Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

म्याच फिक्सिङ : अदालतले सजाय दिए पनि नदिए पनि एएफसीले दियो जीवन भरलाई पुग्ने सजाय

Posted on December 5, 2015 by Salokya

म्याच फिक्सिङ कान्डका कारण निलम्बित हुनुअघिसम्म नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित खेलाडीहरु विकास सिंह क्षेत्री, सन्दीप राई र रितेश थापा अनि अफिसियल अन्जन केसी दशैँअघि पक्राउ परेर थुनामा थिए। राज्यविरुद्धको अपराध ऐनअन्तर्गत जन्मकैदको दावी गर्दै विशेष अदालतमा मु्ददा दर्ता भएपछि अदालतले उनीहरुलाई धरौटीमा छाडिदियो। अहिले उनीहरु थुनाबाहिरै छन् र बाहिरै रहेर मुद्दाको सामना गर्नेछन्। नेपालमा यस्तो पनि अपराध हुन्छ होला भन्ने कसैले सोचेकै थिएनन् र त्यसकारण यसबारे कुनै कानुन पनि थिएन। त्यसैले राज्यविरुद्धको अपराध ऐन अन्तर्गत कारबाही गर्ने प्रक्रिया अघि बढाइयो। यसअनुसार दोषी ठहर होला/नहोला, सजाय होला/नहोला तर एसियाको फुटबल हेर्ने निकाय एएफसीले भने उनीहरुलाई जीवनभर पुग्ने गरी सजाय दिएको छ। उनीहरु जीवनभरका लागि प्रतिबन्धित भएका छन्। म्याच फिक्सिङमा उनीहरु दोषी ठहर भएका छन्।

12325071_10206624954837003_960881068_n

एएफसीले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुशासन कमिटीको निर्णयमा उनीहरु सन् २००८ देखि सन् २०१२ सम्मका विभिन्न खेलहरुमा एएफसीको अनुशासन संहिताको दफा ६२ र ६९ उल्लङ्घन गरेकोमा दोषी भेटिएको भनिएको छ।

दफा ६२ भ्रष्टाचारसँग सम्बन्धित छ भने दफा ६९ गैरकानुनी रुपमा खेलको नतिजामा प्रभाव पार्नेसँग सम्बन्धित छ।

62

यसको अर्थ के हो भने नेपालमा अहिले चलिरहेको मुद्दामा जस्तोसुकै फैसला होस्, उनीहरुले फुटबल जीवनभर खेल्न पाउने छैनन्। उनीहरुको फुटबल करिअर अब सकियो।

नेपालमा चाहिँ उनीहरुलाई केही सजाय होला त ?

अहिले चलिरहेको मुद्दा अनुसार होला जस्तो लाग्दैन मलाई चाहिँ। किनभने जुन कानुन टेकेर उनीहरुमाथि मुद्दा लगाइएको छ त्यसले यसो भन्छ-

राष्ट्र विप्लवको ३.३ अन्तर्गत उनीहरुलाई तान्न खोजिएको छ। फिक्सरलाई विदेशी संगठित शक्ति नै माने पनि म्याच फिक्सिङले नेपालको सार्वभौमसत्तामा केही हुने होइन, अखण्डतामा केही हुने हैन। तर्क राष्ट्रिय एकतामा आघात पर्‍यो भनिएको छ। झण्डाको शपथ लिएर राष्ट्रलाई धोका दिने भन्ने कुनै प्रावधान त्यसमा भएको भए अर्कै कुरा, यसमा राष्ट्रिय एकता भनिएको छ। खेल हारेर राष्ट्रिय एकतामा चाहिँ कसरी आघात पर्ने हो? म्याच फिक्सिङ गरेर खेल हारेको भए राष्ट्रिय एकतामा आघात पुग्ने, म्याच फिक्सिङ नगरेर हारे चाहिँ आघात नपुग्ने पनि कहीँ हुन्छ?

त्यसैले कात्तिक २४ गते विशेष अदालतले उनीहरुलाई धरौटीमा छाड्न गरेको आदेशमा यो मुद्दा राष्ट्र विप्लवमा पर्छ कि पर्दैन भन्ने निर्क्यौल हुन बाँकी रहेको भनिएको छ-

biplap

आदेश पूरा पढ्न क्लिक गर्नुस्

स्मरण रहोस्, मधेसलाई अलगै राष्ट्र बनाउँछु भन्दै सार्वजनिक रुपमा भन्ने सिके राउतलाई यही मुद्दा चलाइएको थियो। तर प्रमाणित हुन नसकेर रिहा गरियो।

खेल ऐन वा भ्रष्टाचार ऐन अन्तर्गत यस्तो फिक्सिङका कुरा समेटिएको भए सजाय गर्न पनि सजिलो हुन्थ्यो। त्यो नभएकोले उनीहरु रिहा भए पनि एउटा खेलाडीका लागि सबभन्दा ठूलो सजाय उनीहरुले पाइसकेका छन्- जीवनभर खेल्न नपाउने। आजीवन प्रतिबन्ध।

अब उनीहरुलाई मात्र जेलमा थुनेर हुने केही होइन। उनीहरुलाई यस्तो गर्न बाध्य बनाउने, आफ्नो स्वार्थका लागि खेलाडीलाई गोटी बनाउने खेल पदाधिकारीहरुलाई पनि कारबाही हुने वातावरण बनाउनु पर्छ। फुटबललाई स्वच्छ बनाउने हो र आफ्नो पापको प्रायश्चित गर्ने हो भने खेलाडीहरुले यसबारे सार्वजनिक गर्ने आँट गर्नै पर्छ। नत्र अरु पनि सागर थापाहरु भविष्यमा जन्मिरहने छन्।

र, अन्त्यमा…

श्रद्धाञ्जलि सागर थापाको खेल जीवनलाई जसले यस्तो गजबको गोलमा हामीलाई रमाउने र गौरव गर्ने मौका दिएका थिए-

via GIPHY

तपाईँलाई के लाग्छ? यी खेलाडीहरुलाई आजीवन प्रतिबन्ध लाग्नु नै ठूलो सजाय हो वा यही राष्ट्र विप्लवकै ऐन लगाएर भए पनि उनीहरुलाई थप सजाय दिनुपर्छ? अथवा यसबारे अर्को कानुन बन्न आवश्यक देख्नुहुन्छ? आफ्नो धारणा तल कमेन्टमा लेख्नुहोला।

9 thoughts on “म्याच फिक्सिङ : अदालतले सजाय दिए पनि नदिए पनि एएफसीले दियो जीवन भरलाई पुग्ने सजाय”

  1. Roshan says:
    December 6, 2015 at 8:09 pm

    राष्ट्र विप्लपKo ३.३ अनुसार बिदेसी राष्ट्र Sanga मिलेर देश लाई आघात पुराउने मदेसी मोर्चा का नेता लाई Kina कारबाही हुदैन ?

    Reply
  2. राजन says:
    December 6, 2015 at 9:30 am

    हा हा हा । घुस्याह (FIFA अन्तर्गत को AFC) ले पनी कारबाही गर्ने गरेर कस्तो भ्रष्टाचार गरेका होलान् त ?FIFA लाइ चैं अमेरिकाले कारबही गर्दै छ । यि मुलाहरु बच्च पाउनु हुंदैन ।

    Reply
  3. सन्तोष says:
    December 6, 2015 at 2:01 am

    God sees the truth, but wait.

    Reply
  4. Ekraj says:
    December 5, 2015 at 9:10 pm

    गणेश थापा पनि यसमा सहभागी हुनु पर्ने हो कुनै न कुनै किसिमले! त्यो भ्रस्ट गुण्डा लै कमल थापा को भै भएको ले अनु संधन मै परेको च.हैन कि क्या हो!

    Reply
  5. narayan says:
    December 5, 2015 at 12:59 pm

    हुनत राज्य ले कारबाही गरे नि नगरेनी खास रुपमा अर्थ छैन नेपाल मा यिन ले अब के खेल्ने ? international न्रुपमा खेल्न नपाय पछि नेपाल मा पनि यी धोके बाज को के अर्थ भयो र अब घरमा आफनै श्रीमती को खेल्ने वा टालाटुली को भकुण्डो बनायर आफ्नै आगन मा खेल्लान /
    तर कारबाही नेपाली अदालतले पनि गर्छ किनकी AFC ले गरिसकेसी उनीहरुको मान राख्न लाइ पनि गने पर्यो / अब यी MATCH fix गर्ने पद्धु हरुको जीबन चाही प्रिथिबी को भर भयर बाच्ने भए/

    Reply
  6. sushil says:
    December 5, 2015 at 7:59 am

    कुनैपनि अपराध गरेको मान्छेलाई समाजले छि:छि: र दुर दुर नगरेसम्म जस्तो सुकै कानून बनाएपनि फरक पर्दैन. नेपाल जस्तो “चिनिराखे पछि काम लाग्छ” भन्ने गरिब सोचाइले ग्रस्त समाजमा गुन्डानाइके, भ्रस्टनेताको त कुरै छोडौं टोले गुन्डा पनि तह लाग्दैन.
    घुस खाने न्यायकर्मीलाई कानून नलाग्ने!
    फटाहा वकिललाई कानून नलाग्ने!
    हजारौं नेपालीको हत्याको जिम्मेवारलाई कानून नलाग्ने!
    यी खेलाडीलाई के को कानून लाग्ने?
    यिनीहरुले नाकाबन्दी लगाएका हुन् र? जिउंदै मान्छे पोलेका छन्? कुदिरहेको बसमा ढुंगा हानेका छन्? नेपालबन्द गरका छन्? सत्ता टिकाउन देशको भूगोल बेचेका छन्?
    कानून कसलाई लाग्नुपर्ने हो पहिले?

    Reply
  7. Tej Prakash Shilpakar says:
    December 5, 2015 at 6:56 am

    देशले त न्याय गर्दैन भनेर पहिल्यै थाहा थियो। But thanks to AFC . ताकी भबिस्यमा अरुले यस्तो गल्ती गर्ने आंट गर्न नसकोस।

    Reply
  8. eklavya says:
    December 5, 2015 at 6:03 am

    कुनै पनि दोषीलाई कानुनी कारवाही हुनु जरुरि छ यहि नै कानुनको मूल धारणा हो निर्दोष भए माफी पाउनुपर्छ तर सुन चोर्ने र आँप चोर्ने चोरहरुलाई एउतै सजाय भने मिल्दैन र आँप चोर्नेलाई जाबो भनेर माफी दिनुपनि गलत हो जहाँसम्म यी खेलाडीहरुले गरेको कर्तुत छ तेस्कोलागी पनि अदालतले सजाय दिनैपर्छ कानुन छैन भने बनाइनुपर्छ तर दोषीलाई कारवाही हुनैपर्छ राष्ट्रिय एकतालाई होइन खेलप्रति र खेल भावनाप्रति जुन आघात पुर्याएको छ त्यो असह्य छ झन् खेलप्रेमी हरुको त राष्ट्रिय टोलि बाटै भरोसा उठे सरह छ यस्तो घृणित कार्यको लागि पनि सजाय भएन भने नेपालको कानुनी व्यवस्थामा ऐतिहासिक दागको रुपमा रहनेछ उदाहरणको रुपमा ..

    Reply
  9. मनिष says:
    December 5, 2015 at 3:39 am

    राज्य बिप्लव नभए पनि कम्तिमा भ्रस्टाचारमा जेल हाल्नै पर्ने यिनीहरुलाई/ आफ्नो जिम्मेवारी पुरा नगरी पैसदिने लाई फाइदा हुने काम गरेका छन्/ राज्यबिप्लवको कानुन मा स्पस्ट केइ नलेखेको अवस्थामा यो घुस लेनदेन संग नजिक छ/ जनताको नजरमा हिरो बन्न पुलिसले स्पस्ट कानुनमा नलेखेको मुद्दा त लगायो तर एस्ले उल्टै आरोपलाई कमजोर बनाएको छ/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme