Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथा : वाइफाइ चियर्स

Posted on April 2, 2016April 3, 2016 by mysansar

-अमृत सुबेदी “राउटे”-

saturday-fiction आज शिवरात्री, तर यहाँ कुनै रौनक नै छैन। मध्य दिन नै भए पनि घाम अत्यन्तै मिठो छ, घरबेटी बा घुँडासम्म आउने गमबुट, ‘धुर्मुसे हाफ प्यान्ट’ र ‘बाबुराम भट्टराई’ टोपी लगाएर सिधा अगाडिको करेसाबारीमा आलु गोड्दै छन्। फ्ल्याटमा बस्ने अरु नेपाली साथीहरुको पनि खासै चहलपहल छैन। शायद हिजो बेलुका “शिवरात्री इभ” राम्ररी नै मनाए छने क्यारे, बिस्तरामा नै छन्। ब्याकअप नभएको ल्यापटपको चार्जरलाई झ्यालबाट छिराएर बाहिर घाम ताप्दै कफी पिउँदै गुगल क्रोममा फेसबुक, टुइटर र क्रिकेटको स्कोर देखाउने साइट हेर्ने अनि भिडियो च्याट गर्नु बानी जस्तै परेको छ।
“सुन्दर कलिङ” भनेर स्काइप बोल्यो। उठाएँ।

“बाजे के छ ?” मलाई कलेजका प्राय साथीहरुले “बाजे” भन्ने गर्छन्।

ठीकै छ यार अनि तेरो भन, शिवरात्री कसरी मनाइस्?

“कसरी मनाउनु यार, पहिले जस्तो सबैजना साथीहरु हुँदा पो रमाइलो हुन्थ्यो। अहिले त पुराना साथीहरु पनि कोही पनि छैनन्, घरबाट बाहिर पनि निस्किन खासै। नेपालमा बसेका साथीहरु त शिवरात्रीको दिन घरबाट निस्केनछन्। सुन्दरको यो उत्तरले मलाइ केही सहानुभूति दियो। अनि तैले कसरी मनाइस् त? मेरो पनि त्यही हो, आज काम छैन। शायद साँझतिर बाहिर निस्किन्छु होला।

“ए ए , अनि कमाइ कस्तो छ त तेरो?” सिग्नेचरको हरियो बोटलबाट हाइबल ग्लास भर्दै सुन्दरले सोध्यो।

“के हुनु यार, खान बस्न ठिक्क छ।”

“खान बस्न त नेपालमा पनि त ठिक्क थ्यो त के खान गाको त विदेश ? “, ह्विस्कीमा आइस क्युब राख्दै सुन्दर फेरि बोल्यो।

“सबिन गुरागाँइ वान्ट्स टु जोइन विथ यु”! त्यतिकैमा ग्रुप भिडियो कलको लागि जापानबाट हाम्रो कलेजकै साथी सबिनले अनुमाति माग्यो। कालो ब्लेजरकोटमा राता राता आँखा देखाउदै सबिन करायो- ” बाजे ! जय शम्भु”

“साला आज पनि झ्याप छस् है ?” मैले रिप्लाइ गर्नु भन्दा पहिले नै सुन्दर बोल्यो।

“के गर्नु यार तँ पो नेपालमा छस् दिनभरी पशुपति गएर रमाइलो गरे होलास्, म चै बिहान आठ बजे काममा छिरेको अहिले नौ बजे मात्र निस्केको। चाडबाडको दिन पनि यस्तो जोतिनुपर्छ त्यही झ्वाकमा मज्जाले पिइदिएँ।”

जे होस केटाहरुको जम्ने भो आज, दुबै जना झ्याप छन्। लौ मनाउदै गर शिबरात्री । म चै एकछिन सुत्छु।

“हुदैन हुदैन रात भरी कुरा गर्ने हो आज ” दुबै जना एकै पटक बोले । मलाइ त केही समस्या थिएन, दिन को बार्ह बज्यो बल्ल तिमीहरुलाइ पो भोली काममा जानु पर्ला । भोली त नाइट सिफ्ट हो, सबिन बोल्यो । नेपालमा त भर्खर आठ बज्दै छ, सुर्य चुरोटलाइ चुम्बन गर्दै सुन्दरले स्पस्टिकरण दियो ।

“थापा ले तानेको चुरोट जोड्दै जाने हो भने चक्रपथ चै घुम्थ्यो होला है,” आबाज लडबडाउदै सबिनले जिस्कायो । “सबिन तिमीलाइ चै कसले भनीदियोस नि, तिम्रा दाँत देखाउ त । “हरपिक” नहालेको टोइलेट जस्तो दाँत थियो पहिले त , खै कस्तो भो ?” सबिन प्राय पराग खान्थ्यो नेपाल हुँदा खेरी ।

परागको कारणले दाँत चै (टोइलेट नै त नभनौ रिसाउला ) पहेँलो चाइ असाध्यै थ्यो । “तराइको मान्छे कलको पानीले हो” भन्ने रेडिमेड उत्तर भने थियो उसँग । हामीले कुरा गर्न लागेको आधीघन्टा भन्दा बढी भयो , पुराना साथीहरु, हाम्रा पुराना भट्टी देखी एक्स ग्रलफ्रेन्डहरुसम्मको कुरा भो । साथीहरुसँग यसरी कुरा गर्दा साँच्चिकै बर्सौ पछी भेटीएर एउटै टेबलमा बसेर पिएजस्तो आनन्द आइरहेको थियो । साथीहरु फोन नकाट है म पाँच मिनेटमा आइहाल्छु भन्दै म किचेनमा छिरे । पानी उमाल्ने इलेक्ट्रिक जगमा एक जग पानी उमाँले र एउटा स्निफ्टर ग्लासमा अलिकती तातो पानी राखेर कोठामा गँए । हिजो भर्खर लिडिलबाट (पोर्तुगलको एक सपिङ सेन्टर) सेलमा राखेको सस्तो स्कटिस ह्विस्की टेबलमा पर्खिरहेको थियो ।

“गाइज बाजे इज ब्याक ” है लौ बम बम भोले भन्दै ग्लास ठोकाउन अनुरोध गरेँ । एक पटक फेरी मज्जा आयो मेरो ल्यापटपबाट “वाइफाइ चेयर्स” गरियो । “साथी हो यो शिबरात्रीको दिनमा खासमा खानु पर्ने चै गाँजा हो, रक्सी खाँदै भगबानको नाम लिनु चै नहुने” बढो दार्शनिक बनी टोपल्यो सबिन । “साला गाँजा खान मन लाग्यो, तर यँहा पाइदैन, छटपटी भो भन न ।” मैले भने । हो यार , जापान आको दुइ बर्स हुन लाग्यो, गन्ध पनि सुँघेको छैन । साच्चै युरोप तिर त “विड फ्रि जोन” नै हुन्छ रे नी कतिको जान्छौ बाजे तिमी ? “शिबरात्री बाहेक अझसम्म कहिलै गाँजा नछोएको मान्छेलाइ यस्तो आरोप ?” म कड्किए ।

“के थाहा युरोपको हावाले छोयो होला नी” सुन्दर ले बढीबढाउ गर्यो ।

जति ग्लासमा थपिन्छ त्यती नै मज्जा थपिएको महसुश भइरहेको थियो मलाइ पनि । केटा हो, आइ विल सो यु सम थिङ डिफ्रेन्ट , मैले जोस निकालेँ, टक्क पकेट बाट सुर्तीको प्याकेट, र्यापिङ पेपर र फिल्टर निकाले र चुरोट भरेँ । केटाहरु ट्वा । साले बाजे सँग “बुटी” पो रै छ । हेर त भरेको । मैले भने “हेर केटा हो युरोपमा प्याकेटको चुरोट भन्दा यो भरेर खाने पेपर चुरोट बढी चल्छ । एक प्याकेट माल्बोरोलाइ पाँच युरो पर्छ, तिन युरो मा यो चुरोट दुइ प्याकेट आउछ अनि टेस्ट पनि बबाल”। पेपर मा थुक लगाउदै चुरोटको आकार दिदै मैले लेक्चर दिएँ । तर मैले जति भन्दा पनि केटाहरु यो चुरोट हो भन्ने कुरामा पटक्कै बिश्वस्त हुन सकेनन । मैले पनि थप स्पस्टिकरण दिइरहिन , किनकी आज शिबरात्री नै थियो ।

पहिले पहिले राती दोहोरी रेस्टुरेन्ट गएर फर्कदा पुलिसले कुटेको देखी, होलीमा बाइक एक्सिडेन्ट भाको कुरा, अनि कलेज बङ्क गरेर बागमतीको किनारमा “कलब्रेक” खेलेको सम्मको कुरा गरियो । कति बेला उटपट्याङ कुरा गरियो भने कतीबेला सिरियस । मास्ट्रर्स पढ्दा पढ्दै पढाइ छाडेर बिदेशीएका म र सबिनको तुलनामा एमबिए कम्प्लिट गरेर क्यानडाको परमानेन्ट रेजिडेन्ट परमिट वेटीङ गरि रहेको सुन्दर साच्चीकै अगाडी थियो । हुँदा खाँदाको कतारमा भएको जागीर छोडेर रातो पासपोर्टको लोभले श्रीमती च्यापेर युरोप भासीएको म भन्दा महिनाको तिन लाख नेपाली कमाउने सबिन अगाडी थियो । खैर जे होस, जो जति माथी भएपनि हाम्रो मित्रता चाइ सबैभन्दा माथी थियो ।

सुन्दर भन्दै थ्यो, गाइज मेरो क्यानडाको डकुमेन्ट्स रेडी भएपछि , मलाइ तिमीहरुले १ लाख १ लाख हाल्दिनु पर्छ है ।

“कति टाइम लाग्छ अब तेरो काम हुन”?

“खै यार, डकुमेन्ट लयरसँग छ, यो तिन महिना भित्र चै हुन्छ कि”

“ल ल यार, तँ जस्तो एकेडेमिक मान्छे ले देश चै छाडी हाल्नु चै नहुने थ्यो,” फेरी म दार्शनिक बनेँ ।

“साला बरु पैसा दिन्न भन न !”

म चुप !

हामीहरुसँगै नभेटेको लगभग पाँच बर्स भएछ । अब शायद अर्को पाँच बर्स लाग्छ होला भेट हुदा । एक जना नेपाल आउदा अर्को आउदैन , शायद अर्को आँउदा, अर्को आउदैन । इटस कल लाइफ, सबिन बरबरायो । भोली नाइट सिफ्ट भएर होला उसलाइ कत्ती नै हतार थिएन । शायद रात को तिन बजेको थ्यो उसको नाडीको सिको फाइबमा ।

“ओइ बाजे युरोपमा त पुरा फ्री छ रे कत्तीको गइन्छ अड्डा ? “दिमाख भरिने गरी सोध्यो उसले फेरी ।

“हैट तिमी जस्तो नागा हो र बाजे? बिबाह गरेपछी त पुरै ट्रयाकमा आको छ बाजे ।” सुन्दरले मेरो वकालत गर्यो ।

“ हुन त भाउजुसँग “तुरुक्क” हुन्छ होला नि । फेरी पेल्यो टोकियो देखी ।

“हेर केटा हो तिमीहरु पो अनम्यारिड हो, जे गरे पनि भो, जोसँग गएनि भो, जे खाएनी भो, ना आगे कोइ ना पिछे । आइम मोर म्याचुअर्ड देन यु अल एन्ड आइयम प्रउड विथ माइ म्यचुरिटी । ” हल्का मैले पनि पेलेँ ।

“बाफ्रे बाजे चै बिहे गरेर सुध्रिएकै हो यार।’’ दुबै जना बोले ।

“बिग्रनु सुध्रनु चै थाहा भएन खुसी चै छु है” । मैले पनि अझै थपेँ ।

तिनै जनाको बोतल रित्तिदै थियो,तर कुरा रित्तिएको थिएन, एस्ट्रे भरिदै थियो तर मन भरिएको थिएन । मैले प्रश्न गरेँ, अनी केटाहरुले बिहे चै कहिले गर्ने हो ? “तिमीले चै कहिले बच्चा पाउछौ नी ? टोकियो बाट प्रतिप्रश्न आयो ।

“खै यार बुढी स्पेन छ, तिन चार महिनमा बल्ल बल्ल हप्ता दिनलाइ भेट हुन्छ ।” मातेको सुरमा मैले मेरो पिडा पोखीदिए । “भिडियो कलबाट बच्चा हुने भए त बाजेका आधा दर्जन भइसक्थे ।” सुन्दरले हँसायो ।

सबिनको आइफोन सिक्समा कसैको फोन आयो । जापनिज भासामा खै के बोल्यो, बोल्दा बोल्दै उ रिसाएको उसको अनुहारको भाबले प्रस्टै देखाउथ्यो । हामी सुनसान पुराण सुन्दै थ्यौ । रिसाउदै फोन काट्दै नेपालीमा नराम्रोसँग गाली गर्यो । के चै भो भन न यार ? को सँग रिसाएको ? हामी सोध्धै थियौ । जापनिज चुरोट ओठले च्याप्दै भन्यो हेर न यार भोली नाइट सिफ्ट भनेर अहिले यती बेलासम्म “रिल्याक्स” गरेको, अहिले त साहुले फोन गरेर मर्निङमा आइजा , सरी फर डिस्ट्र्ब पो भन्छ । अब एक घन्टा सुतेर कसरी काम गर्नु । यस्तो गधाको जिन्दगी देखेर त कहिले काँही त भोली नै नेपाल फर्कीउ जस्तो लाग्छ । तर नेपाल फर्केर पनि के गर्नु , नेपाल पुगेको महिना दिन न पुग्दै फेरी पासपोर्ट बोकेर कन्सलटेन्सी र मेनपावर धाउनु पर्छ । ल यार म चै एकछिन सुत्छु, भोली काममा नगए जागिर नै जान्छ । यती भन्दै ल्यापटप घोप्ट्यायो । हामी पनि एक छीन खिन्न भयौँ ।

“सुन्दर, देखीस नी बिदेसको जिन्दगी । ठाँउ फरक होला, पैसा फरक होला, सस्कृती फरक होला तर दुख फरक हुदैन । पिडा फरक हुदैन” । हामी अर्को एक घन्टा जती कुरा गर्यौ । शिबरात्री मनाउने निमन्त्रणा छ साथीहरुको, ल म जान्छु यार । सि यु भन्दै ल्यापटप बन्द गरेँ । शायद यतीबेला त सबिन पनि जापानिज बोल्दै थियो होला काम गर्ने रेस्टुरेन्टमा ।

हाल : पोर्चुगल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme