Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथा : कम्पना

Posted on March 26, 2016March 26, 2016 by mysansar

– डा. लेखनाथ काफ्ले/शिन्चु,ताइवान –

saturday-fiction केही क्षण अगाडि मात्रै उसकै साामु नतमस्तक भै “हजुरलाई के टक्रयाउँ साब?” भन्ने सेतो लुगा लगाएको अधबैंसे उसैलाई धक्का दिँदै ढोकाबाट बाहिर हुत्तियो। ऊ पनि अरूहरू जस्तै हतार हतार त्यो सानो “कटेज” रेस्टुरेन्टबाट बाहिर निस्केर ठिंग उभियो र हेर्न थाल्यो वरपर।

अघि भर्खरै आफूभन्दा अगाडिको टेबुलमा हात समातेर जुगजुग “सँगै बाँच्छु र मर्छु” भनेर जीउ-ज्यान जोडेर बसेको जोडीको एउटा प्राणी पूर्व र अर्को पश्चिम कुदिरहेका छन्, फर्केर अर्को कता जाँदैछ भन्ने पनि हेक्का नभएजस्तो गरी।

केही निमेष अगाडि मात्रै उसकै छेउमा बियरको गिलासको पछाडि गजधम्म बसी “मेरो सामान एक घण्टा भित्र ठाँउमा नपुगे राम्रो हुँदैन” भनेर मोबाइलमार्फत् अर्कोतिर चर्को आवाज फालिरहेको रिसाएको राँगोभावको मानुष हड्बडीमा त्यै मोबाइल एकातिर फालेर आफ्नो ज्यानलाई अर्को दिशातिर कुदाइरहेको छ।

एउटी महिला भुँइमा थचक्क बसेर “रामराम” भनिरहेकी छ, उसको गलाबाट धातुले बनेको येशुको क्रस सिक्रीमा तुर्लुंग झुण्डिएर उसको नाकैमा टाँसिएला जस्तोगरी पुरानो भित्ते घडीको पेन्डुलमसरि यताउता हल्लिरहेको छ।

यसो पछाडि फर्केर “कटेज”लाई हेर्दा साहु भित्रै नगद सोहर्दै छ, त्यहाँ ऊ बाहेक अरू कोही थिएन। एकछिन अगाडि तीनजना कामदार केटाहरूले तलब माग्दा “पैसा माग्ने सालेहरू अहिले कामबाट नै निकालेर कटेजबाट बाहिर मिल्क्याइदिन्छु” भन्दै थियो, अहिले साँच्ची नै ती केटाहरू कटेज बाहिर र साहु भित्रै छ।

अगाडिपट्टी चैँ सामुन्नेका मच्चिन सक्ने घरहरू हल्लेर पिङ खेलिरहेका छन्, मच्चिन नसक्नेहरू थचारिदिइसकेका छन्, छानो एकातिर, झ्याल अर्कोतिर, गारोले इँटाको थुप्रो बनेर धुलो उडाइरहेको छ। मान्छेहरू कोलाहल र भागदौड बीचमा अतास्सिएर बिना सोचविचार जता पायो त्यतै कुदिरहेका छन्, कोही पूर्वबाट पश्चिम, कोही पश्चिमबाट पूर्व अन्धधावनमुद्रामा हातखुट्टा धुलाम्मे हावामा बत्ताइरहेका छन्, को-कता पुगेर रोकिने हुन्, कता पुगेर ठोकिने हुन् उनैलाई पनि होस् छैन।

त्यो कटेज उसको नयाँ मान्छे भेट्ने, नयाँ कथा, पात्र र परिस्थिति भेटाउने सुत्रधार थलो हो। त्यहीँ बसेर उसले दर्जनौ कविता, केही थान कथा, केही थान लेख, २ वटा रोमान्टिक, एउटा वियोगान्त उपन्यास र एउटा हास्यव्यंग्य संग्रहको सूत्र अभ्यारम्भ गरेको थियो।

बाटो नजिकैको कटेज, शहरको हल्लाभन्दा अलि बाहिर तर शहरकै छेउमा थियो। मन बहलाउने कर्मचारी, ब्यापारी, उद्यमि, राजनीतिकर्मी, मायाजालमा मखलेल जोडी, सँधै एकै बान्कीका खाद्यले वाक्क भएर नयाँ स्वादका आमिष भोजन खोज्दै हिड्ने तिखो जिब्रो भएका परिकार पारखी, एकछिनको रमाइलो चाख्ने पटके र उ जस्तै सदाबहार ग्राहकहरू नै त्यो कटेजको छानोमुनि आ-आफ्नो रंगढंगसाथ ब्यस्त हुने ठेगान हो। उसको लागि त्यो थात विचार र कथावस्तुको महाविक्रयकारी होलसेल भण्डार हो जहाँ थरिथरिका मूल्य, गुणस्तर र आकार-प्रकारमा मोलमोलाइ र छुटका साथ मालताल छानीछानी पाइन्छन्।

एकैछिन अगाडि उसले केही नयाँ खोज्दै आफ्ना पाँचै इन्द्रीयहरूलाई सक्रिय बनाएको थियो किनकि कथा र विषयवस्तु दृश्य, आवाज, गन्ध, स्वाद वा स्पर्श जसैबाट पनि आउने सम्भावना त्यहाँ सँधै रहन्छ।

अचानक फेरि कुकुरहरू कुदे, चराहरू उडे, रुखहरू थरर कामे, अघि मच्चिएका घर अहिले गर्ल्याम्मगुर्लुम्म भै भूइँतलमा विश्राम गर्न पुगे, छिमेकी ५ तले महलले कटेजको मुख्य गुँडलाई धक्का दियो। साहुको आवाज अचानक डरलाग्दो किसिमले आयो।

कटेजबाहिर किंकर्तव्यविमुढ भावमा क्षितिजको पर्दामा प्रकृतिको नाटक हेरिरहेका उनै तीनजनाले ज्यानको पर्वाह नगरी साहुलाई पनि आँगन मै ल्याए। अहिले साहु पनि तिनै केटाहरू कै भाँति कटेजको बाहिर हरितन्नम भएर लडेको छ, केटाहरूको अनुहार भने सन्तोषभावले भरिपूर छ।

कटेजको छिमेकी महल अझै बेसरी तर बेतालमा नाच्न लाग्यो र अन्तिम तालका साथ कटेजको काखका ढुन्मुन्नियो। त्यसो हुँदा महलको झ्यालको एउटा फल्याक उछिट्टिएर उसको टाउकै बजारियो। त्यसपछि उसलाई के भयो उसैलाई थाहा भएन। एकछिन पछि होश आउँदा वरीपरी केही बाँकी थिएन, न कटेज, न घरहरू, न त सिंगो बाटो तर उसको पाकेटको पर्स जहाँको त्यहीँ थियो, उसको मोबाइल उसकै झोलामा थियो। हिजोसम्म मिल्लिक्कै गर्दा हराउने वस्तु आज जस्ताको त्यस्तै स्थितिमा थिए। उसले झल्याँस उसकै घर, बुढी र बुहारीलाई सम्झ्यो र फटाफट त्यहाँबाट हिड्यो। बाटोमा जे देख्यो, जे सुन्यो, जे सुघ्यो, जे स्पर्स गर्‍यो त्यसले उसैले आफ्नै एक उपन्यासमा गरेको देव-दैत्य संग्रामको बयान भन्दा ज्यादा बिनास, चित्कार र अत्यासको अन्तरात्मन गर्‍यो।

बल्लतल्ल घर आयो।घर त धुलिसात भै सकिएछ।घरसंगै बुढी र बुहारीको ज्यानको सास पनि त्यहि धुले हावामा उडेछ।छोरो अरबमा गएको थियो, बच्यो।छिमेकीहरूको पनि आफ्नो जस्तै गति भएछ।कसले कसलाई ढाडस दिने, कसले कसलाई मनोबल दिने, सबै हारेका सिपाही जस्ता गलेका, थाकेका र आत्तिएका थिए।सबैलाई आफ्नो बाहेक अर्को सोचना नै थिएन।

उसले आज थाहा पायो, जीन्दगीको सबैभन्दा सत्य कथा त प्रकृतिले उसको लागि लेखिदिएको रहेछ।उसले लेखेका कथा त के कथा, उसका उपन्यास त के उपन्यास, सबै फिका रहेछन।उसकै बुढी र बुहारीको प्राणबिहिन देह आफ्नै घरले थिचिएका छन, आफ्नै अगाडी तर उ आफू अगाडिको काठ, इँटा र सिमेन्टको थुप्रो पार गरेर उनीहरू पुरिएको ठाँउमा समेत पुग्न सक्दैन।एउटा भयङ्कर कृति लेखेर ठुलो पुरस्कार हात पारौला भनेको उ त प्रकृतिले कथेको पटकथाको फगत एउटा सानो भूमिकाको भुसुने पात्र पो रहेछ ।आज जीवनको भयङ्कर सत्य उद्घाटन भयो, जीवनभरको भ्रम भंग भयो।

तैपनि उ केहि अगाडी जान खोज्यो।भग्नावशेषको थुप्रोमा गयो।अलिकति माथि के पुगेको थियो, उसले टेकेको सतहको सन्तुलन बिग्रियो र बजारियो।उसलाई भाउन्न भएर आयो, त्यहि लडेको उ उठ्न सकेन।त्यसपछि के भयो थाहा भएन।

उसलाई अस्पतालको एउटा छेउमा सुताइएको छ, टाउकामा चोट लागेछ, देब्रे हात भाँचिएछ।खुट्टा, ज्यान संग्लो नै छन।

केहि दिनपछी उ तन्ग्रियो।अनि फेरी उही उसको प्रिय ठेगानमा पुग्यो।यसपटक उ त्यहाँ कुनै चरित्र, कथा वा सुत्र खोज्न होइन, धरतीको कम्पनले मचाएको विध्वंसले बिरक्तिएको मन बुझाउने ठाउँ चाहार्दा चहार्दै उसका खुट्टा आफै त्यतै तानिएका हुन्।

त्यहाँ महाविनासको अवशेषका डङ्गुर बाहेक अरू केहि बाँकि थिएन।उसका अगाडी अतित आयो।त्यो अतितमा कटेजका बर्षहरू आए, घर आयो, परिवार आयो, छिमेकी, नाताकुटुम्ब आए, मन परेका आए, मन नपरेका आए, राम्रा दिन आए, नराम्रा दिन पनि आए। उसका बिगतका सबैकुरा एकएक गर्दै आए। पछि गर्छु भनेका काम आए, गर्छु भनेर कहिल्लै नगरेका काम पनि आए, कहिल्लै गर्दिन भनेर गरेका काम पनि आए, ति सबै आए जो त्यसबखत सम्भव थियो।एउटा पूर्ण जीवन बाँच्न गरेको संघर्ष र असफलताका क्रमबद्ध शृंखला आए।सरल र सजिलो जीवन नबांचेकोमा पछुतो लाग्यो।उसलाई चिटचिट पसिना आयो, थचक्क त्यहि अवशेषको थुप्रोको एउटा कुनामा बसेर गोजीको कागजको एउटा टुक्रामा उसले आफ्नै जीवन कथाको नाऊँ लेख्यो “कम्पना”।

2 thoughts on “कथा : कम्पना”

  1. HarataraH says:
    March 27, 2016 at 6:44 pm

    “..र सजिलो जीवन नबांचेकोमा पछुतो लाग्यो..!” बाहेक अरु त मान्न परेन सर!

    Reply
  2. Vicky Dev says:
    March 26, 2016 at 10:30 pm

    डा. साब,
    खै कत्ति पनि मज्जा आएन क्यारे, कथा पडदा….
    कुरो त राम्रो / सहि हो. तर पनि कथा, कथा जस्तो नभा हो कि ?
    हुन त पड्ने लाई के थाहा लेख्ने को पिंडा/मर्म है… जे होस्, मज्जा चाही आएन.. sorry!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme