Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नझुक्किनुस्, कनकमणि-लोकमान ‘प्रोपोगान्डा वार’मा माइसंसारको पुरानो ब्लग खोतलिएको हो

Posted on April 26, 2016April 26, 2016 by Salokya

कनकमणि दीक्षित र लोकमान सिंह कार्कीबीचको आपसी विवादको चरम रुप अहिले देखिन थालेको छ। अब आ-आफ्ना गल्तीलाई ढाकछोप गर्न ‘प्रोपोगान्डा वार’ पनि सुरु भएको छ। अनि यस क्रममा माइसंसारका पुराना ब्लग खोतल्न थालिएको छ।

यस क्रममा हिजोदेखि अचानक माइसंसारको पुरानो ब्लग भाइरल हुन थालेको छ। अख्तियारको अपरेसन : यसरी बढावा दिइँदैछ ‘फेक’ कामलाई, हेर्नुस् प्रमाण ब्लग सन् २०१५ को डिसेम्बर १८ मा लेखिएको हो। यसमा फेक पेज र प्रोफाइल बनाएर अख्तियारको फेसबुक पेजमा सकारात्मक कमेन्ट गरिएको उल्लेख छ। यो पुरानो ब्लगलाई अहिले दीक्षित पक्षकाहरु दीक्षितविरोधी कमेन्ट जति सबै ‘फेक’ हुन् भन्ने खालको प्रोपोगन्डा गर्न उपयोग गरेको देख्दा अचम्मै लाग्यो। खासमा यो ब्लगको सन्दर्भ बेग्लै थियो।

यस विषयमा अख्तियारका प्रवक्ताले पत्रकार सम्मेलनमै स्पष्टीकरण पनि दिइसकेका छन्। सुन्नुस्-

माइसंसारको धारणा
माइसंसारको धारणा उनी पक्राउ परेकै दिन शुक्रबारको पहिलो ब्लगमा आइसकेको छ। हेर्नुस्- कनकमणि दीक्षित किन पक्राउ : अख्तियारको कुरो यसरी बुझौँ कतिपयले यसलाई दीक्षितको पक्षमा ठान्न पुगे। नेपाल ठाउँ नै यस्तै हो। कुनै पनि विषयमा कसैको कि पक्षमा कि विपक्षमा लागेकै देखिनु पर्छ, तटस्थ वा स्वतन्त्र धारणालाई पनि त्यही अनुसार व्याख्या गरिन्छ।

कनकमणि कसैका लागि ‘इष्टदेव’ होलान् कसैका लागि लोकमान। तटस्थ भएर हेर्ने हो भने दुवै चोखा छैनन्। पहिलो ब्लगमा भनिए जस्तो लोकमानले बयान दिन आऊ भन्दा पनि नटेरेको भएर संवैधानिक निकायको पावर देखाएर रिस फेरेका मात्रै हुन्। के-के न होला भनेर कसैले ठूलै आशा गरिरहेको भए प्रष्ट हुनुस्, हुनेवाला केही छैन। यो दुई वर्गको आपसी झगडा मात्र हो। यसमा टाउको दुखाउनु बेकार छ। रुवाबासी गर्नेहरुलाई गर्न दिनुस्।

अनुसन्धान सकिएन भनेर अझै केही दिन थुनामा राख्न पनि अख्तियारले खोज्न सक्छ त्यो अधिकार छ उसित। तर यसलाई विशेष अदालतले स्वीकृति दिनुपर्छ। त्यसपछि भने अभियोगसहित मुद्दा दायर गर्नुपर्छ। मुद्दा दायर हुन्छ, दीक्षित धरौटीमा छुट्छन्। अनि पछि शायद अदालतले सफाइ दिन्छ किनभने साझाको अध्यक्ष भएको हैसियतमा भ्रष्टाचार गरेको प्रमाण सायदै अख्तियारले पुर्‍याउन सक्छ। त्यो बाहेक अरु हैसियतमा गरेको भ्रष्टाचारलाई अदालतले हेर्न मिल्दैन। (अख्तियारका अदालत पुगेका प्रचारमुखी मुद्दाले फेल खाएको एउटा उदाहरण नेपाल क्रिकेट संघ क्यानको नेतृत्वलाई लगाएको मुद्दा हेर्दा हुन्छ। १ करोड ४३ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेपछि वाहवाही भएको थियो। तर अदालतले त्यसलाई मानेन, सबैलाई सफाइ दियो)

यो सबको उद्देश्य दीक्षितलाई तर्साउनु र अख्तियारको पावर देखाउनु मात्रै हो, जुन पूरा भएपछि यो विषय साम्य हुनेछ। उनलाई कारबाही होला, हुनुपर्छ भनेर तीन हात उफ्रनेले त्यतिबेला थाहा पाउने छन् खासमा कुरा के हो।

दीक्षितको गल्ती
अख्तियार एक संवैधानिक निकाय हो। आफूलाई मन नपरेको मानिस त्यसको प्रमुख भयो भन्दैमा बयानै दिन जान्नँ भनी अस्वीकार गर्नु कनकमणि दीक्षितको गल्ती थियो। अख्तियारको विज्ञप्ति अनुसार सुरुमा अख्तियारको अनुसन्धानलाई सघाए पनि पछि उनलाई पटक पटक बयान दिन बोलाउँदा उनले चार महिनासम्म अटेर गरे र सात दिनको म्याद दिएर बोलाउँदा सातौँ दिन क्षेत्राधिकारमाथि नै प्रश्न उठाई आउँदिन भने।

सर्वोच्च अदालतमा उनले गत मंसिरमा आफूमाथिको अनुसन्धान रोक्न अन्तरिम आदेशको माग गरी रिट दायर गरेका थिए। तर सर्वोच्चले अन्तरिम आदेश दिएन। दीक्षितले अदालतको छलफलको क्रममा आफूले अख्तियारलाई सहयोग नै गरिरहेको बताएकाले अनुसन्धानका क्रममा रहेको विषयमा हस्तक्षेप गरी अन्तरिम आदेश जारी गर्न आवश्यक नभएको सर्वोच्चको ठहर थियो।

यसरी उनी गत पुसको सर्वोच्चको फैसलापछि नै कानुनी रुपमा अख्तियारभन्दा कमजोर भइसकेका थिए। अब पालो लोकमानको थियो। बयान दिन अस्वीकार गरे पक्रेर उपस्थित गराउने र अनुसन्धानका लागि थुनामा राख्ने अधिकार अख्तियारसँग छ। विशेष अदालतले अख्तियारलाई अनुसन्धानका लागि १० दिन थुनामा राख्न अनुमति दिइसकेपछि कानुनी रुपमा अख्तियारको कदममा चुनौति दिन सकिँदैन।

साझा यातायात सार्वजनिक संस्था भएको र त्यसको अध्यक्ष भएको हैसियतले उनीमाथि अनुसन्धान गरेको भन्ने अख्तियारको दावी कानुनी नै छ। धेरै सर्वसाधारणलाई के लाग्छ भने भ्रष्टाचारी जति सबैलाई जाक्न अख्तियारले पाउँछ। तर कानुन अनुसार अख्तियारले सार्वजनिक संस्थामा सार्वजनिक पद धारण गरेको व्यक्तिलाई मात्र अनुसन्धान गर्न पाउँछ। साझा यातायातको अध्यक्ष नभएको भए जतिसुकै जे भए पनि अख्तियारले दीक्षितलाई छुन पाउँदैन थियो।

अख्तियारको पूर्वाग्रह
उता अख्तियारको पूर्वाग्रह पनि प्रष्टै देखिन्छ। अहिले अख्तियार बल्ल अनुसन्धान चरणमा छ, अभियोग लगाइसकेको छैन। तर यस्तो यस्तो उजुरी पर्‍यो भनेर सार्वजनिक गरिएको छ।

गणेश थापालाई अन्तर्राष्ट्रिय रुपमै भ्रष्टाचारी ठहर गरेर निलम्बन र जरिवाना लगाइसक्दा पनि अख्तियार चुप छ। संसदको लेखा समितिले समेत भ्रष्टाचार ठहर गरेर अनुसन्धान गर्न भन्दा पनि अख्तियार चुप छ। लडाकु शिविरमा गएको रकम भ्रष्टाचार भएको बारे अख्तियारले कसैलाई थुनेर अनुसन्धान गर्न त के, अनुसन्धान सुरु भएको भन्न पनि सक्दैन। नाकाबन्दीको बेला आयल निगमबाट हाकाहाकी भ्रष्टाचार भयो, तर अख्तियार चुप बस्यो। एनसेलको अर्बौँ रुपैयाँको कर छल्ने प्रकरणमा अख्तियार चुपै बस्यो। पनामा पेपर्सको छानबिन गर्ने गफ हाँक्यो। ठूला माछो माछो भ्यागुतो मात्रै भयो।

आफू अख्तियारमा नियुक्त हुन लाग्दा दीक्षितको अगुवाइमा भएको विरोधलाई पनि लोकमानले किन भुल्थे? वैधानिक रुपमा रिस फेर्न पाउने बेलामा उनले किन छाड्थे? तर दीक्षित प्रकरणमा चाहिँ अख्तियारलाई पनि दह्रै दबाब परेको कुरा हिजो पाँच पाने विज्ञप्ति अङ्ग्रेजीमा निकालेकोबाट प्रष्ट हुन्छ। यो पावरवालाहरुको जोरी खोजाइमा हामी पावर नभएकाहरुले पाउने केही होइन। त्यसैले धेरै टाउको नदुखाएकै राम्रो।

जसले उनलाई टाउकोमा बोकेर अख्तियार प्रमुखको कुर्सीमा पुर्‍याएका थिए, उनीहरुलाई नै आपत पार्न थालेपछि बल्ल नयाँ शक्ति केन्द्रका रुपमा आफूलाई स्थापित गराउन थालेका लोकमान के रहेछन् सबले थाहा पाउने छन्।

11 thoughts on “नझुक्किनुस्, कनकमणि-लोकमान ‘प्रोपोगान्डा वार’मा माइसंसारको पुरानो ब्लग खोतलिएको हो”

  1. Ekraj says:
    April 27, 2016 at 6:27 pm

    अहिलेसम्म कुनै गुन्डा डनलाई छानबिन गरेको तपाईँले देख्नुभएको छ अख्तियारले?
    No we have not seen it and possibly we will never see Akhtiyar carrying out any investigation of Don and Smuglers.
    To some extent both of them completment to each other when it comes to maintaining law and orderless situation in Nepal.
    Akhtiyar is not much different from notorious Don and Mafia so they belong to almost in the same group when it comes to finanacial crimes.

    Reply
    1. समर्पित says:
      April 29, 2016 at 1:19 pm

      $ मणि जी को सवाल मा !!
      एकराज कि डलरराज ?
      नेपाल को सामरिक भू राजनीतिक संरचना – जातिय क्लस्टर र सरकार का गोप्य सुचनाहरु सायदै अरु डन र गुण्डा हरु ले बेचे होलान ! यी ति काम सब हिमाल मिडिया अन्तर्गत गर्छन ! मानबअधिकार रे ?
      कुन मानबअधिकार ? – भारत ले जम्मुकास्मिर मा एक लाख भन्दा बढी को नरसंहार गर्दा यी हरु कता थिए ?
      इराक मा १३ लाख अमेरिका ले मार्दा यी कता थिए ? अबुगरेब जेल को फोटो सार्बजनिक हुदा कहा गएको थियो यी हरु को मानाबधिकार ?
      लिबिया मा ८० हजार निहाथ्था जनता माथि नेटो र खाडी राष्ट्र ले बम बर्साउदा यी हरु कता थिए ?

      यहा कुरो लोकमान भर्सेस कनक होइन !
      “यहा राज्य को भ्रस्टचार बिरोधि निकाय भर्सेस कथित स्वघोषित बुद्धिजिबी जो संदिघ्ध आर्थिक क्रियाकालाप मा लिप्त”
      “राज्य को स्वतन्त्र अंग” ले सार्बजनिक पद धारणा गरेका जो सुकै लाइ – संदिघ्ध आर्थिक क्रियाकलाप को संका मा अनुसन्धान गर्न नपाउने ? यी हरु तत्कालिन राजा हुन् जो कानुन को पहुच भन्दा माथि रहने ?

      Reply
  2. Ekraj says:
    April 27, 2016 at 12:16 pm

    As a general public we have the following information about these two immoral, thugs and to some extent criminal personalities- Kanak Manin Dixit and Lokman Sing.
    1. Kanak Mani is a con artist and a member of thug elites in Nepal who considers himself as a king maker or he has a freedom to write anything about anybody and a vested interest group person with high level of political manipulation strategy.
    2. Lokman is a very corrupt, power abuser, opportunist and precisely, judicail criminal of Nepal, who just wasting time as a responsible head in Akhjiyar but practicing very immoral and unethical behaviours.

    Both of these criminals are worth of being in jail than be honoured for anything.

    Reply
  3. TENZING GABA says:
    April 27, 2016 at 7:13 am

    २ कुरो

    सिकिस्त बिरामी भएर ICU मा भर्ना भएको बिरामी त बडो हसिलो मुद्रामा पुर्ब रास्ट्रपति संग गफ गर्दै गरेको फोटो पो पत्रिकामा देखियो त्,
    होइन ICU भन्या ससुरालीको पलंग हो ?

    हामी सर्बसाधारण सिकिस्त बिरामी भएर जादा चाही जहिले पनि कुनै पनि बेड (general ward or ICU ) कहिले पनि खाली हुदैन, यी अभियुक्त हरु जादा चाही कसरि जहिले पनि बेड तु उपलब्ध भएको होला ?

    Reply
  4. Rohini says:
    April 27, 2016 at 3:13 am

    कनकमणि दिक्षित लाई अख्तियारले छानबिन गर्न नपाउने भन्ने केहि छैन| तर दिक्षित भन्दा पहिलेनै भ्रस्टाचारमा मुछिएका गणेश थापाहरुलाई अख्तियारले किन छानबिन गर्दैन भन्ने मुख्य प्रश्न हो|

    Reply
  5. Shankar says:
    April 26, 2016 at 10:39 pm

    दुइतै हिजो राजाको चम्चा हरु ,र मौका परास्त खालका व्यक्ति हुन् | आज सायद राजा किन चाहियो यो देश लाइ भन्ने पनि यिनै हुन्छन | मौका मा चौका हान्ने यी ब्वासा हरुमा दिमाग किन लगाउने ? आज थुन्छ, भोलि फेरी आपस मा मिल्छ हरेक चोटी नीउज थप्दै जाने ?
    लाज ,सरम , घिन भएका मान्छे को कुरा पो गर्नु ?

    Reply
  6. kalyan says:
    April 26, 2016 at 8:48 pm

    होला ठिकै छ।।पहुच र प्रभाब को आधार मा यो फटाहा कनकणी छुटलान केही कथित दैनिक पत्रीका र हामिले नबोले कस्ले बोल्ने भन्ने वाला सेतो अनलाइन ले कनके को वाईवाई मा भजन गाउलान।दिक्षित को पाटन दरबार मा भोजभतेर गर्लान आफ्नो बर्ग को रक्षा को लागि अरु कस कसलाई गोयबल्स प्रचार गरेर सिद्दाउने कसरी बिदेसी दूतावास र अन्तरास्ट्रिय सस्था हरु बाट दाम ल्याएर आफ्नो बर्ग को हित को लागि प्रोक्सी वार गर्ने भन्ने सल्लाह गर्न फलानो रेस्टुरेन्ट मा गिरोहको सद्स्य हरु भेला होलान।।।तर अब त्यो छ्ट्टु गिरोह र त्यस्को नाईके कनकमणी लाई अब जनताको अदालत ले छाडने वाला छैन।बनिबनाउ सर्वोच्च/विशेष अदालत जे सुकै ले छाडोस हामिलाई के मतलब।।।।तर जनताको अदालत को फैसला को कार्यन्वयन एक दिन हरिनेछ।।।त्यो त्यस गिरोह नाईके बाट सुरु गरिनेछ।।।

    Reply
  7. सिमान्त says:
    April 26, 2016 at 5:53 pm

    माइसंसारको कुरा अनुसार त गुण्डा, डन आदिले मान्छेलाई बन्दकी बनाएर कमाएको अकुत सम्पतिको पनि अख्तियारले छानबिन गर्न नपाउने रहेछ त ? कि नबुझी नबुझी न्यायधिस बन्नु भएको सालोक्यज्यू ? अरु भ्रस्टाचारीलाई कारबाही गर्दा त बहुत खुसि हुनुहुन्थ्यो तपाईं, यो कनकमणि लाई त निकै काँध थाप्नु भएको छ त !

    Reply
    1. Salokya says:
      April 26, 2016 at 10:08 pm

      हो, गुन्डा डन आदिले मान्छेलाई बन्धकी बनाएर कमाएको अकुत सम्पतिको अख्तियारले छानबिन गर्न पाउँदैन। त्यस्तोमा सम्पति शुद्धिकरण विभागले छानबिन गर्ने हो। अख्तियारले सार्वजनिक पदाधिकारीको मात्रै छानबिन गर्न पाउने हो। कानुनै त्यस्तै छ त तपाईँ के गर्नुहुन्छ? तपाईँलाई पत्यार नलागे यहाँ छ अख्तियारको क्षेत्राधिकारबारे कानुन आफै पढ्नुस् http://www.documentcloud.org/documents/2810142-ciaa-Act-2048.html
      अहिलेसम्म कुनै गुन्डा डनलाई छानबिन गरेको तपाईँले देख्नुभएको छ अख्तियारले?

      Reply
    2. TENZING GABA says:
      April 27, 2016 at 7:28 am

      सरल सब्द मा भन्ने हो भने
      अख्तियार दुरुपयोग अनुसन्धान आयोग = अधिकार दुरुपयोग भएको जाचबुझ गर्ने अड्डा

      अब गुण्डाहरुले कताको अधिकार दुरुपयोग गर्नु ?
      तिनलाई अख्तियार ले छानबिन गर्नु नि ?
      तिनले गरेको कुकर्महरु त् अधिकार दुरुपयोग होइन फगत अपराध हुन् र त्येस्ताहरुको लागि प्रहरी छदै छन् नि
      अख्तियार ले त् जनाअन्दोलन दबाउन महत्वपूर्ण भूमिका खेल्ने “लोकमानसिंह कार्की” (बर्तमान अख्तियार प्रमुख ) जस्तोलाइ पो अनुसन्धान गरेर कारबाहीको प्रक्रिया अघि बढाउनु पर्ने हो त् / तर क्यार्नु, कुकुरले पुच्छर हल्लाउनु पर्ने मा पुच्छरले कुकुर हल्लायेसी

      जदौ

      Reply
  8. mahesh says:
    April 26, 2016 at 3:11 pm

    “गर्ने भए सबै ल्अै कारबाही गर, नत्र दीक्षित लाई मात्रै किन “भन्नु को अर्थ दीक्षित माथि भएको कारबाही को बिरोध हो। हामी ले त उस्लाई गरेको कारबाही को समर्थन गर्दै अरु भ्रस्त लाई पनी कारबाही गर भनेर दबाब दिनु पर्छ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme