‘बी – १९ जंगपुरा। कतै हराए अटो वा ट्याक्सीवालालाई यो नम्बर भन्नु, पुर्याइदिन्छ,’ सिङ्गो भारतमा रिपोर्टिङको जिम्मा सम्हालेका कान्तिपुर दैनिकका नयाँ दिल्ली संवाददाता देवेन्द्र भट्टराईले मलाई भनेका थिए। मैले ध्यान दिएर नाम कण्ठ गरेँ- ‘बी उन्नाइस, जंगपुरा’
‘उन्नाइस हैन मुला, उन्नीस’ आरआर कलेजमा पत्रकारिता पढ्दाताकाका सहपाठी देवेन्द्रले मलाई जिस्क्यायो। जतिसुकै हिन्दी फिल्म र सिरियल हेरेर हिन्दी बुझ्छु भने पनि नेपाली पाराको हिन्दीले कहिलेकाहीँ रमाइलै बनाउँछ। कतै झरेका मान्छेले तानिदेऊ न भन्नलाई ‘भाइसाहब मुझे तान दो’ भनेछन्। आफू झर्नुपर्ने ठाउँ देखेपछि एक जना बसमा चिच्याएछन्- रोको रोको, मुझे झर्ना है।
देवेन्द्रले थर्काएपछि कम्तिमा मैले प्रम ओलीको भारतको राजकीय भ्रमणको सिलसिलामा रिपोर्टिङका लागि दिल्लीमा बसुन्जेल १९ लाई उन्नीस भन्ने भएको थिएँ। यही बी ब्लकको उन्नीसौँ नम्बरको घरको चौथो तल्लाको फ्ल्याटमा बसिरहेका बेला एक बिहान अचानक तलतिर साइरन बजाउँदै रातो गाडी रोकियो। नेपालमा दमकल भनिन्थ्यो यसलाई। त्यहाँ चाहिँ फायर सर्भिस भनिँदो रहेछ। दिल्ली फायर सर्भिस लेखिएको थियो गाडीमा। बरन्डाबाट हेरेको त सब मान्छेहरु माथि हेर्दै। अहो, बसेकै घरमा कहाँ आगो लागेछ, अब कसरी भाग्ने होला भनेर मुटु ढुकढुक भयो। तर देवेन्द्रले नआत्तिन सम्झाउँदै क्यामेरा लिएर आऊ, गजबको कुरा देख्छौ भन्यो। साँच्चै पछि कुरा बुझ्दा त अचम्मै लाग्ने कुराका लागि दमकल आएको रहेछ।
दमकल आगो बुझाउन (हैट, हिन्दी पो मिसियो त- निभाउन भन्न खोजेको!) आएको थिएन। दमकलका कर्मचारीहरुलाई कसैले फोन गरेको थियो रेस्क्युका लागि ।
रेस्क्यु थियो परेवाको।
परेवा? हो, परेवा। घरनजिकैको रुखमा धागोले बेरिएर एउटा परेवा झुण्डिएको रहेछ। कसैले तलबाट देखेछन् र फायर सर्भिसलाई फोन गरेछन्। दमकल तुरुन्तै कुदेर आइहालेछ।
दमकलका दुई कर्मचारी घरमाथि आए। झ्यालबाट निस्केर परेवालाई समाते र कैँचीले धागो काटिदिए। बिचरा परेवा घाइते भएको रहेछ। पखेटामा रगत थियो।
अब यो परेवालाई नजिकैको नगरपालिकाको पंक्षी राख्ने ठाउँमा लगेर उपचार गर्ने रे। उनीहरुले परेवालाई आफैसँग लिएर गए र एउटा फाराममा घरमालिकको नाम, घटना लेख्न भने।
म दङ्ग परेँ। अहो, हामी नगरपालिका घोषणा गर्ने कुरामा मात्रै ध्यान दिन्छौँ। यस्ता विषयमा हाम्रो कहिल्यै ध्यानै जाँदैन। मैले जमानामा काठमाडौँको एउटा मन्दिरमा यस्तै धागोका कारण झुण्डिएर मरेको परेवा देखेको थिएँ। त्यो परेवा बाँच्न सक्थ्यो। तर मरेर कुहिन्जेल त्यहाँबाट परेवा निकाल्ने कोही भएन।
हामी भारतलाई सँधै गाली मात्रै गर्छौँ। गाली गर्नुपर्ने धेरै कारण पनि होलान्। तर सिक्नुपर्ने पनि धेरै कुरा छन् भारतमा। पशु र पंक्षीप्रति दिल्लीको यो मानवीय व्यवहार साँच्चै हामीले पनि सिक्नुपर्ने नै विषय हो।
‘अब तिमीलाई भारतको नून खाएर यस्तो लेखेको भन्नेछन्’, देवेन्द्रले मलाई जिस्क्याउँदै थियो। तर मलाई भने साँच्चिकै छोएको थियो एउटा परेवा उद्दारको यो घटनाले। हाम्रो महानगरपालिकाले पनि कुनै दिन परेवा उद्दार गरेको खबर कहिले आउला साँच्चि?
सुशील जी,
तपाई मासु खानु हुन्छ कि हुन्न?
हाम्रो देशमा पनि रेस्क्यु गर्छन, सबै तपाई जस्तै जिब्रो पड्काउदै मासु हसुर्ने मात्रै छैनन्.
यो समाचार ले मेरो पनि मन छुयो . साँच्चिकै भन्ने हो भने हामी नेपालीहरु (मेरो मतलब अधिकांस ) सम्बेदनशील छैनौ . हाम्रो रुची प्राय काट मार र अन्य यस्तै दयाहिन बिषयमा हुन्छ . कुनै निर्दोष जनावर ले दुख पाएको देखेमा रमाइलो मान्छौं . बाटो मा हिंडिरहेको कुकुर देखेमा पिट्न पछी पर्दैनौ , हामीलाई आरामदायी बस मा सफर गर्दा पनि शरीर दुक्छ तर राँगा लगायेत अन्य पशु लाई नाकको प्वाल मा रस्सी लगाएर truck मा कोचेकै हुन्छौ बिडम्बना BUDDHA WAS BORN IN NEPAL भन्दै सामाजिक संजालका भित्ता हरु मात्रै भर्छौँ तर बुद्ध को उपदेश पालना गर्न जान्दैनौ .
नेपाल त भएका परेवा, भंगेरा, ढुकुर, काग, सारौ लोप हुदैछन्, यी पन्छीलाई बास स्थान र पिउने पानी नभएर दिनपरदिन मासिदैछन्। यसतर्फ कसैलाई मतलब छैन। हाम्रो वातावरणीय सन्तुलन बिग्रिसक्यो।
“The greatness of a nation can be judged by the way its animals are treated.”
By GANDHI
फरक किसिमको समाचार पड्दा राम्रो लग्यो I
हाम्रो समाजमा बिस्तारै पशु-पन्छी प्रति हुनु पर्ने दया-माया घटीरहेको पो होकी जस्तो लाग्छ I
दिल्ली-दमकलका साथीहरुले मन जिते I
राम्रो लग्यो
एक पटक रेस्क्यु गर्न बोलाएर त हेर्नुस, हाम्रा कर्मचारीले परेवा मात्रै होइन खसी, बोका, कुखुरा, कालिज, राँगा, बंगुर सबै मिठ्ठो गरी जिब्रो पड्काई पड्काई झोल संग रेस्क्यु गरिदिन्छन.