Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यी कारणले बिर्सन सकिन्न सुशील दालाई

Posted on February 9, 2016February 10, 2016 by Salokya

sushilkoirala सुशील कोइराला प्रधानमन्त्री हुन ठीक्क पर्दा दुई वर्षअघि आजैका दिन (कस्तो संयोग फेब्रुअरी ९, २०१४ का दिन) यो ब्लग पोस्ट गरिएको रहेछ। दुई वर्षपछि आज उनको निधन भएको दिन त्यही ब्लग रिपोस्ट गर्दैछु।

केही अघिको मात्रै कुरा त हो, सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने दल माओवादीका अध्यक्ष प्रचण्ड हेलिकप्टर चार्टर गरेर उड्दै गर्दा पूँजीवादी दलको प्रतिनिधित्व गर्ने कोइराला प्लेनको टिकट नपाएर अलपत्र पर्थे। अनि प्रचण्ड आफ्नो हेलिकप्टरमा उनलाई लिफ्ट दिन्थे।

२०४६ सालको बहुदलीय व्यवस्था पुनर्स्थापनापछि नेपाली कांग्रेस पटक पटक सरकारमा जाँदा समेत उनले एक पटक पनि मन्त्री वा सरकारी लाभको पद स्वीकारेनन्। त्यसैले अन्य नेताभन्दा उनी स्वच्छ मानिन्छन्। वर्षौँदेखि उनी काठमाडौँमा साधारण घरमा डेरामा बस्दै आएका थिए। सरल जीवन जिउने नेतामा पनि उनलाई उछिन्ने समकालीन कोही छैनन् भन्दा हुन्छ। काङ्ग्रेस सभापति निर्वाचित भएपछि मात्रै उनी पहिला गिरिजा बस्दै भएको ठूलो घरको डेरामा सरेका हुन्। नत्र त उनी बस्ने डेराको गल्लीमा मोटर समेत छिर्दैन थियो। तलुवा भाँचिएको चप्पल, सुकुल ओछ्याइएको कोठामा पलंग हैन, चारखुट्टे खाट हुन्थ्यो।

उनी २०४८ सालमा गिरिजाप्रसाद प्रधानमन्त्री हुँदा प्रधानमन्त्री निवासमै बस्थे। प्रधानमन्त्रीबाट राजिनामा दिएपछि गिरिजाप्रसाद भतिजा सशांकको घरमा सरे तर कोठा अभावका कारण उनी महाराजगञ्जको पार्टी सम्पर्क कार्यालयमा बस्न थाले। महाराजगञ्जको सम्पर्क कार्यालय बन्द गरेपछि भने पाँच वर्षसम्म उनी भान्जा रमेश शर्माको बुद्धनगरस्थित घरको एउटा कोठामा बस्दै आएका थिए। सभापति भएपछि महाराजगञ्जस्थित कृष्णरक्षा राजभण्डारीको कम्पाउण्डसहितको फराकिलो सुविधासम्पन्न भाडाको घरमा सार्न खोज्दा उनी आलोचना हुने डरले सुरुमा हच्किएका थिए।

सुशील कोइरालाको जन्म विराटनगरमा भएको हो। उनका पिता बोधप्रसाद र आमा कुमुदिनी हुन। जेठा छोरा सुशीलका ६ भाइ र एक बहिनी छन्। वन अधिकृत बोधप्रसाद जागीरका सिलसिलामा नेपालगञ्ज पुगेका थिए र त्यसपछि कोइराला परिवारको बसोबास नेपालगञ्ज मै भएको हो। उनका भाइ अरुण कोइराला नेपाली कांग्रेस, बाँकेका सभापति छन्। वीपी कोइराला, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाबीच धेरैले सोचे जस्तो साख्खै दाजुभाइ नाता पर्दैन। तर पनि उनले बिपी र गिरिजा निकट रहेर नेपाली प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिएका छन्।

२०१० सालदेखि राजनीतिमा सक्रिय रहँदै आएका कोइराला २०१७ सालको कू पछि १६ वर्षसम्म भारतमा स्वनिर्वासनमा रहेका थिए। त्यतिबेला उनले काँग्रेस मुखपत्र तरुणको सम्पादन गरेका थिए। नेपाल र भारतमा गरी करिब पाँच वर्ष राजनैतिक बन्दीजीवन उनले बिताएका थिए।

हार र जीत

उनी प्रतिनिधिसभा चुनावमा वि.सं २०४८ र २०५६ बाँके जिल्लाबाट निर्वाचित भएका थिए भने संविधान सभा निर्वाचन भाग २ मा बाँके र चितवनबाट विजयी भएका हुन्। सन् २०१० मा भएको काँग्रेसको १२ औँ महाधिवेशनमा देउवालाई हराउँदै उनी सभापति निर्वाचित भए।

सन् २००१ मा संसदीय दलको नेता भने शेरबहादुर देउवासँग पराजित। यो वर्ष संसदीय दलको नेतामा देउवालाई पराजित गर्न सफल भए। पहिलो संविधान सभा निर्वाचनमा कोइराला बाँकेबाट तेस्रो स्थानमा रही पराजित भएका थिए।

विमान अपहरण

नेपाली काङ्ग‌्रेसले पञ्चायतको विरोधमा गरेको सशस्त्र क्रान्तिलाई साथ दिन नेपाल राष्ट्र ब्यांकको रकमसहितको एउटा जहाज अपहरण गरेको थियो। त्यो हाइज्याकिङ कान्डमा सुशील कोइराला पनि सहभागी थिए। विमान भारतको फारबिसगञ्जमा झारेर रकम लुटिएको थियो।

२०३६ सालको जनमत संग्रहमा सुशील विमान अपहरणको मुद्दामा भारतमै जेलमा थिए। बिपीलगायतका नेतालाई आम माफी हुँदा पनि सुशील र चक्र बास्तोलालाई रिहा गरिएको थिएन। जनमत संग्रहपछि बिपीले भारतसँग विशेष आग्रह गरेर सुशीललाई जेलमुक्त गराएका थिए। विमान अपहरणको आरोपमा बिहारको दरभंगा जेलमा बस्दा सुशीलसँगै अहिलेको बिहारका मुख्यमन्त्री नितीशकुमार पनि थिए।

हुन नसकेका हलिउड हिरो
भर्खरका लक्का जवान सुशील हिरो बन्न चाहन्थे, त्यो पनि हलिउडको। त्यसका लागि प्रारम्भिक तयारी पनि गरिसकेका थिए, भारतमा नृत्य र फोटोग्राफीको प्रशिक्षण लिएर। ‘हिरो’ बन्ने सपना पूरा गर्न उनी हलिउडतिर हानिने अन्तिम तयारीमा थिए। अमेरिकाको भिसासमेत आइसकेको थियो। तर, १ पुस ०१७ मा राजा महेन्द्रले ‘कू’ गरेपछि सुशीलको सपनामाथि पनि बज्रपात भयो। राजनीतिक परिर्वतनसँगै तत्कालीन सरकारले उनलाई विदेश जान प्रतिबन्ध लगायो। र, हिरो बन्न तम्तयार उनी नेपाली कांग्रेसको राजनीतिमा होमिए।
सुशीललाई नजिकबाट जान्नेहरूका अनुसार राजा महेन्द्रले दुई महिना ढिलो मात्रै ‘कू’ गरेको भए पनि सुशील अमेरिका पुगिसकेका हुन्थे र सम्भवतः यतिबेला हलिउडमा जमिरहेका हुन्थे। राजनीतिमा त सुशील बाध्यताले मात्रै होमिएका हुन्।

भारतसँगको बिग्रिएको सम्बन्ध
पहिलो संविधानसभा विघटन हुनु अघि वीरगञ्जस्थित भारतीय काउन्सुलर एसडी मेहताले ‘छुट्टै मधेस बनाउनुपर्छ भनेर माग गर्नुहोस र भारत त्यसको पछाडि छ’ भन्ने आशयको अभिब्यक्ति दिए। त्यसको विरोधमा भोलिपल्ट प्रमुख चार राजनीतिक शक्तिको बैठकले विज्ञप्ति निकाल्ने भन्दै कांग्रेस सभापति कोइराला र एमाले अध्यक्ष झलनाथ खनालले हस्ताक्षर गरे। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका तर्फबाट विजयकुमार गच्छदारले हस्ताक्षर गरेनन्। बरु विज्ञप्ति बैठक स्थलबाट हरायो। त्यही विज्ञप्ति बोकेर भारतीय राजदूत जयन्तप्रसाद महराजगन्जस्थित कोइराला निवास पुगेछन्। भनिन्छ, सहसचिव स्तरको राजदुतले चर्को स्वरमा सोधखोज गरेपछि कोइरालाले पनि थर्काइदिएछन् ‘आप कौन हो, जो मेरेको पुछताछ कर रहे हो ?’ कान्तिपुर सम्पादक सुधीर शर्माको ‘प्रयोगशाला’मा लेखिएको छ- ‘भारतको नेपालनीतिको खुलमखुला आलोचना गरेको, ०६९ जेठको मेहता प्रकरणमा भारतीय राजदूतलाई नै झपारेको जस्ता कारणले कोइराला दिल्लीको नकारात्मक सूचीमा थिए।’ त्यही भएर बाबुराम भट्टराईको सरकार हटाएर सुशील कोइरालालाई प्रधानमन्त्री हुन दिइएको थिएन।

जिब्रोको क्यान्सर
कोइराला जिब्रोको क्यान्सरबाट पीडित छन्। त्यसैले उनको बोली पछिल्लो समयमा त्यति स्पष्ट छैन। २०६२/६३ को आन्दोलनअघि ज्ञानेन्द्रले कू गर्दाताका भने उनको बोली स्पष्ट सुनिन्थ्यो। क्यान्सरको उपचारका लागि उनी नियमित रुपमा अमेरिका गइरहन्थे।

१० वर्षअघि उनी चढेको गाडीमा प्रहरी हेडक्वाटरछेउ सेनाको गाडीले हानेर जब शिक्षण अस्पताल पुर्‍याइयो, त्यहीं परीक्षण गर्दा जिब्रोमा क्यान्सर भएको पत्ता लागेको थियो। अमेरिकामा उनको क्यान्सरको उपचार गर्दा जिब्रो काटिएपछि बोलीमा प्रस्टता हटेको हो।

गायक कोइराला
बाबुराम भट्टराईको सरकारलाई ढाल्न सुरु गरिएको आन्दोलनका क्रममा सुशील कोइरालाले आमसभाहरुमा गीत गाई सुनाएका थिए। गीत सुन्नुस्-

1 thought on “यी कारणले बिर्सन सकिन्न सुशील दालाई”

  1. डा. सुरज श्रेष्ठ says:
    February 10, 2016 at 3:16 am

    लेखक ज्यु,

    दिवन्गत आदरणीय सुशील कोईराला ज्युका दाजुहरु स्व. प्रमोद कुमार कोईराला तथा स्व. बिनोद कोईराला र भाईहरु स्व. डा. अरुण कोईराला (नेपाली कॉंग्रेस बॉके सभापति), अशोक कोईराला (सॉसद) र विजय कोईराला तथा दिदीहरु स्व. दायुति देवि शर्मा र आभा शर्मा तथा बैनी शशी शर्मा भनि स्पष्ट गर्न अनुरोध गर्दछु।

    डा. सुरज श्रेष्ठ
    नेपालगंज

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme