आज साउन महिनाको अन्तिम सोमबार। हिन्दूहरुको पवित्र महिना हो सोमबार। देशभरका शिव मन्दिरहरुमा साउनको सोमबार दर्शनार्थीहरुको घुइँचो लाग्छ।
आज तपाईँलाई साउनको अन्तिम सोमबारको दिन डोलेश्वर मन्दिरको साइबर यात्रा गराउँछु नि त।
भक्तपुर सहरबाट दक्षिण-पूर्वी कुनामा रहेको सिपाडोल गाउँमा रहेको छ डोलेश्वर महादेव मन्दिर। पहिला यसको खासै प्रचार नभए पनि पछि भारतबाटै आएका केदारनाथ मन्दिरका पूजारीले यसलाई केदारनाथको शिर भनेर पुष्टि गरेको भनिए पछि यसको प्रचार ह्वात्तै बढेको हो। अहिले डोलेश्वर मन्दिरसम्मै गाडी जाने बाटो बनिसकेको छ।
डोलेश्वर महादेव विशाल कालो पत्थरको शिवलिङ्ग साढेंको टाउको (शिर) झैँ माथि उठेर दायाँतर्फ कोल्टो परेर ढल्केको छ र चाँदीको नागले बेरिएर रहेको छ रे। भिड भएर मूर्ति चाहिँ हैन मूर्तिको फोटो चाहिँ हेर्न पाइयो।
९० सालको भूकम्पमा तीन तल्ले झिँगटीको छाना भएको मन्दिर भत्किएपछि सोही ठाउँमा गुम्बज आकारको छाना भएको भुइँतले मन्दिर बनेको हो जसको शीर्ष भागमा पित्तलको गजुर र पहेँलो कपडाको पताका फहराई रहेको देख्न सकिन्छ। २०७२ सालको भूकम्पले फेरि यो मन्दिर भत्कियो। अब ठूलै मन्दिर बनाउने तयारी छ। सरकारले खासै सहयोग गरेको छैन तर चन्दा उठाएरै बनाउने सुरसार छ यहाँका स्थानीय र भक्तहरुको।
यस्तो बनाउने तयारी छ डोलेश्वर मन्दिर परिसर।
मन्दिरको दाहिनेतर्फ अर्थात् दक्षिणतर्फ एकसय बीस (१२०) धार्नीको पत्थरको त्रिशूल गाडिएको छ जसमा ८४९ नेपाल संवत् कुँदिएको छ। मन्दिरको पश्चिमतर्फको मूलद्वारको अगाडिको प्राङ्गणमा शिलाको बसाहा (नन्दी)को मूर्ति स्थापित छ। भक्तहरु यसैको कानमा आफ्ना कुरा भने देउतासम्म पुग्छ भन्ने विश्वास गर्दा रहेछन्।
मूल मन्दिरको दक्षिण पश्चिम कुनोमा रहेको अर्को सानो मन्दिरमा पहिले नारायणको मूर्ति रहेकोमा २०३४ सालमा चोरी भएपछि हाल शिवलिङ्ग स्थापना गरिएको छ। मन्दिरको बायाँ अर्थात् उत्तरतर्फ अविरल जल प्रवाह भइरहने ढुङ्गेधारा छ भने दायाँतर्फ भजन कीर्तनका लागि पक्की सत्तल र अग्निकुण्ड छ। मूल पुजारी जङ्गम थरका मानिसहरूले सम्भवतः मल्ल राजाहरूको पालादेखिनै पूजाआजा गर्दै आएको बताइन्छ। अ
वर्षको ३ पटक वैशाख/जेठमा पर्ने अक्षय तृतीया, केदारनाथको शिर घोषणाको वाषिर्कोत्सव भदौ ६ गते र शिवरात्रीको दिनमा सर्वसाधारण भक्तजन आफैले मन्दिरभित्र शिवलिङ्ग छोएरै पूजा र ढोग दर्शन गर्न पाउने चलन रहेछ। अरू बेला भक्तहरूको फूलमाला पूजा सामान र भेटी आदि पुजारीहरूद्वारा मात्र चढाउने व्यवस्था छ।