Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथा : छोरी, ढोका खोल !

Posted on February 6, 2016 by mysansar

-दीपेन्द्र रोकाहा-

saturday-fiction उसको शरीर नै उसको पसल हुन्छ। नाम पार्वती। हरेक बिहान ११ बजे ऊ सँधै रत्नपार्कमा उपस्थित भएकी हुन्छे। जबर्जस्ती गरिएको श्रृङ्गार, गरिबी स्पष्टै झल्काउने उसको कुर्ता सुरुवाल, कुमबाट लत्रेर हातमा अड्किएको एक पुरानो जस्तो देखिने ब्याग, अनुहारै भरी वितृष्णा तैपनि आशातीत भावले खुलेका आँखाले उसको स्वरुप प्रतिनिधित्व गर्छ। साढे १२ बज्यो आज उसले कोही ग्राहक भेटिन। ब्याग खोतली, चुरोट झिकी, एक सर्को तानेर लामो सास लिई।

रत्नपार्क भीडभाड मै हराइरहेछ। अनि हराइरहेछन् थरी थरीका संवेदनाहरु। जागिर खोज्दा थाकेका संवेदनाहरु, बेरोजगार संदेवनाहरु यस्तै ,यस्तै अनेक संवेदनाहरु। केही संवेदनाहरु उसलाई नङ्ग्याएको कल्पनामा चिहाइरहेछन्, केही संवेदनाहरु परपरबाट चिडियाघरको अनौठो जीव सरह फर्कीफर्की हेरिरहेछन्। तर १ बजिसक्दा पनि आज उसको अधबैँसे शरीरमा मोल लगाउने कोही भेटिएन। थाकेर नजिकैको बदाम बेचिरहेकी आइमाई छेउमा बसी। ‘खोई, आज त कोही राँडा पनि भेटिएन’, बदाम फोर्दै बोली ऊ।

‘भेटिएला नि त कोही, ऊ त्यो मधिसेले त खुब हेरिरहेछ नि’, बदामवालीले आँखाको ईसारा ऊतर्फ फ्याँकी। आखिर उसले आजको अन्नदाता भेटी र ४०० मा मोलमोलाई सकिएपछि, एक सुरो पाराले आफ्नो बाटो लागी, अनि पछिपछि आउँदै थियो उसको ग्राहक। पुलिसबाट बच्न उसले सँधै यसै गर्थी। भीड छल्दै दुबैजना होटलसम्म पुगे। उसले बन्द जस्तो देखिने होटलको ढोका दुई तीन पटक ढकढक्याई। ढोका खुल्यो। उसको ग्राहकलाई उसले साँघुरो तर अस्तव्यस्त कोठामा लगी। फेरि सँधै जस्तै आज पनि उस्ले सर्वाङ्ग सुम्पी। रात परिसकेको थियो घडीले ७ बजाउँदासम्म ऊ आज ३ जनाकी भैसकेकी थिई। उसको व्यापार आज राम्रै चलेको हो। वर्षातको मौसम छ कहिलेकाहीँ त एक जना ग्राहक भेट्न पनि मुस्किल हुन्छ। केही सन्तुष्टिको सास फेर्दै लुछिएको थकित शरीर लिएर सानासाना गल्ली छिचोल्दै हिँडी। लोडसेडिङले गल्ली एकनास लाग्थे। तर केही पर पुग्दै थिई अँध्यारोमा मानिसहरुको होहल्ला सुनी। दृष्य अनि आवाज जति नजिक हुन्थे त्यति स्पष्ट लाग्थे। केही आवाज भन्दै थिए, ‘अचेल त अपहरणकारी भनेर जसलाई जे गरे पनि हुने भयो।’ केही आवाज बोल्दै थिए, ‘यो मान्छे त यहाँ कहिल्यै देखिएको थिएन।’ नजिकै गई ऊ। चिनेचिने जस्तो लाग्यो उसलाई।

रगताम्य चल्मलाइरहेको बलबहादुर रहेछ। उसले हतारहतार गर्दै ट्याक्सी बन्दोबस्त गरी अनि ट्याक्सी हानिँदै वीर अस्पतालतर्फ लाग्यो। उसको थकित अनुहारमा बिछट्टै दया अनि मिश्रित चिन्ताको भाव झल्किन्थ्यो। वीर अस्पतालमा बलबहादुरको भर्ना गर्नुपर्ने भयो। उसले गरी पनि र अस्पतालको बेडमा लडिरहेको बलबहादुरलाई प्रेमपूर्वक टाढैबाट आँखाले सम्पूर्ण छोई।

जीवनमा दोस्रो पटक उसको मन यति विघ्न गह्रुङ्गो सँगसँगै कमजोर भएको महसुस गरी। मनभरी उसलाई काखमा राखेर बेसरी अंगाल्दै रुने मन थियो। उसका आँखाबाट पहिरो खसे जस्तै आँसु बेवारिसे बन्न थाले। स्थिति सम्हाल्दै उस्का पाइलाले अस्पतालको गेट छिचोले। रातको समयले सडक सास फेर्न लागे जस्तो लाग्थ्यो। सडकमा पातलिँदै गरेको ट्याक्सी, मोटर अनि मानिसको संख्याले त्यही संकेत गर्दैछ। यसको मस्तिष्क यी सबबाट बेखबर पुराना सम्झनातिर बाक्लिँदै एकपछि अर्कोतिर केन्द्रित भयो।

त्यो दिन फुलपातिको दिन थियो जुन दिन पहिलोपटक उसले बलबहादुरलाई देखेकी थिई। गाउँभरि दशैँको बेग्लै रौनक थियो। केही अस्वभाविक तथा अकल्पनीय लाग्ने त्यो गरिब बस्तीमा वर्ष भरीको दुःख बिर्साउने खुसी लिएर आएको थियो दशैँ। त्यही दशैँको माहोलमा उसले खाइलाग्दो, मायालु लाग्ने बलबहादुरलाई मनमनै सुम्पिसकेकी थिई। आकाशतिर हेरी लिङ्गे पिङ्गको मच्चाईतर्फ नजर फर्काई, उसला लाग्यो त्यो उडिरहेको चङ्गा र लिङ्गेपिङ्गको उत्साहसँगै छोडिदिउँ स्वतन्त्र आफूलाई।

फूलपातिको रात पनि आज जस्तै बलबहादुरको रगताम्य, हतास अनि बेवारिसे लाग्ने निर्दोष अनुहार देखेकी थिई। खोई, लङ्गुरबुर्जा खेल्दा झगडा पर्दा गाउँका केटाहरुले कुटेका रे। पहिलो पटक उसको मन आज जस्तै स्तब्ध थिए। बन्दिपुरको मेलामा छिमेकी गाउँमा बस्ने बलबहादुरसँग उसको आँखा जुधेका थिए। त्यो दिनदेखि पार्वती र बलबहादुरको भावनात्मक दूरी घटेको थियो। आज पनि सम्झन्छे पार्वती, सिस्नेखोलामा चिप्लेर लड्दा मरीमरी हाँसेको अनि बलबहादुरले उसलाई थप्पड हानेको। दिनहरु यसैगरी बित्थे। झगडा गर्थे, बोलचाल बन्द गर्थे, फेरि केही दिनमै भेट्न व्याकुल हुन्थे। बसन्त आउँथ्यो हरियै हुन्थ्यो डाँडाकाँडाहरु, फूल सुवास छर्थे। वर्षा, घाम, जाडो यसैगरी समय बित्यो अनि दुई बीचको सम्बन्ध झाँगिदै गयो। एक दिन दुबै जना खुबै रोए। त्यो दिन बलबहादुरले गाउँ छाड्ने दिन थियो। बलबहादुरले आफूलाई विदेशसामु सर्मपण गर्‍यो। बाध्यतावश पार्वतीको बिहे भयो काठमाडौँमा इँटाभट्टामा काम गर्ने नरे खत्रीसँग। अनि पार्वतीको जीवनले अर्कै मोड लियो। नरे सुरुका दिनहरुमा खुसी नै लाग्थ्यो, झन् ९ महिनामा पार्वतीले नरेलाई उपहारस्वरुप छोरी दिएकी थिई। तर कारणवश इँटाभट्टा बन्द भयो। अनि सुरु भयो उनीहरुको परिवारका चुनौतिका दिनहरु। छोराको सपना देखेको नरे इँटाभट्टी कारणवश बन्द भएपछि रक्सीमा बेहोस हुन थाल्यो। अनि उही झगडा गालिगलौज अनि नरेको कुटाइले उसको जीवन बित्न थाले। ईँटाभट्टा बन्द भएपछि कहिले यता कहिले उता गरेर गुजारा गर्ने नरे झन गति छाड्न थाल्यो। एक दिन नरेले पार्वतीलाई होटलमा काम गर्न भनी साहुकहाँ लगेको थियो। सुरुका दिनहरुमा त आफूसँग काम गर्ने अरु केटी साथीहरु रक्सी खाने ग्राहकसँग लहसिने गर्दा अप्ठ्यारो लागेको हो, तर एकदिन ग्राहकले उसलाई जर्बजस्ती गरेकोले उसले तथानाम गाली गरी होटलबाट काम छोडिदिई। पार्वतीको कमाईले धानेको परिवार अब नचल्ने भएपछि फेरि मनमुटाव बढ्न थाल्यो। रक्सीले मातेर पार्वतीलाई कुटेर गएको नरे त्यो दिनदेखि कहिल्यै डेरामा फर्केन। छोरीको मुख हेरेर राम्रो कमाई हुने ठानेर क्याबिन रेष्टुरेन्टमा नजिकै डेरामा बस्ने तारा दिदीको आग्रहमा काम गर्न थाली। अनि उसको दिनहरु स्त्रीशरीरका पारखीहरु माझ बेचिए।

आज १० वर्षपछि बलबहादुरलाई देखेपछि एकाएक अस्तव्यस्त मनभरी अनेक थरी कल्पनामा डुब्दै थाहा भएन कतिखेर डेरा नजिक आइपुगिसकेकी थिई। तर अनयासै एक छिन रोकिई। उसकी ३ कक्षामा पढ्दै गरेकी छोरीलाई उसले चित्रैचित्र भएको किताब ल्याउन गरेको वाचा सम्झी। व्यागभरी छामछुम गरी। १५ रुपैयाँ थियो। उसलाई दिक्क लाग्यो अनि छेउको भट्टीमा गई। एक गिलास रक्सी मागेर एकै घुड्कोमा निली। चुरोट छिटोछिटो सल्काएर ठुटो बनाई। आफ्नो त्यो धन्न, धन्न जोगाएको एक कोठाको टिनले छाएको, मक्किएको घर हेरी। खिन्न भएर यताउति हेरी, सबै उराठ अनि विरहले रोइरहेको जस्तो लाग्यो उसलाई। आकाशतिर हेरी वर्षातको मौसमले ताराहरु ओझेल थिए। न त्यहाँ उसले चङ्गा उडेको देखी, न वरपर लिङ्गेपिङ्ग नै मच्चिरहेको देखी। रात छिप्पिन लाग्दै थियो। ढोकानजिकै पुगेर सुस्केरा फेर्दै उही निस्तेज सिथिल भावले ढोका ढकढक्याई। उसको नैराश्यले दब्दै गरेको आवाज निस्कियो ‘छोरी, ढोका खोल !’ (अगस्त २९, २००९ मा माइसंसारमा पहिलो पटक प्रकाशित)

[तपाईँले पनि कथा, लघुकथा लेख्नुभएको छ र माइसंसारका पाठकहरुमाझ बाँड्न चाहनुहुन्छ भने [email protected] मा पठाउन सक्नुहुन्छ।]

1 thought on “कथा : छोरी, ढोका खोल !”

  1. सिर्जने says:
    February 8, 2016 at 10:45 pm

    राम्रो कथा, मन छोयो

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme