सुशील कोइरालाको निधन मंगलबार बिहान एक नबज्दै भइसकेको थियो। बिहान ६ बजेसम्म कोइराला बस्दै आएको महाराजगन्जस्थित निवासमा २०/२५ जनाभन्दा बढी मान्छे थिएनन्। यो खबर सामाजिक सञ्जालमा ‘ब्रेक’ गर्ने युपी लामिछानेले बिहानै फोटो राखेका थिए जसमा निधार र सिरकमा रातो-रातो केही देखियो भनेर मृत्यु शंकास्पद भन्दै दिनभर हल्ला मच्चिरह्यो।
घटनास्थलमै पुग्नेहरुभन्दा फोटो हेरेर बढी जान्ने हुनेहरुले अनेक शंका गरे। यही हो भनेर ठोकुवा नै गरे। मंगल ग्रहमा यानले खिचेका फोटोहरु हेरेर के के पो भेटियो भनेर अनुमान लगाए जस्तै अनुमान भइरहे। वास्तवमा ती सब वाहियात हल्लामात्रै थिए।
एकाबिहानै कोइराला निवासमा पुग्ने थोरै मध्येमा थिए हाम्रा सहकर्मी सरोज काफ्ले, ऋषिकेश दाहाल र मनोज सत्याल। उनीहरु भन्दै थिए- “कुनै अस्वभाविक कुरा देखिएको थिएन।”
“हामी पुग्दा त कोइरालाको पार्थिव शरीरको निधारमा चन्दन पनि लगाइएको थिएन। पछि बल्ल लगाइएको हो। पहिला अबिर लगाएर पछि चन्दन लगाइएको हो। त्यही चन्दनमुनिको रातो अबिरमा हल्लाबाजको आँखा लागेको हुनुपर्छ। सिरकमा देखिएको रातो फूलको टुक्रा वा त्यस्तै अरु केही हुनुपर्छ।”
“टाउकोमा चोट लागेको जस्तो देखिएको भए त त्यहाँ हामीले हेर्दै पनि थाहा भइहाल्थ्यो नि।”
हुन पनि कुन चाहिँ मूर्खले वृद्ध कोइरालालाई निधारमा रगत निस्कने गरी हानेर हत्या गर्थ्यो होला त। अनि फेरि रगतको टाटै देखिने गरी सिरकसहितको शव पिँढीमा किन पो राखिन्थ्यो होला। उनलाई मार्नै पर्ने कारण पनि के पो थियो होला र।
देशको त्यत्रो ठूलो दलको नेता, प्रतिपक्षी नेताको घरमा व्यवस्थित भने केही रहेनछ। सामान्यतया शवलाई राख्दा भूइँ लिपेर त्यसमा राखेर सँगै दियो जलाउनु पर्ने हो। तर कोइरालालाई त सुतेको खाट नै उठाएर पिँढीमा राखेको देखिन्छ। त्यही खाटैसमेत प्रहरीको ट्रकमा राखेर सानेपा पार्टी कार्यालय लगिएको थियो। शायद् दशरथ रंगशालामा पनि खाटैसमेत पो राखेका छन् कि।
अविवाहित कोइरालाको घरमा कोही महिला नभएर पो लिपपोत गर्ने कोही नभएका हुन् कि। अथवा अब खाट पनि फाल्ने नै हो भनेर पो खाटैसमेत त्यसरी बोकेर ल्याएर राखेका हुन् कि ! अथवा शव किन छुने भनेर खाट मात्र छोएर उचालेर ल्याएर राखेका पो हुन् कि !
फेरि सिरकैसहित शव त्यसरी राख्नुपर्ने पनि त होइन। तर यसो गर्नुपर्छ भन्ने नै कोही रहेनछ।
व्यवस्थापनको हालत कस्तोसम्म रहेछ भन्ने अनुमान यसबाट पनि लगाउन सकिन्छ- पिँढीमा राखिएको शव नजिकै धूप बाल्न लागिएको थियो। धूप अडाउने ठाउँ भएन। एक जनाले गएर आलु ल्याए। आलु काटेर त्यसका टुक्रामा घोचेर धुप बालिएको रहेछ।
मृत्युपछिको हालत त त्यस्तो रहेछ भने, जीवित छँदा कस्तो भयो होला अनुमान गर्न सकिन्छ। र त समयमा एम्बुलेन्स बोलाउने, अस्पताल लग्ने जस्ता कामसमेत नभएको देखियो।
२७ माघ २०७० मा उनी प्रधानमन्त्री निर्वाचित भएका थिए। त्यसको ठ्याक्कै दुई वर्षपछि आज उनको अन्तिम संस्कार हुँदैछ।
भनेपछि अहिले देशमा न नयाँ न पुरानोले खुट्टा उचालेर बसेका रहेछन. स्वर्गीय कोइरालासंग पुराना मान्छे भए कर्मकाण्ड राम्रो संग हुने थियो, नयाँ भए केही नभए पनि व्यवस्थापन चुस्त दुरुस्त हुने थियो. अब सबैजना तयार भएर बस्नुस भविष्यमा देश यही यता न उताको पुस्ताले चलाउने छ.