Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अचम्म ! यति सस्तो क्यान्टिन : साढे ३ रुपैयाँमा एक प्लेट खाना

Posted on May 23, 2016 by Salokya

IMG_8481 साढे ३ रुपैयाँमा एक प्लेट खाना खान पाइन्छ भनेर भन्दा कुन जमानाको कुरा गर्‌यो होला जस्तो लाग्ला तपाईँलाई। हुन पनि अहिले हाइवेका होटलहरुमा एक प्लेट मासु बिनाको खाना खान कम्तिमा पनि १२० रुपैयाँ पर्छ। तर यो उहिले बाजेको पालाको कुरा हैन, अहिलेको कुरा हो।

साथीहरु केही समयअघि घुम्न जाँदा सूर्य चुरोट बनाउने सिमरा, बाराको कारखाना पुगेर आएका थिए। त्यहाँ भित्रको क्यान्टिन देखेर उनीहरु तीन छक्क परेछन्। यति सस्तो पनि खाना पाइँदो रहेछ।

त्यो क्यान्टिनमा राखेको मेनु हेर्नुस् न, कति अचम्म लाग्दो छ। हामी महँगो हेरिरहने बानी परेकालाई त्यहाँ पैसामा लेखिएको कुरा रुपैयाँमा लेखिएको जस्तो लाग्न सक्छ। तर त्यो रुपैयाँ हैन पैसा नै हो।

IMG_8481

यसमा भात ३५० ग्रामको ७५ पैसा लेखिएको हो। तर हामीलाई ७५ रुपैयाँ लेखिएको जस्तो लाग्न सक्छ। त्यसो त ७५ रुपैयाँ भए पनि यो सस्तो जस्तो लाग्ने अहिलेको जमाना न पर्‌यो। दाल २०० ग्रामको मूल्य चाहिँ ५० पैसा रहेछ। दुई थोक तरकारी ५०/५० ग्रामको ५०/५० पैसा गरी एक रुपैयाँ अनि चटनी एक चम्चाको २५ पैसा रहेछ। यो सब जोडेर दाल-भात-तरकारी-अचारसहितको एक प्लेट खानाको पर्‌यो ३ रुपैयाँ ५० पैसा।

मासु खानेहरुलाई पनि सस्तो हेर्नुस् त। १०० ग्राम मासुको १ रुपैयाँमात्र। १५० ग्राम माछाको पनि एक रुपैयाँमात्रै। दुध एक ग्लासको चाहिँ २ रुपैयाँ ५० पैसा रहेछ।

तपाईँले अरु कतै यति सस्तोमा खानेकुरा बेच्ने क्यान्टिन देख्नुभएको वा सुन्नुभएको छ? छ भने तल कमेन्टमा लेखेर जानकारी दिनुस् है।

कम्पनीले आफ्ना कर्मचारीहरुका लागि सुविधा दिन क्यान्टिनमा यति सस्तोमा खानेकुरा दिएको रहेछ। त्यतिमात्र होइन, त्यहाँ काम गर्ने कर्मचारीहरुले भाडा पनि तिर्न नपर्ने गरी उद्योगभित्रैको ६ बिघामा बनेको कोलोनीमा बस्न पाउने रहेछन्। एउटै घरमा खाँदिएर बस्नुपर्ने होइन, हरेकका लागि अलग्गै घर।  बत्ती पनि २० युनिटसम्म फ्री। २० युनिटभन्दा बढी चलायो भने मात्रै पैसा तिर्नुपर्ने।

सूर्य नेपालका कर्मचारी बस्ने कोलोनी
सूर्य नेपालका कर्मचारी बस्ने कोलोनी

यहाँ पनि ट्रेड युनियन नभएको होइन, छ। तर दलका ट्रेड युनियन छैनन्। कामदारहरुले मजदूर युनियन वा दलहरुलाई सुको पनि लेभी तिर्दा रहेनछन्। दलका नेताहरुलाई त फ्याक्ट्रीभित्रै पस्न दिँदा रहेनछन्। तलब भने कम्तिमा पनि २० हजार महिनामा  पाउने रहेछन्। यो भनेको नेपालकै सबैभन्दा बढी तलब पाउने कम्पनीमध्ये एक रहेछ।
IMG_8605
सन् १९८५ मा  भारत-बेलायत-नेपालको स‍ंयुक्त लगानीमा यो बहुराष्ट्रिय कम्पनी स्थापना भएको रहेछ। सन् २००२ मा थप १० प्रतिशत सेयर खरिद गरी ५९ प्रतिशत स्वामित्व लिएपछि भारतको आइटीसी लिमिटेडको सब्सिडरी कम्पनीका रुपमा यो रहेको छ। यसको बाँकी सेयरमध्ये ३९ प्रतिशत नेपाली घरानासित र २ प्रतिशत बेलायतमा दर्ता भएको ब्रिटिस अमेरिकन टोबाको (इन्भेस्टमेन्ट) सित छ।

१० हजार किसान यो फ्याक्ट्रीका लागि कच्चा पदार्थ उत्पादनमा सक्रिय छन्। सिमराको फ्याक्ट्रीमा मात्रै ३ सय  ५० भन्दा धेरै कामदार/कर्मचारी रहेछन्।

अहो, यस्ता कम्पनीहरु अलि धेरै हुँदो हो त….हाम्रा दाजुभाइ दिदीबहिनीहरु विदेशमा मरिमेटी काम गर्नै पर्दैन थियो होला।

18 thoughts on “अचम्म ! यति सस्तो क्यान्टिन : साढे ३ रुपैयाँमा एक प्लेट खाना”

  1. Ram Thapa says:
    May 25, 2016 at 5:31 pm

    भात ३५० ग्रामको रु ७५ लेखेको छ त । कस्तो पत्रकार हो तपाईं ।

    Reply
    1. Salokya says:
      May 25, 2016 at 10:36 pm

      ७५ पैसा लेखेको हो रुपैयाँ होइन। हाम्रा साथीहरुले क्यान्टिनमा गएर हेरेर बुझेर लेखेका हुन्।

      Reply
      1. Ram Thapa says:
        May 26, 2016 at 2:32 pm

        तपाईंले राख्नु भएको चमेना गृहको बोर्डलाई राम्रो सँग पढ्नुस् त सालोक्य जी । मैले चमेना गृहमा गएर भनेको होइन तेही बोर्डमा ७५ को अगाडि रु लेखेको छ हेर्नुस् त एक पटक ।

        Reply
        1. Salokya says:
          May 27, 2016 at 5:09 am

          कस्तो जिद्दी हो, फोटो हेरेको भरमा। ७५ को अगाडि थोप्लो छ। रु .७५ लेखेको हो। त्यो भनेको ७५ पैसा भनेको हो। क्यान्टिनमै गएर आफ्नै आँखाले देखेर आएको मान्छेले भनेको कुरामा त विश्वास गर्नुस्। झन् त्यस्तै ठान्नुहोला भनेर ब्लगमा स्पष्टै लेखिएको थियो माथि- यसमा भात ३५० ग्रामको ७५ पैसा लेखिएको हो। तर हामीलाई ७५ रुपैयाँ लेखिएको जस्तो लाग्न सक्छ। त्यसो त ७५ रुपैयाँ भए पनि यो सस्तो जस्तो लाग्ने अहिलेको जमाना न पर्‌यो।

          पूरै नपढी हेडलाइन र फोटो हेरेको भरमा कमेन्ट गर्नुभए जस्तो छ। गलतै हो भन्ने लाग्छ भने एक पटक त्यहीँ गएर हेर्नुस्, त्यहाँ काम गर्नेलाई सोध्नुस्। अनि गलत रहेछ भने गाली गर्नुस्

          Reply
        2. किशोर says:
          May 30, 2016 at 11:44 am

          ६ नम्बरमा खाना प्रति प्लेट रु ३.५० अनुसार, भात ३५० ग्रामको रु ०.७५ नै हुनु पर्छ I

          Reply
    2. bibek dhakal says:
      May 26, 2016 at 2:53 pm

      ३५० ग्राम सादा भातको मूल्य (दाल तरकारी बिना) दाल (रु ०.५०) भन्दा १५० गुणा होला त ??? दिमाग लगाउनुस नत्र सापटी लिनुस. लेख्न पाए पुग्यो अज्कल्का केटाहरुलाई

      Reply
    3. Lava Bhatta says:
      May 27, 2016 at 5:18 am

      यी राम थापा पनि ओली जस्तो मान्छे रहेछ । दिमाग नभएको अनि आफैले भनेको ठीक भन्ने । अलिकति दिमाग लगाएको भए कुरो के रहेछ बुझिहालिन्थ्यो नि

      Reply
  2. Hari Pathik says:
    May 25, 2016 at 4:49 pm

    Amazing ! A very good model !

    Reply
  3. sushil says:
    May 24, 2016 at 8:27 am

    बाँकी पैसा सुर्यको सिगरेटहरु फुक्ने जनताले तिरिराखेकै छन् नि

    Reply
  4. mankajee says:
    May 24, 2016 at 1:51 am

    जहाँ युक्ति, तहाँ उपाय भनेको येही हो

    Reply
  5. rajen says:
    May 23, 2016 at 11:15 pm

    lau neta ko najar paryo aba company dubne vayo….conform

    Reply
  6. संजय अधिकारी says:
    May 23, 2016 at 1:13 pm

    त्यो मुल्यसुचि हेर्न र पढ्न चाहि कुन कम्पनिको क्यान्टिनको साग खाएर अाउनु पर्ने रैछ? मैले त पढ्न सकिन।

    Reply
  7. Bhuban says:
    May 23, 2016 at 9:07 am

    Reasonable.

    Reply
  8. Sub says:
    May 23, 2016 at 1:58 am

    गाजा पनि रैछ

    Reply
    1. सपना कार्की says:
      May 23, 2016 at 10:32 am

      गाजा हैन तोरी, गाजर हो
      चश्मा लाउनु पर्ने भएछ

      Reply
      1. दोर्जेमान झा उपाधे says:
        May 23, 2016 at 9:19 pm

        प्रिय तोरिनी ,
        तिम्रो चै चेस्मा खोल्नु पर्ने भएछ
        त्यो गाजा नै हो , मिठाई “गाजा “, तिम्ले तान्ने “गाँजा” वा चपाउने गाजर हैन I

        Reply
      2. किशोर says:
        May 30, 2016 at 11:50 am

        मैले पनि गाजा र चाटमिन देखे है,

        Reply
    2. Shankar says:
      May 24, 2016 at 2:56 am

      तोरी र तोरिनी को बीच घोचपेच !

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme