केही समयअघि मिडिया साहुहरुको विज्ञप्ति आएको थियो- श्रमजीवी पत्रकारहरुको सरकारले तोकेको न्युनतम साढे १९ हजार मासिक तलब दिए संविधान कार्यान्वयनमा नै संकट आउँछ भन्ने व्यहोरा भएको।
यसै पृष्ठभूमिमा पत्रकार किशोर नेपालको नयाँ पुस्तक ‘मिडिया : सिद्धान्त, सूत्र र प्रयोग’ को विमोचन कार्यक्रममा रमाइलो घोचपेच चल्यो। कार्यक्रमका अतिथि थिए- कान्तिपुरका साहु कैलाश सिरोहिया। वक्ता थिए कान्तिपुरकै पूर्व सम्पादक नारायण वाग्ले। उनले आफ्नो विचार राख्ने क्रममा अन्तिममा भने, ‘समाचारमाथि लगानी तपाईँ प्रकाशकहरुको मुख्य प्राथमिकता नभएसम्म हाम्रो सिकाइको गति चिप्लेकीराको झैँ हुन्छ। हाम्रा प्रकाशकहरुले न्युनतम तलब सुविधा सहर्ष दिनुको सट्टा उद्योग नै संकटमा पर्छ भनेर वेतनजीवी पत्रकारहरुमाथि नै खुला दबाब दिनु त हाम्रो पेशामाथिकै अन्तर्घात हो भन्ने म ठान्दछु। त्यसले हाम्रा विशाल संभावनाहरुको अवमूल्यन गर्दछ। प्रकाशक भएको हुनाले तपाईँले आफ्नो समुदायमा छलफल गरेर हामी पत्रकारहरुको न्युतम वेतनको न्युनतम दृष्टिकोण राखिदिन हुन आग्रह गर्छु।’
आफ्नो पालो आउँदा कैलाश सिरोहियाले भने, ‘श्रमजीवी भन्नुहुन्छ…तपाईँहरुलाई विश्वास लाग्ला/नलाग्ला, म पनि कान्तिपुर पब्लिकेसनको श्रमजीवी हुँ। म तलबै खान्छु। मेरो बालबच्चा पढाउनलाई, लगाउनलाई म तलबै खान्छु त्यहाँबाट। श्रमजीवी त भएँ नि।’
नारायण वाग्ले
उनको विचारका केही अंश
– उहाँ (किशोर नेपाल) समाचार संयोजक भएर कान्तिपुर आइपुग्नु भो। म त डाँडाकाँडा घुमेर यसो स्वच्छन्द सामाजिक विषयमा लेखेर रमाइरहेको मनमौजी खालको रिपोर्टर थिएँ। पत्रकारिताको भलीभाँती थाहा थिएन। News is new भन्नेमात्रै थाहा थियो। कहाँकहाँबाट यी दुई जना ‘क’ मिलेर मलाई News is right here भनेर मलाई सिंहदरबारभित्र समितिहरुको समाचार गर्न भनेर संसदीय भासमा जाकिदिनु भयो।
– (लोकतान्त्रिक आन्दोलन) सफल भएपछि कान्तिपुरको मास्ट हेडमाथि जनताको जित भन्ने शीर्षक राख्ने निधो गर्यौँ। प्रकाशक र सम्पादक मिलेर शीर्षक तय गरेको त्यो दुर्लभ क्षण थियो। खासमा त्यो जनताको जित भयो कि भएन हामी १० वर्षपछि अझै छलफल गर्दैछौँ। जनताले के जिते? जनताको जीवनमा के भयो? आज दैनिक हजारौँ युवा विदेशिएको हामी टुलुटुलु हेर्दैछौँ। हामीले अरुतिर झटारो हान्दै आएका छौँ। आफैतिर पनि सोझ्याउनै पर्ने भएको छ। पत्रकारिताको केन्द्रमा आज जनता छ कि छैन ? हाम्रा जनताका सरोकार समेट्न भन्दा मनोरञ्जनपूर्ण सामाग्रीतिर घचेट्दै लगेको बेलाबेला आभास हुन्छ। बढी बिक्री हुने शीर्षक, बढी रिट्विट, बढी लाइक, बढी सेयर हुने सामाग्रीतिर हाम्रो ध्यान गइरहेको छ। समाचारलाई मनोरञ्जनतिर हुत्याउने जस अपजस त किशोर दाइलाई पनि जान्छ।
पुस्तक बारे
-लामो अंश पुरानो किताबको कपिपेस्ट छ। चिन्तन, मननभन्दा गन्थन हावी। भाषा सरल्ल विचार असरल्ल। आफ्नै पेशाको विश्लेषण गर्दा पर्यटकको चश्मा लगाएर नियालिरहेको पाएँ।
– बडो चलाखीपूर्वक एक ठाउँमा मेरो नाम पनि छ। म र काठमाडौँ पोस्टका मेरा सहकर्मी प्रतीक प्रधानको सम्पादकमा नियुक्तिको प्रसंग छ। अनि त्यो विवादको रुपमा आएको छ भनेर भन्नुहुन्छ, उमेर र अनुभवका कारण। अरु त होइन रहेछ। कान्तिपुरको संस्थागत संरचना हावी भएको देख्नुहुन्छ। कर्पोरेट हावी भयो भन्ने उहाँको मनसाय भयो। अनि सम्पादकीय सर्वोच्चता ओझेलमा पर्यो भनेर उहाँले फ्याट्ट भन्नुभो त्यसमा। सम्पादकीय सर्वोच्चता त अमूर्त शब्द होइन। हामीले गर्ने त्यो त संघर्ष हो। त्यसमा उहाँ मौन बस्नुहुन्छ फेरि। समकालीन प्रेस अभ्यासमाथि उहाँ पानीमाथिको ओभानो बन्न पाउनु हुन्छ र? उहाँ आफै सक्रिय खेलाडी हो।
उनको विचार जस्ताको तस्तै सुन्नुस्-
प्रोफेसर पी. खरेल
पत्रकारिताका आदरणीय गुरु पी.खरेलको विचारका केही अंश
-किताब विमोचनका कार्यक्रमहरुमा प्राय म लिडिङ डेलीका सम्पादकहरु देख्दिनँ। उनीहरु आउँदैनन् भनेर ननिम्त्याइएका हुन् कि वा उनीहरु आउँदैनन् मलाई थाहा भएन। तर नेपालमा सञ्चार माध्यम आइभिएलपीमा लाने राजदूत, लन्डन हेरेर आउनुस् वा आइफल टावर हेरेर आउनुस्, हाम्रो संस्कृति जान्नुस् भन्ने मुलुकका राजदूतले हाम्रै देशका बारेमा लेखे भने चाहिँ प्रधान सम्पादकहरु अग्रपंक्तिमा देखिन्छन् भन्ने मलाई लाग्छ।
-अहिले वरिष्ठ पत्रकार भनेर पटक पटक दोहोरिने यहाँ नामहरु छन्। उनीहरुको अखबारको भोल्युमभन्दा अखबारको संख्या चाहिँ कम छ। अखबार ४० वर्षको भो अङ्क ३० मात्र हुन्छ। वरिष्ठ पत्रकार भनिरा हुन्छ। सम्मानित गरिरा देख्छु। हुनत हामी कहाँ मान सम्मान भनेको क्षणिक मात्र हो। यसले खास लेखकलाई न उत्साहित पार्छ न प्रोत्साहित पार्छ। तर देखिन्छ उहाँ नब्बे, नब्बे काटिसकेकालाई दिनदिनै समाचार पढ्छु यहाँ- त्यो कति मानसम्मान दिएका हो। त्यसबाट उहाँहरु ढल्लान् जस्तो भइसक्यो। उहाँहरुको देन चाहिँ के भनेको त, ३० वर्ष यताको उहाँहरुको योगदान बारे कुरै गरिँदैन। उहिल्यै….उहिल्यै बाजेको पालामा मोहर राखी डालामा भन्या जस्तै उहिलेको कुरा गरेर अहिलेसम्म सम्मानित भइरा..त्यस्तो संस्कार, त्यस्तो चलन भएको ठाउँमा खास लेखकको पहिचान हुन गाह्रो छ।
-वरिष्ठको पगरी त धेरैलाई लगाइन्छ यहाँ। तर कामले गर्ने हो। पत्रकार भनेको नै उसको कलम हो। कलम भनेको नै उसले पेश गरेको सामाग्री हो। उहाँले सुरुमै आफ्नो भनाईमा उल्लेख गर्नुभा छ। त्यसैले म कटपेस्ट भन्दिनँ। उल्लेख गर्या छ। उल्लेख गरेपछि यहाँ लेखकीय धर्म निवारण भएको छ।
-पत्रकारिताको माध्यमले विशुद्ध व्यवसायका रुपमा सञ्चार क्षेत्रमा आएका अधिकांश संस्था श्रमजीवीहरुलाई नियमित तलबसम्म दिन नसक्ने अवस्थाका छन्’ यही हो टिप्पणी। टिप्पणी भन्छ यसलाई। अनि जब टिप्पणी सशक्त हुन्छ, विवरणात्मक लाग्छ। भएको कुरा लेख्दा विवरणात्मक लाग्छ। ‘एक वा दुई प्रकाशन गृहलाई छाडेर अरु कसैले पनि व्यवसायको यो सामान्य नैतिकता छान्न सकेका छैनन्’- अब कति भन्ने यो भन्दा? भन्ने कति? ‘श्रमजीवी ऐन सरकारको लाचार छायाँ बनेको छ।’ नारायण वाग्ले जीले अघि लास्टमा दुःख व्यक्त गर्नुभो त्यो कुरा यहाँ पनि छ। यहाँबाट प्रेरित भएर आएको जस्तो छैन उहाँको आफ्नै मनबाट आएको जस्तो छ, ठीकै छ।
– प्रेस काउन्सिलको कुरा गरौँ। अन्तमा गएर तत्कालको लागि क्षणिक केही लेख लेखेर पद पाएर हामी मख्ख पर्छौँ। तर लास्टिङ चैँ हिस्ट्रीले त्यसलाई भन्छ जुन सही कुरा छ। पछि मात्र थाहा हुन्छ। समयले त अनेक कुरा गर्छ। सही कुरा पछि आउँछ। तत्कालीन कुरा पनि हेर्नुपर्छ नहेर्ने होइन। प्रेस काउन्सिल जो वाचडग अफ वाचडग छ। यहाँ भागवण्डाको हिसाबले ठाडै कुनै दलको प्रचार विभागको सदस्य वर्षौसम्म भएकोलाई पनि वाचडग अफ वाचडगको प्रमुख बनाइएको इतिहास हामीसँग छ। त्यस्तो अवस्थामा हामीले के विचार गर्नुपर्छ भने यो कुरा सही हो कि हैन भन्ने, सही रहेनछ भने सही होइन भन्ने। यो त मेरो विरोधी रहेछ भनेर भन्छ भने त्यस्तो मूर्खसित कुरा गर्नु बेकार हो। प्रेस काउन्सिलको अध्यक्षलाई सहसचिवभन्दा मुनि राख्या छ। त्यहाँ विभिन्न मिटिङ बोलाउनु पर्यो भने आज सचिवज्युको गाथमा आराम भएन भन्या हुन्छ।
–निष्पक्ष पत्रकारिताको कुरा
समाचारमा जबसम्म मानिसको संलग्नता हुन्छ, तबसम्म त्यो समाचार निष्पक्ष हुँदैन। आजको पत्रकारितामा निष्पक्ष हुनु भनेको अपूरो हुनुमात्र होइन सत्यको संहार गर्नु हो- उहाँले भन्नुभाछ। म चाहिँ के भन्छु भने न्यायालयमा जाँदा निष्पक्ष न्याय पाइन्छ भन्ने, अनि पत्रकार हुँदा चाहिँ नहुने? न्यायालयका न्यायाधीश कहिले बल्खुतिर जान्छन् शपथ ग्रहण गरेपछि आशीर्वाद लिन। त्यो मुलुकका न्यायाधीशहरुबाट चाहिँ हामीले निष्पक्ष न्याय पाउँछौँ भन्ने? उनीहरुका पनि त विचार होलान् नि, पत्रकारको चाहिँ विचार हुन सक्दैन? पत्रकारको विचार छ भने उसको पनि हुन्छ ऊ पनि निष्पक्ष हुन सक्दैन। त्यो सक्दैन भने यो पनि। हामी हुनुपर्छ। झुट बोल्नुहुन्न भन्ने हामी सबैलाई थाहा छ। झुटो बोल्न हुन्छ, झुटो नबोल्ने नि मान्छे पनि हुन्छ, युधिष्ठिरले त उहाँ झुट बोले भन्छौँ भने हामी अब त्यस्तो आदर्श कुरा राख्न हुन्न भन्ने म चाहिँ मान्दिनँ।
उहाँको विचार जस्ताको तस्तै पूरा सुन्नुस्-
कैलाश सिरोहिया
-प्रकाशक र सम्पादकको सम्बन्ध नङ र मासुको जस्तो हुन्छ। राजदरबार हत्याकान्डको बेला बाबुराम भट्टराईको लेख छापिएपछि हामीलाई हनुमानढोका लगियो। त्यसपछि गृहमन्त्रीको फोन आयो- दुई लाइनको माफीनामा लेख्नुस् अनि घर जानुस्। मैले मानिनँ। मैले माफीमा हस्ताक्षर गरेको भए सम्पादकहरुको मोरल कहाँ पुग्थ्यो त? मलाई त साथीहरुले भनेका पनि थिए- लेखेर जानुस्, किन यहाँ बस्नुहुन्छ। मैले मानिनँ।
-न्युज ब्युरोको उहाँ चिफ हुनुभो। नारायण वाग्ले डाँडाकाँडा गइराख्नु पर्ने साथीलाई उहाँले एकैचोटी संसदमा हुल्दिनुभो। ए दाइ के गर्नुभा यो भनेको पख न सिक्छन् नि बिस्तारै यिनीहरु भन्नुभो। र आज तपाईँहरुलाई थाहा छ कति सक्सेसफूल नाम नारायण वाग्ले हो। त्यतिबेला डाँडाकाँडा मनोरञ्जन गरिराख्नुभा भए र किशोर नेपाल त्यहाँ नआउनु भएको भए अहिलेसम्म पनि उहाँ शायद् टुरिजम गरिराख्नुभा हुन्थ्यो। आज उहाँ सक्सेसफुल सम्पादकको रुपमा हुनुहुन्छ।
-किशोर दाइले लेख्नुभएको छ कि नारायण वाग्ले र प्रतीक प्रधान सम्पादक भएपछि पत्रकारिताको स्वतन्त्रता संस्थागत हुनपुग्यो। किशोर दाइ आफै कान्तिपुर पब्लिकेसनको सम्पादक भइसक्नुभा छ। र नारायण वाग्ले पनि भइसक्नु भाछ। यसको जवाफ मलाई लाग्छ मैले भन्दा तपाईँहरुले नै अर्को फोरममा दिँदा उपयु्क्त होला।
-कान्तिपुरका बारेमा धेरै किताबमा आउने गरेको छ। म डिस्ट्रक्टिभ त भन्दिनँ, तर कान्तिपुर पब्लिकेसनका बारेमा अफिसियल भ्वाइसहरु नआउँदाखेरी…किनभने यो एउटा संस्था हो। मैले मात्र चाहेर यो संस्था केही तलमाथि हुन सक्दैन। यो एउटा राष्ट्रिय संस्था भइसक्यो। यसको बारेमा कुनै न कुनै दिन आधिकारिक रुपमा कान्तिपुरले आफ्नो भनाईहरु सार्वजनिक गर्ने नै छ। त्यसबाट अझ धेरै कुराहरु थाहा हुनेछ।
सिरोहियाको भनाई जस्ताको तस्तै-