शुक्रबारदेखि भेन्टिलेटरमा राखिएका संगीतज्ञ अम्बर गुरुङ चमत्कार भएर फर्कने आशा ५ प्रतिशत थियो। १ प्रतिशतै रहे पनि त्यो ठूलो कुरा थियो। तर अहँ, चमत्कार भएन। ७९ वर्षको उमेरमा मंगलबार बिहान २ बजेर ३७ मिनेटमा निधन भएको घोषणा ग्रान्डी अस्पतालले गर्यो।
गार्डियनको म्युजिक ब्लगले विश्वको उत्कृष्ट राष्ट्रिय गानमध्येको एक छानेको ‘सयौँ थुङ्गा फूलका हामी..’ को संगीत सर्जक थिए अम्बर। ए कान्छा ठट्टैमा यो बैँस जान लाग्योमलाई सुनको तारा खसाइदेऊ न.. जस्ता रोमान्टिक गीतदेखि ‘कहीँ आफ्नै भूमरीमा आफै पर्यौ कि..’ जस्तो सिरियस गीतसम्ममा उनको सिर्जना थियो। उनी अम्बर नै थिए, हामी धर्ती थियौँ। तर संयोगले उनीसित भारतको मेदान्त अस्पतालको ४०३९ नम्बरको रुमको बेडमा भेट भएको थियो तीन महिनाअघि।
अम्बर गुरुङसँग निकै नजिकिएर काम गरेका साथी देवेन्द्र भट्टराईका कारण त्यो भेट संभव भएको थियो। उनैले सुनाएका थिए अम्बरका अजीब कुरा। भारतको अस्पतालमा यहाँ जस्तो बिरामीलाई अस्पतालमै भर्ना गर्न जोड गरिँदैन। सकेसम्म बाहिरै बसेर फलोअपका लागि अस्पताल बोलाइन्छ। उनलाई किमो गराउनु पर्ने बेला मात्र अस्पताल बोलाएर अरु बेला अपार्टमेन्टमा बसाइएको थियो। ‘मलाई हार्मोनियम खोजेर ल्याइदेऊ न, म बजाउँछु,’ उपचारका लागि अपार्टमेन्टमा रहँदा पनि उनी आफूलाई भेट्न आउनेलाई आग्रह गर्थे। संगीतका गजबै साधक रहेछन् उनी।
अम्बर गुरुङको बायोग्राफी तयार गर्ने क्रममा रहेका देवेन्द्र आफ्नै पत्रकारिता कर्ममा व्यस्त भएपछि पुस्तक अधुरै रहेको छ। तर अम्बरबारे इनसाइक्लोपेडिया नै हुन् उनी। अम्बर पनि साह्रै माया गर्ने देवेन्द्रलाई। छोरी अलका दिदीले सुनाएकी थिइन्, देवेन्द्र आएन भनेर सोध्नुहुन्छ सँधै। हुन पनि राज्यको तर्फबाट राष्ट्रिय गानका सर्जकका रुपमा मासिक भत्ता दिलाउनेदेखि उपचार खर्च राज्यले बेहोर्ने निर्णय सरकारलाई गराउन दबाब दिलाउनेसम्ममा देवेन्द्रको महत्त्वपूर्ण भूमिका थियो। तपाईँ हामीले पनि त्यसमा साथ दियौँ र राज्यले त्यस्तो निर्णय गर्यो।
देवेन्द्र रमाइलो गर्ने पनि उत्तिकै। अम्बर गुरुङ आफूले इन्टरकास्ट बिहे गरेको भएर अरुले पनि त्यस्तो गरेको थाहा पायो कि खुसी हुन्छन् रे भनेर उनैले सुनाए मलाई। अनि अम्बर सरकै अगाडि उसले पनि इन्टरकास्ट बिहे गरेको हो नि भनेर सुनाइ हाल्यो। अचम्मै भो। उनले पनि चासो दिएर मलाई सोधे, हो? कोसित गरेको। मैले तामाङसित भनेँ। उनले अझै जानकारी खोजे, योञ्जन भनेँ।
उनको अवस्था त्यतिबेला पनि ठीक थिएन। साह्रै कमजोर देखिन्थे। गएको चैतमा उनी उपचार गराई फर्कँदा भने अब केही ठीक भए होला भन्ने लागेको थियो। तर फर्किएको दुई महिनामै उनले भौतिक शरीर त्यागे।
उनको र उनको परिवारको एउटा गजबको स्वाभिमान भने देखियो। अलका दिदीले उपचारका लागि अनलाइनमा चन्दा उठाइरहेकोमा त्यसो नगर्न लेखिदिन आग्रह गरेकी थिइन्। राज्यको दायित्व हो उपचार खर्च व्यहोर्ने, राज्यले आफ्नो दायित्व पूरा नगरे आफैले व्यहोरिरहेको र व्यहोर्ने उनको भनाई थियो।
त्यसो त महेन्द्रले बोलाएको भरमा नेपाल फर्कने धेरैजसोले राजासँग घर,जग्गा,सम्पति सबथोक मागे। तर संगीत नै ठूलो सम्पति ठानेर बस्ने अम्बरले धर्तीका सानातिना कुरा माग्ने मन कहिल्यै गरेनन्। र त, उनीसँगै नेपाल आएकाहरु अहिले कहाँबाट कहाँ पुगिसके, उनी जीवनको अन्तिम समयसम्म बूढानिलकण्ठमा भाडाको घरमा बसिरहेका थिए जसको भाडा विदेशमा बस्ने छोरीले तिरिदिन्थिन्।
देवेन्द्रले नै मलाई सुनाएको थियो- पूर्वीय संगीतमा पश्चिमा शैलीको आभास दिलाइ ट्युनिङ गर्न सक्ने खुबी भएको एक मात्र संगीतकार हुन् उनी। दिनभर प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको न्युज कभरमा व्यस्त हुने हामी राति न्युज फाइल गर्दै सुन्थ्यौँ उनका गीतहरु। उनले हजार वटा जति गीत कम्पोज गरेका छन् त्यसमध्ये ६/७ सय वटा गीतमा त उनकै शब्द र स्वर रहेको छ।
तिमी भूलमा पर्यौ
म पनि झुक्किएँ
यो भेटघाटलाई
एक संगम भनी
नलागी कतै चोट
अब छुटौं हामी
मिल्दैन यहाँ दस्तुर भनी
यो गीत चैँ अचम्मैको छ। लर्तरो मान्छेले गाउनै नसक्ने। पूरापूर पश्चिमा शैलीको धुनमा बहेको यो गीत ‘मेजर’बाट सुरु हुन्छ, ‘मेजर’मै टुङ्गिन्छ। नेपथ्यका अमृत गुरुङले समेत यो गीत जति गर्दा पनि राम्रोसँग गाउन नसकेको गुनासो गर्थे रे अम्बर गुरुङसित- देवेन्द्रका अनुसार। यो गीतबारे रहेको कथा उनले पछि कान्तिपुरमा लेखे- तिमी भूलमा पर्यौ…
यस्तो थियो त्यसको केही अंश
‘त्यही क्या, तपाईंलाई नि थाहा छ नि उताको भोटेबस्ती । (यो उताको पक्कै दार्जिलिङको थियो) । हो, त्यहाँ थिइन् एक फ्यान–फलोवर । बेलुका कामधाम भ्याएपछि यसै मीठामसिना बात गरेर हामी टहलिन निस्कन्थ्यौं । कस्तो भने स्कुले बेलामा नोटकपीको भित्री पेजमा राखेको गुलाफको एउटा पत्ता हरेक दिन चिहाउन खोजेजस्तै, अल्लारे स्वभाव क्या । एक साँझ ८ बजेतिर घर फिर्दै गर्दा बाटैमा भेटिइन्, ती युवतीकी आमा । म त मुसलधारे पानीमा भिजेजस्तै निथ्रुक्कै भइहालें नि, के न कसो । ती आमाले मतिर फर्केर भनिन्— अलिक सम्हालिनु नि ।
त्यसपछि सल्लाहमै हाम्रो भेटघाट बन्द भयो । केही दिनमा उनी मेडिकल पढ्न दरभंगातिर जाने भइन् । मेडिकल भर्नाको प्रक्रिया पूरा गरेर उनी १ महिनामा दार्जिलिङ फिरिन् । खुसीको मुड थियो, हामी दुवैको । त्यसैगरी एउटा साँझ एउटा पार्कमा हामी पुग्यौं । मेरो सानो पियानो थियो, त्यही पियानोको ‘इ–मेजर’मा मैले मेरो सिर्जना सुनाउन चाहें, के–के न बित्तोझैं—
‘तिमी भूलमा पर्यौ म पनि झुक्किएँ
यो भेटघाटलाई एक सङ्गम भनी
नलागी कतै चोट अब छुटौं हामी
मिल्दैन यहाँ दस्तुर भनी…अचानक छेउमा रहेकी एक्ली श्रोताबाट सुँकसुँक सुरु भइसकेको रहेछ । मैले आफ्नै लयमा पत्तै पाइनँ । म एकाएक दुनियाँकै शक्तिमान गायकझैं बनिरहेको थिएँ, म ‘इ’ बाट म ‘जी’ मेजरमा उक्लिसकेको थिएँ—
‘बेहोस त अलिक हामी दुवै नै छौं
सम्हालेनौं भने हामी दुई नै गिर्छौं
तिमी टाढिँदै जाऊ, फारिँदै म जान्छु
यही भेट अभिशाप कतै हुन्छ भने
नलागी कतै चोट अब छुटौं हामी
मिल्दैन यहाँ दस्तुर भनी…त्यसपछि त सुँकसुँक अझै बढेर गयो । यिनै युवतीसँगको एक महिनाअघिको छुटपुटको घटनामा लेखिएको गीत, रचिएको संगीत र जन्मिएको स्वरले यो बला झनै गर्नु–नगर्नु गर्यो । ‘मलाई प्रमिस गर्नुस्, अब आइन्दा यो गीत कहिल्यै पब्लिकमा गाउनु हुने छैन,’ युवतीले बिस्तारै अम्बरको हात थामेकी थिइन् ।
गुरुङ जिनको हक्की र साहसी छोरा भए पनि अम्बरले गहभरि भरिएर जवाफ फर्काएका थिए, ‘हुन्छ, म गाउँदिनँ ।’
कुनै दन्त्यकथाझैं लाग्ने यो कथाकुथुङ्ग्रीपछि अम्बरले यो गीत दार्जिलिङे पब्लिकमा कहिल्यै गाएनन्, बरु काठमाडौं आएर साङ स्टुडियोमा रेकर्ड गराए ।
त्यसपछि ती युवती आफ्नै लेखान्तको गोरेटोमा कतै अलप भइन्, अम्बर कतै विलीन भए ।
यसरी एक जना अम्बर भए, अर्की धर्ती ।
अम्बर गुरुङका यस्ता थुप्रै प्रसंग होलान् जुन शायद् देवेन्द्रले कुनै दिन सार्वजनिक गर्नेछन्। अहिलेलाई अम्बर दूर भएका छन् हामीदेखि। तर उनको गीतले भनिरहेको छ-
म दूर भएर के भो
अभिशाप छाएर के भो
यति रोए जिन्दगीमा
कि फेरि रोएर के भो
‘कहिले लहर कैले तरंग’ अल्बम मा ‘तिमि भूल मा पर्योउ’ सुन्न सकिन्छ| यो गाना को कथा पढेर मलाई सारै रमाइलो लाग्यो| यो गाना येस्तो राम्रो भएर पनि अम्बर गुरुङ ले किन प्रोग्रामहरुमा नगएको रैछ भनेर मलाई अचम्म लाग्थ्यो| आज थाहा पाइयो| धन्यबाद| अम्बर गुरुङ प्रति मेरो पनि श्रदान्जली छ, उहाको आत्माले चिर शान्ति पाओस!
ए हजुर माथि उल्लिखित त्यो अजम्मरी गीत “ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो..” नारायण गोपालले गाएका र संगीत भरेका हुन्, रत्न शम्सेर थापाका रचनामा|
अम्बर सरका कालजेयी गीत अरुणा लामा र रुद्रमणि गुरुङले गाएका र पासांग वाङ्ग वलले शब्द रचना गरेका ” एक कान्छा मलाई सुनको तारा खसाईदेऊ न..” हो|
नेपाली माझ अमर रहनेछन अम्बर |
RIP. Truly a maestro. He’ll live forever in our hearts.
RIP….you will be with us always thru your unforgettable songs !
Rest in Peace Sir
RIP sir.
Thank you for your wonderful creation. I remember my youth listening your song ukali chaada pasina pusne… Never tired of listening that song. Your music and Narayan Sir voice is great combination..
नेपाली संगीतको इतिहासमा महान संगीतग्ये अम्बर गुरुङ प्रति म हृदयदेखि नै भावपूर्ण श्रदान्जली अर्पण गर्दछु , उहाको आत्माले चिर शान्ति पावओस!
Rest In Peace Sir.
We know you are back to the ULTIMATE SOURCE. Thank you for your songs you left behind for us, Thank You.