Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राष्ट्रवाद जागेको बेला सेनाको सोनाक्षी सन्तुलन : राइजिङ फ्रम आएसेज

Posted on May 14, 2016May 14, 2016 by Salokya

13139119_1146093092097215_4020563709874662831_nतपाईँहरुलाई कतिको याद छ- भारतले गरेको अघोषित नाकाबन्दी अघोषित रुपमै हटाइसकेपछि प्रधान सेनापतिले नाकाबन्दी हटाउन महत्त्वपूर्ण भूमिका खेलेको लेख प्रकाशित भएको थियो। एउटामा हैन, दुई दुई वटा राष्ट्रिय दैनिकमा। एकै दिन। नपत्याई भो!

अहिले भारत र नेपालको सम्बन्ध फेरि एक पटक चिस्सिए जस्तो फिल हुन थाल्या बेला सेनाले सांस्कृतिक रुपमै दुई देशको सम्बन्ध टुट्न नदिन गतिलै पाइला चालेको छ। दबङ हिरोइन सोनाक्षी सिन्हा र सलमान खानकी पूर्व भाउजु (अहिले त दाजु-भाउजुको अलग्गिसके क्यार) मलाइका अरोराले टुँडिखेलमा बुरुक बुरुक उफारेपछि चीनको रेलको ह्याङमा डुबेका एन्टी इन्डियन मानसिकता भएका नेपालीहरुको दिमाग अलि ठीक ठाउँ पो आउँछ कि! आखिर मुन्निका रुपमा मलाइका बद्नाम हुनुको कारण तपाईँ हो भनेर उनले भन्ने नै छिन्- मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए।

फेसबुकमा भेटिएको कार्यक्रमको टिकटको फोटो
फेसबुकमा भेटिएको कार्यक्रमको टिकटको फोटो

कार्यक्रम आयोजक सैनिक श्रीमती संघ हो। पहिले त यसको नाम सैनिक अधिकृत श्रीमती संघ हुन्थ्यो। अर्थात् जर्साब, कर्साबहरुकी श्रीमती मात्रको संगठन।

संघको नेतृत्वमा चिफ साबकी श्रीमती हुने गर्छिन्। त्यसैले होला विगत केही दिनदेखि आर्मी ड्रेसमा जवानहरु यो कार्यक्रममा स्टेज वरपर खै के के हो काम गर्न खटिरहेका देखिन्थे। देशमा अहिले सैनिकहरुको खासै केही काम पनि त छैन। भूकम्प पीडितहरुको घर बनाउन पठाउने निर्णय पनि सरकारले गरेको छैन। चुप बस्नुभन्दा यस्तो कार्यक्रममा सघाएको ठीकै हो नि, हैन ?

अनि आर्मी वाइफको संघले गरेको कार्यक्रममा बलिउड हिरोइनलाई आर्मीले एस्कर्टिङ गरेको देख्दा पनि अचम्म नलाग्नु स्वभाविकै हो नि, हैन र?

13220939_1002322506487984_724603593573218058_n
फोटो साभार : फिल्मी बजार/फेसबुकमार्फत्

कार्यक्रमको लागि स्टेज पनि पारी पट्टीको जनताको टुँडिखेलमा नभएर वारी पट्टीको आर्मीको नियन्त्रणमा रहेको टुँडिखेलमा गरिएको छ, जुन ठाउँबारे भूपू चिफ साब रुक्माङ्गद कटवालले आफ्नो आत्मकथामा लेखेका थिए- ‘टुँडिखेलमा राष्ट्रिय कार्यक्रमबाहेक कहिल्यै कुनै कार्यक्रम भएको छ?’, ‘सैनिक मञ्च हाम्रो छाती हो। त्यहाँ पाइला टेक्नेलाई म आफैं सिपाहीको अग्रपंक्तिमा बसेर मेशीन गनले भुटिदिन्छु।’

अब यही सैनिक मञ्चमा केटाकेटीहरु मुन्नीलाई बद्नाम गर्दै उफ्रिने भए। समय अनुसारको परिवर्तन !

कार्यक्रमको नाम पनि अमरपंक्षी- Rising from Ashes राखिएको छ। किन अमरपंक्षी भनिएको हो थाहा भएन। भूकम्पपीडितको सहयोगार्थ भनिएको कार्यक्रममा Rising from Ashes ट्याग राखिनुको मतलब के होला कुन्नि। भूकम्प भनेको आगलागी त हैन ash अर्थात् खरानी हुन। शायद् भूकम्पपीडित भएर ज्यान गुमाउनेहरुलाई जलाइएको छ, उनीहरु पनि खरानीबाट उठ्छन् अब हामीले यो कार्यक्रम गरेर सहयोग जुटाए भनेको हो कि। त्यसो हो भने पनि हाम्रोमा मूर्दा ब्युँतनु त राम्रो मानिन्न नि हैन?

जे होस्, खरानीबाट उठेर होस् वा नउठेर भूकम्पपीडितहरुको सहयोगका लागि सेनापत्नीहरुले गर्न लागेको यो कार्यक्रमको पवित्र उद्देश्य बारे कसैले प्रश्न नउठाओस्। भूकम्पपीडितका नाममा विश्व समुदायले दाता सम्मेलनमा ४ खर्ब ४० अर्ब रुपैयाँ दिन्छु भन्ने प्रतिवद्धता दिइसकेको हो। नेपालले नै त्यो पैसा यसरी खर्च गर्छौँ भनेर योजना दिन नसकेपछि पैसा आउन सक्या छैन। पैसाको अभाव हैन योजनाको अभाव हो, खर्च गर्न सक्ने क्षमताको अभाव हो।

अब सोनाक्षी र मलाइकासँगै नेपाली हिरोइनहरुलाई नचाएर उठ्ने पैसाबाट भूकम्पपीडित क्षेत्रमा कस्तो सहयोग कसरी गर्ने योजना छ त?

हामीलाई बाल। भूकम्पपीडितको सहयोगार्थ भनेको सुनिनस्? चुप लाएर नाच- रेखा थापाको सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गालामा मख्ख पर्नुस्। सोनाक्षीको मस्त मस्त दो नयनबाट तपाईँको दिलको चयन लुटाउनुस्। अनि मलाइका रुपी मुन्नीलाई बद्नाम गर्नुस्।

8 thoughts on “राष्ट्रवाद जागेको बेला सेनाको सोनाक्षी सन्तुलन : राइजिङ फ्रम आएसेज”

  1. दामोदर says:
    May 17, 2016 at 3:14 pm

    सालोक्यजी मलाइका सलमानकी भाउजु हैनन् कि । सलमान जेठो अरवाज माइलो भएजस्तो लाग्छ मलाइ त ।

    Reply
  2. Gaurav says:
    May 15, 2016 at 9:55 pm

    कुरो के भने धुर्मुस र सुन्तली भुकम्प पीडितहरुको घर बनाउन ढुङ्गा बोक्न ब्यस्त भए अब बिंडो धान्ने कोई न कोई त चाहियो

    Reply
  3. Romeo from China says:
    May 15, 2016 at 12:55 pm

    अरु कुरोमा म कमेन्ट गर्न चाहन्न । यो अमर पन्छी चाहिँ Phoenix चरालाई भन्ने गरिन्छ । ग्रीक, इजिप्सियन आदि पौराणिक कथाका अनुसार यो चरा गुंडसहित बलेर खरानी हुंदा समेत फेरि ब्युंतिन्छ रे । त्यसैले यसलाइ अमर पन्छी भनिन्छ ।
    अब त बुझ्नु भयो हगि “अमर पन्छी : rising from the ashes” को मतलब ?
    थप जानकारी चाहिएमा गुगल गर्नुहोला ।

    Reply
    1. गगने says:
      May 18, 2016 at 10:48 pm

      हो!
      अनि त्यो Ass चाहि चाकलाई भन्दछ!
      अनि Rising भनेको चाहि उदाउनु हो!
      अनि Rising from the Asses भनेको चाहि ‘चाकदेखी नै उदाउनु’ भनेको हो!

      अब त बुझ्यो होलानी कुरो!

      Reply
  4. बिनोद तिमिल्सिना says:
    May 15, 2016 at 10:18 am

    सेना र प्रहरीको आलोचना नगरु भनेको ओलिले थोरै ऊठाएको शिर,हाम्रा सेनाले सोनाक्षी र मलाइकाको फरियामुनि झुकाईदिए।

    Reply
  5. sushil says:
    May 15, 2016 at 7:01 am

    कलाकारको स्तरमा हुनु पर्ने कार्यक्रम यो संस्थाबाट हुनु शोभनीय भएन. जर्नेल कर्नेलका श्रीमती भएपछि त विदेशी कुटनीतिज्ञहरुसंग सम्बन्ध बनाएर बस्नुपर्ने संघले नौटंकी गराउदै हिडेको पटक्कै भएन.
    सजिलो संग भन्नुपर्दा ह्याँका श्रीमतीहरुले त ह्वांका श्रीमतीहरुसंग सम्बन्ध सुमधुर बनाएर परेको बेलामा ह्याँका श्रीमानले नसक्दा ह्वांका श्रीमतीहरुलाई भनेर ह्वांका श्रीमानहरुलाई ठाउँमा ल्याउन भूमिका खेल्नु पर्ने हो.
    बरु रमाइलो मात्रै भयो कि नाफा पनि भयो कुन्नि. यसको हिसाब किताब गर्ने कुनै सरकारी संस्था छैन?
    फेरी अब श्रीमतीको अगाडी चिफसाब नै बोल्न सक्नुहुन्न होला, हामी टुलु टुलु हेर्ने बस्ने.

    Reply
  6. सुमन प्रजापति (हाल फ्रान्स) says:
    May 15, 2016 at 3:12 am

    सालोक्यजी

    Rising from the Ashes भनेको अंग्रेजी भाषामा एउटा भनाई “idiom” वा उखान जस्तै हो / अहिलेको यो भनाई को प्रयोग गर्दा “ashes” को ठ्याक्कै अनुवादित रुप “खरानी” संग कुनै सम्बन्ध हुनु जरुरी छैन / Rising from the Ashes को खास अर्थ “नवजीवन प्राप्त गर्नु ” अथवा “ठुलो विपत्ति वा विनाश पछि फेरी जाग्नु , नवनिर्माण हुनु ” हो /

    rise from the ashes
    Emerge as new from something that has been destroyed, for example: “In A few months after the earthquake large sections of the city had risen from the ashes”

    ग्रीक (greek) कथा mythology (हाम्रो पौराणिक कथा जस्तै) मा “phoenix” भनिने एक अमर पंक्षी को वर्णन गरिएको छ / ग्रीक कथा अनुसार यो अद्भुत अमर पंक्षी अनेकन पल्ट नवजीवन प्राप्त गर्दछ / यस्तो अमर पंछी बारे अरु सभ्यता (civillization) हरु मा पनि उल्लेख गरिएको छ / संस्कृत मा “गरुड” को व्याख्या छ , प्राचीन इजिप्ट मा “बेन्नु” , प्राचीन इरान मा “हुमा” जस्ता अद्भुत अमर पंछी को व्याख्या पाइन्छ /

    https://www.google.com/?gws_rd=ssl#q=phoenix+rising+from+the+ashes+meaning
    https://en.wikipedia.org/wiki/Phoenix_%28mythology%29
    http://www.newworldencyclopedia.org/entry/Phoenix_%28mythology%29

    Reply
  7. Michael says:
    May 14, 2016 at 5:22 pm

    केहि कुरा हरु भन्न मुन लाग्यो |हिजो बडो प्रजातान्त्रिक , लोकतान्त्रिक हुन् हामि खोजेम
    देश आज अघोसित गंत्यब्य तिर जादैछ | नेपालि लाइ संघियता , मार्केट इकोनोमी , धर्म निर्पेक्ष्यता , गनतान्त्र भनेर बाँदर नाच नचाउने माउबादिको र प्रचण्ड जरो पनि भारतै र युरोपियन युनियन को संगठन देश हरुनै हुने अनि अलि अलि बचे खुचेको नेपालि स्वाभिमान र रास्त्रबाद लाइ अन्धो , कानो भन्दै खिल्ली उडाउने??
    यो कस्तो हावा चलेको देश मा ?
    ब्रिटिश ले सय बर्स र त्यो भन्दा अगि मुसलमान ले सय बर्स दास बनाएर राखेको इन्डिया र बिश्व को जहा गएपनि दास मनोवृत्ति बोकेको इन्डियन हरु ( अधिकांस , सबैलाई भन्न मिल्दैन )
    जब सम्म नेपालि चेलीबेटीलाई बेस्से र युवा लाइ बहादुर को नजर ले हेर्छ र समग्र देश लाइ
    आफ्नो रखौटी को रुप मा राख्न खोज्छ तेस्तो मा नेपालीको रास्त्रबाद कसरि खोक्रो भयो ?
    यहि खोक्रो रास्त्रबाद ले आजकाल चीन बाट रेल काठमान्डू नजिक आउने बा काठमान्डू हुदै लुम्बिनी साम्म जाने पहल गर्दा भारतीय मिडिया बौलाएको हेरम त् ?
    ”चीन से भारि पैमाने मे हतियार रेल मार्ग हुदै नेपाल आया ” रे , सुनम त् इन्डियन टि बि हरु एस्तो लाग्छ नेपाल पुरै चीन ले लिन लागि सक्यो भन्छ | दिन दहादे तेत्रो सफेद झुट बोलि रहेछ , बास्तबिकता हामि सबैलाई थाह छ चीन बाट कहिले रेल नेपाल आएको छ र आउनेवाला छ ? मेलाम्चिको पानि ले नुहाएको काठमान्डू बासि ले सिगात्से सहरको सेकुवा खान अझै दसकौ पर्खन पर्छ | भन्न त् भनिएको छ २०१८ मा सुरु गरेर २०२२ सम्म रेल आउने अरे | तर पनि नेपाल को भारत समक्ष्य बिकिसकेको नेपालि सेना ,कर्मचारी तन्त्र , अधिकांस नेता र पत्रकार हरु भएको आजको स्थिति मा तातो पानि नाका सुचारु भएको खण्ड मा पनि केहि राहत पुग्ने छ |
    हिजो बर्सौ सम्म त्रिभुबन राज पथ को बिकल्प बन्न नदिएको इन्डिया र आज को चीन बाट केहि सामान तिब्बत को बाटो हुदै नेपाल भित्रिदा परमाणु बम नेपाल आयो जस्तो भन्ने इन्डियन मानसिकता मा केहि फरक आएको छ ?
    भारतीय राजदुत , नेपालि राजदुत देउवा , अबसरबादी प्रचंडे आदि मिलेर भर्खर खेलेको फोहरी खेल पनि हेरम न |हो ओली निकम्मा छ , कालोबजरी , भ्रास्ताचार रोक्न सकेन , भुकम्प पिडित को बजेट तह लाउन सकेन , सुगा जस्तो त्याउ त्याउ मात्र गर्छ त् के ओली गएर गोलि आउने हो ?
    यी लुटेरा को जमात गए आर्को जुका हरु को जमात देश चुस्न आउछ के फरक पर्छ ?
    आन्दोलन को कुरा गर्न , ठुला ठुला कुरा गर्न , जातीय द्वेस भड कौन , जति सजिलो छ
    काम गरेर देखाउन उत्ति गारो |
    काम न गरि गफ ले मात्र देश कुनै हालत मा बन्दैन सधै संबिधान भन्यो झगडा गर्यो , सर्फेस मा भित्र चाहि सत्ता कै लागि , सरकार मा जान पाए न मदिसे नेतालाई मदिसे जनता चाहिन्छ न पहाडी नेतालाई पहाडी जनता ( २५० बर्स अगि देखि नै )|
    तेसैले
    आजकाल घाट पुगेर घिद घिद भएको रास्त्रबाद लाइ अन्धो , ढोंगी भनेर अपमान नगरम | देखाबती लागि भएपनि परिबार , इस्ट मित्र ,आफन्त मा जसरि माया देखाउन जरुरि छ , अनिमात्र घर गृहस्ति चल्छ | देश भनेर आउने जो कोइलाइ पनि स्वागत गरम | व्यक्ति धुर्त र स्वार्थि हुन्छ रास्त्रबाद हुदैन |जसले रास्त्राबाद लाइ ढाल बनाएर आफ्नो स्वार्थ पुरा गर्न खोज्छ त्यो ब्वासो ले त् रास्त्रबाद सग तेही नै आत्म समर्पण गरिसक्यो नि किनभने उ तेही खाल ओडेर आएको छ | तेरो ठाउ तेही हो , तेही बस भन्ने काम त् जनताको |
    नत्र देश रहन्छ कसरि ?
    अब बेला आइसक्यो येस्ता आम्देब ,रामदेव , बलिवुड हिरोइन आउदा नेपालि ले बाल मतलब गर्न हुन्न|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme