आमाले धन्यवाद भनिस त भने पछी बल्ल सम्झे। यो तपाईंको लागिरे आमाले दिएको। बाटो मा भोक लाग्यो भने खानु ल।” जाबो १०० रुपैयाँको नोट पाउदा आथाह सम्पत्ति पाये झै गर्दै थियो उ।
म माईक्रोबाट झरेर उस्की आमालाई हेर्न चाहन्थे। के उनी पनि मेरी आमा जस्तै थिन होला? माईक्रोले अघी बध्ने ईशारा गर्यो मेरो इक्षा अपुरो रह्ने भो। माईक्रो गूड्दै गर्दा पछाडिबाट एउटी बुढी आमाको कुरा सुने “एस्तो पो छोरो, येइ हो छोरो को कर्तव्य।” ति शब्द त्यो केटोको लागि थिए या अरु कसैको लागि थाहा भएन। पोल्टो खोले भुटेका मकै र भट्मास् रैछन्। खाउ भनेको मुखमा हाल्नै सकिन।
वरी-परी हेरे उस्तै मान्छे, उही समाज, उही नेपाल। फेरी घ्रिणा लागेर आयो तर यस्पालि मान्छे, समाज या नेपालसँग हैन, आँफैसँग। धेरैपछी साचो ह्रिदयले जननी र जन्मभुमी दुबैलाई सम्झेछु। आँखाबाट बर्बर्ती आसु खस्न थाले आँखा अगाडि त्यो पोल्टो घुमीरह्यो र कानमा निरन्तर तेही वाक्य “एस्तो पो छोरो, यही हो छोरोको कर्तव्य।”