सोनिस नामले नचिने पनि तपाईँ कसरी भुल्न सक्नुहुन्छ भूकम्पको त्रासदीको बेला आएको एउटा आशालाग्दो समाचारलाई। भएको त्यो चमत्कारलाई। भूकम्पका कारण भत्किएको घरको भग्नावशेषबाट २२ घण्टापछि जिउँदै उद्दार गरिएका बालक आज १ वर्ष पूरा गरेर २ वर्षमा टेके। भूकम्पमा पुरिँदा उनी ५ महिनाका मात्रै थिए। सोनिसलाई मैले काठमाडौँ इन्टरन्यासनल फिल्म फेस्टिभल (किम्फ) को क्रममा कुमारी हलमा पहिलो पटक प्रत्यक्ष देखेँ। ‘भाग्यले बाँचेकाहरु’डकुमेन्ट्रीमा त्यो चमत्कारी उद्दार कार्यको विवरण थियो। डकुमेन्ट्री सकिएपछि मञ्चमा डकुमेन्ट्रीका पात्रहरुलाई डाकिएको थियो। त्यही क्रममा रश्मिला अवाल आफ्नो त्यही भाग्यमानी छोरालाई लिएर आएकी थिइन्। दर्शक दीर्घाबाट ताली परर बजेको थियो सोनिसका लागि। सहपाठी साथी शंकर तिवारीको बिहे पार्टीबाट फर्किएर बाटो परेकोले श्रीराम पौडेलसित हलभित्र पसेको हुनाले साथमा क्यामेरा थिएन। त्यो दिन सोनिसको फोटो खिच्न सकिएन।
तर सोनिसको हँसिलो अनुहार भने मनमा झल्झल्ती आइरह्यो। उसलाई हेरेर मात्रै पनि सबै दङ्ग थिए। उसलाई छुन र बोक्न चाहने र फोटो खिच्न चाहनेहरुको घुइँचो थियो।
पर्सिपल्ट फेरि अर्को संयोग जुर्यो। त्यो दिन किम्फमा भूकम्पबारे सर्ट फिल्महरुको कम्पिटिसनमा टप १० फिल्म प्रदर्शन गर्ने र शीर्ष ३ लाई पुरस्कृत गर्ने कार्यक्रम थियो। ११ बजे सुरु हुने शोमा जाँदाजाँदै ढिला भयो।
यसमा पनि सोनिसको उद्दारलाई नै मुख्य विषय बनाएको ‘धर्तीपुत्र’ डकुमेन्ट्री रहेछ। १४ वर्षका विद्यार्थी आदित्य खड्काले बनाएको यो डकुमेन्ट्री तेस्रो भयो। मञ्चमा फेरि डाकिए रश्मिला र सोनिसलाई। सोनिस अहिले पनि उस्तै हँसिलो।
आज भने मसँग क्यामेरा थियो। पुरस्कार वितरण सकिने बित्तिकै नजिकै गएर क्यामेरा तेर्स्याएँ। तर दुर्भाग्य ब्याट्री सकिएकोले त्यही माथि राखेको एउटा फोटो बाहेक अरु खिच्न सकिएन। मोबाइलबाट खिचौँ न त भनेर हेर्दा स्पेस फूल पो।
मान्छेहरु उसलाई बोकेर फोटो खिच्दै थिए। सोनिस नचिनेको मान्छेसँग पनि दङ्ग थियो।
मैले सोनिसका बुबा श्यामसँग सोधेँ, बाबु कहिले जन्मिएको?
उनले सुरुमा त प्रश्न बुझेनन् अथवा वैशाख १३ गतेको पुनर्जन्मलाई नै जन्म भन्ठानेर झुक्किए। मैले होइन, होइन जन्मिएको कहिले भनेर सोध्दा उनले भने, ‘ए, मंसिर २९ गते।’
‘अहो, बर्थ डे पो आउन लाग्यो है !’
उनी हाँसे अँ भन्दै।
यता सोनिस बाबु उर्फ धर्तीपुत्रलाई बोकेर फोटो खिचाउनेहरुको भिड अझै घटेको थिएन। म चाहिँ भिडले घेरिँदा पनि हाँसिरहेको सोनिसको फोटो खिच्न नपाएकोमा चुकचुकाउँदै थिएँ।
केही समयपछि आमा रश्मिला र बाबु श्यामसँगै सोनिस हलबाट बाहिरिन भर्याङ चढ्दै थिए। फेरि अर्का बूढा दर्शक आइपुगे। ‘अहो, बाबु त भाग्यमानी, ढोग्नुपर्छ’ भन्दै ढोगे। र फेरि बोकेर फोटो खिच्न खोजे। आमा रश्मिला पटक्कै दिक्क मानिरहेकी थिइनन्।
पक्कै पनि भाग्यमानी, उनको बारे डकुमेन्ट्री बनाउनेलाई पुरस्कारको कमी भएन। भाग्यले बाँचेकाहरुले अडियन्स च्वाइस र बेस्ट डकुमेन्ट्री अवार्ड हात पार्यो भने धर्तीपुत्र सर्ट फिल्ममा तेस्रो भयो।
सोनिसको केही फोटो मैले किम्फको फेसबुक पेजमा भेट्टाएँ। यो हेरेर पनि तपाईँ अनुमान गर्न सक्नुहुन्छ किन उनी आकर्षणको केन्द्र बने। कति हँसिलो छ उनको मुहार।
त्यहाँ देखाइएका डकुमेन्ट्रीको लिङ्क त मसँग छैन तर कसरी उनको उद्दार संभव भयो भन्ने बारे उनलाई उद्दार गर्न खटिएको सैनिक टोलीका मेजर उपेन्द्र पुडासैनी र सुवेदार दीपक राईको अन्तर्वार्ताको लिङ्क भने छ-
यो बच्चाको पुनर जन्म भएको छ,सरकारले लालन पालनमा बिशेष ध्यान दिए बेस हुने थियो.हेर्दा भाग्यमानी नहोला भन्न सकिन्न.
व्यक्तिगत निउले अनुहारमा एसिड खनाइयकि युवतीलाई बिस्व जितेर आय झैँ प्रचार गरियो
आशा र कामना गरौ यो बालकले झैँ बच्ने अधिकारको उपयोग सबै नेपालीले गर्न पाउन
त्येस्ता प्रबिधि अनि साधनको उपयोग सबै ठाउमा समयमै पुग्न सकोस यहि छं भन्नु
जन्म दिनको धेरै धेरै शुभकामना सोनिश बाबु लै …..
खै के हेरेर बसेको छ यो बाहुनबादी सरकार ! नेवार जनजाती बच्चा भनेर हेपेको होला ! यो बालकलाई जिन्दगि भर निशुल्क स्कुल कलेज, रोजगार हुनु पर्छ र त्यसको व्यवस्था सारकारले गर्नु परो, नत्र भने यो सारकारको काम छैन ! बिकल्प दे !
कसैले साँचो भनेको हो ” प्रत्येक बच्चा धर्तीमा एउटा सन्देश लिएर आएको हुन्छ कि भगवान अझ पनि मान्छे देखि रिसाएको छैन भनेर ” सोनिस लाई देखेर हो जस्तो लाग्यो । god bless him …