Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

काभ्रेमा भयानक बस दुर्घटना : अनुत्तरित ४ प्रश्न

Posted on August 16, 2016 by Salokya

काभ्रेमा सोमबार भयानक दुर्घटना भयो। एकै पटक यति धेरै मान्छेको ज्यान गएको खबरले सबैलाई दुःखी बनायो। तर दुःखी मात्र बनेर भएन। यस्तो भयावह दुर्घटनाहरु किन बारम्बार भइरहन्छ, यसको कारण पत्ता लगाई रोकथामका लागि पनि कदम चाल्नुपर्छ। यो दुर्घटनाले केही अनुत्तरित प्रश्न छाडेका छन्। त्यसको जवाफ खोज्न लगाउनु पर्छ।

१) कति जनाको मृत्यु भयो?
यो विषयमा सरकारी निकायकै फरक फरक तथ्याङ्क आएको छ। गृह मन्त्रालयले साँझ विज्ञप्ति जारी गरी २५ जनाको घटनास्थलमा र १ जनाको उपचारका क्रममा अस्पतालमा गरी २६ जनाको मृत्यु भएको बताएको छ। तर गृह मन्त्रालय मातहतै रहेको नेपाल प्रहरीको केन्द्रीय प्रहरी समाचार कक्षले भने ३३ जनाको मृत्यु भएको बताएको छ।

grija
गृह मन्त्रालयको विज्ञप्ति

prahari
केन्द्रीय प्रहरी समाचार कक्षको समाचार।

सरकारी समाचार एजेन्सी राससले भने घटनास्थलमा भेटिएका २७ जनाको शवमध्ये २६ जनाको सनाखत भएको भन्दं नामसमेत दिएको छ। त्यसैले शायद यही आधिकारिक होला।

मृत्यु हुनेहरु कात्तिके देउराली–७ का ४५ वर्षीय दीपक गौतम, ६५ वर्षीय गोविन्द गौतम, ६५ वर्षीय सुनिल बर्देवा, मादनकुँडारी–५ का ६५ वर्षीय नीलकण्ठ गौतम, वर्ष नखुलेका विनोद गौतम, मादनकुँडारी–१ का आठ वर्षीया एलिसा तामाङ, ठेगाना तथा वर्ष नखुलेका औलात सिंह, पञ्जा तामाङ, सानुमाया तामाङ, कात्तिके देउराली–३ का विष्णुप्रसाद बाँस्कोटा, कात्तिके देउराली–४ का उमेश बाँस्कोटा र वर्ष नखुलेका सीता बर्देवा, गोठपानी गाविसका २१ वर्षीय रेशम विक, मादनकुँडारी–५ का छविलाल चौलागाई र वर्ष खुल्न नसकेका सीता गिरी, कात्तिके देउराली–७ की कुनामाया परियार, सीता परियार, मादनकुँडारी–३ की माईली तामाङ, ठेगाना खुल्न नसकेका इन्द्रकुमारी लामा, लीलानाथ गौतम, कृष्ण दमै, ठुलीकान्छी सुनुवार, सुस्मा लामा, विष्णु सापकोटा, इन्द्रकुमारी तामाङ र रामेछाप लखनपुर–१ जुनकिरी गौतम।

२) कति कोच्न सकेको? ट्राफिक के हेरी बसेको?
३३ जनाको मृत्यु र ४३ जना घाइते भएको तथ्याङ्कलाई ध्यान दिने हो भने बसमा ७६ जना त हताहत भएकाहरु मात्रै देखियो। घाइते नहुनेहरु पनि होलान्। यसरी कोच्नसम्म कोच्दा के हेरी बसेका रहेछन् ट्राफिक?

“बसभित्र खचाखच र छतमासमेत यात्रु सवार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ओभरलोड भएरै बसले लोड तान्न नसकी दुर्घटना भएको देखिन्छ’ काभ्रेका प्रहरी नायब उपरीक्षक नविन राईले भनेका छन्। बचेका यात्रुले पनि मिडियासँग कुरा गर्दा उकालोमा बस एक्कासी पछाडि सर्दा अनियन्त्रित भएको बताएका छन्। त्यसो हो भने यो दुर्घटना हो कि जानाजान गरिएको हत्या हो? प्रश्नको उत्तर खोज्नुपर्ने देखिन्छ।

३) सिन्डिकेट हटाउने कि नहटाउने?
यो रुटमा अरनिको यातायात सेवा समितिको सिन्डिकेट रहेको छ। यही अरनिको यातायात अन्तर्गत रहेको बा ३ ख १०६ नम्बरको सो बस बिहान ७ बजे पुरानो बसपार्कबाट काभ्रेको मादनकुँडारी जाँदै थियो। प्रत्येक दिन काठमाडौँबाट मादनकुँडारीसम्म एउटा मात्र बस हुन्छ। त्यसैले बसमा खचाखच यात्रुहरू थिए। यात्रुमात्र हो र त्यसमा चामल लगायतका सामानहरु पनि प्रशस्तै कोचिएको थियो। फलस्वरुप ओभरलोडले बस तान्न नसकेर दुर्घटना हुँदा दुर्घटनाग्रस्त बस २०–२२ टुक्रा भयो। घाइतेहरुलाई उपचारका लागि ल्याइएको त्रिवि शिक्षण अस्पतालमा आज साँझ गृहमन्त्री विमलेन्द्र निधि घटनाबारे जानकारी लिन पुगेका थिए। गृहमन्त्रीका अगाडि घाइते र मृतकका आफन्तले सिन्डिकेटपीडित भएको र ३५ यात्रुको क्षमता भएको बसमा सय जनासम्म कोच्ने गरेको बताएका थिए।

४) छानबिन समिति नबनाउने?
हवाई दुर्घटनालाई निकै संवेदनशील मानिन्छ र हुने बित्तिकै छानबिन आयोग गठन गरिन्छ। यति धेरै ज्यान गएको यो बस दुर्घटना पनि निकै संवेदनशील घटना हुनुपर्ने हो। यसको पनि छानबिन समिति बनाई यसको रिपोर्टका आधारमा दोषीलाई कारबाही र भविष्यमा यस्तो घटना हुन नदिन सतर्कता अपनाउन जरुरी छ।

3 thoughts on “काभ्रेमा भयानक बस दुर्घटना : अनुत्तरित ४ प्रश्न”

  1. amir says:
    August 17, 2016 at 7:53 pm

    बस दुर्घटनाहरुको जिम्मा सिण्डिकेटवालाहरुले लिनुपर्छ। उनीहरूले नै मृत्यू र घाइते हुनेहरूलाई उचित क्षतिपूर्ति दिनुपर्छ एबम सिन्डिकेट तोड्न नसक्ने निरीह नेपाल सरकार र यस मातहतका भोका नाङ्गा कर्मचारी ले आची खान पर्छ |

    Reply
  2. सिर्जने says:
    August 17, 2016 at 7:57 am

    छानबिन हुनुपर्छ, सिन्डिकेट प्रणाली हटाउनुपर्छ, ट्राफिक ले छड्के जाच गर्नपर्छ / मेरो एउटा अनुभब: ताप्लेजुंग-झापा मेची राजमार्गमा: १५ बर्षजति अगाडिको कुरा हो, मेची राजमार्ग इलामभन्दा उत्तरतिर को खण्ड पिच भा’को थिएन बसभरि मान्छे कोचेको छ, छतमा पनि मान्छेहरु छन्, ट्राफिक छड्के जाच गर्दैछ रे तल्लो घुम्तीमा भनेर खलासीले खवर पायो, छतका र अरु केहि मान्छेलाई ओरालेर उसले तल्लो घुम्तीभन्दा तल जानु भनेर हिडेर पठायो, ट्राफिक जाच पास, अब एस्तो बेलामा के गर्ने?

    Reply
  3. Durga Adhikari says:
    August 16, 2016 at 8:47 am

    R. I. P. हाम्रो देशमा यक सर्भसाधारणले यो भन्दा बढी के नै भन्न सकिन्छ र/ बेथिति र बेनियमहरुको कुरा गरेर केहि हुने देखिदैन/ नत्र यो र यो जस्ता धेरै घटनाहरु यो देशमा घटी सकेका छ्न/ सम्बन्धित निकायको ध्यान गयको देखिदैन/ यदि देशमा सरकार छ भने यातायात छेत्रमा देखियको यो अराजकताको अन्त यथासिघ्र हुनु पर्यो/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme