Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मन्त्रीजी सँगको यात्रा

Posted on May 7, 2016May 7, 2016 by mysansar

-डा. विनोद चापागाईं-

saturday-fiction मन्त्रीजीको निजी भ्रमण विदेशतिर हुने खबरले हामीलाई उत्साहित पारेको थियो। म त भ्रमणदलको एक सदस्य भएको हुँदा खुट्टा भुईंमा थिएन भने पनि हुन्छ। ठूलाबडाहरुलाई भेटदा, खाना खाँदा, यात्रा गर्दा, बैठकममा जाँदा लगाउनु पर्ने लुगा कपडा र जुत्ताहरुको लामो लिस्ट बनेको थियो। हाम्रो जस्तो एकै खालका लुगा जुत्ता पनि लगाउन नपाइने, ठाउँ र भेटघाट अुनसार तिनीहरुलाई परिवर्तन गर्नुपर्ने जस्ता कुराहरुले भने अलि  दिक्दारी पनि थियो। तर पनि मन्त्रीजीका साथमा विदेश पुगिने – देश पनि देखिने, मुख पनि फेरिने भन्ने गज्जवको लोभ लागेको थियो।

आज उड्ने दिन – फुरुङ हुंदै शनिवार सरकारी गाडीमा सवार भएर सरर एयरपोर्टसम्म गइयो। सधैं झैं भिडमा लाइन पनि लाग्नु नपर्ने, भिआइपी बाटोबाट भित्र जाँदा त पुलिसले पनि सलाम ठोक्ने, सोफा पनि कति राम्रो गांठे। मनमा झल्झली अरु बेला एयरपोर्टभित्र छिर्दाका दृष्यहरु आइरहे – परै गन्हाउने चर्पीको गन्ध, लामो लाइन, पैसा ठग्न खोज्ने लोडर र एयरलाइन्सका कर्मचारी, सेक्युरिटी चेकको नाममा निजी अंग समेत छोएर ज्यादति गर्ने प्रहरी। आज मैले आफूलाई अचम्मको ठूलो मान्छे ठानें र गमक्क पर्दै बास्नादार सोफामा गजक्क बसें। प्लेन चढन जाने बेलामा मेरो हाते व्याग समेत पुलिसलाई बोकाएर ठमठम गएँ।

प्लेनभित्र हाम्रा लागि गरिएको व्यवस्थाहरुले मलाई अचम्मित पार्‍यो। कति राम्रो खाना, कति मिठो बोली र व्यवहार। रक्सी पनि कति थरिका गांठे – रेड वाइन, ह्वाइट वाइन, रेड लेबल, ब्लु लेबल, जीन, बियर अनि के के हो के के। जे खाए पनि हुने, जति खाए पनि हुने। तीन घन्टाको यात्रामा यत्रो धेरै स्वागत, सत्कार र खाना खान पाएर म दंगदास भएं – थाहै भएन बिदेशी एयरपोर्ट कति बेला पुगिएछ।

शनिबारको दिन। एयरपोर्टमा राजदुतावासका कर्मचारीहरु पर्खेर बसेका, गाडीहरु लाइन लगाएर राखिएका। मन्त्रीजी र टोलीलाई गरिने सत्कार (चाकडी भनिनहालौं होला) पछि बास बस्न मिलाइएको सानदार होटलमा पुग्यौं। राजदुतावासका कर्मचारी राज्यका लागि कि विदा मनाउन जाने मन्त्रीका लागि भन्ने कुराले म अलि बढी नै अचम्मित बनें। निजी भ्रमणमा आएका मन्त्रीजी र हाम्रा लागि उनीहरुले यो सबै किन गरिरहेका थिए मैले बुझ्ने कोशिशै गरिनँ। उनीहरुले सबै बन्दोवस्त मिलाएका। पैसा पनि खै कता बाट तिर्ने व्यबस्था थियो मैले खासै मेसो पाइनँ। तर होटलमा सुकोदाम नबुझाए पुग्ने भन्ने बुझ्नु मेरा लागि पर्याप्त थियो।

तीन दिन पछिको कुरा हो, सांझको सत्कार सकेर धंगधंगेसहित होटलमा पुगेपछि मन्त्रीजीलाई एउटा प्रस्ताव गर्नु पर्यो भन्ने लाग्यो। विदेशी शहर त बसियो, खाइयो, सत्कार पनि पाइयो। तर बैंककको वास्तविकता खासै बुझ्ने अवसर भएन भन्ने लागेको थियो। मन्त्रीजीलाई बिन्ती बिसाएं तर मन्त्रीजी पनि साथै जानुपर्ने थप प्रस्ताव सहित। मन्त्रीजी छक्क पर्दै मलाई नशा लागेको अनुमान गर्नु भयो। वास्तव मै हो मलाई अलिकति नशा नभएको भए सायद यो प्रस्ताव गर्न सक्ने थिईंन। मन दह्रो बनाउंदै चाकडीको भाषामा भनें – ‘मन्त्रीज्यू, हजुर जनताको प्रतिनिधि, यहाँको बाटोघाटो, बन्द व्यवस्थाको अनुभव गरे पछि देशमा गएर योजना गर्न र जनताको मन जित्न सजिलो होला कि भनेर प्रस्ताव गर्ने दुस्साहस गरेको हुं।’ मन्त्रीजीको केही जवाफ आएन तर मेरा थप कुराहरुलाई मन्त्रीजीले ध्यान दिएर सुन्नु भयो भन्ने मलाई लाग्यो। बिदेश भए पनि त्यो देश केहि वर्ष पहिले सम्म नेपाल कै जस्तो प्रति व्यक्ति आय भएको देश भएकोले पनि मलाई केहि सिकाईको आशा पलाएको थियो।

मन्त्रीजीको स्वीकृति पाए पछि उहां सहित हामी चार जना सामान्य लुगामा, विर्खे टोपी लगाएर, कसैले झ्वाट्ट भेटिहाले पनि नचिनिने भेषमा होटलवाट बाहिरियौं। राजदुतावासका कर्मचारीहरु लाई भने छुटकारा मिल्यो। हामीले जनजीवनलाई नजिकै वाट बुझ्न सार्वजनिक यातायातमा यात्रा गर्ने तय गरेका थियौं र म गाईड बन्नु पर्ने भन्ने शर्त थियो। त्यसैले मैले बस र रेल (स्काई र अण्डरग्राउण्ड ट्रेन दुवै) का रुटहरु डाउनलोड गरेर बोकेको थिंए। हामी होटल नजिकैको एक बस स्टपवाट बस चढ्यौं र (एउटा मुख्य बजार भएको ठाउं तिर लाग्यौं। बस सामान्य थियो, झ्यालहरु खुल्ला थिए र भाडा एकदम सस्तो। सायद गरीवको यात्रको साथी होला। तर मान्छेहरु असाध्यै शिष्ट। भिड बढदैै थियो, तर कसैले कसैलाई छोएर वा ठेलेर बसेको वा उभिएको देखिएन।

ओहो, बजार त आमा’मा कस्तो भिड, हाम्रो असन जस्तो। जता ततै मान्छे नै मान्छे। तर अचम्म, सवै आ–आफ्नो साईडवाट हिडेका छन्। कतै धक्कम धक्का छैन, हल्ला छैन। त्यस्तो भिड हुने ठांउ पनि अचम्मको सफा छ। को स्वदेशी, को विदेशी – मान्छेहरु फूटपाथ राखिएका पसलहरुमा किन्दै खांदैछन् तर पसलहरु बाटो छेक्ने गरी कतै राखिएका छैनन्। खाएको फोहोर कसैले बाटोमा फालेका छैनन्। ठाउंठाउंमा पानीका फोहोरा (फाउन्टेन) चलेका छन्। हामी छक्क पर्यौं, यो सार्वजनिक ठांउको सरसफाई र व्यवस्थापन देखेर।

मन्त्रीजीको सपिङ मल भित्रको भ्रमण सकिए पछि मैले गाडि गुडने बाटो भन्दा माथि बाट चल्ने रेल चढने प्रस्ताव गरें। हत्तेरिका टिकट पनि मेसिनमा पैसा हालेर किन्नु पर्ने। ढोकाको दुलोमा टिकट छिराएपछि मात्र रेल तिर जान पाइने ढोका खुल्ने। ट्रेन चढने ठांउमा त मान्छेको समुन्द्र नै छ भने पनि हुन्छ। तर अचम्म, सवै लाईनमा बसेका र ट्रेन चढने पालो पर्खिरहेका। हामी पनि एउटा लाइनमा समाहित भयौं र ट्रेन चढ्यौं। हाम्रा त त्यतिका सुन्दरीहरु भिडभाडमा हुने भए त कोही न कोही ठोक्किदै उनीहरुको छेउमा पुगि सक्थ्यो होला, सकेसम्म छुन्थ्यो होला, अनि पाए चिमोटथ्यो पनि होला। यहां त कसैले कसैलाई छोएर उभिएको समेत देखिएन। बरु मान्छेहरु ट्रेन भित्रै उभिएर केहि पढिरहेका वा फोनमा खै के हेरिरहेका थिए। कसै कसैले फोनमा कुरा गरेका पनि देखियो तर बोली भने ठ्याम्मै नसुनिने। फोनमा कुरा गर्दा अरुलाई डिस्टर्ब हुन्छ कि भनेर मान्छेहरु अचम्मले होसियार भएका। हामी हाम्रो ट्रेनवाट निस्कदा बिजुलीले चल्ने भ¥याङ्गवाट तल झर्यौं र फेरी निस्कने ढोकामा टिकट छिराए पछिमात्र बाहिर जाने ढोका खुल्यो।

हाम्रो योजना यस पछि बजारको बीचमा भएको सार्वजनिक बगैंचा (पार्क) जाने थियो। यस पटक हामी एयर कण्डिसन भएको बसमा चढ्यौं। गुरुजी महिला हुनुहुन्थ्यो र उहांकै हातमा पो रहेछ ढोका खोल्ने र बन्द गर्ने चाबी त – खलासी नै नचाहिने, न ढोकामा ठोक्दै कसैले कराउनु नै पर्ने। बस भाडा अघि चढेको बस भन्दा झण्डै दोब्बर मंहगो। तर बस कति सफा। बस भिडभाड नै थियो, त्यहि बीचमा एक जना अलि पाको उमेरको महिला बसमा चढनु भयो। छेउछाउमा भएका दुई तिन जना ज¥याकजुरुक्क उठे – यसो बुझेको त उनीहरु उहांलाई बस्ने ठांउ दिन तंछाड मछाड गर्दै रहेछन्। यसै बीचमा अन्य महिलाहरु लाई सिट छोडेको देखियो। खै यहि हो कि नैतिक शिक्षा भनेको ?

हामी पार्क भएको ठांउमा पुग्यौं। गर्मी र भीड हुने शहरको बीचमा रहेको ठांउको पार्क हामीलाई साच्चै मन पर्यो। मान्छेहरु हिंडनका लागि, कुदनका लागि, साइकल चलाउनका लागि आफ्ना आफ्ना लेन बनाईएको। शहरको बीचमा पनि कति ठूलो पार्क – हामीलाई एक छेउवाट अर्को छेउ पुग्न झण्डै एक घण्टा नै लाग्यो। बाटोका दुवै साइडहरुमा रुखहरु लगाइएका, आराम गर्न बस्ने बेन्चहरु राखिएका, सुविधाजनक सौचालयहरु बनाइएका र सफा गरिएका, बीच बीचमा पानी खान मिल्ने फिल्टर भएर पानी आउने धारा (बब्लर) हरु राखिएका, र जताततै सुन्दर फूलहरु फुलाइएका। पार्कको बीचमा भएको ठूलो र सफा तालले पार्कलाई दिने शोभा त छंदैछ, पार्कको हरियाली बनाई राख्न समेत मद्धत गरेको रहेछ। कुरै कुरामा मन्त्रीजीको मुखवाट फ्याट्ट निस्कियो – यतिको सफा र राम्रा ठाऊं त सिहंदरवारमा पनि छैन, चर्पीको त झन के कुरा गर्नु। हामी मुस्कुरायौं।

हामी यात्राले थाकेको भए पनि पार्कको मनमोहकताले आल्हादित थियौं, तर शरिरले खाना र आराम खोज्दै थियो। मन्त्रीजी संगको सल्लाहामा हामीले फूटपाथमा काटिएर राखिएको फलफूल किन्यौ। काटिएका फलफूलहरु शिशाको बन्द भांडा भित्र आइसमा राखिएका थिए र साहुनीले फलफूल दिने बेलामा हातमा प्लाष्टिकका पन्जा लगाएर मात्र दिएकी थिइन्। हामीलाई फलफूल फोहोर पो हुन्छ कि भन्ने भ्रम थियो, त्यो समेत निवारण भयो। एकादेशको कथा जस्तो।

 

हामी होटल फर्कने समयमा शहरको मुनीवाट चल्ने रेल चढ्यौं। आकाशे ट्रेनवाट पुरै बजार हेर्दै यात्रा गर्न पाइनेमा यो अण्डरग्राउण्ड ट्रेनमा यात्रा गर्दा भने कहां जांदै छु भन्ने पत्तै नहुने। तर न गन्ध छ, न फोहोर – कसरी सफा राख्न सकेका होलान् खै ? हाम्रो स्टेसन पुगेको अनाउन्समेन्ट सुने पछि हामी रेलवाट बाहिर निस्कियौं। तर बजार तिर जाने त कति धेरै बाटाहरु। हामी अलमल्ल परेको देखेर स्टेसनका एक जना कर्मचारी हाम्रो छेउमा आएर केही सहयोग चाहिन्छ कि भनेर सोधे। हामीलाई लाज पनि लाग्यो तर सहयोग माग्नै प¥यो। उनैले हामीलाई हाम्रो होटल तिर निस्कने बाटो सम्म निकालिएदिए। मैले उनलाई धन्यवाद सहित केही पैसा दिन चांहे तर उनीले पैसा अस्वीकार गरे। यो त उनको जागिर हो रे। मैले भूकम्प पिडित संग पैसा खान खोज्ने हाम्रा कर्मचारीलाई झल्झलि संझे।

 

हामी ट्याक्सी चढेर होटलमा पुग्यौं। हाम्रा ट्याक्सी र त्यो ट्याक्सी – कहि कतै तुलना नै भएन। सफा, एयर कण्डिसन भएका र आरामदायी। होटलमा पुगे पछि हामी दिनभरको यात्राको समिक्षा गर्न थाल्यौं। नेपाल संगै बिकासको खुडकिलो चढन शुरु गरेको देश अहिले मध्यम आय भएको देश भनेर चिनिन थालेको, मानिसहरुको आय र क्रय शक्ति बृद्धि भएको, भौतिक पूर्वाधारमा र शिक्षामा ठूलो फडको मारेको देखेर हामी छक्क पर्यौं। हामी मध्ये एक जना साथीले यो सबै राजनीति गर्नेहरुले बिगारेको मात्र के भन्नु भएको थियो – मन्त्रीजी बुरुक्क उफ्रिनु भयो र कराउनु भयो, ‘तिमीहरु हामीलाई मात्र दोषी देख्छौ, तिमीहरुको केही दोष छैन ?’ म झसंग भएर बिउंझिएं – हत्तेरिका, म त आफ्नै निसास्सिने कोठामा सपना पो देखिरहेको रहेछु।

3 thoughts on “मन्त्रीजी सँगको यात्रा”

  1. जीवन नेपाली says:
    May 10, 2016 at 7:21 am

    यो सपना देख्ने वाला लेख हरु को पनि हिजो आज बाढी आउन थाल्यो भन्या…

    Reply
  2. Lok says:
    May 8, 2016 at 9:38 am

    बिपनामा नै पनि धेरैले बैंकक भ्रमण गरे । देशको दुर्भाग्य सरकारी ढुकुटीबाट खर्च बेहोरिएका ति भ्रमण देशकै हितका लागि चाँही त्यती उपलब्धीमुलक रहेनन् । धन्यवाद त्यो पाटोमा साकारात्मक तबरबाट कलम चलाऊनु भएकोमा ।

    Reply
  3. Ekraj says:
    May 8, 2016 at 7:14 am

    Very nice dream Binod ji. We all hope our corrupt and criminal politians also dream occassionally similar dream and atleast occassionally can think for the country and the people.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme