नखाउँ भने दिनभरको शिकार, खाउँ भने खै कसको अनुहार भने जस्तै भएको छ कांग्रेसका लागि आसन्न १३ औं महाधिवेशन। आफ्ना सभापति तथा पूर्वप्रधानमन्त्रीको देहान्तपछि संसदको पहिलो ठूलो दल नेपाली कांग्रेस यतिबेला जुठो बारिरहेको छ। १३ औं दिनको पुण्य तिथिको काम नै सकिएको छैन। तैपनि बरखी बारिरहेको कांग्रेस स्व. सुशीलको अस्तु सेलाउन नपाउँदै पुनः महाधिवेशनको ज्वरोमा रुमल्लिएको छ। सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अप्रत्याशित मृत्युले एकाएक टुहुरो झैं बन्न पुगेको नेपाली कांग्रेसका सामु तत्कालीन र दीर्घकालीन चुनौतिहरुको चाङ नै छ। के हुन् कांग्रेसका तत्कालीन चुनौतिहरु?
चुनौति १ : महाधिवेशन सफल पार्ने चुनौति
सुशील कोइरालाको अवसानसँगै अब कांग्रेसले १३ औं महाधिवेशनको आयोजना सफल गर्न सक्नुपर्छ। संविधानमै लेखिएको प्रावधान अनुसार यस पटक जसरी पनि महाधिवेशन सम्पन्न गर्नै पर्ने चुनौति पूरा नगरे कांग्रेसमा संवैधानिक संकट नै आउने छ। संवैधानिक बाध्यताकै कारण उसले सुशील नेतृत्वको कांग्रेसले बीचमै अधुरै असरल्ल छोडेको महाधिवेशनका बाँकी कामहरु फत्ते गर्नुपर्ने आवश्यकता छ। जिल्ला अधिवेशनको तहमा आएर स्थगित महाधिवेशनका बाँकी काम अघि बढाउनु कांग्रेसका लागि कठिन चुनौति हो। त्यसो त कांग्रेसले सभापति कोइरालाको अनुपस्थितिमा पनि फागुन १ देखि महाधिवेशनका बाँकी कामहरु पुरा गर्ने निर्णय लिइसकेको छ। तर यो सानोतिनो काम अवश्य हैन।
चुनौति २ : सभापति चयनको पेचिलो चुनौति
पार्टी सभापति कोइरालाको अप्रत्यासित निधनले कांग्रेसलाई पारेको मुख्य संकट नै नेतृत्वको संकट हो। विधानत: उपसभापति रामचन्द्र पौडेलले हाल कार्यवाहक सभापतिको जिम्मेवारी पूरा गरेका छन्। यो मौका प्राप्त गर्न पौडेलले सुशीलको निधनको कठोर पीडा सहनु परेको छ। आउँदो फागुन २० देखि २३ गतेसम्म हुने १३ औं महाधिवेशनले नयाँ सभापति कसलाई चुन्ला? आम कांग्रेसजन र देशी विदेशी सबै कांग्रेस हितैसीहरुका लागि यो अति नै चुनौतिपूर्ण प्रश्न हो। हाल फेरि अर्को कार्यकालका लागि पनि सभापतिमा उम्मेदवारी दिने भनिएका सुशीलको प्राणान्तपछि सतहमा दुई आकांक्षी छन : कार्यवाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवा। तर दुई मध्ये कस्ले चुनाव जित्लान् वा आपसी सहमति गर्लान् त्यो धेरै चोटिलो र पेचिलो प्रश्न हो आम कांग्रेसका लागि। न्यायाधीशको भुमिकामा रहने महाधिवेशन प्रतिनिधिहरुले सहमतिका लागि दबाब दिने हुन् कि चुनावका लागि गुटको शक्ति प्रदर्शन गर्ने हुन् ? यो अर्को चुनौति अवश्यै हो ।
चुनौति ३ : संस्थापन पक्षमा नेतृत्वको खडेरी व्यवस्थापन गर्ने चुनौति
कसैले रुचाए पनि नरुचाए पनि कांग्रेसको संस्थापन पक्ष कोइराला परिवार पक्षधरलाई मान्ने हो भने सुशीलको अवसानसंगै कांग्रेसमा कोइराला परिवारका वंश नेतृत्व समाप्त भएको छ । सुशील कोइरालाले धान्दै आएको कोइराला परिवारको विरासत धान्ने सदस्य कोइराला परिवारमा छैनन् भन्दा पनि हुन्छ। गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता कोइराला, विपी पुत्र सशांक तथा शेखर कोइरालालाई पार्टीको सर्वोच्च पदमा पुग्न अहिले सहज छैन।
त्यस्तै,कार्यवाहक सभापति रामचन्द्र पौडेललाई पनि संस्थापन पक्षबाट नेतृत्वमा पुग्न पनि त्यति सजिलो छैन । कोइराला परिवारका यी तीन र पौडेल सबै आफूलाई संस्थापनको दावी गर्छन । तर कस्ले कस्लाई नेता मान्ने भन्नेमा तीव्र मतभेद छ।
पौडेल कोइराला त्रयलाई जुनियर मान्छन, जो अस्वभाविक हैन । शसांक वा शेखर र सुजाता आफूहरु नै कोइराला वंशको असली उत्तराधिकारी भएको दावी गर्छन । यसरी हेर्दा संस्थापनको नेतृत्व चयननै कांग्रेसका लागि चुनौति हो। उता वरिष्ठ नेता देउवालाई संस्थापन पक्षको यही हानाथाप र बेमेल पार्टी सभापति हुने राम्रो मौका बन्न पुगेको छ। संस्थापनबाट सर्वसम्मत एक नेता मात्रै सभापतिको प्रत्याशी बनेमा देउवाले कडा चुनौति सामना गर्नु पर्नेछ। अन्यथा उनका लागि जीत सुनिश्चित प्रायः हुनेछ । स्मरणीय के छ भने संस्थापनले स्व. सुशीललाई नै थप एक कार्यकालका लागि पुनः उम्मेद्धवार बनाउने कसरत गरिरहेकै थियो जस्को कारण थियो रामचन्द्र पौडेललाई संस्थापनको उत्तराधिकारी नमान्नु।
चुनौति ४ : नेतृत्वका लागि सहमति कि चुनाव गर्ने चुनौति?
निसन्देहः लोकतान्त्रिक पार्टी हो कांग्रेस नामैले, जातैले । १३ औ. महाधिवेशनको क्रममा स्थानीय तहको तृत्व छान्दा काग्रेसले चुनावी अभ्यास गरेको छ ।
क्षेत्रीय र जिल्ला तहको नेतृत्व चयनमा पनि यही अभ्यास भएको छ । जहां धेरै ठाउमा देउवा पक्ष हावी भएको ठानिएको छ। संस्थापन पक्ष स्थानीय तहबाटै अल्पमतमा पर्दै गएको आंकलन गरिएको छ। यस पृष्ठभुमिमा केन्द्रीय नेतृत्व र सभापति समेत चयन गर्दा कांग्रेसले सहमति गर्ने की खुल्ला चुनाव गर्ने भन्ने कठोर चुनौतिको सामना गर्नु पर्नेछ । चुनाव नगरे लोकतान्त्रिक अभ्यास कमजोर भएको सन्देश जान सक्छ। चुनाव गर्दा हार्ने पक्ष निराश भई पार्टी एकता नै संकटमा पर्छ । सधै सहमति, सहकार्य र एकताका पक्षपाती सुशील विनाको कांग्रेसलाई सहमति, सहकार्य गर्न दुबै पक्ष सहमत हुन अनिवार्य छ। यदि देउवालाई कुनै हालतमा सभापति हुन नदिने खेल संस्थापनबाट भएमा वा संस्थापन पक्ष छिन्नभिन्न भएको मौकाम अझ पेल्ने देउवा पक्ष तम्सिए कांग्रेस झन कमजोर हुन सक्छ । त्यसैले सुशीलपथलाई सम्मान गर्ने हो भने कांग्रेसले एकताका पक्षमा कठोर निर्णय लिन सक्नुपर्छ । तर त्यसको संभावना अति कमजोर छ । सुशीलको निधन भएको महिना नपुग्दै पुनः कांग्रेस एक ढिक्का हुन नसके त्यो आम कांग्रेस जनमात्रै हैन देशकै लागि दुर्भाग्य हुन सक्छ।
चुनौति ५ : संविधान कार्यान्वयनको पनि नेतृत्व चुनौति
इतिहासको दुर्लभ मौका थियो कि कांग्रेसले आफ्नै पार्टी सभापति प्रधानमन्त्री भएको ऐतिहासिक घडीमा गणतन्त्र संस्थागत गर्ने संविधान निर्माणको युगीन कार्यभार पुरा गरयो । तर संविधान कार्यान्वयन निर्माण भन्दा पनि जटिल चुनौति हो। अब कांग्रेसले संविधानसंग विमति राख्ने सबैलाई समेटेर लैजान पनि आफै एकतावद्ध र बलियो हुन आवश्यक छ । यो आवश्यक्ता पुरा गर्न कांग्रेसले पहिला घर बलियो पार्न सकेन भने त्यो दुर्भाग्य हुनेछ । किन की संविधान अस्वीकार गर्ने शक्तिहरु बढीरहेका मात्रै छैन्न, संविधान निर्माण गर्ने शक्तिहरु कमजोर हुदै गएका छन ।
यी मूलभूत चुनौतिहरुका बीच पनि कांग्रेस भने उही दुबो चरित्रको पार्टी हो जो चैतमा पहेलिन्छ र वर्खा लाग्दा आफै हरियो हुदै पन्किन्छ । यसपटक कांग्रेस सग्लो रहने की टुक्रा टुक्रा हुने भन्ने फैसला पनि आगामी महाधिवेशनले नै तया गर्नुपर्नेछ । नेतृत्वमा युवा हावी हुने चान्स लगभग कमजोर छ । सैद्धान्तिक रुपमा कांग्रेस विपी कोइरालाले छोडेको कांग्रेस छैन अहिले । कांग्रेस राजासहितको राष्ट्रियता, प्रजातन्त्र र समाजवादबाट च्यूत भैसकेको छ तर राजसंस्थालाई राष्ट्रपति वा प्रधानमन्त्री जस्ता संवैधानिक पदले व्यवहारतः प्रतिष्थापित गर्न नसकेको तथ्य स्थापित गर्न कांग्रेसले अब न पछाडि फर्कन सक्छ न अघि बढ्न नै सहज छ । यसर्थ अब कांग्रेसले १३ औं महाधिवेशनको संघारमा आफ्नो नीतिगत मूल्य मान्यताप्रति पनि कठोर समीक्षक बन्न सक्नुपर्नेछ । हिजो राजालाई वा दरवारलाई आफ्नो शासकीय कमजोरीको अपजस दिएर जोगिदै आएको कांग्रेस अब गणतन्त्रको प्रवत्ता भएर मात्रै पुग्दैन । कांग्रेसले बुझ्नुपर्छ की दरवार हटेपछि राष्ट्रिय सार्वभौमिक्ता लैनचौर सरेको र नयां दरवार नाराणयहिटीबाट नयांदिल्लीतिर स्थानान्तर भएको पक्षको कठोर सत्य हो ? के यो न्यायिक थियो ? कांग्रेसजनले समीक्षा गर्नुपर्ने यो पनि एक मुद्धा हो की ?
कांग्रेस कस्तो पार्टी हो ? यसको सोलोडोलो जवाफ कठिन छ । कांग्रेस सुवर्ण शम्शेर, विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई वा गिरीजाप्रसादको तस्वीर जस्तै भिन्न र भेद्ध छ । अहिले पनि शेरबहादुर देउवा, रामचन्द्र पौडेल, सुजाता कोइराला, शेखर कोइराला, गगन थापा वा खुम बहादुर खड्का र पूर्णबहादुर खड्का वा चिरञ्जीवि वाग्ले र प्रकाश कोइराला वा अमरेश सिंहहरुको अनुहार प्रवृति जस्तै कांग्रेस भिन्न र कठीन छ । यसमा एकता भन्दा ज्यादा ए कता ? नै छ । त्यसैले सिंगो कांग्रेस १३ औं महाधिवेशनपछि पनि जन्म्यो भने वेदाग छवी र नैतिक ईमानका शिखर अर्थात सादा जीवनका स्व. सुशीललाई दिएको श्रद्धाञ्जली सार्थक होला । कांग्रेसजनलाई हेक्का भएस । कांग्रेसको अरु कथा व्यथा बिस्तारै बिस्तारै । अहिले यो शोकको बरखीबारेको कांग्रेसलाइ नगरौं गाली । मुद्धाका हिसावमा चुकेका कांग्रसी कुकर्महरुको हिसाव त गर्नु नै छ कुनै बेला ।
देउबा रामचन्द लाइ न मान्ने , रामचन्द्र देउवालाई न मान्ने , सुजाता र अरु कोइराला कांग्रेसलाई आफ्नो पुर्ख्यौली सम्पत्ति मान्ने हुनाले कांग्रेस मा सबै को सर्ब सहमति हुने
अन्तत कुल बहादुर गुरुङ मा जस्तो मलाइ लाग्छ |
सायद अब त्यो समयको माग पनि हो , जनजाति को नेत्त्रित्त्वको सबाल उठिरहेको बेला
कांग्रेसी नेताहरुले अलि दिल ठुलो देखाउन सक्नु पर्यो |
के सक्लान ?