Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आन्दोलन चर्किएको ठाउँ धनुषाका एक शिक्षकको मार्मिक अनुभूति

Posted on December 11, 2015 by mysansar

(टिच फर नेपालका फेलोको रुपमा धनुषाको विद्यालयमा अध्यापन गरिरहेका एक शिक्षक नारायण अधिकारी आफ्नो अनुभव यसरी पोख्छन्)

बिहानको सात बजे कक्षा सुरु भएको घण्टी बज्छ । घण्टी बजाउन रामसिकिल दाइ बिरलै सम्झनु हुन्छ। मेरो पहिलो घण्टी कक्षा दशमा अनिवार्य गणित।करिब १०-१५ जना विद्यार्थी आईपुगेका हुन्छन् । यो बर्ष यो बिद्यालय बाट नियमित तर्फ ८९ जनाले आउँदै गरेको एस.एल.सि को परिक्षा फारम भरेका छन् । म जिल्ल पर्छु, यत्ति विद्यार्थीलाई पढाउने कि पर्खिने ! आँखाहरु विद्यार्थी आउने बाटोतर्फ पुर्याउँछु । डम्म हुस्सुमा बेजोडले शितलहर चल्दै छ ।म शुन्य सोचमा पुग्छु । एक्कासि ढोकामा माधवी आएर सोध्छिन् -“दाइ म हजुरको क्लास अब्जर्ब गरौं?”

उनको कक्षा ९ मा पहिलो घण्टी अङ्ग्रेजी हो । “के भयो र तपाईंको क्लास ?” मैले प्रतिप्रश्न गरेँ । “मेरो मा कोहि पनि विद्यार्थी आएका छैनन्।” उनको आवाज बडो बिस्मयपुर्ण थियो ।

“बस्नुस् न त्यसो भए”

मैले “चक्रीय ब्याज” पढाउन सुरु गरेँ ।

विद्यार्थी आउने क्रम जारी रहिरह्यो। “माइ कमिन सर?”………..माइ कमिन सर ?…….”

मानौं, मेरो यो घण्टी उनिहरुको स्वागतको लागि हो।

उनको विद्यार्थी आउन थालेको देखेर माधवी उठेर गइन् ।

निरन्तरको विद्यार्थी आउने क्रमले मेरो कक्षा अबरोधपुर्ण भैरह्यो।

सुरुमा भुकम्प, त्यसपछि बर्षाको बिदा र लगत्तै लामो बन्दले यो बर्ष खासै पढाई राम्रो भएकै छैन। बल्ल खुलेको स्कुल, बिहानीमा मात्र खुल्छ, त्यो पनि यो शीतलहरको बेला । “नखाउँ भने दिन भरिको सिकार, खाउँ भने कान्छा बाबुको अनुहार” भनेझैं भएको छ ।

आजको पाठ योजना बिफल हुने देखेपछी, पढाउन छोडेर एक छिन् ठुलो – ठुलो आदर्शको भाषण दिएँ। एस.एल. सि को महत्त्व भट्याएँ र विद्यार्थीको अल्छिपना प्रती गुनासो गरेँ, अनि चेतावनी पनि दिएँ -“भोलि देखि घण्टी लाग्दा नआइपुग्ने विद्यार्थीले कक्षामा प्रवेश पाउँदैन”।

यसो उसो गरेर पहिलो घण्टी १० कक्षामा र दोस्रो घण्टी कक्षा ९ मा सकियो । तेस्रो घण्टी खाली थियो । मनमा चैन थिएन । अफिसबाट यसो बाहिर हेरेँ, प्राथमिक कक्षाहरु -छानो मात्र भएको टहरोमा न त कक्षा छुट्याउने पर्खाल छ, न डेस्क बेन्च, न त कालो पाटी नै ! असाध्यै कम विद्यार्थीको उपस्थिति देखिन्छ, आफैंले बोकेर आएका धोक्रो ओछ्याएर चिसो सिमेन्टमा बसेका छन् , आधा बाहुले सर्ट लगाएका, नाङ्गो खुट्टामै आएका, जाडोले लुग्लुग् कामिरहेका । त्यो दृश्य देखेर नपग्लने कुन हृदय होला र यो मानव जगतमा ?

मधेस आन्दोलन अझै जारी छ । पहिले विद्यार्थीहरु मलाई देखेपछी “प्रणाम सर” भन्थे । अहिले धेरैले देख्नेबित्तिकै “जय मधेस सर” भन्छन् । यो आन्दोलनको निष्कर्ष के हुन्छ मलाई थाहा छैन तर हरेक तह र तप्कामा यसको दुरगामी प्रभाव रहिरहनेछ, यो मेरो आफ्नै बुझाई प्रतिको बिश्वास हो। आन्दोलनकै कारणले निम्त्याएको बिहानी कक्षा र यसले भोग्न बाध्य पारेको मर्महरु न कसैले बुझ्छ न त कसैले बुझाउन नै सक्छ !

चौथो घण्टी कक्षा ८ मा सकिए पछि सिधै कक्षा ६ मा गएँ, नियमित घण्टी छ भने म कहिल्यै अफिसमा जान्न। अहिले मात्र हैन, म आफैं कक्षा ११ पढ्न सुरु गर्दा आफैंले पढेको स्कुलमा केही समय पढाउँदा पनि यहि बानी थियो। सम्झिँदा यस्तो लाग्छ, मैले आफ्नो कर्तव्यप्रतिको इमान्दारीता गर्भमै सिकेँ।

“सर केबारी(ढोका) बन्द गर, जाडो लागिरहेछ”

एउटा विद्यार्थीले भन्यो। मैले “तिमी” भनेको सुनेर उनिहरुले मलाई “तिमी” नै भन्न जाने । आजकल म “तपाईं” भन्छु, उनिहरु पनि सिक्दै छन् । मैथिली मात्रै जान्ने यी केटाकेटी भेटेपछी म आफुलाई “उत्कृष्ट” सम्झने तन्नेरी “केही नजान्ने” भएर शुन्यमा झरेको थिएँ । आजकल अलि अलि सिक्दै छु कि जस्तो लाग्छ। एउटा ठुलो हुल अगाडि उभिएर कसैलाई केही बुझाउन नसक्दा, सबैले त्यस्तै महसुस गर्लान् वा नगर्लान् कम्तिमा मैले चाहिँ गरेँ ।
मैले ढोका बन्द गरेँ , उसले आफैंले खिट्की (झ्याल) बन्द गर्‍यो । अब अन्धकार…. , कसरी पढ्ने ?

फकाई फुलाई गरेर त्यो कक्षा पनि पढाएँ ।

म निस्केर कक्षा ७ मा जाँदै थिएँ, एउटा विद्यार्थी दौडदै आएर सोध्यो – ” म घर जान्छु, पेट दुखिसक्यो भोकले “। उ पेट मिचिरहेको थियो । म आफैंलाई यस्तो भोकको महसुस भैरहेको थियो कि म विद्यार्थी भैदिएको भए भागिदिन्थेँ । पदिय मर्यादाको पालना गर्दा यति सुन्दर प्राकृतिक पन पनि गुमाउनु पर्दो रहेछ । मैले आफ्नै भोक देखाएर उसलाई सम्झाएँ। के को बिश्वास ले हो कुन्नि उनिहरु मैले भनेको मान्छन् ।

एउटा मा.बि.स्कुल सन्चालन शैली हेर्दा लाग्छ, यत्तिको संग त खहरे खोला बाट टिपेर ल्याएको गुह्य ढुङ्गाको मुर्तिले पनि चलाईदिन्छ। मैले यति अपमानजनक शब्द गहिरो सोच र विवेकपुर्ण विश्लेषण बाट मात्र प्रयोग गरिन, यसमा मेरो लगावयुक्त अनुभव पनि छ ।

यो कल्पनामा बगेको शब्द लहरी होइन । बिद्यालय सन्चालित हुने प्रशासनको ढाँचामा भएको याबत बिषयबस्तुको बारेमा म राम्रोसंग बहस गर्न तयार छु। हो म आजित भैसकेँ तर हार्न जान्ने प्रा‍णी म हुँदै होइन । इमान्दारीता माथिको बर्बर अन्याय मेरो सङ्घर्षको मुख्य निशाना हो। म कुनै हालतमा पनि छोड्दिन ।

म बिहान ११:३० सम्म स्कुलमै हुन्छु र दिउँसोको ३:०० बजे फेरि स्कुल मै पुग्छु, निशुल्क थप कक्षा पढाउन, परिक्षाको लागि तयारी गराउनु पर्ने छ ।खाना र आराम भन्दा बढी मलाई कर्तब्य प्रतिको प्रेम र प्राप्ति छ । म यो प्रमाणित गर्न चाहन्छु कि “सिक्ने किताब मात्र होइन, जिन्दगी जिउने शैली पनि हो, प्राप्ति एउटा सर्टिफिकेट मात्र होइन, असल आचरण र व्यबहार पनि हो।”

मलाई थाहा छ, मेरै आँखा अगाडी अफिस कोठामै कति निर्दोष विद्यार्थीको हात र जीउमा बज्रेर भाँचिएका बलिया लाठिहरु कहिल्यै जोडिने छैनन्, न त उनिहरुको मन नै ?? अनन्त पीडाले बर्-बर् झरेका विद्यार्थीको आँशु उठेर आउने छैन न त पिट्ने शिक्षक प्रतिको उसको श्रद्धा नै ।

धेरैलाई थाहा छैन, धेरैले देखेकै छैनन्, कि रमाइलो र प्रेमिल बुझाई र सिकाइको यहाँ एउटा छुट्टै बाटो पनि छ ।

धेरै कुराहरु मनमा खेलिरहँदा विभिन्न रिस, गाली र आबेगहरु आफ्नो आफ्नो आकृती लिएर अगाडि आउँछन्, म संग बोल्छन्, हाँस्छन् अनि फेरि म मुस्कुराउँछु ।

यति ठुलो अधिकारको लडाइँ चलिरहँदा यी मसिना बालबालिकाहरुको सानो- सानो अधिकारको पक्षमा बहस कसले गर्छ ? सुनुवाइ कसले गर्छ ? यदि हामी सार्थक र समुन्नत समाजको परिकल्पना गर्दैछौं भने, यहि समाजको अकाट्य हिस्सा यी बालबालिकाहरु किन सदैब कुन्ठित भइरहनु पर्छ ?

म सपना देखेर हिंड्छु भलै कहिँ नपुगुँ, म सत्यता टेकेर हिंड्छु, भलै सफलता नभेटुं ।

[नेपालका प्रतिभाशाली उत्कृष्ट ट्यालेन्टहरुलाई रिक्रुट गरी सार्वजनिक विद्यालयहरुमा दुई वर्षका लागि पढाउन लगाउने अभियानमा लागेको टिच फर नेपाल संस्थाको बारेमा थप जानकारी यो पुरानो ब्लगमा छ। यहाँ क्लिक गरी पढ्नुस्।

3 thoughts on “आन्दोलन चर्किएको ठाउँ धनुषाका एक शिक्षकको मार्मिक अनुभूति”

  1. सिर्जने says:
    December 11, 2015 at 11:34 pm

    नारायण अधिकारी ज्यु को कर्म र सोचाईलाइ मेरो सलाम छ । सक्दो गर्दै जानु होला, तपाईं आफैं धेरै टाढा नपुगेपनि अरु यात्रीको प्रेरणाको स्रोत हुनुभएको छ, यसमा गर्ब गर्नु होला । जाँदा जाँदै मेरो धन्यबाद पन् स्विकार्नोस् ।

    Reply
  2. Rohini says:
    December 11, 2015 at 11:06 pm

    नेपाली नेताहरुको गैर जिम्मेवारीपनले गर्दा तराई-मधेशका जनताहरुको जनजीवन अस्त ब्यस्त भएको छ| मधेसी नेताहरु र सरकारको यस्तो गैर जिम्मेवारीपन कहिले सम्म?

    Reply
    1. madan bajracharya says:
      December 12, 2015 at 6:44 pm

      रोहिनिज्यु
      अहिलेको अबस्थाको निमित मधेसी नेताहरु र यौटा सरकार दुइटा सरकारहरु जिम्मेवार छन्/ मधेसी नेताहरुले म नेपाली हामि नेपाली नभन्नु, नेपाल भित्र मधेश खोज्नेले पहाड हिमाल सिट होइन बिहारी सिट रोटि-बेटीको सम्भंद भयको भन्नु र मधेसी हारे भारत हार्छ भन्नुनै उनीहरुको ठुलो गैर जिम्मेवारी नियत हो/ रोटि-बेटी बिहारी को खोज्ने कुर्सि र भुमि नेपालको खोज्ने तेस्तै गैर जिम्मेवारी प्रवितिका मधेसी नेता बनेको र उनीहरुले मधेसी हारे भारत हार्छ समेत भन्नु बात अहिले मधेसी भनेका बिहारी नै हुन् कि जस्तै देखियो/ तेस्तैलाइ भारतले सघायाको कारणले अहिले को अबस्था आयो/ भारत आफै ५५० भन्दा बढी मध्यदेस अर्थात मधेसहरु गाभेर बनेको देस हो/ यो भन्दा बढी भन्नु पर्दैन कुनियति भारतलाई/

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme