Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ललितपुरमा भेटिएको मुसाजस्तो अचम्मको जीव : कति सत्य, कति भ्रम?

Posted on August 27, 2016 by mysansar

– राजु आचार्य –
गएको अगस्त १९ मा ‘सुन्दर ललितपुर’ को फेसबुकमा राखिएको तस्वीरले हल्लीखल्ली मच्यायो। उक्त तस्विरसहित एक अनलाइन मीडियाले सोही दिन डार्विन, हलिवुड चलचित्रको हवाला दिँदै अचम्मको जीव भेटिएको भनेर छापी दियो। खासमा के थियो त यो?
14088795_10154536801405962_1866232448_n

14030782_10154536801415962_22136098_n

14089417_10154536801420962_1408371189_n

14054675_10154536801395962_1289432858_n

यो मुसा नभई ‘ठूलो निर बिरालो’ प्रजाति हो भनेर हेमु कट्टुवाल लगायतका वन्यजन्तुमा चाख राख्नेहरुले ‘सुन्दर ललितपुर’को फेसबुकमा सोही दिन कमेन्ट गरिसकेका थिए। पत्रकारले कमेन्ट पढ्न त परै जावोस्, कसैलाई सोद्धा पनि नसोधी समाचार सम्प्रेषण गरिहाले। उक्त खबरले क्रोधित बनेका संरक्षणकर्मीहरुले सोसल मीडियामार्फत् ब्लगर र अनलाइनको चर्को विरोध गरे।

कसले के भने (केही मात्र)
विष्णुप्रसाद पाण्डे : उल्लुके पठ्ठे ब्लगर ! जानकारी नै नभको विषयमा विशेषज्ञले जसरी मुसाको प्रजाति विकसित भएर राकुन (racoon) जस्तो देख्ने अचम्मको जीव विकास भएको छ भनेर मुभीमा देखाइने कल्पित आतंक जस्तै जनमानसलाई थप आतंकित पार्ने काम गर्ने !

उपद्रो पनि कतिसम्म भने यसको पुष्टि गर्न डार्विनको सिद्दान्त र जीव विकासक्रमको सिद्दान्तको समेत दुहाई पो दिइरहेको छ। सिल्ली कहीँको मुसा र बिरालोको भिन्नता नि छुट्ट्याउन नसक्नेले के ब्लग चलाउँछौ? कि सँधै यस्तै अफवाह फैलाएर आतंकित पार्ने योजना छ? आफ्नै आँगनमा विचरण गर्ने (काठमाण्डौं उपत्यका वरिपरि सर्वाधिक पाइने रात्रिविचरक ठूलो निरबिरालो) जनावरको बारेमा समेत जानकारी नभाकोले जीवविज्ञानका सिद्दान्तका कुरा छाँट्ने? सबैजनालाई सबै कुरा थाहा हुनु पर्छ भन्ने पनि छैन तर थाहा नभाको विषयमा तथानाम लेख्न मिल्छ? सम्बन्धित विशेषज्ञसँग सम्पर्क गर्दा हुँदैन?

तुलसी सुवेदी : कलियुगका वैज्ञानिकहरु! यस्ता प्रमाण तथा तुक नभएका कुरा लेख्न तथा छलफल नगरौं। यो कुनै मुसाको विकसित रुप नभएर ठूलो निर बिरालो हो।

रितेश बस्नेत : केहीले पटक पटक सानो निरबिरालो हो र दुर्लभ मुसा भएको जिकिर गरेपछि ‘यस्ता जीव शास्त्री नेपाललाई खाँचो रहेको’ भनेर ब्यङ्ग गरेका थिए बस्नेतले। उनले थपे अल्पज्ञान खतरनाक हुन्छ।
शंकर दाहाल : यस्तै हो । धन्न मुसो जस्तै अद्भूत भनेर लेखे। इन्डियन मिडिया जस्ता हुन्थे भने यसको नाम अप्रेशन न्यूज हुन्थ्यो होला।

घटना के भएको थियो ?
बिहीबार सो प्रजाति ललितपुरको बज्रबाराहीमा देखा परेको थियो। एकाबिहानै कुकुरले घाइते बनाएको सो प्रजातिलाई स्थानीयहरुले कहिले देखेका थिएनन्। कसैले मल्साँप्रो भने त कसैले ध्वाँसे चितुवा। पानीले निथ्रुक्क भिजेको सो जनावरको बारेमा प्रहरीलाई खबर गरियो। लठ्ठी र सेतो प्लास्टिकको बोराको सहयोगमा रक्ताम्य निर बिरालोको उद्दार गरियो। बोरामा हालेर सो जनावरलाई नजिकको जंगलमा छोडियो। प्रहरीले आफ्नो बलबुताले भ्याएको सहयोग गरे।
यो कस्तो वन्यजन्तु हो?
14081311_10154536801435962_2054598943_n

14089347_10154536801430962_552319477_n

14030973_10154536801410962_557592610_n
राति सक्रिय हुने यो ठूलो निर बिरालो हो। यो स्तनधारी प्रजाति हो। नेपाल सरकारले यो प्रजातिलाई लोपोउन्मुख सुचिमा (near threatened) राखेको छ। यसलाई नेपालीमा ठूलो निर बिरालो, जीक तथा सिली नामले चिनिन्छ। यो खैरो रंगको हुन्छ र शरिरमा कालो थोप्लाहरु हुन्छ। पूच्छरमा सेता धर्काहरु हुन्छन् भने घाँटीमा सेता र काला धर्साहरु हुन्छन्। यिनीहरु खोला छेउ, घाँसे मैदान, सालघारी तथा मानव बस्ति नजिकै बस्ने गर्दछन्।
करिब २० वर्ष सम्म बाँच्ने यिनले फलफूल, चराचुरुंगी, तिनको फूल तथा घरपालुवा कुखुरालाई समेत आहारा बनाउने गर्दछन्। नेपालमा यसको बारेमा विस्तृत रुपमा अध्ययन गरिएको छैन। यिनको अवैध चोरी सिकारी तथा व्यापार समेत हुने गरेको भेटिएको छ।

वन्यजन्तुविज्ञ डा शान्तराज ज्ञवालीसहित लेखिएको ‘नेपालका स्तनधारीको अवस्था’ नामक रातो सूचीमा यो जनावरको नेपालमा अनुमानित संख्या करिब ५००० रहेको अनुमान गरिएको छ। यसको तौल ८-९ केजीसम्म हुन्छ ।

nira
कास्की जिल्लाको सिक्लेस गाउँ नजिक स्वचालित क्यामरामा परेको ठूलो निर बिरालो जसलाई स्थानीय मानिसहरु तथा शिकारीले समेत चिनेनन् तस्विर श्रोत : प्रकृतिका साथीहरु

के यो जनावर चिन्न गाह्रो हुन्छ?
वन्यजन्तु अनुसन्धानको क्षेत्रमा काम गर्नेहरुको लागि तेती झुक्किने खालको प्रजाति भने होइन। तर यो कम देखिने र राति मात्र सकृय हुने भएकोले स्थानीयहरुको लागि नौलो प्रजाति बन्ने गर्छ। बिरालो प्रजातिको वन्यजन्तुमा अध्ययन गरिरहेका यादवप्रसाद घिमिरे भन्छन् ‘५ वर्ष अगाडी कास्कीको सिक्लेसमा सो प्रजाति स्वचालित क्यामेरामा परेको थियो। सो फोटो स्थानीय शिकारीहरुलाई देखाउँदा कसैले पनि चिनेनन्। सबै जनावरको स्थानीय नाम हुँदा यसको भेटिएको थिएन। यसबाट प्रस्ट हुन्छ ,यो प्रजाति मानव बस्ति नजिक भएर पनि कति लजालु र टाढा हुन्छ”। यो प्रजाति सानो निर बिरालोसँग मात्र केही हदसम्म मिल्छ तर सानो निर बिरालो ठूलो निर बिरालो भन्दा ३ गुनासम्म कम तौल हुने गर्दछ।

यस्ता जनावरहरु भेट्दा के गर्ने?
घाइते, बिरामी, समूहबाट छुट्टिएका तथा अवैध ब्यापारको क्रममा समातिएका तथा घरमा पालिएका वन्यजन्तुहरु सँधै तनावपूर्ण अवस्थामा हुन्छन्। यस्ता जनावरका लागि संसारभर ‘वन्यजन्तु उद्दारक’को टोल फ्री नम्बरहरु सार्वजनिक गरिएका हुन्छन्। स्थानीयहरुले तिनलाई बोलाउने गर्दछन्।
नेपालमा भने चितवन राष्ट्रिय निकुन्ज तथा काठमाडौँको चिडियाखानामामात्र वन्यजन्तुको उपचारको व्यवस्था गरिएको छ। संरक्षणकर्मीहरुको चौतर्फी दबाबका कारण यस्ता उपचार केन्द्रहरुको स्थापनाका लागि नेपाल सरकार लागि परेको छ ।

कुनै पनि वन्यजन्तु घाइते अवस्थामा भेट्दा तेही अवस्थामा छाडी दिनु पर्छ। वन्यजन्तुको तनाव कम गर्न मानिसको भिडलाई कम गराउनु पर्दछ। उद्दार गर्नुपरे प्वाल परेको कागतको कार्टुनमा हालेर मानिसहरुको कम पहुँच भएको ठाउँमा राख्नु पर्दछ। बेलुकी पख छोड्दा राम्रो हुन्छ। सकेसम्म खानेकुरा दिनु हुँदैन। यस्तो बेलामा पानी पनि दिनु हुँदैन। भेटनरीका डाक्टरहरुसँग परामर्श गर्दा राम्रो हुन्छ। ठूला र हिंश्रक जनावरलाई बेहोस बनाउनु पर्दछ। यसका लागि तालिम प्राप्त उद्दारक चाहिन्छन् ।

पत्रकारलाई विशेष अनुरोध
समाचार सम्प्रेषण गर्नु अगाडि विज्ञहरुको राय लिनुपर्छ। आजभोलि सोसल मिडियामा फोटो राख्दा धेरै प्रजातिको तुरुन्त पहिचान गर्न सकिन्छ। हतार गर्नुभन्दा गुणस्तरीय समाचारका लागि कुरौं। तलका लिंकहरुमा पहिचानकालागि विभिन्न प्रजातिका (चरा, स्तनधारी, उभयचर/सरीसृप आदि) फोटोहरु राख्न सक्नु हुन्छ।

https://www.facebook.com/groups/fonnepal/
https://www.facebook.com/groups/105802720070/
https://www.facebook.com/groups/778278025524231/
https://www.facebook.com/groups/1039280969449831/
https://www.facebook.com/groups/628689110483521/
https://www.facebook.com/PrimateLife/

कतिपय अवस्थामा तपाईंसंग भएको फोटो कुन प्रजातिको भनेर गूगलबाट पनि पत्ता लगाउन सकिन्छ । हामीले अन्य जानकारी खोजे जस्तै गूगलमा फोटो अपलोड गरेर पनि थाहा पाउन सक्छौं । यसका लागि यो लिंकमा गएर फोटो हाल्नुस र सम्भावित नाम खोज्नुस

3 thoughts on “ललितपुरमा भेटिएको मुसाजस्तो अचम्मको जीव : कति सत्य, कति भ्रम?”

  1. harihar singh rathour says:
    August 30, 2016 at 9:03 pm

    मैले जाजरकोटको खम्वजंग शाहको वारीमा रहेको रुखमा ४ वटा वच्चा सहितको नीरविरालोको तस्वीर २ वर्ष अघि छापेको

    Reply
  2. Rajendra Man Singh says:
    August 28, 2016 at 8:26 am

    One pic looks like a ferret, another one looks like Opossum.

    https://en.wikipedia.org/wiki/Ferret

    https://en.wikipedia.org/wiki/Opossum

    Reply
  3. sundar lalitpur says:
    August 27, 2016 at 4:50 pm

    विहीबार बज्रवाराही नगरपालिकास्थित टाहाखेलमा अनौठो जनावार टोलमा पसेर आतंकीत बनायो । चिन्नुहुन्छ यो कुन जनावार हो ???

    हामीले पाठकलाई सोधेका थियौं न की मुसो भनेर लेखेको नै सच्चयाउन अनुरोध गर्दछौं । धन्यवाद
    सुन्दर ललितपुर

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme