Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विदेशबाट आउने नेपालीले के ल्याउन पाउँछन्, के पाउँदैनन्?

Posted on June 15, 2016June 15, 2016 by Salokya

Basantapur (6)ग्रीन च्यानेल र रेड च्यानेल भनेको के हो ?
अन्तर्राष्ट्रिय उडानबाट आउने यात्रुहरुले आफ्नो साथमा महसुल नलाग्ने मालवस्तु भएमा भन्सार क्षेत्रमा हरियो लेनबाट र महसुल लाग्ने मालवस्तु भएमा रातो लेनबाट बाहिर निस्कनु पर्दछ । यही हरियो लेनलाई ग्रीन च्यानेल र रातो लेनलाई रेड च्यानेल भनिन्छ ।

ग्रीन च्यानेल वा रेड च्यानेल कसरी छान्ने ?
यात्रु एवं पर्यटकले आफूले लिई आएको मालवस्तु आफू प्रवेश गर्ने मुलुकको नियमानुसार महसुल छुटमा ल्याउन पाउने हो होइन, आफूसंग महसुल लाग्ने सामान छन् छैनन् निश्चित गरेर मात्र च्यानेल रोज्नु पर्दछ । तर केही सामानमा महसुल छुट हुने र केहीमा नहुने जस्तो द्विविधा पर्न गएमा रेड च्यानेल नै उपयुक्त हुन्छ । किनकि यसले कारवाहीमा पर्नबाट बचाउँछ ।

ग्रीन च्यानेलबाट महसुल लाग्ने/नलाग्ने सरसामान ल्याउँदा कसरी पहिचान गरिन्छ ?

ग्रीन च्यानेलबाट ल्याइएका सामानहरुलाई एक्स रे स्कीनिङ्ग गरिन्छ र शंकाष्पद अवस्थामा वाहेक खोलजाँच गरिदैन ।

रेड च्यानेलको प्रक्रिया के हो ?
रेड च्यानेलबाट ल्याइएका मालवस्तु खोलि चेकजाँच गरिन्छ र नियमानुसार लाग्ने महसुल कर लिई जाँचपास गरिन्छ ।

कुन कुन सरसामानमा भन्सार महसुल छुट छ भनी कसरी थाहा पाउन सकिन्छ ?

कुनै पनि हवाई उडान गन्तव्य विन्दुमा उत्रनु अघिनै सम्वन्धित उडानका हवाई परिचारक/परिचारिकाले त्यस किसिमको सूचना भएको फाराम वितरण गर्दछन् । अध्यागमनको प्रक्रिया पूरा गर्दाको विमानस्थलको परिसरमा पनि यस्ता प्रकारको सूचनाहरु ठाउँ ठाउँमा राखिएको हुन्छ । भन्सार सम्बन्धी सहयोग कक्षको पनि व्यवस्था गरिएको हुन्छ ।

भन्सार महसुल छुट हुने सरसामान के के हुन् ?
विदेशबाट फर्केका नेपाली यात्रुका सम्बन्धमा
क) लुगाफाटा, वरविछ्यौना, घर गृहस्थीका पुराना सामानहरु,
ख) औषधी उपचार गराई फर्केका विरामीले ल्याएका औषधीहरु,
ग) शारीरिक अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामान,
घ) सुन तथा सुनको गहना पचास ग्रामसम्म, चाँदी तथा चाँदीको गहना पाँचसय ग्राम र एक लाख रुपैया सम्मको जवाहरात जडित साथमा ल्याएको गहना गुरिया,
ङ) घडि/स्टिल क्यामेरा, भिडियो क्यामेरा, सेलुलर मोवाइल फोन, पेन ड्राइभ एक एक थान,
च) बच्चा राख्ने पेराम्वुलेटर र ट्राइसाइकल एक एक थान,
छ) पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामान एक एक थान,
ज) सात किलोग्राम सम्म खाद्य परिकार,
झ) मदिरा १.१५ लिटरसम्मको एक बोतल,

भन्सार महसुल छुट हुने भन्दा बढी परिमाणमा ल्याएमा के हुन्छ ?
मदिराको हकमा जफत हुन्छ भने अरु उल्लेख भएका सरसामानको हकमा औचित्य हेरी स्वीकृति दिन सक्ने व्यवस्था छ ।

६ महिना वा सो भन्दा बढी विदेशमा बसि फर्केका नेपाली यात्रुहरुले सुन र चाँदी के कति ल्याउन पाउँछन् ?
छ महिना र सो भन्दा बढी बसि फर्कने नेपाली यात्रुले ५०० ग्राम सम्म सुन र १ किलो सम्म चाँदीमा लाग्ने महसुल तिरि ल्याउन पाउँछन् ।

विदेशबाट आफू फर्किसकेपछि पनि सामान ल्याउन (मगाउन) पाइन्छ ?

पाइन्छ । तर नेपालमा स्थायी बसोवास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कंदा आफू आउनु अघि वा पछि चलान गरेको भएमा आफू नेपाल प्रवेश गरेको मितिले तीन महिनाभित्र त्यस्तो सामान भन्सार गोदाममा दाखिल भै सकेको हुनु पर्नेछ ।

विदेशबाट फर्कने नेपाली यात्रुहरुले आफू साथ ल्याएका वा आफू आउनु अघि वा पछि पठाएको सामानहरुमा के कति मूल्यको सामानमा भन्सार छुट पाइन्छ?
विदेशमा ६ महिना भन्दा बढी अवधि बसि फर्कने यात्रुले निम्न बमोजिमको मूल्य सम्मका सामानमा लाग्ने भन्सार महसुल पूर्ण रुपमा छुट पाउँछ ।
क) ६ महिना भन्दा बढी एक वर्षसम्म विदेशमा बसि फर्केमा १५ हजार सम्म र
ख) एक वर्ष भन्दा बढी जतिसुकै अवधि विदेशमा बसि फर्केमा २५ हजार रुपैयाँ सम्म

उमेर नपुगेका केटाकेटीहरुका संबन्धमा कस्तो व्यवस्था छ ?
विदेशबाट फर्कने नेपाली यात्रुहरु मध्ये १६ वर्ष मुनिका यात्रुहरुले छुटको सिमाको ५० प्रतिशत मात्र सुविधा पाउँछन् ।

विदेशमा वसि फर्कने नेपाली यात्रुहरुले आफूले प्रयोग गरेका वाहेक नयाँ लुगाफाटा पनि ल्याउन पाइन्छ ?
विदेशमा रहँदा प्रयोग गरेका लुगाफाटा मात्र भन्सार छुटमा ल्याउन पाइन्छ । नयाँ ल्याएमा नियमानुसार ल्याउन पाउने परिमाण जतिमा प्रचलित आर्थिक ऐन अनुसार समदरमा भन्सार महसुल तिर्नु पर्छ ।

विदेशमा बसि फर्केका नेपाली यात्रुहरुले भन्सार महसुल तिरेर शरीरमा लगाउने लुगाफाटा आदि कतिसम्म ल्याउन पाइन्छ ?
विदेशमा बसि फर्केका नेपाली यात्रुहरुले आफुले प्रयोग गरेका सामान वाहेक शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कस्मेटिक्श आदि बढीमा १५/१५ थान नियमानुसार समदर महसुल बुझाई ल्याउन पाइन्छ ।

विदेशमा बस्दा आफ्नो सम्बन्धित काममा प्रयोग गरिएका पेशागत सामान आफू फर्कंदा नयाँ सामान समेत ल्याउन पाइन्छ ?

पेशागत यात्रुले प्रयोग गरेको सामान्य प्रकारको सामानहरु जस्तै डाक्टरको लागि व्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथोस्कोप, खेलाडिको खेलकुद सम्बन्धी सामान जस्तै फुटबल, भलिबल, व्याडमिन्टन सेट, गवैयाको सामान्य बाजा जस्तै गिटार, हार्मोनियम, तवला जस्ता सामानहरु १/१ थानमा भन्सार लाग्दैन तर आफ्नो दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान २/२ थान ल्याउन पाइन्छ र सो मा प्रचलित आर्थिक ऐन अनुसार समदरमा महसुल तिर्नु पर्दछ ।

विदेशमा बसि फर्कने नेपाली यात्रुहरुले आफ्नो प्रयोगको लागि खाद्य पदार्थ कति सम्म ल्याउन पाइन्छ ?
महसुल नतिरि ७ किलो सम्म र प्रचलित आर्थिक ऐन अनुसार समदरमा महसुल तिरि १० किलो सम्म खाद्य पदार्थ ल्याउन पाइन्छ ।

विदेशमा वसेका व्यक्तिले नेपालमा रहेका आफन्त वा परिवारलाई सामान पठाउन मिल्छ ?
२५० अमेरीकी डलर सम्मको सामान (मनाहि तथा परिमाणत्मक बन्देज भएका सामान वाहेक) पठाएमा भन्सार कार्यालयले प्रमाण हेरि नियमानुसार लाग्ने समदरमा भन्सार महसुल लगाई जाँच पास गर्न सक्ने छ ।

विदेशमा बसि फर्कने यात्रुहरुले चुरोट, सिगार कति ल्याउन पाइन्छ ?
विदेशमा बसेका नेपाली यात्रुहरु आफु फर्कदा चुरोट २०० खिल्लीसम्म वा सिगार ५० खिल्ली सम्म दरवन्दी अनुसार लाग्ने महसुल तिरि ल्याउन पाइन्छ । सो भन्दा बढी ल्याएमा बढी भएजतिको परिमाणमा लाग्ने भन्सार महसुलमा शतप्रतिशत थप भन्सार महसुल लाग्छ ।

कुनै नेपाली नागरिकको विदेशको बसाइको क्रममा मृत्यु भएमा निजको विदेशमा बस्दा प्रयोग गरेका सामानहरु पैठारी हुँदा कुनै कर महसुल लाग्छ/लाग्दैन?
प्रयोगमा आएका पुराना घरायसी मालसामानमा कुनै कर महसुल लाग्दैन ।

भारतीय सेवा वा प्रहरीबाट सेवा निवृत भई निवृति भरण पाउने गरि स्वदेश फर्कदा निजी प्रयोगका घरायसी सामान आफु साथ ल्याउँदा भन्सार लाग्छ ?
सेवा निवृत भएको कागजात पेश गरेमा एक पटकको लागि ५० हजार मूल्य सम्म पर्ने सामानहरु महसुल छुटमा ल्याउन पाइन्छ (यसमा सवारी साधन हात हतियार र खर खजाखजाना र प्रतिवन्धित सामान वाहेक) ।

विदेशबाट फर्केका नेपाली यात्रुहरुले आफुले ल्याएको सामान अन्य व्यक्तिको नाममा जम्मा गर्न र नामसारी गरी छुटाउन सकिन्छ ?
पाइदैन ।

विदेशमा वसी फर्केका नेपाली यात्रुले ल्याउने एल.सी.डी. वा प्लाज्मा टेलिभीजनमा भन्सार महसुल कसरी लाग्छ ?
विदेशमा निम्न बमोजिमको अवधि वसी फर्केका नेपाली यात्रुले ल्याउने एल.सी.डी. वा प्लाज्मा टेलिभिजनमा निम्न बमोजिम भन्सार महसुल एकमुष्ट लाग्दछ र यिनमा अन्तःशुल्क तथा मूल्य अभिबृद्धि कर लाग्दैन ।

टेलिभीजन को साइज विदेशमा बसेको अवधि र लाग्ने महसुल
६ महिनासम्म ६ महिना भन्दा वढी
(क) २२ इन्चसम्म प्रतिइन्च रु. २००।— प्रतिइन्च रु. १५०।—
((ख) २३—२९ इन्च प्रतिइन्च रु. ३००।— प्रतिइन्च रु. २५०।—
(ग) ३०—३२ इन्च प्रतिइन्च रु. ४५०।— प्रतिइन्च रु. ४००।—
(घ) ३३—३९ इन्च प्रतिइन्च रु. ५५०।— प्रतिइन्च रु. ५००।—
(ड०)४०—४९ इन्च प्रतिइन्च रु. ६००। प्रतिइन्च रु. ५५०।—
(च) ५० इन्च र सो भन्दा माथि प्रतिइन्च रु.१२५०।— प्रतिइन्च रु.१२००।—

तर वैदेशिक रोजगारमा गई कम्तीमा लगातार बाह्र महिनाकाम गरी आउने नेपाली नागरिकहरूलाई एक पटकको लागि अभिलेखवद्ध गरी निजहरूले साथमा ल्याएको एउटा जुनसुकै प्रकारको बत्तीस इन्च सम्मको टिभिमा लाग्ने सम्पूर्ण कर महसुल छुट दिइनेछ । सो भन्दा बढी इन्चको टेलिभिजन ल्याएमा उक्त छुट सुविधा दिइनेछैन ।

उडानमा गएका क्रिउ मेम्वरहरुले आफ्नो प्रयोगमा ल्याएको निजी सामान वाहेक अन्य वस्तु ल्याउन पाइन्छ ?ल्याएमा के हुन्छ ?
पाइदैन | उडानमा गएका बखत क्रिउ मेम्वरहरुले उडानमा साथमा लगेका निजी सामान वाहेक अन्य सामान ल्याउन पाइदैन, ल्याएमा जफत हुन्छ ।

नेपाली नागरिक विदेश जाँदा विदेशमा रहेका आफन्त तथा मित्रहरुलाई सौगातको रुपमा दिनकति मूल्य सम्मका सामान नेपालबाट साथमा लिएर जान पाइन्छ ?
नेपालमा उत्पादन भएका २५ हजार मूल्य सम्मका मालसामान (मनाहि र नियन्त्रित वाहेक) महसुल नतिरि लैजान पाइने र मु.अु.कर लाग्ने सामान भए कर विजक र मु.अ. कर नलाग्ने सामान भए स्थायी लेखा नम्वर भएको विजक पेश गरेमा मूल्यको सिमा वन्देज लागू हुँदैन ।

विदेशमा औषधि उपचार गराई फर्केका विरामीले साथमा ल्याएका औषधिमा भन्सार लाग्छ/लाग्दैन?
लाग्दैन ।

विदेशमा वस्ने नेपालीहरुले आफुले प्रयोग गरेका लत्ता कपडाहरु हुलाक पुलिन्दा बाट पठाउँदा महसुल लाग्छ/लाग्दैन ?
प्रयोग गरेका लत्ता कपडामा भन्सार महसुल लाग्दैन ।

विदेशबाट फर्कने नेपाली यात्रुहरुले आफु आउनु भन्दा अघि वा पछि ल्याएका भन्सार महसुल पूर्ण छुट हुने वा समदरमा भन्सार तिरि ल्याउन पाउने वस्तु वाहेक नितान्त घर व्यवहारमा प्रयोग हुने कुनै सामानहरु ल्याउन पाइन्छ/पाइदैन ?
विदेशबाट फर्केका नेपाली यात्रुहरुले नितान्त घर व्यवहारमा आवश्यक पर्ने सामान ल्याएमा त्यस्ता यात्रुको अवस्था परिवार संख्या बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखि भन्सार कार्यालयको प्रमुखले औचित्य हेरी लाग्ने समदरमा महसुल लिई जाँचपास गर्न स्वीकृति दिनसक्छ ।

अन्तर्राष्ट्रिय हवाई उडानबाट आउने जाने विदेशी यात्रुले पछि फिर्ता ल्याउने वा लैजाने शर्तमा निजी प्रयोगका चलनचल्तीमा ल्याएका कुन कुन पुराना सामान ल्याउँदा वा लैजाँदा महसुल छुट हुन्छ ?
क) वाइनाकुलर, दुरविन गोटा १
ख) भिडियो क्यामेरा, स्टिल क्यामेरा, १/१ गोटा
ग) पोर्टेवल म्यूजिक सिष्टम १ सेट र सो मा प्रयोग हुने सि.डि., टेप जस्ता रेकर्डेड मिडिया हरु दश थान
घ) लुगाफाटा, वरविछ्यौना, घर गृहस्थीका पुराना सामानहरु,
ङ) पेराम्वुलेटर र ट्राइसाइकल एक एक थान,
च) साइकल १,
छ) घडी १
ज) सेलुलर मोवाइल फोन १
झ) निम्न बमोजिमका पेशाकर्मीले आफूले चलनचल्तीमा ल्याएका निम्न बमोजिमका उपकरण हरु
१) कर्मीले काम गर्न ल्याएको ज्यावल बढीमा १ सेत
२) डाक्टर वा बैद्यले काम गर्नको निमित्त ल्याएको सामान्य किसिमको यन्त्र, औजारहरु र औषधीहरु तथा सम्वन्धित विशेषज्ञले प्रयोग गर्ने आवश्यकीय सामानहरु
३) गवैयाको गाना बजानाको यन्त्र एवं गाना बजाना सम्बन्धी आवश्यक सामान
४) खेलाडीको खेलकुद सामान
५) माछा मार्ने रड
६) पचास ग्राम सम्म सुनको गहना र सय ग्राम सम्म चाँदीको गहना

पासपोर्ट लिइ आउने विदेशी यात्रुहरुले ल्याउने कुन कुन सामानमा भन्सार महसुल लाग्दैन ?
क) मदिरा १.१५ लिटरसम्मको एक बोतल वा वियर १२ क्यान सम्म
ख) चुरोट २०० खिल्ली, सिगार ५० खिल्ली सम्म, टोवाको २५० ग्रामसम्म
ग) स्टिल क्यामेराको फिल्म १५ गोटा र मुभी क्यामेराको १२ गोटासम्म
घ) दश हजार रुपैया मूल्य सम्मका औषधी (नेपालमा पैठारी मनाहि भएका औषधीहरु वाहेक)
ङ) पाँच हजार रुपैया मूल्य सम्मका खानेकुराहरु (टिन प्याक समेत)
च) दुइ हजार रुपैया मूल्य सम्मका ताजा फलफूल

विदेशी यात्रुले के कति रकम सम्मको नेपालको बजारमा खरिद गरेको मालसामान इजाजतपत्र विना विदेशमा पठाउन वा लैजान सक्छ ?
आधिकारिक रुपमा विदेशी मुद्रा सटही गरेको प्रमाण भएसम्म रकमको नेपालमा खरिद गरिएको मालसामान विना इजाजत पत्र (निकासीमा वन्देज लागेको वाहेक) लैजान वा पठाउन सक्छ ।

विदेशी यात्रुले मूल्य अभिवृद्धि कर लाग्ने विजक वा सो कर नलाग्ने सामानमा स्थायी लेखा नम्वरको विजक भएमा कति सम्मको मालसामान आफुसाथ लैजान वा पठाउन सक्छ ?
रु २५ हजार सम्मको मालसामान आफू साथ लैजान वा पठाउन मू.अ. कर विजक वा स्थायी लेखा नम्वर भएको विजक आवश्यक पर्दैन । सो भन्दा माथिको हकमा उपरोक्त विजकहरुको जति सुकै मूल्यको सामान (निकासी मा वन्देज लागेको वाहेक) विना इजाजतपत्र निकासी गर्न सक्दछ ।

(स्रोत : भन्सार विभाग। थप जानकारी आवश्यक भए [email protected] मा इमेल गर्न सकिन्छ)

10 thoughts on “विदेशबाट आउने नेपालीले के ल्याउन पाउँछन्, के पाउँदैनन्?”

  1. ye arjun says:
    July 17, 2016 at 7:11 am

    हाल को ब्यवस्था अनुसार मिक्सर होम थिएटर दुबै मा 40% कर लाग्छ

    Reply
  2. D.L Sharma says:
    June 20, 2016 at 2:29 pm

    कम्सेकम आफुले प्रयोग गरेको गाडीलाइ अन्तिम क्यान्सिल जाँदा भन्सार छुटको ब्यबस्था भए कति खुसि हुने थिए होला बिदेशमा बस्ने नेपालिहरु ????

    Reply
  3. Sagar Sharma says:
    June 18, 2016 at 9:23 am

    मलाई होम थेअर्त(home theatre speakers only) लियर आउन मान्छ . क होम थेअतेर मा नि भन्सार तिर्नो पर्छ?कोसीला जानकारी भए सहयोग गार्दिनो होला

    Reply
  4. rb says:
    June 18, 2016 at 12:11 am

    सोच्ने / अनि नियम कानुन फेर्ने बेला भयो : अब गाडी पनि नितान्त घर ब्यबहारमा प्रयोग हुने बस्तुमा पर्छ तेसैले आफुले बिदेसमा २/३ वर्ष पर्योग गरि आएको गाडी प्रमाण सहित इन्जिन size हेरी बिसेष छुट दिने होकी! या विलासी बस्तुको बिल्ला लगाएर ठुला बडा ले मात्रै गाडी चड्ने ?

    Reply
  5. rb says:
    June 18, 2016 at 12:09 am

    # विदेशबाट फर्कने नेपाली यात्रुहरुले आफु आउनु भन्दा अघि वा पछि ल्याएका भन्सार महसुल पूर्ण छुट हुने वा समदरमा भन्सार तिरि ल्याउन पाउने वस्तु वाहेक नितान्त घर व्यवहारमा प्रयोग हुने कुनै सामानहरु ल्याउन पाइन्छ/पाइदैन ?

    विदेशबाट फर्केका नेपाली यात्रुहरुले नितान्त घर व्यवहारमा आवश्यक पर्ने सामान ल्याएमा त्यस्ता यात्रुको अवस्था परिवार संख्या बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखि भन्सार कार्यालयको प्रमुखले औचित्य हेरी लाग्ने समदरमा महसुल लिई जाँचपास गर्न स्वीकृति दिनसक्छ ।

    सोच्ने / अनि नियम कानुन फेर्ने बेला भयो : अब गाडी पनि नितान्त घर ब्यबहारमा प्रयोग हुने बस्तुमा पर्छ तेसैले आफुले बिदेसमा २/३ वर्ष पर्योग गरि आएको गाडी प्रमाण सहित इन्जिन size हेरी बिसेष छुट दिने होकी! या विलासी बस्तुको बिल्ला लगाएर ठुला बडा ले मात्रै गाडी चड्ने ?

    Reply
  6. Shishir Barakoti says:
    June 16, 2016 at 8:47 pm

    जे पनि चोरी हुने हाम्रो ऐरपोर्ट ल्यार नि के गर्नु चोरी हाल्छन क्यारे हैत

    Reply
  7. chandra says:
    June 16, 2016 at 7:08 am

    धनी मन्छे पक्कै रोज्गारिको लागि बिदेश जादैन होला ।जाने भनेकै गरिब हो २/४ पैशा कमायेर इच्छा लगेक कुरा लियेर आउदनी सरकारले गिद्दे नजर लगाउछ।त्यो २५% तलब बृध्धिको satta २५% भन्सर छुट गरिदियेको भये नका बत घुस्ने सामान सस्तोमा आउथे गरिबलाइ पनि सहुलियत हुन्थ्यो।जो रोजगारी छ उसैलाइ सुबिधा दिन्छ गरिबलालाई खोइ बिचार गरेको।बिदेसी युवाकै remitance le देश चलेको छ फेरि उनिहरुलाइ दुखा।धिक्कार छ तिमिहरु जस्ता गरिबसम्बार चितुवाहरुलाइ। बाटो

    Reply
  8. sushil says:
    June 16, 2016 at 6:17 am

    एउटा यस्तो देश जहाँ शासकले बजेट भाषणमा छाती फुलाएर “यति राजश्व उठाउने लक्ष्य छ” भन्छ तर कहिल्यै देशलाई “यत्तिको उत्पादन मुलक बनाउँछौं भन्दैनन्”। यहाँ हरेक कुरामा कर लगाएर जनताको रगत पसिना चुसिन्छ। टि.आई.ए मा झरेपछि चुसिन सुरु हुन्छ। नीति निर्माणको तहमा रहेकाहरु महंगीले गर्दा घुस खानु परेको भन्दछन तर तिनलाई खान नपुग्ने होइन कि मिठो र मात लाग्ने खान नपुग्ने हो। हल्ला गर्ने पत्रकारहरुनै सरकारी ढुकुटीमा बिक्दा रहेछन, अरु बोलेर नियमले मिल्दैन! पांच तारे होटलमा टन्न कुकुरको झोल र एक छाक खाना खुवाई दिएपछि एक कोलम सम्म लेख्लान। त्यो खर्च गर्न हामीले सकिंदैन, सक्नेले फेरी उल्टो लेखाउँछ।

    Reply
  9. Sagar says:
    June 16, 2016 at 1:54 am

    एउटा DSLR क्यामेरा विदेश बाट लगेर जादा भन्सार तिर्न पर्ने हो कि नपर्ने हो saalokya सर ? जानकारी पाए आभारी हुने थिए |

    Reply
  10. shankar says:
    June 16, 2016 at 12:03 am

    नीति निर्माताहरु को सारै दरिद्र मानसिकता भए झैँ लग्यो, बैदेशिक रोजगारीमा जाने हरु सबै दरिद्र नै हुन्छन, उनिहरू को हैसियत भनेको सबैको समान हो , कुनै पनि नेपाली कम्ति मा १ वर्षा नबसी एउटा नाथे ३२ इन्च को टि.भि. सम्म पनि किन्न सक्दैन, आज भोलि बिभिन्न उच्च ओहदामा पनि नेपाली हरु को बाक्लो उपस्थीति छ बैदेशिक रोजगारीमा भन्ने पनि ज्ञात नभएका कथित नीति निर्माता हरु. हरेक ३ , ६ या ८ महिनामा स्वदेश आउने बैदेशिक रोज्गारिमा भएका नेपाली हरुले अन्तशुल्क मिनाहा को TV ल्याउने सुबिधा आफन्त/घर परिवार संग १ वर्ष बाहिर रहने सर्त स्विकारे मात्र पाउने भए, हुन् त उच्च ओहदामा काम गर्ने हरु कर तिर्न पनि सक्छन भन्ने तर्क होला तर देश बाहिर बसेर remittance पठाई पठाई देशको अर्थ तन्त्र मा लगभग ३०% टेवा दिने नेपली हरु लाइ सारै नै दरिद्र नजरले हेरेको देख्दा अचम्म लाग्छ, थुइक्क !!!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme