फेसबुक र अनलाइनमा हेडलाइन पढ्न पा’छैन कमेन्ट लेखिहाल्नुपर्ने महानुभावहरुका लागि प्रधानमन्त्री केपी ओलीले सन्देश दिएका छन् आज। कमेन्ट लेखकहरुका कारण अनलाइनकै स्वतन्त्रता कसरी खुम्चाउन शासकहरु प्रेरित भइरहेका छन्? अनि तपाईँहरुले लेख्ने कमेन्टले कति पीडा पुर्याउँदो रहेछ भनेर बुझ्न उनको सन्देश पढ्नै पर्ने हुन्छ। काशिराज दाहालको नेतृत्वमा गठित ‘सूचना तथा सञ्चारसम्वन्धी उच्चस्तरीय समिति’ ले आफ्नो प्रतिवेदन बुझाउन बालुवाटारमा जाँदाको कार्यक्रममा प्रमको सम्बोधन हो यो-
केलाई स्वतन्त्रता भन्ने चाहिँ मुख्य प्रश्न हो। अश्लील असामाजिक तवरले कोही बोल्दै हिँड्यो भने कराउँदे हिँड्यो भने… हक त छ उसको तर हकको दुरुपयोग भयो नियन्त्रण गर्नुपर्छ। कोही नाङ्गै हिँड्न खोज्यो भने वस्त्र लगाएर औषधालय पुर्याउनु पर्ने अवस्था हुन्छ। हकको उपयोग कसरी गर्ने जान्नुपर्छ। अनलाइन खोलेर हेर्नुस् त यत्तिमा तपाईँहरु कसैले पनि पढ्न सक्नुहुन्न। के के लेख्छ लेख्छ। अश्लील मनपरी लेख्या हुन्छ कसैले पढ्न सक्दैनन्। लाज हुन्छ। अश्लीलताको पराकाष्ठा। हामी कस्तो समाज बनाउने ? कुनै कुरा चित्त बुझेन भने त्यसमा असहमति प्रकट गर्ने हाम्रो शैली हाम्रो विधि कस्तो हुन्छ? त्यस कुरामा ध्यान दिनुपर्ने बिन्दुमा नेपाल लगभग पुग्या छ। यसो कुनै अनलाइन हेर्यो भने खासगरी कमेन्ट हेर्नुपर्छ यो कमेन्टको नाममा जे आउँछ, कति तल छौँ हामी भन्ने कुरा यसले देखाउँछ। विरक्त लाग्छ एउटा विकराल समाजको चित्र देखाउँछ।
कति तल छौँ हामी। कसैको सम्बन्धमा बोल्दा सभ्यताको थोपो छैन। मर्यादाको कुनै एउटा अंश पनि छैन।
विचित्र लाग्छ। अधिकारका नाममा त्यो चिज अधिकार होइन भन्ने हामीले थाहा पाउनु पर्छ । अर्को सञ्चारले जसरी व्यापकता लिएको छ यसको अरुका अधिकारसँग पनि ख्याल राख्नुपर्छ। सम्मानित भएर बाँच्न पाउनु पर्छ। घृणित असामाजिक लान्छनाहरु लगाउने, वैयक्तिक कुराहरु उछाल्ने यो ट्रेन्ड छ।
राष्ट्रिय सुरक्षाको वृहत अवधारणाभित्र सन्चारको पनि प्रश्न जोडिन्छ। राष्ट्रको गोपनीयता सम्बन्धी एउटा सूचनाको हकका नाममा राष्ट्रिय गोपनीयता वा कुनै केही पनि हुँदैन परिकल्पना पनि गरेको कताकति देखिन्छ।
हामीले के भाषा सिकाउने ? आजका बच्चाबच्चीले के भाषा सिक्छन् ? यसो मोबाइल खोल्छ, खोल्नेवित्तिकै उसले यस्ता-यस्ता शब्दहरु जान्दछ र त्यही शब्द प्रयोग गर्छ । अनि कस्तो हुन्छ भने त्यही शब्द बोलिदिन्छ उसले । त्यही प्रयोग गर्छ । नयाँ पिँढीको एउटा तप्का, एउटा हिस्साचाँहि यसमा अलिकति कसोकसो भएको देखिन्छ ।
कमेन्ट कै विषयमा थेसिस गरेको भएर मलाई यो विषयमा विशेष चासो भएको हो। नेपालमा अहिले भर्खर अनलाइनमा यस्तो भएको हैन। जमानामा नेपालन्युज नामको एकमात्र अनलाइन हुँदा त्यसको फोरममा समेत यस्तै अश्लील जथाभावी कमेन्ट आउँथे।
प्रधानमन्त्री ज्युलाई नेपालमा मात्र यस्तो भएको जस्तो लागेर साह्रै चिन्ता लागेको जस्तो लाग्यो। तर यो विश्वव्यापी ट्रेन्ड नै हो। नेपालमा मात्र हैन अन्य विकसित देशमा पनि हालत यही हो।
विदेशी विद्वानहरुले पनि कमेन्ट लेखकप्रति आक्रामकता पोखेका छन्-
राइट (२०१२) ले त प्रतिक्रियाहरुलाई कुनै लेख/सामाग्रीको जगमुनि पुरिएका विषालु फोहरको संज्ञा दिएका छन्, जसले सबै सन्तुलित बहसहरुलाई अज्ञानता र आक्रामकताले गाँजिदिन्छ। अनलाइन प्रतिक्रियाको संसारमा स्थापित नीति, विचार र अभ्यासविरुद्ध राखिएका विचार राजा हुने र रेडियसन जस्तै इन्टरनेटको यस्तो प्रतिक्रिया संस्कृति फैलँदो भएको उनको कथन छ।
मायामी हेराल्डका स्तम्भकार लियोनार्ड पिट्सले बेनामे अनलाइन फोरमलाई ‘क्रुरता, पूर्वाग्रहीता,ह्रदयविहीन र खाली मूर्खताको स्तर देखाउनेहरुको आश्रयस्थल भएको छ जसले हाम्रो क्षतविक्षत भइसकेको सभ्यतालाई समेत स्तब्ध बनाएको’ बताएका छन् (वाल्सटेन र टार्सी, २०१४)।
राइडर (२०१०) प्रतिक्रिया छापिने ठाउँमा अक्सर खराब भाषा र क्रुर व्यक्तिगत आक्रमणले भरिएका हुने बताउँछन्। बिना नाम कम्प्युटरलाई ढाल बनाएर क्रुर आक्रमण गर्ने मौका यसले दिने उनको तर्क छ।
ट्राइग (२०१२) को विचारमा व्यवहारमा अधिकाश बहस विभाजनकारी, आक्रामक र आफ्नै विचारमा मेरो गोरुको बाह्रै टका गर्ने नकारात्मक धारणा बोकेका पाठकहरुबीच हुन्छ। प्रतिक्रियाको मोडरेसन अनलाइन समाचार साइटहरुका लागि निकै समस्याको विषय हो। किनभने मोडरेसन एकैनासको हुन सक्दैन र मोडरेसनको गुणस्तर उपलब्ध स्रोतसाधनले सीमित हुनपुग्छ। भाषा अक्सर कम जानकारी भएको, अश्लील र उत्तेजक हुन्छ। बहस अतार्किक, असिलसिलेवार र थोरै तथ्य भएर हतारमा गरिएका हुन्छन्।
मैले नेपालका दुई नेपाली र दुई अङ्ग्रेजी गरी चार न्युजपोर्टलका एक साताका न्युजको कमेन्ट अध्ययन गर्दा यस्तो नतिजा पाएको थिएँ-
प्रधानमन्त्रीले कमेन्टको बारेमा यत्रो चिन्ता देखाएपछि कमेन्ट अनलाइनहरुले कसरी प्रकाशन गरिरहेका छन्, त्यसबारे पनि जान्न तपाईँहरुलाई इच्छा भयो होला। यसबारे मेरो थेसिसकै केही अंश-
ठूलो संख्यामा आउने प्रतिक्रियाहरुबाट प्रकाशन गर्न लायक प्रतिक्रियाहरु छान्ने (moderation) का लागि विश्वमा विभिन्न प्रक्रिया अपनाइएको छ। स्विडेनका अधिकांश राष्ट्रिय पत्रिकाहरुले बाहिरी कम्पनी Interaktiv Säkerhet मार्फत् प्रतिक्रिया मोडरेसन गराउने गर्छन्। कम्पनीले ४० कामदारहरुबाट मोडरेसन गराउँछ जसलाई प्रेस कानुन र मिडिया आचार संहिताबारे दुई दिने प्रशिक्षण दिइन्छ। उनीहरु हरेक दिन ५ देखि १० हजार कमेन्ट मोडरेट गर्छन्। उता, बेलायतको गार्डियनमा कानुनी प्रशिक्षण र हेट स्पिचलगायतका अरु विषयमा ज्ञान दिएर कार्यालयभित्रैबाट मोडरेसन हुन्छ।
प्रतिक्रिया छान्नका लागि नेपालका अनलाइन साइटहरुले अलग्गै जनशक्तिको व्यवस्थापन नगरेको ती साइट सञ्चालकहरुसँगको व्यक्तिगत कुराकानीबाट प्रष्ट भयो। नागरिकन्युजले बीचमा केही महिनाका लागि प्रतिक्रियामात्रै छान्नका लागि, अङ्ग्रेजी, रोमन लिपि लगायत अन्य भाषामा आएका प्रतिक्रियालाई देवनागिरी युनिकोडमा परिवर्तन गर्न एक जना छुट्टै जनशक्तिको व्यवस्था गरेको थियो (कृष्ण ढुंगाना, व्यक्तिगत कुराकानी, सेप्टेम्बर १०, २०१३)। तर यो लामो समयसम्म चल्न सकेन। हाल योसहित अनलाइनखबर, इकान्तिपुर र टिएचटीले अनलाइनमा समाचार वा समाचार सामाग्री प्रकाशनका लागि छुट्याइएको जनशक्ति (पत्रकार) बाटै समय मिलाएर प्रतिक्रिया छान्ने काम गरिरहेको छ।
टिएचटीका अनलाइन प्रमुख केशव कोइरालाले तत्काल नगरी भ्याउँदाखेरी प्रतिक्रिया छानेर प्रकाशन गरिने हुँदा कहिलेकाहीँ दुई तीन दिनसम्म पनि प्रतिक्रिया ‘पेन्डिङ’ हुने गरेको सुनाए। (केशव कोइराला, व्यक्तिगत कुराकानी, सेप्टेम्बर १२, २०१३)
अहिले सबैभन्दा बढी प्रतिक्रिया पाउने अनलाइनखबरमा विक्रम संवत् २०६५ सालमा प्रतिक्रिया बन्द गरेको थियो। साइटका प्रधान सम्पादक धर्मराज भुषालका अनुसार प्रतिक्रिया व्यवस्थापनमा सफ्टवेयर र मानवीय जनशक्तिमा समेत समस्या देखिएपछि प्रतिक्रिया केही वर्ष बन्द गरिएको थियो। सिएमएस (वेबसाइटको सामाग्री प्रकाशन र व्यवस्थापन गर्ने एप्लिकेसन) परिवर्तन गरी वर्डप्रेसमा गएपछि मात्रै फेरि कमेन्ट खुला गरेको उनको भनाई छ।
भुषाल प्रतिक्रिया प्रकाशन गर्ने/नगर्ने बारे आफ्नो संस्थाले खासै कुनै नीति नबनाएको बताउँछन्। अश्लील र आपत्तिजनक नभए सबै प्रतिक्रिया प्रकाशन हुने उनले बताए। यद्यपि, अनलाइनखबरमा अध्ययन अवधिमै अश्लील गालीगलौज, आक्रामक भाषाशैलीसहितका प्रतिक्रियाहरु पनि मोडरेसन पार गरी प्रकाशन भएको भेटियो।
त्यस्तै टिएचटीका कोइराला प्रतिक्रिया प्रकाशनबारे ‘हार्ड एन्ड फास्ट रुल’ नभए पनि केही कुरामा ध्यान दिइएको बताए :
व्यक्तिगत रुपमा कसैलाई प्रहार गरिएको, चरित्र हत्या गर्ने शैलिको, व्यक्तिगत आक्षेप लाग्ने, फलानो चोर हो, फटाहा हो, डाँका, हो भन्ने खालको चाहिँ राख्ने गरेको छैन। कोही पब्लिक फिगर छ भने उदाहरणका लागि बाबुराम (भट्टराई) बदमाश हो, चोरै हो भने पनि त्यो चाहिँ राख्ने गरेका छौँ। पब्लिक र पर्सनल फिगरमा त्यति फरक गर्ने गरेका छौँ। (केशव कोइराला, व्यक्तिगत कुराकानी, सेप्टेम्बर १२, २०१३)
समस्याको समाधान
सांसद हुन् चाहिने न्युनतम योग्यता
१) स्नातक तह उत्तीर्ण
२) पी यम हुन् कम्तिमा मास्टर्स गरेको
३) रास्ट्रपति -पी यच डी
यी खाते ४ पास , गुण्डा , दलाल माथि पुगेर देश मा नौटंकी भएको हो |
संसद त बहुमतले नै चल्छ र साथमा बिधि पनि भए सुनमा सुगन्ध तर तिमी संग त न बिधि छ न बहुमत, बहुमत यो मानेमा छैन कि सहयोगीले समर्थन झिके, बिधि छैन यो अर्थमा कि एउटा देशको समाजसेबी जो देश र जनताको लागि अनशन बसेका छन् तिनको बारेमा वास्ता छैन आज १३ दिन भैसक्यो अनशन बसेको मरे मरुन भनेर छोडेका छौ, पाप लाग्छ होस् गर, डा. के.सीले तिमीहरु जस्तो कुर्सि, पद र पैसाको लागि लडाई लडेका होइनन सिर्फ जनताको लागि, याद गर I
हो मान्छे को व्यवहार, क्रिया, प्रतिक्रिया सभ्य हुनुपर्छ त्येसमा दुइ-मत हुन सक्दैन! तर, के पी वोली आफु पनि नैतिक, सभ्य र भब्य हुनु पर्यो ! नत्र, एउटाअनैतिकले नैतिकता को पाठ सिकाउनु, असभ्य ले सभ्यताको लेक्चर दिनु, बेइमान ले इमान्दारिता को बखान गर्नु जस्तै हुन जान्छ ! उदाहरण को लागि, जसले झापामा मान्छेको टाउको काटेर राजनीति सुरु गर्यो उसले अरुलाई अराजक भन्न सुहौछा(?) जसको पढाई SLC पनि छैन उसले बिद्द्वानहरु लाइ बुद्दि नभएको भन्न मिल्छ (?)
माओबादी केन्द्र को समर्थनमा प्रधान मन्त्रि भयो त्यो पनि गणतन्त्र मा (जसले कहिल्यै विश्वास गरेन गणतन्त्र आउछ भनेर र जना-आन्दोलन लाइ गोरु गाडा मा अमेरिका जाने भनेर होच्याउन पछि परेन) अहिले असहयोग गर्यो र अविस्वास को प्रस्ताब गर्यो भनेर त्येस्लाई “इर्ष्या प्रस्ताब” रे!
कहिँ नभएको बेइमान, झेल्ली र कृतघ्न हो ओली!
पैला आफ्नो मर्यदाता देखाउनु होश तपैहरु सत्तारुत् दलको यो कस्तो नैतिकता धिकार छ यो देशको नेताहरुलाई .