Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भन्सार नतिरी ३२ इन्चको एलसिडी टिभी लग्न खोज्दा एयरपोर्टमै समातिए २८ वर्षीय युवक

Posted on August 13, 2016August 14, 2016 by Salokya

थाई एयरवेजको टिजी ३१९ नम्बरको उडान बैँककबाट काठमाडौँ उत्रन्छ मध्याह्न १२ बजेर २५ मिनेटमा। त्यसको केही घण्टापछि त्यही जहाज चढेका यात्रुले ल्याएको सामानसहित एक जना व्यक्ति पक्राउ परे। उनको दोष थियो ३२ इन्चको तीन वटा एलसिडी टिभी अवैध रुपमा कलेक्सन गर्नू।

नेपाल प्रहरीको केन्द्रीय प्रहरी समाचार कक्षले दिएको समाचार अनुसार पक्राउ पर्ने व्यक्ति हुन् संखुवासभा मच्छेपोखरी–४ का २८ वर्षीय महेश गुरुङ। हाल उनी कीर्तिपुर बस्दा रहेछन्। बैँककबाट थाई एयरको विमानमा आउने यात्रु पनि उनै हुन् कि हैनन्, प्रहरीको समाचारमा खुलेको छैन। तर उनलाई समातिएको भने एयरपोर्टभित्र होइन, बाहिर हो।


गुरुङ एराइभल गेट बाहिर पार्किङ एरियामा थिए। प्रहरीले उनलाई त्यही पार्किङ एरियामा नै सामसुङ कम्पनीका ३२ इन्चका तीन वटा एलसिडी टिभी अवैध रुपमा कलेक्सन गरेको अवस्थामा पक्राउ गरेको बताएको हो।

अर्थात् सामान विमानस्थलबाट बाहिर आइसकेको थियो। भन्सारबाट पनि कटिसकेको थियो। बाहिर पार्किङ एरियामा बल्ल प्रहरीले समातेको हो।

ती सामान प्रहरीले बरामद गरी आवश्यक कारबाहीको लागि विमानस्थल भन्सार कार्यालय पठाएको जनाएको छ।

कान्तिपुरका अनुसार पक्राउ पर्ने व्यक्ति व्यापारी हुन्। व्यापारीले विदेशबाट फर्कने नेपाली यात्रुको दुरुपयोग गर्दै सामान मगाएर भन्सार छली गर्ने गरेको देखिएको प्रहरीले बताएको छ। विदेशबाट फर्कने कामदारसँग उतै सम्पर्क गरी आफ्नो सामान दिने र विमानस्थलबाट बाहिरिएपछि संकलन गर्ने प्रवृत्ति देखिएको उनले बताएका छन्।

वैदेशिक रोजगारमा गई कम्तिमा लगातार १२ महिना काम गरी फर्कने नेपाली नागरिकलाई एक पटकको लागि ३२ इन्चसम्मको जुनसुकै टिभी ल्याए पनि सम्पूर्ण कर महसुल छुट दिने प्रावधान छ।
​
तर त्यसबाहेकका टिभी ल्याएमा इन्च अनुसार एकमुष्ट रकम भन्सार महसुल वापत असुल गरिन्छ। भन्सार नतिरी सामान लगे जफत गर्न सक्ने प्रावधान छ।

टिभी जुनसुकै प्रकारको (LCD, LED, PLAZMA) भए पनि इन्च गनेर भन्सार महसुल लिइन्छ भने भन्सार सेवा शुल्कका रुपमा थप ५६५ रुपैयाँ तिर्नुपर्छ। वैदेशिक रोजगारमा गई कम्तिमा लगातार १२ महिना काम गरी फर्कने नेपाली नागरिकले ल्याएको जुनसुकै प्रकारको (एलसिडी, प्लाज्मा वा एलइडी) ३२ इन्चसम्मको टिभीमा लाग्ने सम्पूर्ण कर महसुल छुट दिइनेछ। अर्थात् उनीहरुले सुको तिर्नुपर्दैन। यसका लागि तपाईँले आफू विदेशमा बसेको अवधि खुल्ने गरी आफ्नो नाम, पासपोर्ट नम्बर र ठेगाना अनि पासपोर्टमा उल्लेख भएको विदेशमा गएको र आएको समय आदिको विवरण भन्सार कार्यालयमा अभिलेखको लागि भरेर दिनुपर्छ। अरुका लागि भने दुई किसिमको क्राइटेरिया छ- छ महिनासम्म विदेशमा बसेर फर्केको र छ महिनाभन्दा बढी विदेशमा बसेर फर्केको। बढी विदेशमा बसेर फर्केकालाई अलि डिस्काउन्ट छ इन्चमा ५० रुपैयाँ। भित्र क्लिक गरी हेर्नुस् कति इञ्चको टिभीको कति रकम तिर्नुपर्ने हो?

यो सूचि अनुसार बायाँ पट्टी छ महिनासम्म विदेशमा बसेकाहरुका लागि र दायाँ पट्टी छ महिनाभन्दा बढी विदेशमा बसेकाहरुका लागि हो। उदाहरणका लागि १४ इञ्चको टिभी हो भने छ महिनासम्म विदेशमा बसेकाले प्रति इञ्च २०० रुपैयाँका दरले भन्सार महसूल २८ सय र भन्सार सेवा शुल्क ५६५ गरी कूल ३ हजार ३६५ तिर्नुपर्‍यो। अनि छ महिनाभन्दा बढी बस्नेले प्रति इञ्च १५० रुपैयाँका दरले भन्सार महसूल २१०० र भन्सार सेवा शुल्क ५६५ गरी कूल २ हजार ६६५ रुपैयाँ तिरे पुग्ने भयो।

यसै अनुसार इञ्चैपिच्छेको रकम हेर्दै जानुस्। ५५ इञ्चको टिभी कसैले ल्यायो भने ६ महिनासम्म विदेशमा बसेर आएकाले भन्सार महसूल र शुल्क दुवै गरी कूल ६९ हजार ३ सय १५ रुपैयाँ तिर्नुपर्छ भने ६ महिनाभन्दा बढी बसेर फर्केकाले ६६ हजार ५ सय ६५ रुपैयाँ तिर्नुपर्छ। तपाईँले विदेशबाट सित्तैमा ल्याएको भए पनि टिभीको भाउ ६० हजार नाघ्छ।

कति इन्चको टिभीको कति तिर्नुपर्छ? विस्तृत सूची पढ्न यहाँ क्लिक गर्नुस्

7 thoughts on “भन्सार नतिरी ३२ इन्चको एलसिडी टिभी लग्न खोज्दा एयरपोर्टमै समातिए २८ वर्षीय युवक”

  1. Basant says:
    August 20, 2016 at 4:59 am

    यती नगरे भारतमा एसेम्बल गरेको सैमसुंग सोनी टीवी कहा बिक्री होला त्यों पनि मरवाडीको पसलको ???

    Reply
  2. suman says:
    August 18, 2016 at 9:47 am

    सालोक्य जी ,
    म साउदी मा कार्यरत छु र यहाँ काम गर्न थालेको ११ वर्ष भयो ! पहिला मेरो contract १ वर्षको थियो ! तर दश वर्ष पछि यानी अब बाट मेरो contract ६ महिनाको भएको छ ! तर मैले अहिलेसम्म एउटा TV पनि लागेको छैन ! अब यदि मैले TV लान खोजे भने के मैले भन्सार तिर्नु पर्ने हो ?? यो कस्तो नियम हो ?? अनि ३२ इन्च सम्म मात्र छुट चाही के आधारले राखेको हो ? ४० इन्च को लैजादा किन भन्सार तिर्नुपर्ने पहिलोचोटी लैजादा ?? कृपया यो question समबन्धित निकायलाइ गर्दिनुहोला है !

    Reply
  3. roshan says:
    August 14, 2016 at 12:32 pm

    मैले ४ बर्ष अगाडी ३२’ को LED TV भन्सार around 14,000+NRS तीरेर लगेको थीए unfortunately त्यो टीभी बीगरीयो अब मैले फेरी लानु पर्दा भन्सार तीर्नु पर्छ वा पर्दैन कसैले जानराकी दीए आवारी हुने थीए

    Reply
    1. ramesh says:
      August 16, 2016 at 4:35 pm

      ढुक्क हुनुस हजुरले १ पैसा पनि तिर्नु पर्दैन तर तेस्को लागि हजुर नेपाल बाट गएको 365 दीन कटेको हुनु पर्छ…… मैले पनि पैले 24″ को लाई 5000 + तीरेको थीए @ अहिले ३२” को लीएर आयको कुनै कर तिर्नु परेन…………..

      Reply
      1. roshan says:
        August 17, 2016 at 12:07 pm

        जानकारीको लागी धन्यवाद रमेशजी भन्सार तीरायो भने बीगो सहीत असुल्छु तपाइँ संग लोल 😀

        Reply
  4. Shankar says:
    August 14, 2016 at 8:43 am

    आज देश को अबस्था के हो भने जनयुद्द र समानुपातिक प्रतिनिधित्त्वको नाउमा नेपाल को प्राकृतिक स्रोत कब्जा गर्न र पुरै नेपाल लाइ आफ्नो मुट्ठी मा राख्न भारत ले आफुले पालेको र तालिम दिएर नेपाल हुलेको प्रचण्ड प्रधानमन्त्री भएको अबस्था |
    तेसैले देसै खुफिया , बिदेशी दलाल हरुले संचालन गरेको ठाउ मा , जसको इतिहास १४ हजार गरिब नेपालीको हत्या ले रंगिएको छ र जो आफ़ुतिक्न र जोगिन बिदेशीको गुलामी गर्न बाध्य छ तेस्ता ले हुकुमत गरेको ठाउमा आम मान्छे पक्दिनु , आम मान्छेले दुख पाउनु नौलो हैन |
    डर त् अब ढिलो चांडो वार लर्ड जन्मेलान , र क्रमश जिल्ला , प्रान्त , संघ ( बहुचर्चित संघीय संरचना ) कब्जा गर्दै रक्तपात मचिन सक्छ |
    उसैपनि कृष्ण भट्टचन , अशोक राइ हरु , सी के राउत हरु , उपेंद्रयादाब लाइ सुन्नेहो भने त्यो दिन अब पर छैन |
    अफगानिस्तान हेरौ पुर्ब सोभियत संघ ले छोडेपछि , जनरल दोस्तम लगायत धेरै वार लर्ड देखा परे पछि शान्ति सम्झौता हुदा उनीहरु सबै सरकार मा सहभागी र हिस्सेदार हुन् पुगे |
    नेपाल को राजनीतिमा यो टापटिपे ले देश लुट्ने समय हो | ओली ले गुगल ब्वाई लागायत २ दर्जन आफ्ना लाइ लुतायेर गयो | अहिले पुष्पकमल ले ९ महिना देश लुट्ने र लुटाउने , ९ महिना पछि देउबाले लुट्ने | माने पालै पालो लुट्ने |

    तेसैले यो वार लर्ड जन्मिने बेला हुदैछ अब |

    Reply
  5. ramesh says:
    August 13, 2016 at 11:03 pm

    ३-३ वटा tv ल्याउदा समात्नु त ठिकै हो तर कर अति नै अस्वाभाविक छ, त्यहि भएर कर छल्नु पर्ने, घुस खुवाउनु पर्ने बाध्यता बन्न जाने हो | शायद घुस खान पाइएला या जफत गरेको खाउला भनेर नियम बनाएको पो हो कि? ४०० डलरमा किनेको ५५-इन्चको tv को ६०,०००? यो त सरासर बदमासी हो, छुद्रता हो | त्यहि पनि आफ्नो देशको उत्पादनलाइ प्रोत्साहन गर्न त्यसो गरे त हुन्थ्यो | जनतालाई गतिलो TV हेर्न बन्चित गर्ने ? त्यसै अति गर्ने बा ! पंचायती ब्यबस्था भन्दा पनि खतम |

    नेपालको भन्सारका नियम हेर्दा नेपालले छुद्रताको पनि हद पार गरेको जस्तो लाग्छ | कुन दिन देखि कट्टु र भेस्ट बाहेक लुगा लगाएर आए कर लगाउने हुन् घुस्याहाहरुले | जे गरे पनि भाको छ | तिनै जनताको खुन पसिनाको रिमिट्यान्सले मोज गर्ने अनि उनीहरुले अलि अलि केहि ल्यायो भने के के न गर्यौं नियम लाद्ने | विदेश धेरै गइयो, नेपालमा जस्तो निधि खोजि कतै गरेको पाइएन | दुख गरेर कमाएको पैसाले बुढीलाइ अलिकति सुन किन्दिउन भन्ने हो भने नेपालमा भन्दा सस्तोमा किनेर आफै ल्याउन नपाउने अरे | हो सिमा तोके त ठिकै थियो, ल्याउने नपाउने ? लागु औषधि हो र यो ? थुक्क छुद्र नेपाल |

    कर उठाएर जम्मा गरेको पैसा जनताको समग्र भलाइमा लगाए त हुन्थ्यो नि ! बरिष्ठको उपचार भन्दै पैसा बाडदै | खुमबहादुर देखि रमेशनाथ — अचम्म छ, हाम्रो पैसा किन दिने उनीहरुलाई ? एउटा बच्चा बोल्न नजान्ने, केपी ओली भावी पीएम भनेर भन्दिएछ २ करोड र अमेरिका भ्रमण | थुक्क, सपना देखेको तेही हो ? अक्षता हेरेर भविष्यवानी गर्नेलाई हाम्रो पैसा किन दिएको ? मन पराएको भए आफ्नै दिनु नि ? नीतिगत भ्रष्टाचार पनि उत्तिकै निन्दनीय हो | के के न गर्छु भन्ने, गर्ने बेलामा आफ्नालाई पोस्ने, क्या छ नेपाल |

    जब सम्म जनता बाट उठाएको पैसा जनताकै हो भन्ने हेक्का हुदैन, कर तिर्नुको कुनै अर्थ हुदैन | नेतालाई रजाइ गर्न कर तिर्ने हो र ? कर लाइ स्वाभाविक बनाउँ र खर्च पनि जनताको चित्त बुझ्दो तरिकाले गरौँ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme