Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तयार हुनुस् आज संसदभित्रको नौटंकी हेर्न, सरकारमा रहेको दलले नै नाराबाजी गरेर संसद् अवरुद्ध गर्दैछ

Posted on July 21, 2016July 21, 2016 by Salokya

अपडेट : नभन्दै आज संसदको बैठक बस्दै बसेन। सुरुमा बिहान ११ बजे बस्ने भनिएको थियो। त्यसअघि प्रमुख तीन दलका शीर्ष नेता र प्रमबीचको छलफलमा सहमति भएन। प्रधानमन्त्री र सभामुखबीच चर्काचर्की पर्‍यो। बैठक २ बजेसम्मका लागि स्थगित भयो। त्यसअघि फेरि नयाँ बानेश्वरमा बसेको बैठकमा पनि सहमति नजुटेपछि बैठक भोलि दिउँसो २ बजेसम्मका लागि स्थगित भयो।

माओवादीले संविधान सभामा सहमति बिना प्रस्ताव अघि बढाएको भनी तोडफोड गर्दाको क्षण
माओवादीले संविधान सभामा सहमति बिना प्रस्ताव अघि बढाएको भनी तोडफोड गर्दाको क्षण

प्रधानमन्त्री केपी ओलीविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता भएको सात दिन पूरा भइसक्यो। यो प्रस्तावमाथि छलफल साउन ६ गते बिहीबारदेखि तीन दिन हुनेे भनी सभामुखले मिति पनि तोकिसकिन्।

तर ढुक्क हुनुस्, एमाले र माओवादी अनि कांग्रेसबीच सहमति नभए आज संसदको बैठक बिहान ११ बजे कि बस्दै बस्दैन, कि चाहिँ बसे पनि अविश्वास प्रस्ताव पेश नै हुँदैन। बैठक बस्यो भने पनि गजबको नौटंकी हेर्न पाइनेछ। सभामुखले बैठक सुरु भएको घोषणा गर्ने बित्तिकै एमाले लगायतका सत्तारुढ दलका सांसदहरु सिटबाट उठ्ने छन्। होहल्ला गर्नेछन्। सभामुखले एक जनालाई समय दिनेछन्। अनि एमालेका सांसदले सभामुखको धुँवाधार विरोध गरेर बजेट आश्रित विधेयक पास गर्ने कार्यसूची अगाडि नबढाएको भन्दै भाषण गर्नेछन्। माओवादी र कांग्रेसका सांसदले पनि शायद् होहल्ला गर्नेछन्। सभामुखले बस्न आग्रह गर्नेछन्। अविश्वासको प्रस्तावको कार्यसूची अगाडि बढाउन खोजेमा सरकारपक्षीय सांसदहरुले बेल घेर्न जानेछन् र नाराबाजी गर्नेछन्। अविश्वासको प्रस्ताव पेश भएर छलफल अघि बढ्नै दिइने छैन।

अविश्वास प्रस्तावको डटेर सामना गर्ने निर्णय हुँदा के भन्या होला यस्तो भनेर कन्फ्युजमा पर्नेले बल्ल यसको सही अर्थ बुझेका छन्। डटेर सामना गर्ने भनेको त अविश्वासको प्रस्ताव संसदमा राख्नै नदिने पो रहेछ। निहुँ चाहिँ के त यसको लागि भन्दा बजेटका आश्रित विधेयक पास नभएको। विनियोजन विधेयक त पास भइसक्यो तर अरु तीन वटा हुन बाँकी छ। त्यही बीच अविश्वास प्रस्ताव दर्ता भएकोले पहिला त्यसको टुङ्गो लगाउनु पर्छ भन्ने माओवादी र कांग्रेस अनि होइन पहिला आर्थिक विधेयक नै पास गर्नुपर्छ भन्ने एमाले र सत्तारुढ दलहरुले मेरो गोरुको बाह्रै टका गरेपछि यो स्थिति आइपरेको हो।

नाटकीय घटनाक्रम

सभामुख ओनसरी घर्तीले आज राष्ट्रपति विद्या भण्डारीलाई भेटेर सहमति भए बजेटका आश्रित विधेयक अगाडि बढाउने अन्यथा पूर्व सूचना अनुसार अविश्वासको प्रस्ताव अगाडि बढाउने तयारीमा रहेको बिफ्रिङ गरिन्।

यता प्रम केपी ओलीले भने आफ्नो मजदूर संगठन जिफन्टको कार्यक्रममा गएर बलजफ्ती नगर्न चेतावनी दिए। ‘म अहिले पनि भन्न चाहन्छु, बलजफ्ती गरेर अगाडि बढ्न नखोज्नु राम्रो हुन्छ’, उनले भने, ‘आधारभूत नियम कानुन अन्तर्गत चलौँ संविधानको पालना गरेर जाऔँ।‘ उनले संविधानमा जेसुकै होस् भन्ने हो भने घरबाटै लिएर आउन समेत चुनौति दिए। ‘त्यसो भए घरैबाट लिएर (अविश्वासको प्रस्ताव) आउनू, त्यहाँ संसदमा आउन दिइदैँन’, उनले भने, ‘संसद मनपरी गर्ने ठाउँ होइन भन्ने मैले विनम्र निवेदन गर्नुपर्ने हुन्छ।‘

अविश्वास प्रस्तावलाई अविश्वास प्रस्ताव मान्नै अस्वीकार गरिदिए उनले। ‘अविश्वासको नामको चिन्ता प्रस्ताव दर्ता भएको छ’, ओलीले भने, ‘अविश्वास प्रस्ताव भन्दा आग्रह प्रस्ताव हो, इर्श्या प्रस्ताव हो, दुविधा प्रस्ताव हो।‘

कानुन मन्त्री अग्नि खरेलले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पहिला बजेट आश्रित विधेयकको कार्यसूची अघि बढ्ने तर्क गरे। उनले भने, ‘असार २९ गतेको कार्यसूचीमा रहेको बिजनेस हराउन पाउँदैन। संसदमा अर्को पनि बिजनेस आएको छ, अविश्वासको प्रस्ताव। भोलिको बैठकमा पहिला सरकारको काम कारवाहीको बिजनेस अगाडि बढ्छ, त्यसपछि मात्रै अविश्वासको प्रस्तावको काम कारवाही अगाडि बढ्छ।‘

तर उनी सँगै रहेका कानुन मन्त्रालयका सचिव टेकप्रसाद ढुंगानाले भने – ‘संसदमा कुन विधेयक राख्‍ने कुन नराख्ने भन्ने त्यो संसदको विशेषाधिकारको कुरा हो। संसदभित्र छलफल हुने कुरा कानुन मन्त्रालय वा अरु कसैले टिप्पणी गर्ने विषय होइन।‘

संसद बैठक अघि सभामुखलाई परामर्श दिन बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ दल र विपक्षीबीच चर्काचर्की पर्‍यो। कांग्रेस सचेतक चीनकाजी श्रेष्ठले भने, ‘आफू सत्ता नछाड्ने अनि सत्तामै बसेर आफूले बोलाएको हाउस आफैले अवरोध गर्ने। सत्तापक्षले हाउस अवरोध गर्ने कहाँको परम्परा हो? हेरौँ हामी पनि। भोलि हेरौँ न। हामीले तमाशा हेर्ने विचार गरेका छौँ।’

तपाईँलाई कतिको याद छ, यी तिनै चीनकाजी हुन् जसले संविधान सभामा बहुमतले संविधान बनाउन प्रस्ताव निर्माण समिति गठन गर्ने प्रस्ताव राख्न जाने क्रममा माओवादी सभासदहरुले छेकेर रोकेर तोडफोड गरेका थिए। त्यतिबेला ओली छातीमा माइकले लागेको थियो भने विद्या भण्डारीको खुट्टामा चोट लागेको थियो। त्यसपछिका दिनहरुमा मार्सलले घेरेर एमालेबाट संविधान सभा अध्यक्ष भएका सुवास नेम्वाङले घण्टौँ विपक्षीलाई नाराबाजी गर्न लगाइराखेका थिए।

आज फेरि अविश्वासको प्रस्ताव राख्न लागे एमालेले डटेर सामना गर्ने निर्णय गरेको छ। के के हुने हो नौटंकी हेर्न बाँकी छ। सरकारमा रहेको दलका सांसदले नै घाँटी सुकाइ सुकाइ नारा लगाएको हेर्न पाइने हो कि। मन्त्रीहरुले नै नारा लगाएको हेर्न पाइने हो कि।

अथव जिफन्टको कार्यक्रममा कार्यकर्ताहरुले जस्तो एमालेका सांसदहरुले नै यस्तो ब्यानर संसदमा देखाउने त होइन ?

फोटो : प्रदीपराज वन्त/रासस
फोटो : प्रदीपराज वन्त/रासस

1 thought on “तयार हुनुस् आज संसदभित्रको नौटंकी हेर्न, सरकारमा रहेको दलले नै नाराबाजी गरेर संसद् अवरुद्ध गर्दैछ”

  1. dave says:
    July 21, 2016 at 5:31 pm

    बाहिर बाट चुकुल लगाउने र सबैलाई एउटा एउटा हतियार दिने व्यवस्था गर्नु पर्यो जनता ले…

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme