Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथा : राहत

Posted on December 26, 2015December 27, 2015 by Salokya

-सन्तोष पौड्याल-

saturday-fiction “तिसमा पन्ध्र पैतालिस दुई सतचालिस जम्माजम्मी सत्र”। आकाशले हिसाब निकाल्यो। उसलाई सन्ताप पर्यो। उसका सतचालिस बर्षे हजुरबा कब्जियतले गानिएर मरेका थिए रे। तिस बर्ष नपुग्दै उसलाई पनि कब्जियतले समात्यो। उसलाई पनि पचास त कट्दिन होला जस्तो लाग्छ। जसोतसो मन बुझायो र नोकरीको ट्रायल दिन नेसनल थियटर हिड्यो। “कमाएर पो के गर्नु ? स्वास्थ्य नै राम्रो नभए’सी। मैले कसलाई कमाइदिनु छ र? बा को आफ्नै कमाइ छ। आमालाई बचुन्जेल पेन्सनले छेलोबेलो हुन्छ। रोगी नभएको भए बिहे गर्थे केटाकेटी हुन्थे। अनी जेथा जोड्ने रहर पनि हुन्थ्यो होला।” बाटाभरी कुरा खेलाउदै ऊ बसस्टप पुग्यो। बिदेश पढ्न आउँदा लागेको खर्चमात्र तिरिदिन पाए उसलाई ढुक्क हुन्थ्यो। उसका बा पनि सन्तोष मान्थे।

उसले बिहे गर्ने सोच पनि नबनाएको होइन। केटी पनि नहेरेको होइन। तर भाग्यले साथ दिएन। एकदिन केटी हेर्न बालाई लिएर साँझपख ऊ चिफ्लेढुङ्गा पुग्यो। केटीपक्षकाले भब्य स्वागत गरे। मसलेदार माछा, मासु, तारेको अन्न र घिउ हालेको पारीकार भोजन गराए। पुग्यो भन्दाभन्दै आकाशलाई अल्ली बढी नै हालिदिए। घर टाढा भएकोले होटेलमा बस्नुभन्दा त्यही बस्न अनुरोध गरे। आकाशका बाले काट्न सकेनन्। त्यो रात त्यही बास बसे।

आकाश बिहानै उठेर बाथरुम पस्यो। ट्वाइलेटबाट हत्तपत्त बाहिर ननिस्किने उसको बानी नै हो। वा बाध्यता हो। आउला भन्यो, आउला भयो, ऊ दुई घण्टा बाहिर निस्केन। घरका सबैलाई च्यापिसक्यो। सबैलाई छट्पटी भयो। ऊ हतार-हतार बाहिर निस्कियो। मुख कालो भएको थियो। त्यसै माथि कालोपोतो। केटीको बाउ छिरिहाल्यो। “ला, हतारमा फ्लस गर्नै बिर्सेंछु” उसले निस्केपछी बल्ल सम्झियो।

केटी हेरेर फर्केको हप्तादिन बित्यो। बोलावट आएन। केटीका बाले भने रे “खान्दान र पढाई त राम्रै हो तर केटालाई पेटको हर्सा रहेछ।” आकाशका घरपट्टिकाले धेरै पछी थाहा पाए।

उसका बा खुब रिसाए। “जाबो गुहुलाई काबुमा राख्न नसक्नेले यत्रो राख्छस्, आईमाईलाई काबु।” आकाशका बा आर्मिका रिटायर्ड। कडा मिजासका। तेसैले होला आकाश पनि कहिलेकाही अली कडा देखिन्छ। अर्को पटक केटी हेर्न दुई बाछोरा भएर गलेङ हिंडे। बिचमा पुग्दा माओवादीले बाटो छेकेछ। आकाशले बाइक अगाडि बढाउन खोज्यो। एउटा सिसुपाल आएर रोक्यो। ऊ प्याट्टै बोल्यो “तेरो बाउको बाटो हो यो?” तीन चार जना मिलेर उसलाई रामधुलाई गरे। उसलाई खुलेर दिशा आयो। पिटाइ खाए पनि पेट साफ भएकोमा ऊ खुशी नै भयो। अर्को बिहान केटीको घरमा पुगे। हातमा पट्टी बाधिएको थियो। जख्मी केटालाई बहिनी नदिने भनेर केटीको दाजुचाहीँ बिच्कियो। फेरी पनि बिहे क्यान्सिल भयो। अरु ठाउँमा पनि त्यस्तै पारीरह्यो। आकाशले स्वास्थ्यलाभ गरेपछी मात्रै केटी हेर्न जाने निधो गर्‍यो। तर बिसको उन्नाइस हुने छाट देखिएन।

ऊ मास्टर्स गर्न नर्वे आयो।

…………….
ऊ समयमै नेसनल थियटर पुग्यो। मेनेजरलाई सिभी बुझायो। ट्रायल पास गर्‍यो। अर्कोदिन देखी समयमै काम गर्न आउने कुरा तय गरेर होस्टेल फर्कियो। दुइचार दिनमै उसको कामले मेनेजर खुशी भयो।

उसले स्वास्थ्यलाई निकै ध्यान दिन्छ। गाजर र सागपात धेरै खान्छ। बिहानै उठेर तातोपानी पिउँछ। तर पनि उसको रोग निको भएको छैन। एकबिहान उसले पत्रीकामा पढ्यो। दिशा पिसाब जती ब्यस्त भएपनी रोक्नुहुदैन। दिशा रोक्नु नै कब्जियतको मुल कारण हो। ऊ अफिस गयो। उसलाई दिनभर दिशा लागेजस्तो मात्रै भईरह्यो। ऊ पटक पटक बाथरुम गयो। तर दिशा आएन। मेनेजरले केही समस्या छ? भनेर सोध्यो। उसले छैन भन्यो। ऊ फेरी बाथरुम पस्यो। मेनेजरले फेरी जिज्ञासा राख्यो। उसले दिशा-पिसाब गरिरहनु स्वास्थ्यबर्धक हुने कुरा सुनायो।

धेरैदिन यस्तै भएपछी मेनेजरले उसलाई डाक्टर भेट्न र केही दिन बिदामा बस्न सल्लाह दियो। उसले नाइनास्ती गर्दा-गर्दै पनि केही शिप चलेन। ऊ बिदा बस्नु पर्ने भयो।

एक्लै कोठामा बस्दा उसको मन झन् अस्ठिर भयो। साथीलाई बोलायो। गफ गर्दै जाँदा कब्जियत हुने मान्छेले तातोपानी खान हुन्न भनेर साथीले सुनायो। उसले चिसो पानी खान सुरु गर्‍यो। चिसो ठाउँमा चिसो पानी उसको ज्यानले सहेन। रुघाखोकी लाग्यो। पुरानो ब्यथा झन् बल्झियो।

उसले गुगल हेर्यो “हत्तेरी मासु खान नहुने।” उसले लगातार तीन चार दिन देखी मासु खाएको थियो। अब उपरान्त मासु नखाने निर्णय गर्‍यो।

नर्वेमा यसै पनि सागपात महँगो। झन् पछी झन् उसको गोजी सँगै ज्यान पनि सुक्दै गयो। “खै हजुरबा जत्ती पनि बाँचिन्न क्या हो?” उसलाई चिन्ता पर्‍यो। मर्ने नै भएपछी किन पढ्नुपर्‍यो। उसले नेपाल फर्किनु पर्छ कि भन्ने बिचार गर्‍यो। झ्याप्प सम्झियो “सागपात पो महँगो छ नर्वेमा। उपचार खर्च त सित्तैमा जस्तो छ नि। फर्के पनि रोग निको पारेर फर्केने निधो गरेर डाक्टरको मा गयो। डाक्टरलाई सबै कथा ब्यथा सुनायो।

डाक्टरले जम्मा दुई स्ट्रिप औषधी लेखिदियो। आवश्यक परे पछी थप्ने सल्लाह दियो। रोग निको पार्नेमा डाक्टरले ढुक्क पार्यो। औषधी बोकेर ऊ होस्टेल फर्कियो।

के औषधी दिएछ भनेर उसलाई जिज्ञासा लाग्यो। उसले गुगलमा औषधीको नाम सर्च गर्‍यो। “थुक्क कुपु” ऊ एक्लै करायो। “कब्जियतको नाममा नशाको औषधी बेचेर मलाई उल्लु बनाउला भन्ने ठानेको? चोर, फटाहा त जहाँ पनि हुने रैछन्।” डाक्टरलाई फोन गरेर मारकन गाली गर्‍यो।

अर्को दिन फेरी अर्को डाक्टरलाई भेट्न गयो। सबै समस्या बुझायो। अघिल्लो दिनमा आफु नजान्ने डक्टरको फन्दामा परेको विवरण पनि दखिला गर्‍यो। डाक्टरले उसलाई शान्त पार्दै भन्यो ” तिमीलाई कब्जियत भन्दा पनि मानसिक समस्या बल्झदो छ। तनाब कम गर र खनपानमा ध्यान देउ, कब्जियत आँफै निको हुन्छ।” आकाशलाई लाटो रिस उठेर आयो। औषधी नदिने गफ मात्र दिने डाक्टरदेखी घृणा जग्यो। उसले यो कुरा तत्कालै फोन गरेर साथीलाई भन्यो ” ल तिमी नै भन त, म पागल जस्तो देखिन्छु त? तो डाक्टरले त मलाई मानसिक समस्या पो भन्छ त।”

साथीले रिप्लाई गर्‍यो “यहाँका डाक्टरहरु हाम्रो देशमा जस्तो बिरामीमा मनलाग्दो टेस्ट गर्न पाउन्नन, त्यसैले प्राक्टिकल्ली राम्रा हुन्नन। अनी हामी बिदेशीलाई किन देऊन् फ्री मा औषधी।” आकाशको मनलाई शान्ती मिल्यो।

ऊ अफिस गयो। आफ्नो ठाउँमा काम गर्ने अर्कै पो राखेछ। उसलाई भाउन्न भयो। मुखले मात्रै ठीक्क पार्छन् कुहिरेहरु। ऊ बाटाभरी एक्लै फत्फतायो। उ बेखर्ची बन्दै थियो। अनी मनमा बाह्रथरी चिन्ता पनि थियो।

ऊ घर फर्किने निष्चय गर्‍यो। सोच्यो “नेपालको पढाई नि के कम छ र?” राम्ररी पढे त्यहा नि हुन्छ। यस्तो दु:ख पाएर के बस्नु। बरु नेपाल गएर राम्ररी उपचार गराउछु। निको भए पढाई मात्र पुरा गर्न फेरी फर्के पनि भो।

ऊ केही दिन मै घर आयो।
…………
घरमा सबै खुशी भए। उसले भेटघाटको लागि मात्र आको भन्यो। सबै कुरा खोलेन। साँझ हजुरआमाले रायोको साग र भात खान दिइन्। खाना खाँदै गर्दा उसले सोध्यो “हजुरमा, हजुरबा बित्दा कब्जियत मात्र भएर बित्नुभो कि, अरु पनि दु:ख पाउनुभो नि?”

हजुरआमाले भनिन् ” अँ बा, कती दिन अस्पतालमा थला परेर, गुहुमुत भएर जानुभको हो”। ऊ झन् डरायो।

चिन्तित भएर सोध्यो “हजुरबालाई कसरी कब्जियत भयो नि?”

“कब्जियत त कहाँ थियो र बा? सुरुमा पेसरले पारालाइसिस भएर अस्पताल भर्ना हुनुभो। केही अन्नपानी मुखमा नपरेपछी केही दिन कब्जियत भएको हो।
ऊ ढुक्क देखियो। नचाहिदो हावा फैलाउने आफ्ना सिपाही बालाई मनमनै गाली गर्‍यो।
……………
हजुरबाको रोगको निदानले आकाशलाई उपचार गरेजस्तो भयो। ऊ खुशी देखियो। उसका बाले समय मै सत्य ओकलेको भए उसलाई यतीबिघ्न चिन्ता पर्थेन होला। चङ्गा भएको मनलाई थपक्क सँग ओच्छ्यानमा बिसायो। उसलाई बषौ पछी मिठो निद्रा पर्‍यो।

बिहान उठेर नित्यकर्ममा लाग्यो। उसको पेट साफ भयो। उसको मुहारमा टलक आयो।

2 thoughts on “कथा : राहत”

  1. सिर्जने says:
    December 31, 2015 at 8:42 pm

    राम्रो कुरो, तर कथा नै भनेर स्वीकार्न अलि मन लागेन …..

    Reply
    1. Maite says:
      January 2, 2016 at 12:56 pm

      कथा नभने यसलाई उखान भन्देउ न् त सोल्टी! कसको बाउको के जाने र?

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme