विश्वभरका प्रमुख मिडियामा यतिखेर पनामा पेपर्स लिकको चर्चा छ। खासमा यो के हो त? तपाईँले बुझ्नुभो? नबुझ्नुभएको भए तपाईँलाई सजिलोसित बुझाउनका लागि केही लेख्दैछु।
ब्रिटिस भर्जिन आइल्यान्डस, स्विटजरल्यान्ड, साइप्रस, सिंगापुर जस्ता देश वा क्षेत्रलाई Tax Haven भनिन्छ। यो भनेको कर सम्बन्धी प्रावधान खुकुलो भएका ठाउँ हो। केही विषयमा कर निकै कम लाग्ने वा करै नलाग्ने अथवा आर्थिक गोप्यता यस्तो ठाउँमा अपनाइन्छ। धनी मान्छेहरुले कानुनी रुपमा कम कर तिर्न यस्ता देशको अफसोर अकाउन्टमा धन जम्मा गर्छन्। तर कर छल्न, भ्रष्टाचारबाट कमाएको वा अपराधबाट कमाएको धन लुकाउन यस्तो ठाउँमा लगानी गर्ने सम्भावना धेरै हुन्छ।
त्यसैगरी अर्को एउटा शब्द छ शेल कम्पनी। यसलाई नेपालीमा कागजी कम्पनी भनेर बुझ्दा हुन्छ। कागजमा यो साँच्चैको कम्पनी जस्तै हुन्छ। तर खासमा यसको कुनै काम हुन्न। न यस्तो कम्पनीले केही उत्पादन गर्छ न यसको कुनै कार्यालय हुन्छ, न कर्मचारी।
नेपालको एनसेल कम्पनीको ८० प्रतिशत स्वामित्व पनि यस्तै शेल कम्पनी रेनल्ड होल्डिङससित छ। अहिले यो कम्पनीको सेयरको स्वामित्व टेलियासोनेरासँग छ। टेलियासोनेराले त्यही शेल कम्पनीको सेयर मलेसियाको एक्जियटालाई बेच्न लागेको हो।
अहिले एनसेलको स्थानीय साझेदारको २० प्रतिशत सेयर किन्न लागेको सतिशलाल आचार्यकी श्रीमती भावना सिंह श्रेष्ठको सुनिभेरा क्यापिटल भेन्चर पनि सिगापुरमा दर्ता भएको त्यस्तै एक डलरवाला शेल कम्पनी हो।
(थप यहाँ क्लिक गरी पढ्नुस्)
यस्ता ठाउँमा कम्पनी खोल्न सहयोग गर्ने ल फर्महरु हुने गर्छ। त्यस्तै एउटा ल फर्मको नाम हो ‘मोस्साक फोन्सेका’। यसको मुख्य कार्यालय पनामामा छ।
मोस्साक फोन्सेकाले यस्ता कम्पनीहरु फ्याक्ट्रीबाट सामान उत्पादन गरे जस्तै बनाउने गर्छ। पनामामा दर्ता भए पनि यसले विश्वव्यापी काम गर्छ। ४२ देशमा ६०० जना यसका लागि काम गर्छन्।
हो, यही मोस्साक फोन्सेका कम्पनीको सर्भरबाट कसैले डकुमेन्टहरु खुसुक्क निकालेर जर्मन पत्रिका Süddeutsche Zeitung लाई दियो। एकपछि अर्को गर्दै डकुमेन्टहरु थपिँदै जाँदा १ करोड १५ लाख वटा र साइज २,६ टिबीसम्म पुग्यो। यो पत्रकारिताले ह्यान्डल गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणको डेटा हो।
यति ठूलो डेटाको महासागरबाट चाहिएको कुरा निकाल्नु सजिलो काम होइन। त्यसैले उसले सम्पर्क गर्यो अनुसन्धानमूलक पत्रकारिता गर्ने संस्था आइसिआइजेलाई। आइसिआइजेले यसअघि नै अफसोर लिक्स, स्विस लिक्स, लक्जमवर्ग लिक्स आदि गरिसकेको छ। सन् २०१३ को अफसोर लिक्समा १३ जना नेपालीको लिङ्क भेटिएको थियो। हेर्नुस् यहाँ क्लिक गरी।
आइसिआइजेले एक वर्षसम्म ८० देशका १०० मिडियाका करिब ४ सय पत्रकारहरुसँग मिलेर डकुमेन्टहरुबारे रिसर्च गरेपछि आजदेखि एकैसाथ समाचारहरु सार्वजनिक गर्न थालेको हो।
यसमा इमेलहरु, कन्ट्र्याक्टस, बैँक रेकर्ड, पासपोर्ट लगायत अरु संवेदनशील फाइलहरु छन्। सन् १९७७ देखि डिसेम्बर २०१५ सम्मका त्यस्ता डकुमेन्ट यसमा छन्। २ लाखभन्दा कम्पनीका डकुमेन्टहरु यसमा छन्।
अहिलेसम्म १४९ वटा डकुमेन्ट मात्रै सार्वजनिक गरिएको छ जसलाई यहाँ क्लिक गरी हेर्न सकिन्छ। सबै डकुमेन्ट सार्वजनिक होलान् कि नहोलान् अहिले नै प्रष्ट भइसकेको छैन। सार्वजनिक नभएका डकुमेन्टलाई पार्टनर मिडियाहरुले अध्ययन गरी समाचार बनाएका छन्।
के छविलाल फँसलान त?
धैर्य गर्नुस , बिस्तारै पाप धुरी बाट कराउने मात्र हैन आँगन मै आएर नाच्न थाल्ने छ |
गद्दाफी, पुटिन, असादको नाम आउनु तर एकजना पनि अमेरिकी व्यापारी,नेताको नाम नआउनु संयोग मात्र हो त? अमेरिकी नेता र व्यापारीहरू पनि दुधबाट धुलेका त पक्कै होइनन्।पानामासँग अमेरिकाको राजनैतिक,आर्थिक सम्बन्धको लामो सिससिला छ।अमेरिकी नाम चलेका नेता, व्यापारी मध्य कसैले पनि मोसाक फोन्सेकासँग कुनै किसिमको सम्बन्ध राखेनन् होला त?