– सुरेश ‘समान’ –
सानो छँदा मलाई बोक्सी लाग्यो भनेर भट्टराई बाजेकहाँ फुक्न लगियो। हाम्रो घरमा पालेको गौरी गाईले भर्खरै बाच्छी पाएकीथी। बाच्छीले जन्मेको ४ दिनमै गौरीले सिल्टिमोर खाएकीथी। खै के जाती रोग लागेर हो गोबरमा रगत देखिन्थ्यो गौरीको। मरेपछि अलि परको खोल्सीमा लगेर फालीदिएका थिए गाउँका केटाहरुले। म आमा-बाको आँखा छलेर खोल्सी धाउँथे स्कुलबाट फर्कँदा। एकदिन जे भाका गिद्दहरुले गौरीको सिनो लुछ्दै गरेको देखेँ। मलाई छेउमा जान डर लाग्यो। परैबाट ढुङ्गाले हानेँ। तर ती गिद्दहरु के टेर्थे! हप्ता दिनपछि हेर्दा अब गौरीका हाड मात्र देखिन्थे। गिद्दहरु शायद अर्कै सिनोको खोजीमा निस्किसकेका थिए।
गौरी मर्नु एक दिन अघि निक्कै रोइ-कराइ गरेकी मलाई सम्झना छ। ‘बोक्सीले हो..,’ ओल्लाघर-पल्लाघरकाले गाँइगुँइ गरेको मैले सुनेको थिएँ। जिउ लल्याक्लुलुक हुने, एकछिनमै थाकेजस्तो हुने, खाना नरुच्ने, बान्ता, जरो, छेर्पाटे चलिराथ्यो। अरुबेला आमाको आँखा छलीछली, चोरीचोरी खाने हर्लिक्स पनि खल्लो लाग्न थाल्यो।
बुवाले डाक्टरकोमा पुर्या उनु भयो। डाक्टरले ‘टन्न पानी, झोल, सागसब्जी, र यो चक्की बिहान्, दिउसो र राती केही खाएर ख्वाउनु,’ भनेर आमालाई चक्की थमाइदेको थियो। आमाले चक्की पानीमा घोलेर ल्याइदिने गर्नुभयो। ‘कस्तो तितो’….जहिले नाक्ठीक गर्ने म। २-३ दिन औषधी खाएँ।
तर आमाको मन न हो झट्ट भट्टराई बाजेकोमा पुर्याइहाल्नुभयो। गाँउका सारा मान्छे अलीकती टाउको दुख्यो कि पुगीहाल्थे बाजेकाँ। कसैको पिनास बिनास गर्नु पर्ने हुन्थियो, कोही डङ्किनी ले उपद्रो गरी भन्दै पुग्थे, कोहीलाई खाको पचेन रे, कसैको तल्लो पेट कटक्क काट्ने, भित्री आन्द्रो बाटरिने, जन्डिस, अदाहा आदी आदी। कुल बिग्रिने, देउता रिसाउने त सामान्य थिए। पहिला पनि एकपटक मलाई जङ्गली लाग्यो भनेर दौडाएका थिए, निद्रामा थरथर काँपी रा’थेँ रे।
भट्टराई बाजेले पहिला त सर्सर्ती मलाई हेरे, अनी नाडी छामे, आँखा च्यातेर हेरे, निधार छामे, हातहरु ओल्टाइ पल्टाइ एकछिन घोरिए। दाजु र दिदी पनि सँगै आएका थिए। सबैजना चुप्चाप, मौन। सबैका कान ठाडा, आँखामा अनेकन प्रश्न, डर, त्रास, भय मिस्रित म देख्थेँ। मलाई पनि कहिले यो बुढोले मुख फोर्ला झैँ लागिरा’थ्यो। आमाले त्यो सुन्यता भङ्ग गर्दै – ‘के रैछ त बाजे ?,’ सोध्नुभयो।
‘यो तपाईंको कान्छो छोरो हैन?,’ बाजे बोले। ‘कती दिन भयो यस्तो भा?’
‘आज १० दिन जती भयो होला, एक दिन अगाडिसम्म हट्टकट्ट थियो, टन्न बिगौती खाएर सुतेको केटो, भोलीपल्ट उठ्दा साह्रै,’ आमाले भन्नुभयो।
‘एस्लाई बोक्सी लागेको हो बाजे?,’ दिदि प्याच्च बोली।
‘मलाई था छ कुन बोक्सी लागेको, त्यो रोड पारीकी…,’ दाइले थप्यो। दाइलाई बिचमै रोकेर आमाले ‘चुप लाग तिमेरु, बाजेलाई हेर्न द्याओ,’ हप्काउनुभयो। त्यसपछी दाइले दिदिको कानमा खुसुखुसु के भन्यो कुन्नी दिदी छक्क परेर मुख बाइ र जिब्रो टोकी।
‘कान्छा को आँत ज्यादै कम्जोर रै’छ। आँत कम्जोर भाकालाई छिट्टै बोक्सी चड्छ,’ बाजेले भने। ‘म काँ ल्याउन एक दिन पनि ढिला गर्नु भा’को भए…’
आमाले अनुहार मलिन बनाउदैँ भन्नुभयो – ‘लौ न बाजे के गर्नु पर्छ, गर्नुस। त्यस राच्चेस्नीका आँखा लागे। यो बालखले के बिगारएकोथ्यो र त्यस डन्किनीको, मर्न नसकेकी असती ….’ आमाको आँखामा रिस स्पस्ट देखिन्थ्यो। आमले त्यसरी गाली गरेको पहिलोपल्ट सुन्दैथें। मलाई कता कता डर लाग्यो। म त मर्न पो लागेँ कि क्या हो जस्तो लाग्यो। आमाको आँखाको डिलमा आँसु ढलपल गरेको देखेर झन पक्का भयो। अनाहकै मेरो मुखबाट फुत्कियो – ‘आमा म मर्छु हो अब?’ आमा भक्कानिनु भयो। साडिको फेद तानेर आँखा ओभानो पार्दै भन्नुभयो – ‘हैन बा, त्यसो भन्नु हुँदैन, तिमीलाई केही हुँदैन, बाजेले अब ठीक पारी हाल्नु हुन्छ नि।’ सधैं ‘तँ’ भनेको सुनेको आमाले ‘तिमी’ भनेर सम्बोधन गरेको सुन्दा अनौठो र खुशी पनी लाग्यो। दाइदिदीको अनुहार पनि खिस्रिक्क थियो, अनुहार रुन्चे पारे दुबैले।
‘धन्दा मान्नु पर्दैन कान्छा, म फुकफाक गरेर बोक्सी उतारिदिन्छु,’ बाजेले भने। ‘बरु धुप चामल के ल्याउनु भा छ?’ आमातिर हेर्दै सोधे। आमाले दुइटा अगर्बति सल्काउनुभयो, चामलको पोको खोलेर बाजेको अगाडि राखीदिनुभयो। एक दर्जन जती केरा, ५-७ सुन्तला, नास्पाती र २० का तिन नयाँ नोट पनि बाजेको अगाडि राखिदिनु भयो। ‘ॐ डन्ठकाल घामसरी मत्सेनगरी, धर्ती फोरी गए काला, धर्ती फोरी आए काला, ज्ञान सुमेरअण, ॐ नम: ठ ठ रिङ्ग रिङ्ग फट स्वहा,’ बाजे फुक्न थाले। गुनगुन गुनगुन के के भन्दै आँखा चिम्लेर मेरो निधार आफ्ना चोर औंलो र बुढी औंलो ले अठ्याए अनी बिस्तारै चलाईरखे। धुप मेरो टाउको देखी खुट्टासम्म पुर्याए, ८-१० पटक। बिच बिचमा लामो सास तानेर ‘फु’ ‘फु’ गर्दै म तिर फुक्थे। बेला बेलामा ४-५ गेडी चामल मेरा अनुहारतिर फ्याँक्थेँ। यो श्रीङ्खला केहीबेर चली रह्यो। म फुकिदैँ थिए। आमा केही शान्त हुनु भएको थियो। दिदी दाई टुलुटुलु घरी बाजेलाई, घरी आमालाई त घरी मलाई हेर्थे। धुपको खरानी मेरो निधारमा लाइदिए अनी पाँच औंलाले चामल टिपेर देब्रे हातमा राखेर हेर्न थाले, जोखाना।
‘घर वरीपरी कै कोइ रे’छ,’ बाजेले लामो सास तानेर भने। दाईले दिदिलाई कोट्यौदै बिस्तारै साउती गर्यो – ‘ देखिस् मैले भनेको कस्तो लाग्यो?,’
आमाका आँखा ठुला भए, कसैले चिसो पानीले छ्यापे जस्तो उँहा झस्किनु भयो। बाजे भन्दै थिए – ‘तिम्रो घरको गाई पनि त्यसैको बाणले मरेको हो, मान्छेलाई ताकेकी रे’छ तर पशुलाई लाग्यो। मैले मेरो मन्त्रले कसेको छु, पर्सी फेरी फुकाउन ल्याउनु।’ एउटा कपडाको गूड्या जस्तो आमालाई दिँदै फेरी भने – ‘ल यो लगेर धुरीमा राख्नु, मैले जपेर द्याछु, भुत पिसाच टाढा भाग्छन।’ आमाले कपडाको गूड्या झोलामा हाल्नुभयो अनी म तिर हेर्दै भन्नुभयो – ‘हेर, एक्छिनमै एस्को अनुहार अघी भन्दा कती उज्यालो, रुप रङ नै फेरिए जस्तो।’ अहिले उँहा निकै खुशी देखिनुभयो। अनी फेरी बाजेतिर हेर्दै भन्नुभयो – ‘त्यस राडीलाई बकाउन मिल्दैन बाजे?, सबै बकाएर, नाङ्गेझार पार्न पर्ने,.. अरुले गरी खा’को देखी नसक्ने कस्ती लबस्तरी, आफ्नो लोग्ने त टोकी टोकी, अर्काको घर किन भाड्न पर्यो, भड्उइ।‘ अली मसिनो स्वरमा आमा भन्दैहुनुन्थ्यो – ‘आफ्नी छोरीलाई पनि बोक्सी बिद्या सिकाउँदै छे रे … अस्ती राती गस्ती गर्दै जाँदा खुद हाम्रो प्रहरी रिजाल भाई छैनन्?,.. हो उसैले देखेको रे … रानीबनको ठुलो बरको रुखमुनी दुइटी नाङ्गी आईमाई के के पूजा पाठ गर्दैथे रे। बिचरा एक्लै थे रे डरले परैबाट भागेछन् ति भाई……… टिक्न खान नदिने भै कसैलाई गाँउमा तेस कप्टीले, यसरी कती दिन सहेर बस्ने, तपाईं आँफै भन्नोस त! म, आफुलाई पनि सन्चो नभा जस्तो भै’रा छ २-४ दिन देखी…..सपना पनि के के डरलाग्दा देख्छु, अैँठन हुन्छ घरीघरी। यसरी सांढे भएर हिंड्न दियो भने त भोली हाम्रा लोग्ने छोराछोरीको के दसा पार्ली, सम्झिदा नि आङ सिरिङ्ग हुन्छ मेरो त’। भट्टराई बाजे पनि निकै गम्भिर देखिदैथे, आमाको कुरा निकै ध्यान दिएर सुन्दैथे। बेला बेलामा सहमतीको मुन्टो हल्लिन्थ्यो बाजेको। म भने जम्मै कुरा सुन्दैथिएँ तर बुझ्दै थिइन्।
‘तपाइँले भनेका कुरा मनासीव छन्, मैले धेरैलाई फुकी सकें, प्राय म काँ आउने सबैले तँपाइले जस्तै रिस, आक्रोस पोख्छन,’ आमाको कुरा सुनी सकेर बाजेले भने। ‘सारा गाँउलाई था छ, यो गाँउको बिख को हो भनेर। समस्या काँ नेर छ भने, तँपाइ हामीले ‘लौ प्रहरिको जिम्मा लाईदिउ न त’ भन्न पनि के भनेर उजुरी गर्ने – ‘बोक्सीलाई थुनी पाँउ’ भन्न भएन, आज सम्म कहीं नभाको कुरो। उल्टै उजुरी गर्देली र पारीएला फसादमा। मैले सोंचेको त बरु केही उपाय निकालेर तेस्को सेखी झार्ने अनी रातारात गाँउ निकाला गर्न पाए ढुक्कै हुन्थ्यो। टन्टै साफ। अरु दुई चार जनालाई पनि खबर गरौं अनी पर्सी तपाईं छोरालाई लिएर एता आँउदा पोख्रेल्नी, तिम्सिनी, रिजालनी, कोइराल्नी, खतिओड्नी..सबैलाई साथै लिएर आउनोस्। म ध्रुबे, शक्ती र शम्भुलाई पनि डाक्छु अनी छिनोफानो गरौला, हुन्न?’
आमाले ‘हुन्छ ल तेसै गरौं,’ भन्नुभयो। आमा र बाजेले अरु धेरैबेर एस्तै कुराहरु गर्नुभयो। म त त्यहीं भुसुक्कै निदाएछु। पछी जानेबेलामा आमाले ‘बाबु ल हिड घर जाँउ, ढिला भो’ भनेर उठाउनु भयो। दाई दिदी अघी न कती खेर गै सकेछन्। म उठ्दा भट्टराईनी बजै पनि थीइन्। जाने बेलामा उनले भनिन् – ‘ल अली चाँडै आउनोस है बैनी पर्सी।‘ आमाले ‘हुन्छ,’ भन्नुभयो।
घर पुग्दा बुवा आइसक्नु भएको थियो अफिसबाट, घटना र बिचार सुन्दै हुनुन्थ्यो। हामीलाई देख्ना साथ – ‘आखिर भट्टराई बाजेकोमा पुर्याइ छाड्यौ है?,’ भन्नुभयो। आमाले ‘अँ पुर्याए नि, फुकाएर ल्याएकी,’ भन्दै भान्सातिर लाग्नुभयो।
‘अहिले कस्तो छ त बाबु तलाई, खै एता आइज त,’ म बुवाको नजिक गएँ। उहाँले मेरो टाउको छाम्नु भयो अनी अफिसको झोला खोतल्दै भन्नु भयो – ‘ल मैले यो जीवनजल लेर आको छु, आज राती अस्ती डाक्टरले देको दबाइ खाने अनी एस्को झोल टन्न खाएर सुत्ने, बुझिस?’ मैले ‘हुन्छ’ को टाउको हल्लाँए। भोलीपल्ट दिँउसो पनि बुवाले आँफै जीवनजल बनाउनु भयो….जती नमिठो लागे पनि बुवाको डरले चुपचाप पिएँ। साँझमा अनार, मेवा र केरा खाँए। पर्सीपल्ट बिहान दुधमा हर्लिक्स हालेर आमाले दिनुभयो। साह्रै मिठो लाग्यो। भात पनि टन्न रुच्यो, कहिले नथप्ने म, थपी थपी खाएँ। बुवा आमा खुशी हुनु भयो। भात खाएर हात चुठ्तै गर्दा आमाले बुवालाई भन्दै हुनुन्थियो – ‘अब आज फेरी भट्टराई बाजेले बोलाका छन, दिँउसोतिर पस्नुपर्ला….फुक्न’।
‘अब बिसेक भैसक्यो, पर्दैन…वाइहातको खर्च….दबाइ खाँदैछ नि…..की सकियो?’ बुवाले भनेको सुने।
‘बाँकी छ अझै एक पत्ती…..मनको सान्ती नै…अस्ति फुक्दा फुक्दै कस्तो चङ्गा देखिएको थियो, तपाईंले जे भने नि ति बुढा जान्ने चै जान्ने छन है…. त्यत्रो ओखती गरेका गिरीकी श्रीमतीको अल्सर त तिनैले ठीक पारे…..बिचराहरु काँ मात्रा धाएनन….कल्कत्ता, काठमाडौं, भेलोर,’ आमाले भन्नु भयो।
‘लौ तिमीले नै जानेको छौ अनेक्खन्न, मलाई अफिस जान ढिला भयो, म उठें, तिमी पनि खाना खाउ।’ एक्छिनमा बुवा निस्कनु भयो। त्यो दिन म फेरी पहिले कै जस्तोगरी फुकिएँ। स्कुल सकेर दाई दिदी पनि भट्टराई बाजेकोमा आए। आमाले ‘भाइलाई लिएर तिमेरु घर जाओ म एक्छिनमा आँउछु,’ भन्नुभयो। हामी रिक्सा चडेर फर्कियौँ।
दाइको एसएलसि दिने तयारीमा थियो शायद। घर फर्किदैं गर्दा दाइले मलाई जिस्काउदै भन्यो – ‘अब त पनि बोक्सो होस्, बोक्सी लागेको मान्छे बोक्सो हो,’ भन्दै अनेक आवाज मा “ही ही ही हु हु हा हा” हाँस्न थाल्यो।
‘हैन भाई हैन…जे पायो त्यही नभन्नु त ! तपाइँ नै बोक्सा,’ दिदीले अली कड्केर भनी।
‘हजुरबुवाले भनेको बोक्सीहरु त मान्छेको घरमा राती, जम्मै मस्त सुती सकेपछी पस्छन् रे, अनी खुन चुस्छन् रे…खुन चुसेको दाग नै बस्छ रे जिउमा,’ दाईले भन्यो। मलाई झन डरलाग्यो। कतै मेरो जिउमा पनि त्यस्तो दाग त छैन? कतै मेरो खुन त चुसिएन? आज राती बोक्सी आएर खुन चुस्दा चुस्दै म ब्युँझे भने? दिदिले म डराएको चाल पाइछ क्यार, म तिर हेर्दै भनी – ‘तेस्ता बोक्सिलाई त झाक्रीले ठीक पारी हाल्छन नि, फेरी भट्टराई बाजे झाक्री पनि त हुन, केही हुँदैन अब।’ मलाई ढुक्क भयो।
भोलि बिहान –
म ओछ्यानमै थिएँ। आमाले चिया टेबलमा राखेर ‘उठ अब, कति सुत्छस्, आजबाट स्कुल जानु पर्छ,’ भनेर मेरा पाखुरा घचेँट्नु भयो र बाहिर निस्किनु भयो।
‘सञ्चै हुनुन्छ भाउजु?’ कसैको आवाज मेरो कानमा ठोक्कियो। ‘ठिकै छु, बिनोदबाबुको के छ? आज बिहान बिहानै कता? टाढै?’ आमा बोलेको सुनियो।
‘ए आज त्याँ स्कुलमा मिटिङ छ…अनी दाई खै त?’
‘बिहानै हेडसरको फोन आकोथ्यो…त्यै मिटिङमा जानुभयो होला, म पूजा कोठामा लागे, भेटै भएन, स्कुलतिरै भेट्नुहुन्छ होला बाबुले.’
‘ए लौ त भाउजु म लाग्छु, सबै जम्मा भैसके होलान।‘
‘अनी बाबु के पर्यो त्यस्तो, के को मिटिङ हो एती सबेरै?’
‘ल भाउजुलाई था छैन?’
‘खै था छैन त बा’
‘त्यो रोड पारीकी बिदउइ छैन, गंगा क्या… बिचरीलाई अस्ती राती जे भाका गुण्डाहरुले मराणासन्न हुनेगरी भकुरेछन्…आची खुवाउने, तातो पन्युँले डाम्ने, जे ले भेटो उहीले हानेछन्…हात खुट्टा भाच्ने गरी…….छोरीलाई पनि जथाभावी गरेछन्। आमा छोरी दुबै हस्पिटलमा छन् रे…आमाको त बाच्ने आसै मारिसके रे डाक्टरहरुले……छोरी पनि बौलाई लस्तो मान्छे देख्यो कि मनपरी छाडा गाली गर्छे रे… चिथोर्ने, झम्टिने गर्छे रे। मेरी जाहान कामगर्ने हस्पिटलमा नै भर्ना गर्यारेछ…छोरी त बौलाईसकी…पागलखाना पठाउने कुरो छ भन्दैथिन।’ बिनोद काकाले सबै कुरा एकै सासमा सुनाए। ‘ल भाउजु म अब चैं लागे, बाँकी कुरो भरे दाइले ल्याउनु होला,’ आमाले केही बोलेको सुनिएन।
यो सब सुनीसक्दा मेरो निद्रा पुरै खुली सकेको थियो। जुरुक्क उठें। फिनिनी टाउको घुमे जस्तो भयो, आँखा अगाडि पुरै अन्धकार….च्वास्स मुटु घोचे जस्तो भयो। भट्टराई बाजे, पोख्रेल्नी, तिम्सिनी, रिजालनी, कोइराल्नी, खतिओड्नी, ध्रुबे, शक्ती र आमाको अनुहार आँखा अगाडि झल्याक्झुलुक आए, बिलाए, आए, बिलाए। गर्मीले चिटचिट पसिना छुट्न थाल्यो, हतार हतार झ्याल खोलें। कान तातेजस्तो भयो। आफ्नै मनलाई प्रश्न सोध्न पनि डरलाग्यो। किन भने त्यो प्रश्नको उत्तर दिनु पर्नेहुन्थियो र मलाई उत्तर था हुँदा हुँदै पनी मेरो सुन्ने क्षमता थिएन, म सुन्न चाहन्न थेँ। तुरुक्क आँसु झर्यो। मेरा आँखाहरु रोडपारी गएर अडिए, निकैबेर। खोल्सिमा लडेकी गौरी मेरो आँखामा झल्याक्झुलुक आउन थाली। ति गिद्दहरु आउन थाले जो गौरीको सिनोमा ताण्डव मच्चाउँदैछन्। मरेको सिनो खाने गिद्दहरुले मलाई गिज्याउछन् र सोध्छन् – ‘ए मान्छे! लु भन् हामी दुईमा के फरक देखिस?’
इतिश्री!
टीन एज त्यस्तैगरि खेपेको यो ‘काहिला’ले, लु जा! कथाको प्रस्तुति, समाज चित्रण र यसको काल फेरि याद दिलायो कथाकारले, साधुवाद छ है !
राम्रो
एक दम मुटु छोयो, बिशेष गरि कथाको उत्तरार्द भावनात्मक छ, हाम्रो समाजलाई राम्रो संग दर्पण प्रदान गर्नु भएको छ लेखकले
एकदम चित्त बुज्दो कथा थियो / मलाई एकदम दामी लग्यो / सामाजिक संदेश दिने मन छुने कथा थियो ल