अहिले रातिको १० बजेको छ। बल्ल आज डायरी लेख्न जाँगर चलिरहेको छ। विगत ५ महिनाको प्रत्येक घटनाक्रमहरु सिनेमाको रिल जसरी फनन्न घुमिरहेको छ। सबै कुरो आजकै डायरीमा लेखुँ लेखुँ लागिरहेको छ। हेरुँ कति लेखिने हो।
आकाश धुम्म थियो। सिमसिम पानी झरिरहेको थियो। सवारी साधन नगन्य थिए। दरवारमार्गको त्यो कार्यालयमा जानै पर्ने थियो। मन बेचैन थियो। मनमा अटेश मटेस कुराहरु थिए। तर ती सबै कुराहरु भन्नु हुँदैन भन्ने पनि थाहा थियो। विगतलाई कोट्याएर किन कसैको भविष्य बिगार्नु ? मलाई त के थियो र, श्रीमान सरकारी जागिरे हुँदै हुनुहुन्छ, घरबाट चामल आइहाल्छ, भोकै मरिने हैन क्यारे। जे पर्ला राजिनामा ठोक्दिन्छु। तर के निहुँ बनाउनु। म्यामलाई के भन्नु? बिरामी भएँ भन्नु पर्ला।
“जसोदा जी, ल किन नि राजीनामा ?”,
म्याडमले राजिनामा पत्रको विषयबाहेक केही हेर्नु नै भएन, हुनत मैले पनि बिरामी भएर कार्य गर्न असमर्थ भएकोले राजिनामा पेश गरेको भन्ने दुई लाइनभन्दा बढी केही लेखेको पनि त थिइनँ। मैले केही बोलिनँ। मुटु दह्रो बनाएँ। म्याडमसँग आखा जुधाउन सकिनँ। म्याडमले नियुक्ति हुने बेला बीचमा छोडेर जाने हैन नि भनेर वचन लिनुभएको थियो। मैले यो मेरो जीवनको सपना हो, छोडने त कुनै आउँदैन भनेर वचन दिएकी थिएँ। जवरजस्ती मुस्कुराई र विस्तारै भने।
“सरी म्याडम, तपाईले दिनुभएको जिम्मेवारी पूरा गर्न सकिनँ, बिरामी भएँ”
“ल ल स्वास्थ्यभन्दा भन्दा ठूलो कुरा केही हुदैँन, अहिले आराम गर्नुस, जब ठीक भै जस्तो लाग्छ, सिधै मलाई भेट्नु, म त्यही दिन हाजिर गराई दिन्छु”
मुटु ढुक्क भयो । आँखामा आई सकेको आँसुलाई रोकेँ। म्याम प्रतिको श्रद्धा ह्वात्तै बढेर गयो। फेरि जहिले आए पनि हाजिर गराउने वचन दिनुभयो । धन्य म्याम हजुर त्यसै नर्सिङ्ग पढेर भए पनि बैंकको जि.एम हुनु भएको रहेनछ।
मेरो सिइओको राजिनामा स्वीकृत भयो। बाहिर आउँदा आकाश खुलेको रहेछ। घाम लागिरहेको रहेछ, आहा कति रमाइलो दिन।
आहो, त्यो दिनको बडे हाकिमको फोन कल, अहिले सम्झँदा पनि कहाली लाग्छ। मेरा सबै सपनाहरु भताभुंग गरेका त्यो कलको बारेमा मैले हालसम्म कसैलाई पनि केही भनेको छैन। भविष्यमा पनि भन्दिनँ। तर मलाई जीवनको कठोर यथार्थ सिकाउने कललाई मैले कसरी बिर्सने।
राष्ट्र बैकवाट अनुमति पाउने वित्तीकै हामी कार्य क्षेत्र हानियौँ। हाम्रो वित्तीय संस्थाका पहिला कर्मचारी दिपजी र जलजीको कार्यरत बैंकमा राजिनामा स्वीकृत भै सकेको थिएन। तुरुन्त शाखा खोलेन भने अरुले कार्यक्षेत्र उम्काउँछन् भनेर उहाँहरुलाई सम्झाएँ। तुरुन्त राजिनामा स्वीकृत हुने सम्भवना नै थिएन। कम्तिमा १ महिना लाग्थ्यो। वैकल्पिक रुपमा उहाँले विदा लिएर शाखा सम्भाव्यता अध्ययन गर्न मनाङ्गको चामे हान्निनु भयो। म जोमसोम तिर लागेँ।
कम्तिमा चामे र जोमसोममा शाखा खोल्ने प्रस्ताव लगियो भने कास्की र लमजुङ्गका केही घना बस्ती भएका स्थानमा शाखा खोल्न उप्रेती सरलाई कन्भिन्स गर्न सकिन्छ, भन्ने हाम्रो बुझाई थियो । चामेवाट फर्के पश्चात कर्जा सीमा बढाएर ग्रामीण मोडेलमा केही परिवर्तन गरे चामे पनि १ बर्षमा नाफामा जाने कुरा साथीहरुले प्रतिवेदन पेश गरे । जोमसोमको पनि अवस्था पनि त्यही थियो । सोही अनुसार ५ वटाको संम्भाव्यता अध्ययन सकेर राष्ट्र बैंकमा तुरुन्त शाखा स्वीकृतिको कागजात गर्दा राति १० बज्यो । पाले राखि सकेको थिएन । सटर लगाउन गाह्रो थियो । राती १० बजे ढ्याङ्ग ढ्याङ्ग गर्दा घरपेटी आमाले चोर भनेर झण्डै नलखटेको ।
कोठा गए पश्चात पनि निन्द्रा लागेन, संचालक समितिको आगामी बैठकको लागि प्रस्ताव तयार गर्न तिर लागे । सवै काम सक्दा रातिको १ बज्यो।
“ हटि हैन डटी लड्न् नेपालीको बानी हुन्छ, कहिले नझुक्ने………………”
मोवाइलको रिंगटोन एकनासले बजी रहेको रहेछ । आँखा मिच्दै उठे । विहानको ७ बजि सकेको रहेछ । बढे हाकिमको फोन रहेछ । हत्त पत्त फोन उठाए।
“हजुर नमस्कार”
…………………..
“हजुर, सवै काम सकियो पर्सि आइतबार बोर्ड राख्न हजुरलाई फोन गर्नै लागेको थिएँ”
……………………..
“हजुर, चामे र जोमसोममा त शाखा त खोल्नै परो घाटा भए पनि त्यही सेवा पुर्याईउने भनेर लाइसेन्स फुत्काएको, बाँकी ३ ठाउँले यी दुईको घाटा ब्यहोर्छ”
……………………..
“हजुर, पुरानो पुलमा सम्भाव्यता अध्ययन गर्न पठाएको थिएँ, साथीहरु त एउटा केन्द्र नचल्ने ठाउँमा कसरी शाखा खोल्ने भन्दै थिए। हजुरले पहिलेदेखि खोल्नै पर्छ भनेकोले म आफै बुझ्न गएको थिएँ। साथीहरुको रिर्पोट सही रहेछ, संस्थाले नाफा कमाउन थालेपछि खोल्दा फरक पर्दैन, अहिलेलाई सकिदैन सर”
“तपाईहरु लघुवित्तवालाहरुको चित्त पनि लघु नै हुने रैछ, त्यत्रो ट्रेकिङ्गको प्रवेशद्वार, फेरि हाम्रो संस्थाले इकमर्स र होमस्टेको बारेमा त्यत्रो योजना बनाएको छ, पुरानोपुलमा शाखा नखोली कसरी हुन्छ, ल कान खोलेर सुन्नुस, पुरानोपुलमा शाखा खोल्ने प्रस्ताव यसै मिटिंगमा ल्याउनुस, शाखा स्वीकृति गराउने जिम्मा मेरो भो, ………को घरमा शाखा राख्नुस …………..लाई शाखा प्रबन्धक बनाउनुस, कस कसलाई कति कति ऋण दिने भन्ने
म लिष्ट दिउँला, Is it Clear?”
लाउड स्पिकरको बटन थिचिएछ क्यारे, बडे हाकिमको बडे स्वर वाहिरै आयो। मझौला कदका, हंसमुख, मीठो बोल्ने बडे हाकिमको व्यक्तित्वदेखि म अन्तरवार्ताको दिनदेखि नै प्रभावित भै सकेकी थिएँ। लामो कालो कोट लगाउने, हातमा Rich Dad Poor Dad किताव, आइप्याड र आइफोन बोक्ने बडे हाकिम संचालक समितिको बैठकमा सधै आदर्शका कुरा गर्थे। मेरो बिहे नभएको भए यिनैसँग लभ गर्थे भन्ने पनि कता कता मनमा आउँथ्यो। तर हाकिको खाने दाँत त अहिले पो देखियो। हुन त प्रारम्भिक खर्चको बिल भपाई देख्दा पनि कता कता चिसो त पसेकै थियो, अहिले आएर शाखा बस्ने घर र कर्मचारी समेत छनौट भै सकेको र कस-कसलाई कति कति लगानी गर्ने लिष्ट समेत तयार भै सकेको भने पछि म डराएँ। छोड्ने बेलामा खत्री सरले भनेको सम्झेँ
“संस्थापक कस्ता रहेछन्, उनीहरुका निहित स्थार्थ के रहेछ, बुझ्नुभयो त”
१५ वर्षको जागिरे जीवनमा हजारौँ ऋणीलाई केलाइयो, करोडौ लगानी गरियो, असुली गरियो, तर सिइओ हुने बेला एक जना बडे हाकिमको निहित स्वार्थ पत्ता लगाउन हडवड गरियो। पौने लाखको तनखा, गाडी र फ्लाटको जालमा परियो। खत्री सर गल्ती भयो।
(श्रवणकुमार सपोर्ट प्रा.लि.ले २०७२ माघ २ गते आयोजना गरेको “संचालक र ब्यवस्थापन बीचको सीमा रेखा” बिषयक अन्तरक्रिया कार्यक्रममा संचालकहरुलाई संस्थागत सुशासनको विषयमा रियलाइज गराउन नाट्यकर्मी अरुणा कार्कीज्यूले अभिनय गर्नुभएको काल्पनिक घटना अध्ययन।)
Good issue of current saturation