Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रेमिटेन्सले भिजेको बाँझो गाउँका बूढा सोध्छन्- हामी मर्दा को रोइदेला बाबै?

Posted on January 3, 2016December 31, 2015 by mysansar

unnamed बागलुङको बिहुस्थित एउटा सानो गाउँ करलिमको आर्थिक स्थिति कायापलट भइसक्यो। पहिले निम्न मध्यमवर्गीय जीवन बिताउनेहरुको यो बस्ती अहिले उच्च रेमिट्यान्स भित्र्याउने गाउँमध्येमा पर्छ। तर भएभरका गरिखानेहरु गाउँ बाहिर हुँदाको सामाजिक स्थितिलाई नियालेका छन् नारायण कँडेलले। रेमिटेन्सको पैसाले लुछुप्पै भिजेको तर बिस्तारै बाँझिदै र उजाड बन्दै गएकोबारे उनले लेखेको ब्लग-

‘होटलमा बिजी छु, पछि फोन गर्छु ल,’ मेरो कानमा यो आवाज त्यस्तो ठाउँबाट आएको थियो जहाँ वरपर कतै होटलको नामोनिसान थिए। गाउँमा बच्चाहरु खेल्दै थिए। त्यही क्रममा काठको टुक्रालाई कानमा राखेर मोबाइल जस्तो बनाई एक जना बालक यसो भन्दै रहेछन्।

ती केटाकेटीहरु के खेल्दै थिए, मैले बुझ्न सकिनँ। तर सुनिएको कुराले अनुमान भने पक्कै लगाउन सकिन्थ्यो, यी बच्चाहरु मध्ये एक जना विदेशमा भएको अभिनय गर्दैछन्।

करिब १६० घरधुरी रहेको रहेको यही गाउँ करलिम नेपालकै धेरै रेमिट्यान्स भित्र्याउने गाउँमध्ये एक हो। यहाँका तीन सयभन्दा बढी त जापानमा मात्र रोजगार, व्यवसाय गरिबसेका छन्। जापानका एक व्यवसायी तथा करलिम समाज जापानका संस्थापक अध्यक्ष ऋषिराम कँडेलका अनुसार ती मध्ये २०० देखि २५० जना पूर्णकालीन रोजगार तथा स्वरोजगारमा छन्। यही गाउँबाट गएकाहरुको पूर्ण स्वामित्वमा जापानमा ६१ ओटा सफल ब्यापार व्यवसाय छन्।

रोजगारीबाट मात्र यो गाउँमा मासिक औसत ५ करोड रेमिट हुने गर्छ। अर्थात यो गाउँ परदेशीको उन्नति प्रगतिले रामैसँग भिजेको छ। त्यसैले हुनुपर्छ गाउँका केटाकेटीको भाँडाकुटी खेलमा समेत विदेश यात्रा जोडिन थालेको।

तर सिक्काको अर्को पाटो पनि छ। परदेशमा निक्कै सफलता प्राप्त गरेका युवाको पुर्ख्यौली गाउँ भने उजाड हुन थालेको छ। गाउँका ठूलाठूला खेतका गराहरु र बारीका पाटाहरु बाँझै छन्, अन्नबाली छैन। आलीकान्लासमेत सम्मै पारेर वनमारा झार मौलाएको छ।

गाउँमा हली, खेतालो, सुखमा जन्ती र दुःखमा मलामी हुन योग्य तन्नेरीहरु छँदै छैनन्। पढने उमेर पुगेका बच्चाहरुलाई गुणस्तरीय शिक्षाका नाममा सदरमुकाम र अन्य शहरका छाप्रे बोर्डिङतिर झारिएको छ। विद्युतीय पुस्तकालयसहितको सुविधा सम्पन्न गाउँको स्कुलमा निःशुल्क पढ्नका लागि विद्यार्थीहरु कम हुन थालेका छन्।

पहिले निकै दुःखजिलो गरी बनाएका कतिपय ठूलाठूला ढुङ्गे घर र बंगलाहरु अहिले मुसा, माउसुली र वन बिरालाका जिम्मा छोडिएका छन्।

करलिम गाउँ अहिले यस्तो छैन
करलिम गाउँ अहिले यस्तो छैन

बाँझो र उजाड

रेमिटेन्सको पैसाले लुछुप्पै भिजेको तर बिस्तारै बाँझिदै र उजाड बन्दै गएको बागलुङको बिहुस्थित एउटा सानो गाउँ करलिमको कथा हो यो। यहाँका लगभग ८५ प्रतिसत युवा जापानमा व्यवसाय र रोजगारीमा जमेका छन्। करिब ५ प्रतिशत अन्य देशमा होलान्। बाँकी पनि सके जापानै नसके अन्यत्र भए पनि जाने प्रयासमा छन्। नेपालमै बसेका यो गाउँका युवाको संख्या ज्यादै न्यून छ। तिनीहरु पनि गाउँमा छैनन्। गाउँ केवल बूढाबूढी र केटाकेटीको जिम्मामा छ।
चौतारोमा सुस्ताउँदा, आफन्त वा दौँतरी भेटिँदा गाउँका बूढापाकाहरु गाउँ छोडेर परदेशिएका युवाकै विषयमा कुरा गर्छन्। हाम्रो काखमा खेलेका, हाम्रै आँखा अगाडि हुर्किएका हाम्रा गाउका युवा हामी मर्नुभन्दा पहिले परदेशबाट फर्केलान् कि नफर्केलान्? उनीहरुले विदेश गएर गरेको प्रगतिमा रमाउँदा रमाउँदै पनि आफ्नै जीवनकालमा गाउँमै देख्ने रहर छ बूढापाकाको।

दीपे बूढासँग म।
दीपे बूढासँग म।

‘वल्लो-पल्लो टोल घरका कोही यहाँ छैनन्। गैरी खेतदेखि थामसम्मका हुर्केका केटाकेटीहरु सबै उतै भएपछि हामी मर्दा को रोइदेला बाबै?’, दीपका ७३ वर्षीय जगपति कँडेलले सबै बूढाबूढीको पीडा सुनाए।

‘अब त फर्क न बाबु, वनमाराले खेतबारी खाइसक्यो,’ लामो समयपछि घुम्दै गाउँ पुगेको मलाई मायाले सुम्सुम्याउँदै उनले गीतै गाएर सुनाए। स्वर्गीय लोकबहादुर क्षेत्रीको लयमा आफनो पीडाको लय मिलाएर गाएको यो गीतमा परदेशिएका युवालाई कारणसहितको आग्रह पोखिएको थियो।

गाउँ एउटै, सपना फरक। बूढाबूढी यस्तो गीत गाएर पीडा सुनाइरहेका छन् भने बच्चाहरु खेल्दा पनि विदेशै गएको अभिनय गर्दै खेल्छन्।

गाउँमा पहिले जस्तो चहलपहल छँदै छैन। सँधै व्यस्त हुने गाउँको माथिपट्टीको जौछरे गौचरन पुग्दा सुनसान थियो। पहिले साँध सिमाना चापेर घास दाउरा लैदिएको, थुनेको वनमा पशु चौपाया छोडिदिएको, अर्कोको पशुले बार बान्नो भत्काई दिएको जस्ता झैझगडा मिलाउने भद्र भलादमीहरु पूरै बेराजगार छन्।

गाउँमा हुने रस रमाइला बाजागाजा पहिले जस्तो जम्दैनन्। अहिले गाउँको स्वाद एक प्रकारले जापानतिरै सरेको छ। पहिले गाउँमा असारदेखि कार्तिकसम्म चौमासा हुन्थ्यो। गाउँकै सशिधर सुवेदी र थामको अर्को भजने टोलीले यो चार महिना रात-रात भर भजन गाएर गाउँलाई नै नचाउँथे। अहिले उनै सशिधरका नाति भुमिश्वरको भजन मण्डली जापानमा सकृय छ। गाउँका पण्डित देवीलाल सुवेदी अहिले उतै कर्मकाण्ड गराउँछन्। जहा शिव, उहीँ शिवालय भनेझैँ लगभग सबै गाउँलेहरु नै उतै भएपछि गाउँका गतिविधि अहिले उतै सरेका छन्।

असफल प्रयास

यहाँबाट सबैभन्दा पहिले जापान गएर व्यवसाय सुरु गरेका दीपक सुवेदी गाउँ र गाउँलेको आर्थिक हैसियत उठेको तर जापानको विकल्प दिन स्वदेशमै आकर्षक रोजगारको श्रृजना गर्न नसकिएको बताउँछन्। उनीसहित अर्का व्यवसायी दीपक कँडेल, अनन्त रिजाल लगायत गाउँका युवाले ‘जन्म गाउँ स्वर्ग बनाउँ’ अभियान सुरु गरे। गाउँमा थुप्रै कामहरु गरे। तर यी प्रयासले गाउँलाई बाँझो र निर्जन हुनबाट भने रोक्नसकेको छैन। अभियान गाउँको भौतिक विकासका लागि आर्थिक श्रोत त भएको छ तर त्यसको असर देखिएको छैन।

उदाहरणका लागि कम्प्युटर शिक्षाका लागि जापानबाट आवश्यक भौतिक र आर्थिक लगानी त भयो। तर विद्यालयसँग सूचना प्रविधि अथवा कम्प्युटर सम्बन्धमा विज्ञतासहितको जनशक्ति नै भएन। त्यसको व्यवस्थापन विद्यालयले गर्न सकेन।

यो अभियानले गाउँको सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउने वा अतिरिक्त अग्रेजी पढाउनका लागि पहल भयो। तर यस्तो पहलमा संलग्न ऋषिराम कँडेलका अनुसार विद्यालय परिवार यस्तो प्रस्तावबाट त्यति खुसी र सकारात्मक भएन। बच्चालाई स्तरीय शिक्षा पढाउन सदरमुकाम जान्छौ भन्दै दिनदिनै जापान फोन गर्नेहरुलाई जवाफ फर्काउन पनि गाउँमै अग्रेजी, कम्प्युटर र अन्य स्तरीय विषयको पढाई होस् भन्ने थियो तर कुरा श्रोतको मात्र रहेनछ।

के रेमिट्यान्स नै भविस्य हो त?

कुनै बेला निम्नमध्यम वर्गीय जीवन स्तर अँगाल्ने यो गाउँका गाउँलेहरुले आर्थिक उन्नतिका हिसाबले छलाङ्ग नै मारेका छन्। यो परिवर्तन चानचुने हुँदै होइन। देशको अर्थतन्त्र रेमिट्यान्समा टिकेको अवस्थामा आफनो गाउँलाई सबैभन्दा उच्च रेमिट गर्ने स्थानमा पुर्यादउने यो पुस्ता आफैमा सफल हो। तर सोच्नुपर्ने के भएको छ भने के रेमिट्यान्स नै भविस्य हो त?

पहिले यहाँका केटाकेटी खेल्दा गाईभैसीको गोठ, गोठाला खेतालाको अभिनय गर्थे। सम्भवतः अहिले जापान जमेको पुस्ता उबेला बच्चामा यस्तै खेल्थे। तर यहाँका बच्चाहरु भने अरु केही वर्ष विदेश गएको अभिनय गरेर बालखेल खेल्ने छन्। किनकि टिमको सफलता वा अन्य स्वदेशी सफलता यो गाउँका बच्चाको सपना होइन। यी बच्चाहरुलाई विदेशको सपनाबाट कसरी छुटाउने?

ठीक यही प्रश्नमा हाम्रो युवा पुस्ताले परदेशमा पाएको सफलताबाट गाउँले वा नेपालले कसरी लाभान्वित हुने भन्ने विषय जोडिएको छ।

गाउँ जाँदा खानीखोलाको किनारमा खेल्ने बच्चाले पाइलट भएको, डाक्टर प्रोफेसर भएको खेल खेल्ने दिन कहिले होला? ‘मलाई अमेरिका यही, मलाई जापान पनि यही’ भन्ने पशुपति शर्माको गीत परदेशमै लगेर बजाएर उतै नाच्ने स्थितिको अन्त्य कसरी र कहिले होला?

[के तपाईँले पनि यस्तै अरु कुनै गाउँ देख्नुभएको छ? यस्तो समस्याको दीर्घकालीन समाधान के हुनसक्ला? आफ्नो विचार तल कमेन्टमा राख्न सक्नुहुन्छ]

6 thoughts on “रेमिटेन्सले भिजेको बाँझो गाउँका बूढा सोध्छन्- हामी मर्दा को रोइदेला बाबै?”

  1. Bayan says:
    January 5, 2016 at 7:47 am

    के पी ओली जस्ता अरु दुइ चार वोटा प्रधानमुन्तरी भए भने यो समस्या तुरुन्तै समाधान हुन्छ/

    Reply
  2. dor Prasad says:
    January 5, 2016 at 2:09 am

    दीर्घकाली समाधान देश विकास नै हो … नेपाल मा महा मानब जन्मिनु आबसेक छ |

    अरु देश मा श्रम निर्यात गर्ने मलेसिया र उ कोरिया अहिले नेपाली श्रम आयात गर्छन !

    देश विकास नहुनु मा धेरै जिम्मेबार छन् जस्माध्हे अहिले को बुढो पुस्ता पनि जिम्मेबार छ | मतलब सबै जिम्मेबार होइन्नन, थोर बहुत सबै जिम्मे बार |

    नेपाली बिदेशी हावा ले छोयो आब बुढापाका लै बेदेसै लगे हुन्छ |

    Reply
  3. uttam singh says:
    January 4, 2016 at 12:17 am

    देशको अवस्था पनि तेस्तै छ,जे गर्दा पनि पैसा नै चाहिन्छ ,देसका युबाहरुको बिदेसिने बाहेक अरु कुनै विकल्प छैन ,तेसैल म पनि अहिले बेदेश्मै छु.

    Reply
  4. Anuradha says:
    January 3, 2016 at 9:40 pm

    Marmik

    Reply
  5. nilam says:
    January 3, 2016 at 7:50 pm

    देखन नपरोस अरु गाउ |

    Reply
  6. phool prasad kandel says:
    January 3, 2016 at 6:08 am

    narayan dai.. well said.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme