Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कस्तो सुस्त सरकार? १ गतेको घटनालाई ५ गते बल्ल देख्ने!

Posted on December 21, 2015December 21, 2015 by Salokya

12399088_10153899594970962_891991582_n राष्ट्रपति विद्या भण्डारीलाई जस्तो शब्दले लाञ्छित गरियो भनेर अहिले मिडिया र सोसल मिडियाले कुरा उचालिरहेको छ, त्यो शब्द यहाँ लेख्न पनि असभ्यपन ठान्छु म। भलै एक जमानामा त्यही विषय तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गर्ने इलेक्सन क्याम्पेनको भाग रहेको थियो। त्यसैलाई एमालेले सहानुभूतिको मत बटुल्ने एउटा हतियार बनाएको थियो। अहिले भने परिस्थिति फरक छ। विद्या भण्डारी मात्र विद्या भण्डारी हैनन्। उनी राष्ट्रपति हुन्। त्यो पदमा जो बसे पनि राष्ट्रको सर्वोच्च व्यक्ति हुन्। राष्ट्रको एकताका प्रतीक हुन्। जनकपुरमा विद्या भण्डारी व्यक्ति होइन, राष्ट्रपति पद गएको हो।

घटना पुस १ गतेको थियो। पुस १ गते विवाह पञ्चमीको अवसरमा राष्ट्रपति जनकपुर जाने क्रममा चर्को विरोध भयो। झडप भयो तर धन्न मान्छेको ज्यानै जाने घटना भएन। घटना यत्तिकै सामान्य भइसक्ने थियो तर मिडिया र सोसल मिडियाले उचालिदियो।

१ गतेको घटना तीन/चार दिनपछि पो बल्ल चर्चा र बहसमा आयो। १ गते भएको अपमानलाई तीन/चार दिनपछि पो महसूस गरियो।

सरकार पनि साह्रै सुस्त। पुस १ गतेको घटनाबारे ३ गते शुक्रबारको मन्त्रिपरिषद् बैठकमा समेत केही कुरा उठेन। पाँच दिनपछि बल्ल आज पुस ५ गते मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेर राष्ट्रपतिमाथि गरिएको दुर्व्यवहारको प्रयास र उहाँप्रति लगाइएको लाञ्छना ‘सिंगो राष्ट्र, लोकतन्त्र र गणतन्त्रमाथिको प्रहार’ भनेर भर्त्सना गरेको विज्ञप्ति आयो त।

पुस १ गते जानकी मन्दिरबाट निस्कँदै गर्दा राष्ट्रपतिको सवारी चल्दै गर्दा पेट्रोल बम हानिएको समाचार भारतीय मिडियाले दिएका थिए। राष्ट्रपतिमाथि गरिएको दुर्व्यवहारको प्रयास भनेको त्यही हो भने तत्काल किन सरकारको प्रतिक्रिया आएन? भोलिपल्ट वा पर्सिपल्ट किन आएन? गौरमा सुरक्षाकर्मीको गोलीले एक जना १८ वर्षका विद्यार्थीको मृत्यु भएकै दिन आकस्मिक मन्त्रिपरिषद् बैठक बसेर यस्तो विज्ञप्ति आउनु संयोग हो कि के ?

के सरकारलाई जनकपुरमा के भएको थियो वा के भइरहेको छ थाहा थिएन? राष्ट्रपति जस्तो व्यक्तिमाथि भएको अपमानको कुरा पाँच दिनपछि बल्ल थाहा पाउने सरकारको सूचना संयन्त्र कति फितलो त !

यस्तो छ मन्त्रिपरिषद् बैठकको निर्णय-

सम्माननीय राष्ट्रपति विद्यादेबी भण्डारीज्यू यही पुष १ गते विवाह पञ्चमीको अवसरमा जनकपुरस्थित जानकी मन्दिरमा दर्शनका लागि पुग्नुहुँदा त्यहाँ उहाँप्रति केही अराजक र उच्छृंखल व्यक्तिहरुले गरेको दुर्व्यवहार र लगाएका लाञ्छनाहरुप्रति मन्त्रीपरिषदको यो बैठक निन्दा र भत्र्सना गर्दछ । यस्तो दुर्व्यवहार ऐतिहासिक धार्मिक स्थल जानकी मन्दिर र जनताको धार्मिक आस्थामाथिको समेत प्रहार हो । उक्त घटनाप्रति मन्त्रीपरिषदको यो बैठक खेद व्यक्त गर्दछ। नेपालको संबिधानले सम्माननीय राष्ट्रपतिलाई राष्ट्रिय एकताको प्रतीक र संबिधानको संरक्षक मानेको छ। गणतन्त्रको प्रतीकका रुपमा रहनुभएका सम्माननीय राष्ट्रपतिप्रति जनकपुरमा गरिएको दुव्र्यबहारको प्रयास र उहाँप्रति लगाइएका लाञ्छना सिंगो राष्ट्र, लोकतन्त्र र गणतन्त्रमाथिको प्रहार हो । महिला भनेर उहाँप्रति लगाइएको लाञ्छना नारीलाई विभिन्न रुपमा पूजा गर्ने हाम्रो संस्कृति तथा संस्कार विपरित समस्त महिला जगतमाथिको समेत अपमान हो । राष्ट्रको शिर झुकाउने यस्तो अभद्र र असभ्य व्यबहार भविष्यमा दोहरिन नदिनेतर्फ सम्बद्ध सबैको गम्भीर ध्यानाकर्षण गराउँदै दोषीउपर कानून बमोजिम कार्वाही हुने कुरा यो बैठक स्पष्ट पार्दछ।

जनकपुर प्रकरणमा कुरा यसरी बिग्रियो-

१) अहिलेको स्थिति राष्ट्रपति मधेस जाने थिएन। राष्ट्रपति विवाह पञ्चमीको दिन जानकी मन्दिर जानै पर्ने त्यस्तो कुनै परम्परा पनि थिएन। मधेसमा आफ्नो उपस्थिति देखाउनैका लागि मात्र राजनीतिप्रेरित भ्रमण जरुरी थिएन।

२) राजनीतिक प्रकृतिको आन्दोलनमा विरोध राजनीतिक प्रकृतिको हुनुपर्छ। आन्दोलनकारीले मन्दिरभित्रै समेत तोडफोड गर्ने काम गरे।

३) सोसल मिडियामा राष्ट्रपतिलाई लाञ्छित गर्ने शब्द प्रयोग भएका ‘प्रदीप झा’ भन्ने कुनै एक व्यक्ति (को हुन् कुन्नि, खोज्दा भेटिन्न अहिले) को स्टायटस स्क्रिनसट राख्दै सबै मधेस र आन्दोलनकारीको धारणा नै त्यही हो भने जसरी कुप्रचार गरियो।

४) भारतीय मिडियामा आएको कुरालाई सम्बन्धित व्यक्तिले खण्डन गरिसक्दा पनि नपत्याएर भारतीय मिडियामै आएको कुरामा विश्वास गरियो।

यतिले कुरा बिगारिसकेको थियो। अहिले देशमा एक पक्षले अर्को पक्षको जतिसुकै सही कुरा पनि गलतै ठान्ने गरी ‘साइबर बाल्कानाइजेसन’को स्थिति छ। अनि के चाहियो र।

आन्दोलनकारीले मन्दिरमा गंगाजल छर्कँदा

एक पक्षले देखे- राष्ट्रपति प्रवेश गरेका कारण अपराधीहरुले गंगाजल छर्केर मन्दिर शुद्ध पारे।
अर्को पक्षले देखे- राष्ट्रपति आउँदा छालाको जुत्ता, पेटी लगाएर प्रवेश गरेर अशुद्ध भएकोले शुद्ध पारिएको हो।

सरकारले पाँच दिनपछि अराजक र उच्छृंखल व्यक्तिहरुले गरेको दुर्व्यवहार र लगाएका लाञ्छनाहरुप्रति निन्दा र भर्त्सना गर्‍यो। पेट्रोल बम हान्ने दुर्व्यवहारको त पुलिससँग रेकर्ड होला तर लाञ्छनाको प्रमाण चाहिँ के? त्यही सोसल मिडियामा आएको प्रदीप झाको फेसबुक स्टायटस, भारतीय मिडिया? लाञ्छनाको अर्को कुनै पब्लिक डकुमेन्ट त भेटिँदैन। अनि यसलाई अतिरञ्जित बनाएर फाइदा के?

जहाँसम्म सरकारले कानुन बमोजिम कारबाही गर्ने भन्ने कुरा छ। त्यो सरकारको काम हो। यस्तो कुरा विज्ञप्तिमा लेख्ने हैन, गरेर देखाउनु पर्छ। कानुन बमोजिम कारबाही गर्ने भन्ने विषयलाई पनि मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ भने त्योभन्दा हास्यास्पद विषय अरु हुन्न।

3 thoughts on “कस्तो सुस्त सरकार? १ गतेको घटनालाई ५ गते बल्ल देख्ने!”

  1. madan bajracharya says:
    December 22, 2015 at 9:09 pm

    नेपालीलाई नेपालको हिमाल पहाड तराइमा जान पाउँछ बसोबास गर्न पाउँछ/ कुनै पनि पहाडी हिमालीले कुनै कथित मधेसीलाइ पहाड हिमालमा बसोबास गर्न रोकेको छैन, मधेसी हो भन्ने रास्ट्रपति उपरास्त्रपति मन्त्रि सांसद नेता बन्दा कसैले हुँदैन भनेको छैन, त् बिद्या भण्डारी जनकपुरको मन्दिर जाँदा आफुलाई मधेसी भन्नेहरुले आपति किन?

    अगाडी निर्दोष नागरिकलाई उभ्यायर पछाडी बिहार बात ज्यालादारीमा ल्यायको कार्यकर्ता गुण्डाबात प्रहरी माथि आक्रमण गर्न लगाउनुको तात्पर्य मात्र सके सम्म बढी निर्दोष नागरिक आहत बनायर नेपाली मधेसीहरुलाई नेपाल प्रति घृणा जगाउने इनिहरुको षड्यन्त्रनै रहेको देखाउंछ/

    देसको रास्ट्रपति जाँदा त् यस्तो कुकर्म गर्नेले भोलि आम नेपालीलाई के गर्ला इनिहरुले? इनिहरुको ठुला नेताहरुले संबिधान सभाको चुनाव अघि सम्म तराइ बात पहाडी हिमालिलाई लखेट्ने अभियान नै चलायको थियो/ मधेसी हारे भारत हार्छ भन्ने राजेन्द्र महतोले मन्त्रि पदमै रहंदा “पहाडी हिमाली तराइमा बस्न मधेसीको हुकुमत मानेर बस्नु पर्ने” भनेको थियो/ अहिले उ जस्तै बिहारमा जन्मे हुर्केको पुर्व बिहारी मधेसी नेताहरुको नेतृत्वमा नाकाबन्दी देखि रास्ट्रपति माथि समेत आक्रमण भयको छ/ तराइमा यदि कसैले पुर्खाले जन्मले नेपाली मधिसे माथि सोसन गरेको थियो भने तेस्तो शोसन इनिहरु जस्तै पुर्व बिहारिहरुले नै गरेकोहो/

    अब प्रहरीले कार्यवाही गर्दा इनिहरुले मानव ढालको रुपमा अगाडी उभ्यायकोलाई होइन इनिहरुलाई टार्गेट बनाउनु पर्छ/ अब यस्ताको हिंसक आन्दोलनमा प्रहरीलाई पठाउँदा गतिलो भिडियो क्यामरा सहित निपुण र अचुक निसाना मार्ने स्नापर प्रहरी साथमा हुनु पर्छ/

    Reply
  2. Prakash PM says:
    December 21, 2015 at 2:53 pm

    जे जस्तो भए पनि एउटा कुरा ध्रुब सत्य छ यो घटनामा जुन छे र भई रहन्छ l अनि यो एमाले ले किन यस्तो बेलामा तिनीलाई मधेस पठायो ? यो नेताहरु के यहि चाहन्थे ? र अन्तमा अहिलेको अवस्थामा नेपालमा सरकार को उपस्थिति नै छैन l होइन भने यसरि जथाभावी समाचार सम्प्रेक्षण गर्ने सबैलाइ कडा कारवाही गर्नु पर्यो र यस्ता पत्रिकाहरुलाई बन्द गरिनु पर्यो l खालि उखान टुक्का मात्र भएर देश चल्दैन l

    Reply
  3. bindu says:
    December 21, 2015 at 2:19 pm

    यस्ता कुरामा दादागिरी देखाए झैँ छानबिन आयोग नै गठन गर्ने खर्च त बरु ऐले
    भूकम्प पिडित हरुका बालबालिकाको लागि क्यै गर्न सके त्यो लाख हुने थियो !
    सुन्नमा आएको छ भूकम्पका कारण गिरीबीले पिल्सिएका ३० लाख बालबालिका
    बिभिन्न रोग कुपोषण आदिको शिकार भएका छन् . ति रास्ट्रका कर्णधार हरुको
    भबिष्य अँध्यारो बन्दै गएको छ —
    ४-५ जना तुच्छ बदमास प्रवृतिकाले त्यस्तो ब्यबहार गरेको देखे पछी प्रहरीले तू
    त्यस्ता व्यक्तिलाई पक्राउ गरेर मानहानीको मुद्दा लगाई थुनिदिए भईहल्थ्यो . अब
    ऐले सोसल मिडिया आदिले यहि कुरालाई लिएर आगो बाल्ने काम गर्या छ अनि
    सरकारले चै त्यो छानबिन आयोगको गठन नै गरेर घिउ थापिदिया छ !
    अचम्मै ! काम नपाएको सरकार जस्तो !
    २-४ व्यक्ति त्यो हद सम्मको तुच्छ बदमास कार्यलाई लिएर ऐले एमालेले जनताको सहानुभूति क्यास खोजेको छ !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme