Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राष्ट्रविप्लव : खेलाडीलाई लाग्ने, सिके राउतलाई नलाग्ने?

Posted on January 1, 2016January 1, 2016 by Salokya

नेपालमा अहिले अनौठो भइरहेको छ। म्याच फिक्सिङ गरेको आरोपमा खेलाडीहरुलाई अरु कुनै कानुन लाग्ने नदेखेर राज्यविरुद्धको अपराध अन्तर्गत राष्ट्रविप्लवको मुद्दा ठोकिएको छ। तर खुल्लमखुल्ला नेपालबाट मधेस भन्ने देश टुक्राउनु पर्छ भन्दै सैन्य शैलिको तालिम र नमूना जनमत संग्रह गर्दै हिँड्नेलाई भने त्यत्तिकै खुला छाडिएको छ। नभएको कानुनमा खोजीखोजी राष्ट्रविप्लव ऐन आकर्षित गराइएको छ भने सीधै आकर्षित हुने घटनामा भने सरकार चुप लागिबसेको छ।

पहिलोपोस्टमा हामीले तराई मधेसको विभिन्न जिल्लामा झण्डै एक महिनादेखि ‘नेपाल’ देश टुक्र्याएर ‘मधेस देश’ निर्माण गर्न तालिम सुरु भएको एक्सक्लुसिभ खुलासा गरेका थियौँ। लाहानका दुई स्कूलमा सुरक्षा निकायकै नाकमुनि खुल्लमखुल्ला यस्ता गतिविधि हुँदा पनि प्रशासन अहिलेसम्म मूकदर्शकै बनिरहेको छ।

को हो देश टुक्राउन चाहने?
अहिले एकतर्फ मधेसका लोकतान्त्रिक शक्तिहरु आन्दोलनमा छन् भने अर्कोतर्फ राउतको विखण्डनवादी शक्तिहरु पनि सक्रिय छन्। पहाडे राष्ट्रवादले सबै मधेसीलाई भारतीय ठान्दै देश टुक्राउन खोजेको ठान्छन्। जबकि देश टुक्राउने अभियानमा सिर्फ राउत लागेका छन्। अहिले आन्दोलनमा रहेका दलहरु नेपालभित्रै आफ्नो पहिचान, सम्मान र अधिकारका लागि आन्दोलनरत छन्।

के गर्दैछन् राउत?
राउत लामो समयदेखि भइरहेको आन्दोलनबाट पनि कुनै निकास ननिस्केपछि निराश मधेसीहरुलाई नेपाल हैन छुट्टै देश बनाए समस्या समाधान हुने लोभ देखाउँदै आफूतिर आकर्षित गर्ने प्रयास गरिरहेका छन्। आन्दोलनरत दलहरु पनि माग पूरा नभई आन्दोलन फिर्ता भए राउत जस्ता विखण्डनवादीहरु हावी हुने र गलत बाटोमा आन्दोलन मोडिने चिन्तामा छन्।

राउतका कार्यकर्ता नेपाली राज्यप्रति घृणा फैलाउँदै सैन्य शैलिको तालिम गराउँदै हिँडेका छन्। नेपाल कि मधेस भन्दै प्रतीकात्मक जनमत संग्रह गराउँदै हिँडेका छन्। आन्दोलनलाई सम्बोधन नगर्ने दलहरुको कदम र मधेसीलाई भक्कुमार गाली गर्ने पहाडे राष्ट्रवादी शैलिले उनीहरुलाई नै फाइदा गर्दैछ। जति गाली मधेसीविरुद्ध गरिन्छ त्यति फाइदा उनीहरुलाई भइरहेको छ।

के राउतलाई यत्तिकै छाडिएको छ त?
त्यसो त सिके राउतलाई सरकारले यसअघि राज्यविरुद्धको अभियोग अन्तर्गत मुद्दा चलाउने प्रयास नगरेको भने होइन। तर कमजोर अनुसन्धानका कारण यसले उल्टै राउतलाई नै फाइदा पुर्‍यायो। गत वर्ष भदौमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। त्यसपछि उनको चर्चा झन् बढ्यो। सिके राउतले अदालतमा झुटो बोलेर उन्मुक्ति पाए। उनले बोलेको झुटको प्रतिवाद सरकारी पक्षबाट हुन सकेन।

कसरी झुटो बोलेर उम्किएका थिए राउत?
स्वराज्य अर्थात् भारतको स्वतन्त्रताका लागि महात्मा गान्धी वर्षौँ जेल बसे। दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेला पनि वर्षौँ जेल बसे। तर गान्धी र मन्डेलालाई आदर्श मानेको बताउने राउत भने एक महिना जेल बस्दै आत्तिए र आफूले खुल्लमखुल्ला भन्दै आएको कुरालाई पनि इन्कार गरी जेलबाट छुट्ने बाटो रोजे।

गत वर्ष असोजमा विशेष अदालतका अध्यक्ष न्यायाधीश मोहनरमण भट्टराई, न्यायाधीशद्धय भूपेन्द्रप्रसाद राई र नरेन्द्रकुमार सिवाकोटीको इजलासमा उनले आफ्नो पुस्तक र वेबसाइटमा लेखिएका विषयलाई पनि लेखेको होइन भनी झुटो बयान दिएका थिए।

उनलाई अदालतमा सोधिएको थियो- तपाइँले नेपालको दशगजादेखि उत्तर पूर्व मेचीदेखि पश्चिम मध्य र उत्तरमा चुरे पर्वतसम्मको भूभागलाई टुक्राएर छुट्टै मधेश राष्ट्र स्थापना गर्न स्वतन्त्रता मधेश गठबन्धन (AIM) को घोषणापत्र तयार गरी मधेश राष्ट्रको प्रस्तावित राष्ट्रिय गान र झण्डाको प्रस्ताव गरि मधेश स्वराज पुस्तक तयार गर्नुभएको भन्ने अभियोग सम्बन्धमा तपाइँको भनाई के छ?

यसमो जवाफमा उनले ‘राष्ट्र टुक्राउने कुरा होइन, राष्ट्रिय एकता र समृद्धिको कुरा हो’ भनेका थिए।

अदालतमा उनको बयान हेर्नुस्-

CKRaut

बयान हेर्दा सरकारको कमजोर प्रस्तुति र राउतको उम्किने दाउ प्रष्टै देखिन्छ।

के छ कानुनमा ?
राज्यविरुद्धको अपराध र सजाय ऐन २०४६ मा यस्तो छ

4 thoughts on “राष्ट्रविप्लव : खेलाडीलाई लाग्ने, सिके राउतलाई नलाग्ने?”

  1. madan bajracharya says:
    January 2, 2016 at 10:42 am

    कथित मधेशबादी सिके रावतले बोलेर लेखेर रास्ट्र द्रोह गरेकै हो साम्प्रदाईक बिखन्डन गर्न खोजेकै हो र नेपाल र नेपाली नारि प्रति अत्यन्त आपतिजनक कुरा गरेकै हो/ तेस्लाई देस द्रोही र समाज बिरोधि आरोपमा उसले भनेको लेखेको र गरेको सबै प्रमाणहरु केलाई केलाई सर्वोच्च अदालतमा मुद्दा चलायको भय सिके आज जेलमा हुन्थे/ तर तेसो गरियन/ सिकेले देस टुक्राउने अभियान चलायको पहाडी मधेसी भनेर समाज बिखन्डन गर्न खोजेको र नेपाल आमालाई पनि “……..” भनेको लाई पनि कथित मानव अधिकार वादिहरु ठुला दलका ठुला नेताहरुले पनि सिकेले तेसो भन्ने मानव अधिकार भित्र परेको भने; मधेश्बादिले त् उसलाई कार्यवाही गर्नु मधेश बिरोध हुने भने/ सिकेलाई कुन आधारमा निर्दोष भनिय त्यो कुरा भन्न जरुरि छैन/

    सिके हेर्दा यकल देखिन्छ/ तर उसको पछाडी तराइ नेपाल बात अलग्याउने योजना तथा षड्यन्त्र गर्दै आयको ठुलै शक्तिको आड भयको जो कोहिले अनुभव गर्न सक्छ/ यति नभयको भय उसले आफ्नै खर्चले देस टुक्राउन अभियान स्तरमै लाग्न युवाहरुलाई त्रेनिंग दिन सक्दैनथ्यो/ यस्तो कुकार्य गर्न सानो रकमले पुग्दैन यसको निमित उसलाई कसैले आर्थिक सहयोग गर्दै आयको सजिलै अनुमान गर्न सकिन्छ/

    सिकेले अहिले गरे लेखे तेस्तै प्रयास सन् १९५६मा अर्थात नेपाल संयुक्त रास्ट्र संघमा सदस्य बनेको लगतै रघुनाथ ठाकुर ले पनि गरेको थियो र दिल्ली सम्झौता पछि गोइतले पनि गरेको थियो/ रघुनाथ ठाकुरले तराइ लाइ नेपाल बात अलग्याउन भारतको सहयोग पाउन दिल्ली मा भारतको सदन अगाडी धर्ना दिंदै आत्म दाह्को प्रयास समेत गरेको थियो/ मधेशबादीहरु रघुनाथ ठाकुरलाओ आफ्नो महान नेता तथा प्रथम सहिद मान्छन/. बाबुरामको सरकारमा मन्त्रि बनेका मधेश्बादिले त् पदमै रहेर रघुनाथ ठाकुरको जयन्ति समेत मनाउँदा पनि उनीहरुको (!!!!) प्रधान मन्त्रि चुप बसेर रघुनाथ उसको पनि “…..” भयको जस्तो देखायो/

    सिकेले गरे बोले भन्दा भयङ्कर गर्ने बोल्ने गोइत हुन्/ उसले त् खुले आम तराई बात पहाडिया लाइ भगाउन हतियार नै उठायो/ पहाडियालाई लखेट्नु मार्नु अपराध होइन समेत भने/ गोइतलाइ पनि केहि कार्यवाही गरेन/

    रघुनाथ, गोइत र सिके ले जस्तै अहिले मधेशी हारे भारत हार्छ भन्ने राजेन्द्र महतोले गिरिजाको सरकारमा मन्त्रि हुँदा पहाडियाहरु तराइमा रहने हो भने मधेसीको हुकुमत मानेर बस्नु पर्ने भनेथ्यो/

    तराइ ईतिहासको कुनै कालमा पनि मध्यदेस भनियको थियन/ तराइको भूभागमा मात्रै होइन तराइ सिट जोडेको भारतको बिहारको कुनै भूभागमा पनि मध्य देस नामको राज्य कहिले बनेकै थियन/ त् तराइलाइ मध्यदेस बनाउनु पर्ने त् के मध्यदेस भन्नु पर्ने पनि माग गर्ने ई पुर्व बिहारिहरुलाई कुनै हक छैन/ किन भने इनिहरु पुर्व बिहारीहरू हुन् र पुर्व बिहारीहरू तराइ बासि सिट अनुहार र जात मिल्दैमा मधेसी बन्न सक्दैन/ यदि कुनै मधेश्बादिलाई यो कुरा गलत लागे बिहारमा हुन्जेल आफुलाई बिहारी भन्ने कसरि नेपालको नागरिकता लिय पछि मधेसी बन्छ आधार र प्रमाण देउन/

    Reply
  2. sushil says:
    January 2, 2016 at 8:44 am

    नेपालमा राम्रो शासन चलेको भए आज सी. के. राउतले एउटा राम्रो बिज्ञान प्रयोगशाला खोलेर धेरै नेपाली बिधार्थीहरुको आदर्श बनिसक्ने थिए होला.
    राउत मधेशी भएको हुनाले पहाडीले पेल्यो भनेर छुट्टै राज्य चाहियो भनेर लाग्न पाएको छ. तर मिस्टर राउतले थाहा पाइराख्न जरुरी छ, संसारभरी धेरै नेपाली साइन्टिस्टहरु छन् जो नेपालमा सरकारसंग हार खाएर आफ्नो ज्ञान बिदेशमा पोखिरहेका छन्. फरक के भन्दा उनीहरु नेपालमा सरकारबाट को-अपरेसन भएन भनेर छुट्टै हिमाली अथवा पहाडी राज्य चाहियो भन्दैनन्.
    अझै पनि सरकारले महतो, यादव, कर्ण जस्ता बेवकुफ लम्फुहरु भन्दा राउत जस्तो इन्टेलिजेन्ट मान्छे संग को-अपरेसन गरेको खण्डमा तराईबासीको भलो होला. राउतसंग यति त विवेक थियो कि बेइजती तालले नाकामा धर्ना बसेर दुनियालाई दुख दिनुहुदैन भन्ने. ज्ञान भएको मान्छे नेता बन्दा र क्याम्पसको दादा नेता भन्दाको फरक येही हो. पश्चिमा शक्तिलाई सन्तुलनमा राख्न सक्ने कनेक्सन र त्यो भन्दा पनि ठुलो कुरा तराईको विकासमा प्रयोग हुनसक्ने मान्छेलाई (बिगतमा पहाडमा जस्तो) कलिला नानीहरुलाई बन्दुक बोकाउने मान्छे बन्न दिनुहुदैन.

    Reply
  3. bijay says:
    January 1, 2016 at 12:40 pm

    कुरा स्पस्ट छ, जसको सक्ति उसको भक्ति हुञ्छ नेपालमा / कानुन भनेको सानोतिनो अपराध गर्नेलाइ मात्र लाग्छ/ ठुलै रुपमा कानुन उल्लङ्घन गर्नेहरु क्रान्तिकारी कहलाउछन् र उस्तै परे देशका उच्च पदका दाबेदार हुन्छन/ अनि त्यस्तालाइ कसले कारवाही गर्ने ?
    जस्तो कि दस वर्ष पहिला प्रचण्डको टाउकोको मोल तोकिएको थियो अनि अहिले ति नै माओबादीका दुश्मन पुलिस प्रचण्डको सुरक्ष्यामा लागेको छ / हिजका चरीका धर्म पिता आज देशका परधन मुन्तुरी भएका छन्/ambulance जलाउने, बिरामी बच्चाको समेत ज्यान लिने , अत्याबस्यक औसधि समेत भित्रिन नदिने देशद्रोही राजेन्द्र महतोको उपचार नेपालकै अस्पतालमा भैरहेको छ/
    अब सी के रावत पनि त्यै श्रेणीमा त पर्छन नि /
    कारवाही हुने भनेको त त्यै खेलाडीलाई त हो नि (गणेश थापालाइ पनि हॊइन ) / ग्वाच खेलाडीहरुले क्रान्तिकारीले जस्तो राजनीति गर्न सकेनन अनि दुख पाउछन/

    Reply
  4. Surya says:
    January 1, 2016 at 11:28 am

    यस्तालाई अहिल्यै तह लगाएन भने फेरी माओबादी-समस्या भोग्नु पर्ने हुन्छ.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme