Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

माइसंसारको ब्लगपछि यसरी सच्चाइए समाचार

Posted on April 8, 2016 by Salokya

पनामा पेपर्स लिकमा नेपालीहरुको नाम पनि सार्वजनिक भएको भनेर अनलाइन र छापा दुवैमा झुटो खबर छापिएको बारे ब्लग लेखेको थिएँ (यहाँ क्लिक गरी पढ्नुस्)

ब्लग प्रकाशित भएपछि केही अनलाइनले समाचार सच्याएका छन्।

सेतोपाटीले पनामा पेपर्स काण्डः १३ नेपालीको नाम सार्वजनिक (सूचीसहित) शीर्षकमा समाचार हाले पनि पछि ‘तथ्यसंगत नभएकाले हटाएका छौं’ भनेको छ।

setopati

रातोपाटीले समाचार हटाएको छैन तर समाचारको पुछारमा ‘पुरानो नाम पर्न गएकोमा क्षमाप्रार्थी छौं’ भनेको छ। यो समाचारमात्र पढ्ने पाठकले के पुरानो नाम भनेको हो, किन क्षमा मागेको हो भेउ पाउन गाह्रै पर्छ।

ratopati

उज्यालोले समाचार हटाएको पनि छैन, सच्याएको पनि छैन
ujyaalo1

खास कुरा के हो त ? पुरानो ब्लग नपढ्नु भएको भए फेरि एक पटक
panamapapers
“पनामा पेपर्स कान्ड : १३ नेपालीको नाम सार्वजनिक”

यो वा यस्तै हेडलाइनमा तपाईँले पत्रिका वा अनलाइनमा केही समाचार पढ्नु भएको छ? छ भने त्यो झुटो हो। तपाईँलाई ती मिडियाले झुटो खबर दिएका हुन्। किन झुक्याएका हुन्, तपाईँ उनीहरुसँगै जवाफ माग्नुस्। म भने त्यो समाचार किन झुटो हो भनेर तपाईँलाई प्रमाण देखाउँछु।

आजको ‘नेपाल समाचारपत्र’ले समाचारमा लेखेको छ- “विश्वभर एकसाथ तरंगा ल्याएको पानामा पेपर्स कर छली काण्डमा जोडिएका नेपालीहरुकेा नाम बुधबार सार्वजनिक भएको छ। खोजी पत्रकारहरुको अन्तराष्ट्रिय संस्था इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टले सार्वजनिक गरेको विवरणमा १३ नेपाली परेको पाइएको छ भने उनीहरुको ठेगाना र लगानी गर्न खोलिएको कम्पनीको नामसमेत उल्लेख गरिएको छ।”

यो गलत हो। बुधबार आइसिआइजेले कुनै पनि नेपालीको नाम सार्वजनिक गरेकै छैन। जुन कम्पनी र नाम समाचारमा उल्लेख छ, त्यो त ‘अफसोर लिक्स’ नाममा तीन वर्षअघि अर्थात् सन् २०१३ मा नै सार्वजनिक भइसकेका नाम हुन्।

आइसिआइजेले यसअघि तीन वटा लिक सार्वजनिक गरेको थियो :

अफसोर लिक्स,
स्विस लिक्स र
लक्जमवर्ग लिक्स

सन् २०१३ को अफसोर लिक्समा १३ जना नेपालीको लिङ्क भेटिएको भनेर त मैले पनामा पेपर्स लिक भएकै दिन अप्रिल ४ मा लिङ्कसहित ब्लग लेखिसकेको थिएँ। (पढ्नुस् क्लिक गरी) त्यहीँ थियो त सबै सूची। अनि कसरी बुधबार सार्वजनिक भयो? समाचार लेख्नेले चाहिँ बुधबार बल्ल हेरेको होला। लेख्नेले बुधबार हेर्दैमा तीन वर्षअघिको सूची बुधबार सार्वजनिक भएको हुँदैन भनेर कसले पो बुझाउने होला!

आइसिआइजेको साइट हेर्नुस् जहाँ अफसोर लिक्स सार्वजनिक भएको मिति जुन १४, २०१३ स्पष्ट उल्लेख छ-
jun14

के हो अफसोर लिक्स?
तीन वर्षअघि सार्वजनिक भएको अफसोर लिक्स झण्डै झण्डै पनामा लिक्स जस्तै विषय नै हो। २५ लाख लिक भएका फाइलहरुमध्येबाट आइसिआइजेले अनुसन्धान गरी खोज्न मिल्ने गरी डेटाबेस सार्वजनिक गरिएको हो। यसमा ब्रिटिस भर्जिन आइल्यान्ड्स, केमन आइल्यान्डस, कुक आइल्यान्डस र सिंगापुर जस्ता अफसोर स्थानहरुमा खोलिएका एक लाखभन्दा बढी कम्पनी, ट्रस्ट र फन्डहरुको विवरण खोज्न सकिन्छ। यसमा सन् २०१० सम्मको मात्र तथ्याङ्क छ।

थप विवरण यहाँ छ
नेपालको कनेक्सन जोडिएको यहाँबाट हेर्न सकिन्छ

के हो पनामा पेपर्स लिक्स?
पनामा पेपर्स लिक्स चाहिँ यो हप्ता सार्वजनिक गरिएको लिक हो। पनामामा मुख्य कार्यालय भएको अफसोरमा बैँक अकाउन्ट र कागजी कम्पनीहरु खोल्ने सेवा प्रदान गर्ने मोस्साक फोन्सेकाबाट लिक भएका दस्तावेज यसमा छ। विश्वभरका प्रमुख मिडियाहरु पार्टनर भई गरिएको अनुसन्धानमा संलग्न आइरिस टाइम्सले सार्वजनिक गरेको म्यापमा नेपालका सात जना सेयरहोल्डर रहेको उल्लेख हुनुबाहेक कुनै पनि नेपालसम्बन्धी दस्तावेज यो समाचार तयार पार्दासम्म सार्वजनिक भएका छैनन्।

अफसोर लिक्स र पनामा पेपर्स लिक्सको एउटै हुन्?
हैनन्। अफसोर लिक्स २०१३ को हो भने पनामा पेपर्स अहिलेको। पनामा पेपर्समा मोस्साक फोन्सेकाका कागजात मात्र छन् भने अफसोर लिक्सको स्रोत खुलाइएको छैन। विषय भने एउटै हो। कर सम्बन्धी प्रावधान खुकुलो र कर छुट भएका देश, क्षेत्रहरुमा खुलेका कम्पनीहरुको विवरण छ दुवैमा। एउटा लिक्सको नाममा तीन वर्षअघि सार्वजनिक सूची राख्नु पाठकलाई झुक्याउनु नै हो। तीन वर्षअघि यी नेपालीको नाम अफसोर कम्पनी खोल्ने सूचीमा थियो भनेर लेखेको भए बेग्लै कुरा।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme