Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथा : मोबाइल

Posted on May 21, 2016May 21, 2016 by mysansar

-वाहिद अलि –

saturday-fiction परेडका लागि उभिएका सिपाही जस्तै अनुशासित भई साथीहरु लामबद्ध बसेका थिए। मेरो पालो आइसकेछ। एकाउन्टेन्टले एउटा लिफाफा दिएर साइन गर्न लगायो। केहि पर पुगेर लिफाफा भित्र चियाए। लिफाफा भित्र पहिलो महिनाको सेलरी थियो। पाँच सय का दुईवटा अनि सय का नोटहरु। मेरो जीवनको पहिलो कमाई मन मा गाठो पर्यो अनि बर्रर आशु झर्यो। यो आशु खुसीको थियो। हिजो जस्तो लाग्थ्यो गाउँमा बरालिएर हिडेको। वास्तबमै यस्ता तलबहरु धेरै पटक थापिसक्नु पर्ने हो। हातमा पैसा पर्ने बित्तिकै मेरो पहिलो सपना पुरा गर्ने सोच आयो। नयाँ मोबाइल किन्ने। महिना दिनलाई खर्च पुग्ने पैसा छुट्टयाएर बाकि पैसाले मोबाइल किन्ने निधो गरे। हाम्रो क्याम्प शहर देखि निकै टाढा थियो।

कम्पनीको मान्छेसँग एअरपोर्टबाट सिधै क्याम्पमा आएको ले विदेश के हो देख्न पनि पाएको थिएन। नयाँ देश अनि नयाँ शहर। एक्लै जादा हराइने हो कि भन्ने डर। पल्लो बेडको साथि लाई भोलि शहर जाउँ भनेर सल्लाह गरे। बिहानै उठेर हामि स्टेसनमा बस कुरेर बस्यौ। चिल्ला फराकिला रोड। चिल्लै गाडीहरु। रफ्तार हेर्दा उड्दै छन कि गुड्दै ठम्याउन गाह्रो थियो। ५२ डिग्रीको गर्मि हुने मरुभूमिमा पनि मुटु छुने जाडो।साथिबाट थाहा पाए गर्मि त यहाँ केहि महिना मात्र हुन्छ रे। केहीबेरको प्रतिक्षा पछि हामीलाई सिटि लैजाने बस अगाडी आएर रोकियो। यहाँ बसको यात्रा पहिलो पटक थियो। काठमाण्डौका ट्याम्पु अनि हाम्रो गाउँ तिर जाने ट्रयाक्समा त्यो बिधि मान्छे कोच्चिन्छन। यहाँ भने जहाज जत्रो बसमा म मेरो साथि अनि ड्राइभर। अन्य स्टेसनबाट अलि अलि गर्दै यात्रु हरु चढ्दै थिए। तर पनि बस खालि नै थियो।

मरुभूमि माथि सिधा रेखा ताने जस्तो बाटोमा हाम्रो बसले रफ्तार लियो। मेरो ध्यान पर पर मरुभूमिमा उम्रेका झारहरु र स-साना झ्याम्म परेका रुखहरु अनि त्यसैमा चर्दै गरेका उँट भेडाहरु तिर थियोl नेपालका हरिया गौचरन र घासेमैदानहरु मा हुर्किएका गाईबस्तु र यस्तो मरुभूमिमा हुर्केका उँट भेडाहरु।जीवन जस्तो अवस्थामा पनि चल्ने रहेछ। बस भित्र निकै शान्त वातावरण थियो। सबैको मुहारमा एक किसिमको चमक थियो। लाग्थ्यो सबैको पकेट न्यानो छ। कोहि मोबाइलमा प्रियसीसँग मस्किदै थिए। कोहि परिवारसँग। कानमा एअरफोनबाट विरक्तका गितहरु दोहोरि रहेका थिए। यता आउनु पहिले मन लाई सम्हाल्न डाउनलोड गरेका गितहरु। १ घण्टाको निरन्तर यात्रा पछि हामी शहरमा पुग्यौ। बस स्टेसनमा रोकियो। स्टेसनबाट फेरी ट्याक्सी चढेर हामी यहाँको ठुलो मल तिर लाग्यौ। बाटोको दृश्यले मलाई आश्चर्य चकित बनायो। यहाँका फराकिला रोडहरु। संसारका महंगा गाडीहरु। गगनचुम्बी भवनहरु।ढपक्कै फुल फुलेका बगैचा अनि हरियाली। निकै सफा, शान्त अनि व्यवस्थित। बल्ल विदेश मा छु भन्ने आभास भयो। ट्याक्सी मलको अगाडी रोकियो। मल निकै भब्य र सानदार अनि यहाँ आउने ग्राहकहरु पनि त्यस्तै। मल भित्र पस्यौ। भित्र अर्को संसार हो जस्तो लाग्यो। साथीले मोबाइलको स्टल भएको ठाउँ तिर लग्यो। त्यहाँ एकजना गाउँले दाजुले यतै विदेशबाट जादा सानसँग बोकेको मोबाइल देखे। सेल्समेन लाई औलाले देखाउदै त्यो मोबाइल हेरौंन भने। उसले मलाई तल देखि माथि सम्म हेर्यो। फ्रेन्ड यो मोबाइल महँगो छ भन्यो। म दंग परे। उसलेले भन्दै थियो स्क्रिन फुटे फेर्न महँगो पर्छ रे। अरु कुनै मोबाइल आखाँमा परेनन्। कुनै मसँग नसुहाउने कुनैसँग म नसुहाउने। त्यसो त मलाई त्यहाँ अरु बेर रोकिन थिएनl साथीले मल घुम्ने भन्दै थियो तर मलाई घुम्नु थिएन। निकै हीनताबोध भयो। हामि त्यहाँबाट बाहिरियौ। बाहिरिदै गर्दा अलि पर सिसामा आफुलाई नियाले। मलाई पनि लाग्यो आजको मेरो हुलियामा त्यो मोबाइल आट्नु मेरो गल्ति थियो।

त्यो दिन हाम्रो शहर घुम्ने काम मात्र भयो। साँझ पर्न आटेको थियो। फेरी बस चढेर क्याम्पमा फर्कियौ। कोठामा पुग्ने बित्तिकै ट्रिङ्ग ट्रिङ्ग घन्टी बज्यो। म संगै नेपालबाट जहाज चढेर आएको मोबाइल। मेरो पुरानो ब्ल्याक एंड हवाईट नोकिया र १५ सय रुपियाँ थपेर काका पर्नेसँग फेसबुक चलाउन किनेको मोबाइल। यता आए देखि बिमारी थियो। स्क्रिन टच नै नहुने। बल्ल बल्ल कल रिसिभ भयो तर आवाज नै सुनिएन। ठ्याकठुक हानेर सुन्ने बनाए। मल्लाघरे रामे रहेछ। मेरो दौतरी। खै कताबाट नम्बर पाएछ। केहीबेर भलाकुसारी भयो।

खाना खाएर राति बेडमा के पल्टेको थिए शोरुममा देखेको मोबाइल म संगै आएको रहेछ यादमाl फेरी शोरुमको स्टाफले मसँग गरेको व्यवहार सम्झिए। म कति सस्तो रहेछु। मलाई कुनै पनि हालतमा त्यो मोबाइल किन्नु थियो। त्यहि पसलमा। महिना दिन सम्म एउटी सुन्दर युवतीको यादमा डुबेको पागलप्रेमी जस्तो। एकोहोरो त्यहि मोबाइलको कल्पनामा डुवी रहे। त्यसो त शोरुमको स्टाफले मसँग गरेको व्यवहार काँडा जस्तै मन भित्र बिझेको थियो । यो महिना बित्न निकै समय लागो। संजोग नै भनौ यो सेलरी थाप्ने दिनको भोलि पल्ट फ्राइडे थियो। रामेले पनि यो फ्राइडे भेटघाट गर्ने अनि शहर घुम्ने भन्दै थियो।

आज सेलरी बुझ्ने दिन। लामबद्ध बसेका मध्य धेरै जसोसँग चिनजान भइसकेको थियो।साथिहरु लिफाफा हातमा लिएर फिस्स हास्थे बाटो लाग्थे। मेरो पनि हातमा लिफाफा पर्यो। मन फुरुंग थियो। आज सबैको हातमा सेलरी अनि बिहिबारको रात। क्याम्पमा निकै होहल्ला थियो। सबै साथीहरु हल्ला अनि गफ सुन्दा यो देशनै किन्ने छलफल गर्दै छन् जस्तो भान हुन्थ्यो। वास्तबमा यहाँ एउटा उत्सव जस्तै माहोल थियो। ति उत्सव मनाउनेहरु लाई के थाहा मेरो मन भित्रको उत्सव। रामे स्टेसन मै आउछु भनेको थियो। त्यसैले म एक्लै शहर जाने सोच बनाएर छिटै सुत्न पल्टिए। आज को निद्रा त्यति सजिलो थिएन जुन पल्टिने बित्तिकै आउने। निकै कोसिस पछि कतिबेला निदाएछु।

बिहानै उठेर बाथरुम पसे। धारबाट आइस नै झरेछ कि जस्तो लाग्यो। छिटो छिटो नुहाएर बाहिर निस्किए। आज रेडी हुन केहि धेरै नै मिहिनेत गर्दै थिएl महँगो देखिनु थियो मलाई। यता उड्ने अघिल्लो दिन काठमाण्डौमा किनेका लुगा जुत्ता लगाएर चिटिक्क भए। साथीको परफ्युम अलि धेरै नै छर्कीएछु कि साथि निद्रामै च्छिउ काड्दै थियो। चिटिक्क परेर ऐनामा हेरे आज ऐना पनि दंग छ जस्तो लाग्थ्यो। नयाँ मोबाइलबाट विदेशका फोटोहरु पहिलो पल्ट फेसबुकमा हाल्ने अर्को सपना पनि आज पुरा हुदै थियो।

स्टेसन कुर्ने म एक्लो यात्री बिहानै भएर पनि होला। चिसो मौसम उही रफ्तारमा हिड्ने गाडीहरुअनि मरुभूमिको यात्रा। त्यस्तै एक घण्टाको यात्रा पछि शहरको स्टेसनमा बस रोकियो। रामे मलाई त्यहि कुरेर बसेको रहेछ। अलि पर देखि हात हल्लायो। त्यहि लुरे ख्याउटे रामे अहिले गोरो मोटे रामे। हामि अंगालो हाल्यौ। बर्षौ पछिको भेट थियो। हामि केहि बेर चिया पिउदै गफ्फियौ। त्यसपछि रामेले ल अब जाउ शहर हेर्न भन्यो। रामे कम्पनीको पिकअप लिएर आएको रहेछ। रामेले नेपाली गित घन्काउदै गाउँ तिरका तरुनि अनि हाँसो ठट्टाका कुरा गर्दै शहरका निकै राम्रा राम्रा ठाउँ हरु घुमायो। मैले रामेलाई एउटा मोबाइल किन्नु छ भने। उसले त्यहि पहिले म आएको मलमा लग्यो।

मल भित्र छिर्नेबित्तिकै घरबाट मिसकल आयो। कल गरे। घरमा सबैसँग पालैपालो कुरा गरे।दुखसुख का कुराहरु आदानप्रदान भए। अन्तिममा बाउले काहिला साहुले छोराको यूरोप तिरबाट भिषा आएकाले तुरुन्त ऋण चुक्ता गर्नु भनेर ताकेता गरेको कुरा सुनाउनु भयो। म मोबाइल किन्ने सपना देख्दै गर्दा आफु आउदाको ऋण भुलेको रहेछु। बाउ लाई म अहिलेनै पैसा पठाइदिन्छु भने। रामेले हाम्रो कुरा सुन्यो सुनेन। तर मैले दुखै लुकाए जस्तो सोच्छ भनेर रामेलाई सबै कुरा सुनाए। रामेले काम चलाउन पैसा दिन्छु भन्यो। तर मैले त्यस्तो गरिन। रामेसँग पैसा पठाउने ठाउँ कहाँ छ भनेर सोधे। काउन्टर यहि मल भित्र छ भन्यो। हामि पैसा पठाउने काउन्टर तिर जादै गर्दा अस्तिको शोरुम अनि त्यहि स्टाफ लाई देखे।रामेले मलाई जबर्जस्ति त्यहि शोरुम भित्र लाग्यो। रामले कुन मोबाइल हो तैले मन पराएको भन्यो। मैले उसलाई मोबाइल देखाए। आज त्यहि स्टाफले हामीलाई गर्ने ब्यबहार देखेर दङ्ग परे। उसले निकै कोसिस गर्दै थियो आफ्नो मोबाइल बेच्न। आज म त्यो मोबाइल लिने लाएक देखिएको रहेछु। अस्ति बिझेको काँडा झरे जस्तो भयो।

बाउलाई फेरी कल गरेर पैसा पठाएको नम्बर दिए। बाउ निकै खुसि हुनु भयो। मैले मोबाइल किने भन्दा धेरै खुसि महसुस भयो। रामेले नेपाली रेस्टुरेन्टमा लगेर म:म: खुवायो। घर फर्किनु ढिला भैसकेको थियो। त्यसैले रामेले मलाई स्टेसनमा लगेर छोड्यो। बसमा अलि धेरै यात्रु हरु थिए। बिहान सिटि आउदा जस्तो चमक कसैको मुहारमा थिएन। साँझ पर्दै थियो। मरुभूमिमा ति उँटका गोठालाहरु उँटलाई बाटो देखाउदै थिए। पर पर सम्म घरहरु देखिदैनथ्यो।

-१ बर्ष पछी
रामे र म अहिले नजिकै छौ। बोसले मेरो काम मनपराएर शहरमा रहेको अफिसमा काम दिएको छ। अस्ति मात्र अहिलेको नाम चलेको ब्रान्डको मोबाइल आफ्नो लागि लिए। घरमा दुई वटा मोबाइल पठाई सकेको छु। बाउ अनि बहिनिका लागि। काहिला साहु अस्ति घरमा आएर दुखेसो गर्दै थिए रे। बाउबाजे देखि जोगाएको सम्पति छोरालाई यूरोप पठाउदा सकियो। छोराले उता पुगेर पढ्दैमा ठिक्क छ भन्छ रे। बुढी बिमारी अनि घर खर्च पनि चल्न गाह्रो भयो भन्दै थिए रे। बाउले काहिला साहुलाई केहि पैसा सहयोग पनि गरे भन्दै हुनुहुन्थ्यो।

१ बर्ष निकै मिहिनेत गरेर मैले आफु अनि आफ्नो परिवारका धेरै आवश्यकता पुरा गर्न सक्ने भएl धेरै बाध्यताहरु थिए जसले न म राम्रोसँग पढ्न सके न कुनै सिप सिक्ने मौका पाए। बाजेले छोडेको अनि बाउले जोडेको सम्पति बेचेर पनि म कुनै राम्रो देश जान सक्ने अवस्था थिएन। मैले आफ्नो योग्यता भन्दा धेरै राम्रो जागिर पाएको छु। १ बर्ष फेरी मिहिनेत गरेर बैनीको राम्रो बिहे गर्ने सोच बनाएको छु।अनि अर्को कुरा बैनीको बिहेमा घर जादा फेरी अर्को लेटेस्ट मोबाइल किन्ने सोच बनाएको छु।

स्याङ्गजा बजार
हाल दोहा कतार

तपाईँ पनि माइसंसारमार्फत् आफ्ना कथा, लघुकथा बाँड्न चाहनुहुन्छ भने [email protected] मा पठाउन सक्नुहुन्छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme