आज मार्च १० विश्व मृगौला दिवस। आजैका दिन नेपाली भाषामा मृगौला रोगसम्बन्धी सम्पूर्ण जानकारी दिने पुस्तकसहितको वेबसाइट लञ्च गरिएको छ। विश्वका २४ भाषामा रहेको यो पुस्तकको नेपाली अनुवाद वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका प्रोफेसर डा सन्जीवकुमार शर्माले गरेका हुन्। उनले उपलब्ध गराएको यो पुस्तकको एक अध्याय :
सुतेको बेला ओछ्यानमा पिसाब गर्ने समस्या बालबालिकामा आम रूपमा हुन्छ । अधिकांशतः बालबालिकामा हुर्केपछि कुनै उपचारबिना नै यो आफैँ ठीक हुन्छ। तर बालबालिका र तिनका परिवारका लागि यो चिन्ताको विषय हुनेगर्छ । यो बालबालिकाको मृगौला रोग, अल्छीपना वा चकचकेपनाका कारण भएको होइन।
कति प्रतिशत बालबालिकामा ओछ्यानमा पिसाब गर्ने समस्या हुन्छ र सामान्यतया कुन उमेरमा उनीहरूले यसो गर्न छोड्छन् ?
प्राय ६ वर्षको उमेरसम्म ओछ्यानमा पिसाब गर्ने समस्या आम रूपमा हुन्छ । पाँच वर्षको उमेरमा १५ देखि २० प्रतिशत बालबालिकामा ओछ्यानमा पिसाब गर्ने समस्या हुन्छ । उमेर बढ्दै जाँदा, ओछ्यानमा पिसाब गर्ने समस्या हुने बालबालिकाको संख्या अनुपातिक रूपबाट कम हुँदै जान्छ । १० वर्षसम्म ५ प्रतिशत, १५ वर्षसम्म २ प्रतिशत र वयस्कहरूमा १ प्रतिशतमा यो समस्या हुन सक्छ ।
कस्ता बालबालिकाको ओछ्यानमा पिसाब गर्ने समस्या हुने सम्भावना बढी हुन्छ ?
• बालबालिका जसका बाबुआमामा बाल्यकालमा त्यस्तै समस्या थियो ।
• स्नायुको विकास ढिलो भई मुत्रथैली भरिएको थाहा पाउने क्षमता कम भएका बालकमा ।
• गहिरोसँग निदाउने बालबालिकामा ।
• केटीभन्दा केटाहरू यो समस्याले बढी प्रभावित हुन्छन् ।
• मनोवैज्ञानिक वा शारीरिक तनाव बढ्नाले ।
• अत्यन्त कम प्रतिशत बालबालिकामा, मुत्रनली संक्रमण, मधुमेह, मृगौलाले काम गर्न छोड्दा, कब्जियत, सानो मुत्रथैली, स्नायु बिकासमा कमी भएको, केटा मान्छेको मुत्रनलीको भल्भमा खराबी भएको आदि कारणले पनि यो समस्या हुन सक्छ ।
• कलिला बालबालिकामा राति ओछ्यानमा पिसाब गर्ने आम समस्या हो, यो रोग होइन ।
ओछ्यानमा पिसाब गर्ने समस्या भएका बालबालिकाको समस्या निदानका लागि कुन र कस्तो परीक्षण गरिन्छ ?
बालबालिकाहरू जसमा केही रोग वा संरचनात्मक समस्याको आशंका गरिएका कही बालबलिकाहरूलाई मात्रै परीक्षण गरिन्छ । धेरै जस्तो पिसाब परीक्षण, रगतमा चिनीको मात्रा, ढाडको एक्सरे र मृगौला वा मुत्रथैलीको अल्ट्रासाउन्ड वा अन्य परीक्षण गरिन्छ ।
उपचार
ओछ्यानमा पिसाब गर्ने समस्याको उपचार गरिरहनु पर्दैन । समयसँगै ओछ्यानमा पिसाब गर्ने समस्या रोकिन्छ र निको हुन्छ भन्ने कुराको आश्वासन दिनुपर्छ । उनीहरूलाई गाली गर्न वा सजाय दिनुहुँदैन ।
ओछ्यानमा पिसाब गर्ने समस्याको प्रारम्भिक उपचार भनेको शिक्षा, उत्प्रेरणात्मक उपचार तथा तरल पदार्थ पिउने र पिसाब फेर्ने बानी परिवर्तन नै हुन् । यी उपायहरूले पनि ओछ्यानमा पिसाब गर्ने समस्यामा सुधार आएन भने औषधोपचार पनि गर्न सकिन्छ ।
बढ्दो उमेरसँगै सहानुभूति र प्रेरणादायी भूमिकाले ओछ्यानमा पिसाब गर्ने समस्या निको हुन मद्दत पुग्र्छ ।
१. शिक्षा र उत्प्रेरणात्मक उपचार
बालकलाई ओछ्यानमा पिसाब गर्ने समस्याबारे राम्रोसँग शिक्षा दिनुपर्छ ।
ओछ्यानमा पिसाब गर्ने समस्या बालबालिकाको गल्ती होइन, त्यसैले उनीहरूलाई यो समस्याका लागि आरोप लगाउने वा सजाय दिने गर्नुहुँदैन ।
कसैले पनि बालकलाई ओछ्यानमा पिसाब गर्ने समस्याका लागि जिस्क्याउनुहुँदैन । ओछ्यानमा पिसाब गर्ने समस्याले गर्दा बालकले भोग्नुपर्ने तनाव कम गर्नुपर्छ । बालकको परिवार सहयोगी हुनुपर्छ र बालकलाई उसको यो समस्या निको हुने अस्थायी समस्या हो भनेर सम्झाउनुपर्छ ।
राति बाल्ने बत्तीको व्यवस्था गरेर राति सजिलै शौचालय जान सक्ने बनाउने ।
थप पाइजामा (पेन्ट), तन्ना र तौलिया सँगै राख्ने जसले गर्दा ओछ्यानमा पिसाब गरेर बालक राति उठ्यो भने उसलाई लुगा फेर्न सजिलो होस् ।
डस्ना नबिग्रियोस भनेर डस्नामाथि प्लास्टिकले ढाक्ने ।
तन्नामुनि ठूलो तौलिया राख्यो भने त्यसले पिसाब सोस्छ र बालकलाई चिसो लाग्दैन ।
पिसाब नगन्हाओस् भनेर हरेक बिहान नुहाउन प्रेरित गर्ने ।
राति पिसाब गरेन भने बालकको प्रशंसा गरी उपहार समेत दिने । सानो उपहारले पनि बालक प्रोत्साहित हुन्छ ।
कब्जियतको समस्यालाई बेवास्ता नगरी उपचार गरिहाल्नुपर्छ ।
२. तरल पदार्थ कम गर्ने
– बालकले सुत्न जाने समयभन्दा दुई देखि तीन घण्टाअघि पिउने तरल पदार्थको मात्रा सीमित गर्ने तर उसले दिउँसो पर्याप्त पानी पिओस् भन्ने सुनिश्चित गर्ने ।
– चिया, कफी, कार्बनयुक्त पेय पदार्थ (कोला) र चकलेट राति नखाने । ती चिजले पिसाब लगाउँछन् र ओछ्यानमा पिसाब गर्ने समस्या बढाउँछन्।
३. पिसाब निथार्र्ने बानीका लागि सुझाव
– सुत्न जानुअघि दुईपटक पिसाब निथार्न लगाउने । पहिलोपटक सधैँ सुत्न जानुअघि र दोस्रोपटक निदाउनु भन्दा पहिले ।
– दिनभर निश्चित समयावधिमा शौचालय जाने बानी बसाल्ने ।
– पिसाब निथार्न प्रत्येक राति बालक निदाएको तीन घण्टाजति पछि उसलाई उठाउने । आवश्यक परे अलार्मको प्रयोग गर्ने ।
– ओछ्यानमा पिसाब गर्ने समय निर्धारण गरेर उसलाई उठाउने समय मिलाउन सकिन्छ ।
सुत्न जानुअघि तरल पदार्थ नपिउनु र पिसाब निथार्ने बानी बसाल्नु ओछ्यान पिसाब गर्ने समस्या रोक्ने सबैभन्दा महत्वपूर्ण उपाय हुन् ।
४. ओछ्यानमा पिसाब गर्दाको अलार्म
– ओछ्यानमा पिसाब वा ओसको अलार्म ओछ्यानमा पिसाब गर्ने समस्या नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी विधि हो र ७ वर्षभन्दा माथिका बालबालिकाका लागि यसको प्रयोग गरिन्छ ।
– यस अलार्ममा बालकको कट्टुमा एउटा सेन्सर जडान गरिन्छ । जब बालकले ओछ्यानमा पिसाब गर्न लाग्छ, सो उपकरणले पिसाबको पहिलो थोपा नै थाहा पाउँछ र बज्न थाल्छ । यसरी बालक ब्युँझन्छ र ब्युँझेको बालकले शौचालय नपुगेसम्म आफ्नो पिसाब रोकि राख्न सक्छ ।
– सो अलार्मले ओछ्यानमा पिसाब गर्ने समस्या सुरु हुनु ठीक अघि आफैँ ब्युँझन बालकलाई तालिम दिन मद्दत गर्छ ।
५. मूत्रथैली प्रशिक्षण अभ्यास
– ओछ्यानमा पिसाब गर्ने समस्या भएका धेरै बालबालिकाहरूको मुत्रथैली सानो हुन्छ । मुत्रथैली प्रशिक्षणको लक्ष्य मुत्रथैलीको क्षमता बढाउनु हो ।
– दिनको समयमा बालबालिकालाई धेरै मात्रामा पानी पिउन लगाइन्छ र पिसाब लागे पनि पिसाब रोकिराख्न लगाइन्छ ।
– यस्ता अभ्यासले बालकले लामो अवधिसम्म पिसाब रोकि राख्न सक्छ । यसले मुत्रथैलीको मांसपेशीलाई बलियो बनाउँछ र मुत्रथैलीको क्षमता बढाउँछ।
सात वर्षभन्दा बढी उमेरका बालबालिकाहरूका लागि सामान्यतया ओछ्यानमा पिसाब गर्ने अलार्म र औषधोपचारको उपयोग गरिन्छ ।
६. औषधीको उपचार
ओछ्यानमा पिसाब गर्ने समस्या निको पार्न अन्तिम विकल्पका रूपमा मात्र औषधोपचार गरिन्छ र प्राय सात वर्षभन्दा माथिका बालबालिकामा यो विकल्प प्रयोग गरिन्छ । यो प्रभावकारी त हुन्छ, तर यसले ओछ्यानमा पिसाब गर्ने समस्यालाई निको पार्दैन । यसले पिसाबरोक्ने समय बढाउँछ र अस्थायी रूपमा यसलाई प्रयोग गरिन्छ । प्राय औषधीको प्रयोग बन्द गरेपछि पुनः ओछ्यानमा पिसाब गर्ने समस्या सुरु हुन्छ । औषधोपचारभन्दा पनि अलार्मको प्रयोगबाट स्थायी उपचार सम्भव हुन सक्छ ।
क. डिस्मोप्रेसिन एसिटेट (डी.डी.ए.भी.पी.)ः डिस्मोप्रेसिन ट्याबलेट अरु विधिहरू असफल भएको अवस्थामा सिफारिस गरिन्छ । यस औषधीले राति बन्ने पिसाबको मात्रा कम गर्छ र धेरै पिसाब गर्ने बालबालिकाहरूका लागि यो उपयोगी हुन्छ । बालकले यो औषधी लिइरहेको अवस्थामा रात परेपछि तरल पदार्थ पिउनु हुदैन । यो औषधी प्राय सुत्न जानुअघि दिइन्छ, तर बालकले अन्य कुनै कारणले धेरै तरल पदार्थ पिइसकेको छ भने त्यो राति यो औषधी दिनुहुँदैन। यो औषधी धेरै प्रभावकारी भए पनि र यसको साइड इफेक्ट कम भए पनि यो धेरै महँगो हुन्छ र नेपालमा पाइँदैन पनि ।
ख. इमिप्रामिन ः इमिप्रामिन (ट्राइसाइक्लिक एन्टिडिप्रेसेन्ट)ले मुत्रथैलीको खुम्चिने अवस्थालाई कम गराउछ र पिसाब रोक्न सक्ने मुत्रथैलीको क्षमता वृद्धि गर्छ । यो औषधी प्राय ३—६ महिनासम्म दिइन्छ । यसले चाँडै काम गर्ने हुनाले सुत्नुभन्दा एक घण्टाअघि यो औषधी खाइन्छ । यो औषधी अत्यन्त प्रभावकारी हुने भए पनि यसको साइड इफेक्टका कारण यसलाई धेरै प्रयोग गरिदैन । यसका साइड इफेक्टहरूमा वाकवाकी लाग्नु, बान्ता हुनु, कमजोरी, निद्रा नलाग्नु, धमिलो दृष्टि, सुख्खा मुख र कब्जियत मुख्य हुन् ।
ग. अक्सिबुटाइनिन ः अक्सिबुटाइनिन दिउँसो ओछ्यानमा पिसाब गर्ने समस्याका लागि उपयोगी हुन्छ । यो औषधीले मुत्रथैली खुम्चन कम गर्छ र मुत्रथैलीको क्षमता बढाउँछ । यसका साइड इफेक्टहरूमा सुख्खा मुख, कब्जियत आदि हुन् ।
ओछ्यानमा पिसाब गर्ने समस्याको छोटो अवधिको फाइदाका लागि औषधोपचार उपयोगी त हुन सक्छ तर यसले समस्या निको हुँदैन ।
ओछ्यानमा पिसाब गर्ने समस्या भएका बालबालिकालाई कहिले चिकित्सकलाई देखाउने ?
ओछ्यानमा पिसाब गर्ने समस्या भएका बालबालिकाको परिवारले निम्न अवस्थामा तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नुपर्छ ः
– दिउँसो ओछ्यानमा पिसाब गर्ने समस्या भएमा ।
– सात–आठ वर्षपछि पनि ओछ्यानमा पिसाब गर्ने समस्या रहिरहेमा ।
– कम्तीमा ६ महिना ओछ्यानमा पिसाब गर्न छोडेपछि पुनः सुरु गरेमा ।
– दिसा गर्दा पिसाब नियन्त्रण गुमाएमा ।
– ज्वरो आएमा, दुखेमा, पिसाब निरन्तर भएमा, पोलेमा, अनावश्यक तिर्खा लागेमा तथा अनुहार र खुट्टा सुन्निएमा ।
– पिसाबको प्रवाह कम भएमा, पिसाब फेर्न कठिनाइ भएमा ।
दिउँसो ओछ्यानमा पिसाब गर्ने समस्याका साथ ज्वरो, पिसाब पोल्ने समस्या वा निथार्न कठिनाइ भएमा तुरुन्त चिकित्सकलाई सम्पर्क गर्ने ।