Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रेम बानियाँको विरोध किन हुँदैछ? न्युज२४ टिभीले माफी माग्नु पर्ने गरी के कार्यक्रम बजेको थियो

Posted on August 11, 2016August 11, 2016 by Salokya

prem
जय स्वाभिमान भन्दै दौरा सुरुवाल लगाएर राष्ट्रवादी कार्यक्रम चलाउने र नेताहरुलाई र्‍याखर्‍याख्ती पार्ने भाषण गरेकोमा वाहवाही पाएका न्युज २४ टेलिभिजनका प्रस्तोता प्रेम बानियाँ यो साता एकाएक ठूलै विवादमा फँसेका छन्। उनीविरुद्ध आक्रोशपूर्ण प्रतिक्रियाहरुले भरिएको छ सामाजिक सञ्जाल। फेसबुक र ट्विटरमा प्रेम बानियाँलाई भन्नुनभन्नु भनिरहेका छन्। किन यस्तो भइरहेको छ? उनले के गरेका थिए? किन न्युज२४ टिभीले माफी नै माग्नुपर्‍यो? यो प्रकरणबारे थाहा नभएकाका लागि यो ब्लग।

प्रेम बानियाँको एउटा चर्चित कार्यक्रम छ पावर न्युज। यही कार्यक्रममा उनले केही दिनअघि खादा (खतक)को प्रयोगको आलोचना गर्दै रिपोर्ट प्रसारण गरे। त्यो कार्यक्रम साउन १८ गते युट्युबमा पनि रिलिज भयो। खादा प्रयोग गर्नेहरुलाई मूर्खसम्म भनिएको र प्रतिबन्ध नै लगाए फरक नपर्ने भनिएको यो कार्यक्रम हेरेपछि स्वभाविक रुपमा बौद्ध धर्मावलम्बीहरु मर्माहत् भए। खादाको बारेमा बुझ्दै नबुझी कार्यक्रम बनाएको भन्दै उनीहरुले विरोध गर्न थाले।

prem1
के थियो कार्यक्रममा ?
कार्यक्रममा खादाको जथाभावी प्रयोगबारे चिन्ता जनाइएको छ। प्रेम बानियाँ कार्यक्रममा भन्छन्- महत्व नै नबुझी जथाभावी प्रयोग गर्दा त्यसको गम्भीर असर देशको अर्थतन्त्रमा परेको छ।

तर अर्थतन्त्रमा गम्भीर असर परेको पुष्टि भने उनले गर्न सकेका छैनन्। यसका लागि एक व्यापारीको वार्षिक २० करोड जतिको आयात हुन्छ भन्ने कोट उपयोग गरिएको छ जसलाई कतैबाट भेरिफाइ गरिएको छैन।

बानियाँले कार्यक्रममा भनेका छन्- संस्कारमा अतिक्रमण भएको छ। अकल्पनीय सामाजिक क्षति भएको छ। वार्षिक करोडौँको खादा आयात हुनु, फूल बिर्सनु माला बिर्सनुले वातावरणमा प्रतिकूल प्रभाव परिरहेको छ।
kpoli
उनले यसलाई पुष्टि गराउन तत्कालीन प्रधानमन्त्री केपी ओलीको त्रिविको कार्यक्रममा गरिएको सम्बोधनलाई उपयोग गरेका छन् जसमा ओली भन्छन्- केमिकल जस्तो खादा छ नि, न डढ्छ न सड्छ। यो त प्लास्टिक जस्तो हो। यो त एकदमै स्वास्थ्यका लागि हानिकारक छ। एउटा फूल दिए त भो नि खादा भन्दा त। सडाउँ भने सड्दै सड्दैन। यसको प्रयोगलाई प्रोत्साहित नगरौँ भन्ने मेरो आग्रह छ। बुट्टा बुट्टामा लेख्या हुन्छ। के लेख्या हुन्छ हामीलाई थाहा हुन्न।’

कार्यक्रममा ठोकुवा गर्दै भनिन्छ- खादा नेपाली मौलिक संस्कृतिभित्र नपर्ने र विदेशबाट आयात हुनेमा कुनै शंका छैन

खादामा तिब्बती भाषामा लेखिएको हुन्छ र स्वतन्त्र तिब्बतको प्रचार पनि गरिएको हुन्छ भनेर कार्यक्रममा भनिए पनि त्यस्तो लेखिएको खादा टेलिभिजन दृश्यमा भने देखाइएको छैन।

त्यसपछि हौसिएर प्रेम बानियाँ भन्छन्- ‘फूलको मालाको बदला खादाको प्रयोग गर्नेहरु जत्तिको मूर्ख को होला? जसले देशको अर्थतन्त्रमा समेत गम्भीर असर गरिरहेको छ। वातावरण बिगारिरहेको छ। संस्कार र सभ्यता नै बिगारिरहेको छ।’

खादाको प्रयोग अस्वभाविक हो भनिन्छ। ‘आयातित खादाको आवश्यकता नै छैन नेपालमै उत्पादित फूल नै पर्याप्त छ भनेर धेरैले तर्क गरिरहेका छन्’ भनी कार्यक्रममा भनिन्छ तर यो धेरै भनेको को हो, कसैको बाइट प्रसारण गरिँदैन। नेपालमा फूल उत्पादन पर्याप्त नभएर वार्षिक १० करोडको फूल आयात गरेको समाचार गत वर्ष आएको तथ्यप्रति आँखा चिम्लँदै कार्यक्रममा भनिन्छ- नेपालमै उत्पादित फूल नै पर्याप्त छ। र अझै हौसिएर कार्यक्रममा भनिन्छ- ‘खादाको प्रयोगमा प्रतिबन्ध लगाउँदा पनि फरक पर्दैन भनेर जानकारहरुको बुझाइ छ।’ ती जानकारहरु को हुन्, त्यो पनि कार्यक्रममा खुलाइँदैन।

यति हुँदाहुँदै पनि बानियाँले कार्यक्रममा ‘खादा सभ्यता जुन धर्म र वर्गको हो उसका प्रति सम्मान र आदर नै गर्छौँ’ चाहिँ भनेका छन्। उनले बुझ्दै नबुझी खादा प्रयोग गर्नेहरु प्रति लक्षित भने पनि त्यस्तो देखाउन सकेका छैनन्। न देशमा ठूलो आर्थिक क्षति भएको कुराको बलियो पुष्ट्याइँ गर्न सकेका छन्।
khada1
आलोचनाको बाढी
कार्यक्रम प्रसारण भएसँगै आलोचनाको बाढीले प्रेम बानियाँको जय स्वाभिमानी छविलाई क्षति पुर्‍याउन थाल्यो। स्वदेशमात्र हैन विदेशबाट पनि कार्यक्रम हेर्नेहरुले उनको आलोचना गर्न थाले। उनीहरुका केही तर्क यस्ता छन्-

-फूल बरु पुनः प्रयोग हुँदैन। खादा पुनः प्रयोग गर्न सकिन्छ। मान्छेलाई चढाएको खादा देउतालाई मात्र चढाउनु हुँदैन अरु मान्छेलाई चढाउँदा हुन्छ। देउतालाई चढाएको खादा मान्छेलाई प्रयोग गर्न मिल्छ।

-फूल पनि आयात गर्नुपर्छ। यसले चाहिँ आर्थिक क्षति गर्दैन?

-गौतम बुद्ध नेपालमा जन्मेको हो भनेर दिन रात नथाक्ने चित्कारहरुले बौद्धमार्गीहरुको संस्कारलाइ आयातित कसरी देख्यो ?

-बरु फूलको एक पटक प्रयोग भए पछि पुनः प्रयोग गर्न मिल्दैन तर एउटै खादालाइ पटक पटक प्रयोग गर्न सकिन्छ र गरिन्छ पनि। खादा रेशमले बनेको हुन्छ प्लास्टिकको होइन, खादामा बुट्टा भरिएको होइन पवित्र अष्टमंगल टासी ताग्ये छापिएको हुन्छ।

-जसरी अन्य लत्ताकपडा डिस्पोज हुन्छ त्यसरी नै खादालाई डिस्पोज गर्न सकिन्छ त्यसैले खादाको प्रयोगले वातावरण प्रदुषण हुन्छ भन्नु त्यो भन्ने व्यक्ति जतिकै हावादारी र बकम्फुसे कुरा हो।

-नेपालमा नूनदेखि सुनसम्म सबै विदेशबाटै आयात गरिन्छ भने खादा आयात हुँदा किन टाउको दुखाइको बिषय बन्यो ?

माफी
बानियाँले फेसबुकबाट र न्युज २४ को साइटमा राखेको विज्ञप्ति यस्तो छ-

खादाबारे भ्रम र सत्य ! न्यूज २४ को भनाई
साउन १७ गते न्यूज २४ टेलिभिजनको पावरन्यूज कार्यक्रममा खादाबारे प्रशारित सामग्रीलाई लिएर देश तथा विदेशबाट भइरहेको नकारात्मक टिकाटिप्पणीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यो देशको धर्म : वौद्ध धर्म र यस धर्मावलम्वीप्रति विशेष सम्मान गर्दै वुद्ध वाज बर्न इन नेपाल नामको अभियान नै सञ्चालन गरी संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनसमक्ष १० लाख हस्ताक्षर बुझाएको यस न्यूज २४ टेलिभिजनले कदापि वुद्ध धर्मप्रति आक्षेप लगाउने कल्पना समेत गर्नसक्दैन ।

खादाको विषयमा प्रशारित पूरै कार्यक्रम नै नहेरी, कार्यक्रमको सारसन्देश नै नबुझी गलतढंगले नकारात्मक प्रचार गरिरहेकाहरुलाई सवैभन्दा पहिला हामी पुन एक पटक पूरै कार्यक्रम हेरेर प्रतिक्रिया दिन अनुरोध गर्दछौं । र, त्यस कार्यक्रममा खादाबारे जजस्ले जे बोलेका हुन् तिनको आवाज प्रस्तुत गर्ने माध्यम मात्र हामी भएका हौं । आफैमा खादाप्रति हाम्रो कुनै गलतभाव नै छैन । खादा वौद्ध धर्मावलम्वी विशेषको पवित्र वस्तु भएकाले हामी त्यसप्रति गहिरो सम्मान गर्दछौं र गरिरहन्छौं । हाम्रो सरोकार त झन् के हो भने, खादाको महत्व नबुझी, यसको गरिमा र पवित्रतालाई नै असर गर्नेगरी जोसुकैले जेसुकै प्रयोजनका लागि जथाभावी प्रयोग गरेकामा चिन्ता हो, यो चिन्ता वौद्ध धर्मप्रतिको सम्मान साथ गरिएको हो । सम्मानको सकारात्मक उदेश्यसाथ प्रशारित कार्यक्रममा व्यक्त भएका विचार, वाक्य, शब्द र तिनका भावले वौद्ध धर्मावलम्वी वा अन्य कसैलाई पनि चोट पुग्न गएको भए त्यसप्रति न्यूज २४ टेलिभिजन क्षमा याचना गर्दछ ।

यस्तो छ कार्यक्रम-

17 thoughts on “प्रेम बानियाँको विरोध किन हुँदैछ? न्युज२४ टिभीले माफी माग्नु पर्ने गरी के कार्यक्रम बजेको थियो”

  1. अर्पण लामा तामाङ says:
    August 19, 2016 at 12:12 am

    खदा म तिब्बती लेख्यो रे हामी तामाङ जाती हरुको आफ्नै भाषा र आफ्नै धर्मा र आफ्नै लेखै छ नेपानी अक्षर र हिन्दी अक्षर एउटै हुन्छ के नेपाली अक्षर लाई ईन्डिया धोतिको अक्षर भनेर हुन्छ । हामी तामाङ हरुको र तिब्बती हरुको अक्षर एउटै हो र भाषा अलग छ जसरी नेपाली अक्षर र हिन्दी अक्षर एउटै र भाषा अलग छ ।
    हामी तामाङ स्कुल म पढ्द हामि ले लेखने अक्षर नेपाली होइन हाम्रो आफ्नै अक्षर हुन्छ तामाङ अक्षर जुन तिब्बती हरु सङ्ग मिल्छ जसरि नेपाली र हिन्दी अक्षर मिल्छ तेसरी नै ।

    Reply
  2. ramesh says:
    August 15, 2016 at 9:08 pm

    प्रेम प्बानिया लै सबै ले गाली किन गर्ने ?
    बौध धर्म मान्नेनेले खादा लगाए भयो
    हिन्दु धर्म मान्नेनेले माला लगाए भयो.
    तर हिजो आज हिन्दुधर्म मान्ने ले पनि
    खादा लगाए को पाइयो .
    बौध धर्म मान्नेले खादा कुनै पनि मन्न्चे लै लगाउदा राम्रो
    हिन्दु धर्म मान्ने ले सबै लै माला लगाउदा राम्रो
    सबै ले सबै लाई सम्मान गर्नु राम्रो ?
    अरुको धर्म मा अति करमन जानीजानी नगरम

    Reply
  3. वल says:
    August 13, 2016 at 7:04 pm

    मलाई चाहि बनियाजीको प्रस्तुतिको दानाहरु असन्तोषजनक मात्र होइन असन्तुलित र पूर्वाग्रहपीडित मनको विचार सरह लाग्यो|
    फ्री तिब्बत लेख्यो भन्दैमा खादाको अवमुल्यन गर्यो भन्नु उचित छैन| खादाको शुरु कसरि र किन भयो अनि हिमाली क्षेत्रमा यसको प्रयोग कसरि र किन बढ्दै गए, त्यस बारे पनि चर्चा गरेको भए सन्तुलित हुने थियो|
    अचेल भोलि खादा कै नकल गरेर हरे राम हरे कृष्ण पनि लेखिएको देखिन्छ, कसैले ढाका छाप खादा पनि प्रयोग गरेको देखिन्छ| बैजनी र पन्हेलो हिन्दु संकेत गर्ने खादा पनि कसैले भारत तिर बाट ल्याएर प्रयोग गरेको देखिन्छ| बानियाको तर्क लाउनु हो भने यी सबै खत्तम खलास हुनेपर्ने|
    उनको निषकर्ष के हो त्? खादा बिदेशी संस्कृति हो? वा खादा भारतमा उत्पादन गरिने भएकोले यसले हाम्रो अर्थ व्यवस्थालाई सहयोग गर्दैन? वा खादामा फ्री तिब्बत कसैले लेख्यो भन्दैमा चीन रिसाउछ भनेको हो कि?
    बनियाजीलाई यँहा एउटा बुद्ध कथा सान्धर्भिक होला|
    love र like मा के फरक छ महात्मा भनेर बुद्धलाई उनका अनुयायीले सोधेछन|
    बुद्धले भनेछन, जब एउटाले फुललाई देखेर “आह कति राम्रो मन पर्यो” भनेर प्रशंसा गर्छु अनि अर्कोले पनि “मलाई फुल मनपर्यो” भन्छन| फरक यति हो एउटाले फुल चुडाएर आफुसंग राख्छ, अनि अर्कोले चाहि पानी हालेर गोडीदिन्छ| फरक त्यति मात्र छ|

    बानियाजीको जस्तो काम हाम्रा धेरै जसो च्याउ सरह पलाएका घरिघरि यो नेता वा त्यो नेता वा पार्टी साटेर समर्थन जनाईरह्ने टेलिभिजन च्यानलहरुले रातारात रेटिंग बढाउने सस्तो उपाय मात्र हो|
    चिया कपमा आँधी!

    Reply
  4. madan bajracharya says:
    August 13, 2016 at 7:50 am

    बौद्ध धर्म बास्तवमा भन्ने हो भने शान्तिको निमित सबै सिट मिलेर बस्न सिकाउने बिचार हो/ बुद्धले आफुलाई भगवान बा भगवानको अवतार हुँ भनेको छैन/ जात धर्मको नाममा अरुलाई सानो र आफुलाई उच्च ठान्ने, आफ्नो राज्य प्रभाव र सम्पति बढाउन अरुको बाच्ने हक समेत खोस्न तत्पर भयर दानव बन्दै गयाकालाई बुद्धले सबै सिट मिलेर बस्ने, विभेद नगर्ने बाच्न सघाउने मानव बन्न सिकाउन राज्य समेत त्याग्ने बुद्ध मात्र ईतिहासिक व्यक्तित्व र बिचार भयको मानव हो/ बुद्धको बिचारको सम्मान गर्नेले कसैलाई सम्मान गर्दा खादा लगाई दिने गर्छ/ यसलाई गलत ठान्नु ठुलो गलत हो/

    Reply
  5. sanu nepali says:
    August 12, 2016 at 12:52 pm

    मेरो खादा र फुल को माला अलग अलग धर्म प्रयोग हुन्छा जस्तो लाग्छ . माला हिन्दु धर्म मा बढी प्रयोग हुन्छ भने खादा बौध धर्म मा प्रयोग हुन्छ. तर मलाइ भन्न मन लागेको कुरा के भने खादा नेपाल मा बनाएको भए अति राम्रो हुने थियो . साएद भारत बाटै आयात भैरहेको हुन्छ. अब मल नेपाल मा बन्ने भाको ले माला पनि उतिकै प्रयोग हुनु पर्छ , खादा को स्थान मा खादा र माला को स्थान मा माला हुनु पर्ने जस्तो लाग्छ

    Reply
  6. Panday says:
    August 12, 2016 at 8:52 am

    Prem Baniya ko फूलको पसल छ कि के हो?

    Reply
  7. yoman shishir says:
    August 12, 2016 at 8:26 am

    याे कार्यकममा बाेलेका कुरा मलार्इ चाहि मन पर्याे किन भने खादाकाे अनाबासेक रुपमा चलन चलेकाे छ

    Reply
  8. बिराज says:
    August 12, 2016 at 7:47 am

    Our country is going through numerous serious problems that adversely affect the lives of millions. Corruption rampant at high places; it has been institutionalized. Nepotism is at its height. There are over 50,000 people in the government sector with a fake or false certificate. The level of efficiency of our bureaucracy and politicians is such that they cannot even maintain a cleanliness standard for the international airport bathrooms and bathrooms in government offices. Over 20,000 women are lured to India and other places in the pretext of employment and end up landing in a brothel or end up becoming a victim of serious exploitation.
    And this guy talks about Khada or khata? and that too in a condescending way?
    बरु तुलनात्मक रुपमा खादाको फायदाबारे पनि एक दुई कुरा उठाएको भए हुन्थ्यो, तर त्यसो गरेन रहेछन| तिब्बत संग सम्बन्धित कुनै सामग्री र प्रथा परम्परालाई बनियाज्युको नजरले हेरेर बिदेशी भनिनु हो भने एकातिर वसुधैव कुटुम्ब्कम भनिनु अनि अर्कोतिर बिदेशी भुमि काशीमा गएर अन्तिम सास फेर्ने मनसाय राखिनु चाहि के हो? कसको हो जसले धोतीलाई पवित्र वस्त्रको रुपमा प्रयोग गर्दै आएको छ? त्यस्ता बिषयमा बनिया सरले किन कार्यक्रम प्रसार गर्दैन?
    जे पायो त्यही बोल्यो टेलिभिजनमा अनि अलिक दिन पछि चाप पर्दै गए पछि माफ माग्ने होला| हेर्दै जाम| माफ मागे राम्रै हो, नमागे पनि ठिकै छ, मुर्खलाई के भन्ने?

    Reply
  9. Mamin Tamang says:
    August 12, 2016 at 7:45 am

    प्रेम जी, jun kura tapaile garnu vo ..Nepal jasto multi-recial,ani multi- cultural vayeko des ma yesta kunai jati barga prati lakxit gari karyakram nagarna anurod gardaxu ….sathai bouda margi ko beses kapada parti tapaiko k chaso …xa ..kina tapaiko tauko dukhai …

    Reply
  10. sushil says:
    August 12, 2016 at 6:13 am

    जुनसुकै धर्म अथवा संस्कृतिको होस्, सार्वजनिक कार्यक्रमहरुमा सजिलो हुने चलनहरु चलाउदा राम्रै हो। यसले आपसी सद्भाव बढाउछ। बाँकी कुरा त आफ्नो संस्कृति आफैले बचाउने हो। जाँड धोकेर यो धर्म र त्यो धर्म गरेको अर्थै भएन नि। बरु इसाई प्रमले टन्न माला र खादा लगाइदिएका छन् भनम न।

    Reply
  11. Suresh Thokar Tamang says:
    August 11, 2016 at 4:15 pm

    -रिग्छ्युङ्वा पाल्देन योन्जन तामाङ
    १.खादामा कुनै पनि फ्री टिबेट , फ्री टिबेट, फ्री टिबेट… चाहियो भनेर आदि इत्यादि जस्ता तिब्बतको राजनितिक नारा लेखीएको छैन र हुँदैन पनि |
    २.बौद्ध धर्ममा अष्टमङ्गल चिन्ह र शुभ मङ्गल पाठको ठुलो महत्त्व हुन्छ । खादामा यी नै अष्टमङ्गल चिन्ह र शुभ मङ्गल पाठ लेखिएको हुन्छ । अष्ट मङ्गल चिन्ह र सुभ मङ्गल पाठ नै आम बौद्धहरुको पहिचानको प्रतीक हो । त्यसैले खादाले बौद्ध धर्म र संस्कृतिको धेरै ठुलो प्रतिनिधित्व गर्छ ।
    ३.बौद्ध धर्ममा बिशेष गरि खादा (पन्च रङ)अर्थात् पाँच वटा रङको आधारमा बनाइएको हुन्छ।निलो रङ,पहेलो रङ,रातो रङ,सेतो रङ र कलेजी रङ। अहिले सम्म कालो रङमा खादा बनाइएको छैन । किन कि (कालो) र कालो रङ लाई हामी बौद्धहरु अशुभको रुपमा लिन्छौ र लिने गर्छौ ।।तेसैले कालो रङको खादा छैन, हुँदैन र देखिदैन। निलो रङ र निलो रङको खादा भगवान बुद्धको (केश)शिर माथीको चुग्तोर र स्वच्च्छताको प्रतीक हो।
    खादा पहेलो र रङ र पहेलो रङको खादा भगवान बुद्धको चिवर,(बस्त्र),मैत्री र करुणाको प्रतीक हो।रातो रङ र रातो रङको खादा भगवान बुद्धको रगत (खुन) र शान्तिको प्रतीक हो।
    सेतो रङ र सेतो रङको खादा भगवान बुद्दको दात,हड्डी र पबित्रताको प्रतीक हो।कलेजी रङ र कलेजी रङको खादा भगवान बुद्धको हृदय,मध्यम मार्ग र आर्य अषटगिक मार्गको प्रतीक हो।
    ४.बिशेष गरि खादा प्रयोग गर्दा गुरु भगवान हरुको आ-आफ्नो रुप र रङ अनुसार प्रयोग गर्नु पर्दछ।आफ्नो दक्ष गुरु र भगवान बुद्धहरुको लागि पहेलो र कलेजी रङको खादा प्रयोग गर्नु पर्दछ। तारा (डोल्मा),बज्र योगिनी,डकिनि आदि इत्यादीको पुजा पाठ र वहाँहरुलाई चढाउनको लागि निलो रङको खादा प्रयोग गर्नु पर्दछ।।
    (यीदाम)इष्ट देब,भैरब ,महाभैरब,(छ्योइ क्योइ) धर्मपाला आदि इत्यादिको पुजा पाठ वहाँहरुको अर्पणको लागि रातो रङको खादा प्रयोग गर्नु पर्दछ। गुरु बर्गहरुले शुभ कार्यमा,खुसियालीमा आशिष स्वरुप अर्थात् शुभ मङ्गलम स्वरुप आफ्नो शिष्यहरुलाई शुभ मङ्गलम प्रदान गर्दा सेतो खादा प्रयोग गर्नु पर्दछ। हामी जस्तो सर्व साधरण मान्छेहरुले पनि कोहि कसैको आफ्नो होस् या पराइको स्वागत तथा शुभ कार्यमा र शुभ कार्यको खुसियालीमा आदि इत्यादीमा केही शुभ मङ्गलम प्रकट गर्नु पर्दा सेतो रङको खादा प्रयोग गर्नुपर्दछ।

    Reply
  12. Shankar says:
    August 11, 2016 at 3:56 pm

    यो खादा भनेको के हो ? पहिले तेस्को बारेमा जानकारी राख्नुभएको भए हामि न थाह पाउनेलाई सजिलो हुन्थ्यो |

    Reply
  13. रोबिन says:
    August 11, 2016 at 3:16 pm

    पागल, बुद्दी बिग्रेको साला। यो मान्छे पैले देखि ठिक लाग्दैन मलाई। यसको हरेक कार्यक्रम मनोकल्पित तरिकाको सानो कुरालाई बढाइचढाइ असान्दर्भिक तरिकाले प्रस्तुत गरिएको हुन्छ। सबै भन्दा बढी त यस्को कर्यक्रम चलाउने हाउभाउ, बोली अतिनै नाटकिय पटक्कै नसुहाउने हुन्छ।

    Reply
  14. Bishwamitraa says:
    August 11, 2016 at 2:42 pm

    Manchhe SMART ASS nai hun kyare…ali pahile pani power news ma CALL GIRL bhandai keti haruko face dekhaya jasto laagthyo..

    Reply
  15. Arjun Mahat says:
    August 11, 2016 at 12:03 pm

    यी तिब्बतिहरु नेपालमा शरणार्थी बनेर छिरेर सोझो देखिने गरि भित्र भित्रै नेपाललाई नोक्सान गरिरहेका छन्। यो कार्यक्रममा देखाईएका कुरा ठिक हुन्।

    Reply
    1. Ale says:
      August 12, 2016 at 5:57 am

      अनि तिम्रा भतिजा, काका, दाइ, भाइ, दिदि, बहिनि, फुपू, साथि, साला, साली, के के हरु अमेरिका, ब्रिटेन, युरोप, अस्ट्रेलिया आदिमा नक्कली सरनार्थी बनेर बसेको चाही चट्टै भुलेको साथि ?

      Reply
    2. Nimesh, KTM says:
      August 12, 2016 at 11:19 am

      भारतको टट्टू चाट्ने बुद्धि पनि कस्तो हो तेरो, भारतीय शरणार्थी भएर बस्न हुने अरु किन न हुने ? कुनै धर्मको आस्थामाथि प्रहार गर्नु अघि हजारबार सोच्नु पर्छ भन्ने कुराको हेक्का राखे राम्रो . नेपालमा कुनै एउटा जात, धर्मको मात्रै केन्द्र हैन सबैको साझाफुलबारी हो . नेपालमा नून देखि सुन सम्म आयात हुन्छ, अरु त अरु (भारतीय) पुजारी समेत आयात हुने देश हो नेपाल .

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme