सँधै हार, सँधै गोलको खडेरी भइरहेको बेला बल्ल बल्ल नेपाली खेलाडीले विपक्षीको पोस्टमा डङ्का डङ गोल ठोकेर कप जितेर फर्केको देखेपछि को नेपाली भावुक हुँदैन? मिडिया पनि भावुकै भयो। २३ वर्षपछि उपाधि जित्यो भन्दै दैनिक पत्रिकाले वर्ल्डकपै जिते जसरी ब्यानर न्युज बनाए, रेडियो टिभी र अनलाइनमात्र किन माइसंसारकै ब्लगमा समेत हल्लाखल्ला गरियो। अझै पनि भावुकै हुनुहुन्छ भने शीर्षक पढ्ने बित्तिकै तपाईँको पारो तात्ला- हैन के भन्छ यो, खाली नकारात्मक कुरा मात्र गर्छ यो। तर भावुक हुनु र सकारात्मक हुने नाममा सत्यप्रति आँखा चिम्लनु अर्कै कुरा हो, तथ्य अर्कै कुरा हो।
सही त के हो भने नेपालले २३ वर्ष यता कुनै अन्तर्राष्ट्रिय उपाधि जितेकै छैन। सन् १९९३ मा नेपालले छैटौं दक्षिण एसियाली महासंघीय खेलकुद (साग) अन्तर्गत फुटबलमा स्वर्ण जितेको थियो। त्यसपछि अर्को आधिकारिक उपाधि जित्न सकेको छैन। अनि भर्खरैको बंगबन्धु कप नि? यस्तो आमन्त्रण फुटबल प्रतियोगितालाई पनि गन्ने हो भने चाहिँ नेपालले सात वर्षअघि अर्थात् सन् २००९ मा श्रीलंकाको राष्ट्रिय टिमलाई हराएर प्रधानमन्त्री अन्तर्राष्ट्रिय आमन्त्रण कप जितिसकेको छ।
अर्थात् सात वर्षअघि पनि नेपालले अन्तर्राष्ट्रिय उपाधि जितिसकेको थियो। त्यसैले २३ वर्षपछि भन्दै उफ्रेर रमाउनु तथ्यप्रति आँखा चिम्लिनु मात्रै हो।
काठमाडौँको दशरथ रंगशालामा भएको प्रतियोगितामा नेपालले दुई टोली उतारेको थियो- नेपाल रातो र नेपाल निलो। नेपाल रातो नेपालको राष्ट्रिय फुटबल टोली थियो। फाइनलमा नेपाल रातोले श्रीलंकाको राष्ट्रिय फुटबल टोलीलाई निर्धारित समय बिना गोल बराबरीमा टुङ्गिएपछि टाइ ब्रेकरमा ४-२ ले हराएको थियो।
यो थियो त्यतिबेलाको कप जित्ने टोली। कप्तान राकेश श्रेष्ठ, गोलकिपर विकास मल्ल, रीतेश थापा र समितचन्द्र राजभण्डारी, रक्षक सागर थापा, अन्जन केसी, विराज महर्जन, चुनबहादुर थापा, सुमन सुवेदी र सन्तोष गुरुङ, मिडफिल्डर राजु तामाङ, विजय गुरुङ, नविन न्यौपाने, विषन गौचन, सन्दीप राई, खुम गुरुङ र रन्जित श्रेष्ठ, फरवार्ड जुमानु राई, अनिल गुरुङ र नीराजन रायमाझी। टिम प्रशिक्षक प्रमुख योगम्बर सुवाल, सहायक किशोर केसी र उपेन्द्रमान सिंह तथा फिजियोथेरापिस्ट गौरव सुवेदी, सुमन डंगोल र डिजिभ थापा। मेनेजरमा कृष्णभक्त मानन्धर र अर्जुन लामा।
माइसंसारको पुरानो पाठक हुनुहुन्छ भने तपाईँलाई याद होला। त्यतिबेलाको फाइनलमा भिडियो लाइभसहित ब्लग माइसंसारमा गरिएको थियो। हेर्नुस् पुरानो ब्लग यहाँ क्लिक गरेर।
त्यो प्रतियोगिता र खेललाई फिफाले र्याङ्किङका लागि मान्यता भने दिएको थिएन। (फिफाको वेबसाइट हेर्नुस्) तर त्यतिबेला श्रीलंका, पाकिस्तान र बंगलादेशले राष्ट्रिय टोली नै खेलाएको थियो।
बंगबन्धु कपको पनि बहराइन यु २३ विरुद्धको फाइनललाई फिफाले अन्तर्राष्ट्रिय खेलको मान्यता दिएको छैन। (हेर्नुस् फिफाको वेबसाइट) तर माल्दिभ्स, श्रीलंका र बंगलादेशविरुद्धको खेललाई भने मान्यता दिएको छ। यसले फिफाको र्याङ्किङ सुधार गर्न सहयोग गर्नेछ।
बंगबन्धु कप भनेको नेपालले सात वर्षअघि जितेको प्रधानमन्त्री कप जस्तै प्रतियोगिता हो। फरक के भने प्रधानमन्त्री कप नेपालले आफ्नै भूमिमा जितेको थियो, बंगबन्धु कप भने विदेशी भूमिमा। प्रधानमन्त्री कपमा नेपालले दुई टोली उतारे जस्तै बंगबन्धु कपमा पनि बंगलादेशले दुई टोली उतारेको थियो- राष्ट्रिय टोली र यु २३ टोली। बंगबन्धुमा राष्ट्रिय टोलीमात्र होइन यु २३ र अझ मलेसियाको एउटा क्लब फेल्डा युनाइटेड पनि सहभागी थियो।
२३ वर्षपछि विदेशी भूमिमा उपाधि जितेकोसम्म ठीक हो। नत्र यो सात वर्षपछि जितेको अन्तर्राष्ट्रिय कप हो। आधिकारिक अन्तर्राष्ट्रिय उपाधि भने २३ वर्षअघिकै साफको गोल्ड मेडल हो।
म्याच फिक्सिङले बिजोग बनाएको र फुटबलको आकर्षण नै गुम्ला कि जस्तो भएको अवस्थामा नेपाली टोलीले फ्यानहरुका लागि खुशी हुने अवसर भने जरुर जुटाइदिएका हुन्। आशा गरौँ अब २३ वर्षपछि आमन्त्रण प्रतियोगिता हैन साँच्चिकै अन्तर्राष्ट्रिय उपाधि जितेको हामीले देख्न सकौँ। यस्तै प्रदर्शन नेपाली टोलीको रह्यो भने त्यो असंभव पक्कै छैन।
मैले आँखा चिम्लेर प्रसंसा नगरिदिदाँ शायद अनेक आरोप लगाउलान तर यो पुर्ण राष्ट्रिय स्तरको खेल थिएन,नेपाल बाहेको धेरैको राष्ट्रिय टोली थिएन,नेपालले जितेको बहराईन समेत अन्डर २३ टोली हो जुन कुरा जितलाई ठुलो बनाउन लुकाईयो।
हो जितेर ठुलै काम गरेको हो तर यसले हाम्रो मिडियाको चरित्र पनि प्रस्तुत गर्दछ र भएको कमजोरीलाई पनि ठाकछोप गर्दछ अनि पछि सच्चिकै प्रतियोगितामा गोल नै गोल
म यो माईसंसारको नियमित पाठक तथा प्रसंसक हुं । तर अरुको गल्तिलाई खुब औला तेर्साउने माइसंसारले आफूले छापेको पहिलेको समाचार पुर्ण रूपले सहि नभएको कुरामा गल्ति बोध नगरेको देख्दा अलि मुटु दुखो जस्तो महसुस भयो ।
राम्रोसँग पढ्नु भएन जस्तो छ। पढ्नुस् अनि थाहा हुन्छ।
सालोक्यजी,
माईसंसार ले पनि गलत लेख लेख्यो भन्नु भो तर त्यो गलत लेख लेखेकोमा पाठकहरुसंग माफी भने मागेको देखिएन . राम्रै संग पढेको हो लेख तर “माफी” शब्द कहींकतै देखिएन |
गल्तीबोध गरेरै यत्रो लेखेको हो। माफी शब्द नै चाहनु भएको भए ल, यतै लेखिदिएँ न
‘माफी चाहन्छु’
This is one of best reason why i love to read blog in mysansar.com
Thanks for spreading the facts
Thank you very much for spreading the fact.