Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

त्यो सानो घुम्ती पसल

Posted on November 29, 2015 by mysansar

-साक्षात सुशील-

20150814_175230 करिब बाह्र बर्ष अगाडिको कुरा होला, काम बिशेषले म र मेरी आमा पुरानो बसपार्क नजिकको अद्वैत मार्गमा हिंड्दै गर्दा आमाको आँखा पर्यो एक खालि जग्गामा । त्यो जग्गा, नेपाल चिकित्सक संघ र रत्नराज्य लक्ष्मी क्याम्पसको बीचको बलेसीको पानी झर्ने जग्गा, बागबजारका सडकमा सुत्ने बालबालिकाले बिस्ट्याउने जग्गा । आन्दोलनको क्रममा क्याम्पस हाता भित्र प्रहरी छिर्दा विद्यार्थी हामफालेर भाग्ने जग्गा । धेरै कुराको निम्ति साझा रहेछ, मुस्किलले दुई जना टुक्रुक्क बस्न मिल्ने त्यो जग्गा । आमाको दिमागमा आइडिया फुर्यो र भन्नुभयो ‘ यस्तो सेन्टरको जग्गामा त्यस्तो फोहोर गरेर छोडेका छन्, माथि गएर यसो बुझ्न, भाडामा दिए भने त सानो पसल चल्छ यहाँ ‘ निवेदन कसरी लेख्ने स्कुल मै सिकीसकिएको थियो । एक सादा पानामा ‘ दिसा पिसाबको गन्धको कारण वरपर दुर्गन्ध फैलिएको, कि सफा गर्ने मान्छे राखियोस् कि कुनै व्यवसायलाई अनुमति दिईयोस’ भन्ने व्यहोराको निवेदन लेखे र वरपरको पसलहरु समर्थन स्वरुप दस्तखत गराएर पुगे आर आर क्याम्पस । त्यहाँ कसैलाई यो बिषयमा सोच्ने फुर्सद थिएन । त्यसपछि पुगे चिकित्सक संघ । चिकित्सक संघका एक व्यक्तिले मेरो प्रयासको प्रशंसा गरे अनि भने

20150814_175230-001‘ भाइ सानै रहेछौ, के गर्छौ त त्यहाँ ? सक्छौ गर्न ?’

’सक्छु सर मेरो मर्निङ्ग क्लास हुन्छ, दिउस पसल चलाउन सक्छु’ .

‘ल ठिक छ, अनि भाडा कति दिन्छु त ?’

मलाई आपत पर्यो । धेरै भनौ, दिसा गर्ने गरेको ठाउँ; पसल नचलेर तिर्न नसकिएला । थोरै भनौ ‘ यति पनि भाडा हुन्छ ’ भनेर कराउला ? जे पर्ला पर्ला भनेर भने ’सर अहिलेलाई महिनाको दुई सय दिन्छु, हुन्छ ? ‘ खुशी साथ स्वीकार गर्यो । सफा गर्न मान्छे राख्नुपर्ने अवस्थामा उल्टो दुई सय आम्दानी हुने भयो उसैलाई । त्यसपछि अनामनगरमा राखिएको एक बन्द माछा पसलको घुम्ती किनेर त्यस स्थानमा राखे, आफैले पेण्टिङ्ग गरे । छेउको पसलबाट बिजुली ल्याएँ, वरपर के कस्ता पसल छन् नियालें र निर्णयमा पुगें पाउँ पसल राख्ने । पसलको नाम पनि आफै राखे – द पाउँ गाउँ ! पहिलो दिनको ब्यापार ३४८ रुपैया भएको थियो, अझै याद छ ।

बिस्तारै एसएलसी नजिकियो, पढाईमा ध्यान दिनुपर्ने भयो । पसलमा बस्न भ्याईन्नथ्यो । आमाको आफ्नै व्यवसाय, बाबाको आफ्नै जागिर । कहिले खोल्ने, कहिले बन्द गर्ने गर्नाले ब्यापार ओरालो लाग्यो । एउटा तराई मूलको मानिसले पसलमाथि मन लगाएको थियो । उनसंग कुरा मिल्यो – उसले त्यहाँ पान पसल राख्ने र मलाई महिनाको चौधसय दिने । उसले राम्रोसंग पान पसल चलाउँदै थियो । केहि महिना बित्यो । एक दिन पसलमा भाडा उठाउन जाँदा पान पसले अलिक डराएर भन्यो ‘ भाइ तिमी त भाडा लिएर गईहल्छ, मलाई आएर भाडा नदे भनेर अनाव सनाव भन्छ।’

फालिएको जग्गालाई उपयोग गरेर मैले नाफा कमाएको केहि मान्छेहरु देखिसहेका रहेनछन । कुरा बुझ्दा छेउको एउटा र बाटो पारिको अर्को पसलेहरुको षड्यन्त्र रहेछ । चिकित्सक संघमा यो बिषयमा कुरा गर्न जाँदा त्यहाँ त्यहि मान्छे थिएनन जो पहिला हुने गर्थे । चस्मा लगाएका एक अधबैशेले कडा स्वरमा भने ‘त्यो जग्गा तिमीलाई पसल चलाउन दिएको, त्यहाँ भाडा लगाएर खान देको हो?’ उनको चर्को स्वर अगाडि मेरो न कुनै बहाना चल्थ्यो न वास्तविकता। त्यसपछि त्यस पान पसलेलाई निकाल्न बाध्य भएँ र फेरि केहि समय आफै चलाउन थाले। भाडा पनि बढाईदियो, महिनाको पांच सय ।

कलेज जान थालिसकेको थिएँ, साथै मेरो आफ्नै होम ट्युसन पनि थियो । घरमा जस जसलाई फुर्सद हुन्थ्यो त्यहि बस्थे पसलमा । आफ्नो तर्फबाट जति नै प्रयास गरे पनि आर आर क्याम्पसका पसलहरुको निम्ति बनाईएका चर्पी बेला बेलामा यति सम्म दुर्घन्धित हुन्थे कि त्यसले बाटोमा हिंड्नेहरुले समेत नाक थुन्नुपर्ने बाध्यता हुन्थ्यो । एक त आफ्नै कारणले, दोस्रो बेला बेलाको दुर्गन्धले पसल चलेन, न त भाडामा लगाउन नै दिए ।त्यसपछि त्यो पसलमा भएका केहि काम लाग्ने सामान निकालें र त्यसलाई लावारिस छोदिदिएँ जे सुकै गरुन भनेर ।

बर्षौ बितिसकेछ, वरपर पसलका साहुहरु फेरिसकेका रहेछन । आफैले स्थापना गरेको सानो पसल अहिले पनि त्यस्तै रहेछ । खुइलिएको रंग, खिइएको जस्तापाता र मक्किएको जमिनका बाबजुद भुकम्पले पनि केहि गरेनछ । मलाई त्यो पसल आवश्यक छैन, न त त्यसबाट आउन सक्ने भाडा । आर आर क्याम्पस र नेपाल चिकित्सक संघका प्रशासकहरुको मनमा परोपकारको भावना भए कृपया त्यो पसल कुनै व्यवसाय गर्न चाहने असहायलाई निशुल्क दिए हुन्थ्यो, कसैले त गरिखान पाउँथ्यो । बेकारमा किन छोड्नु त्यतिकै ?

5 thoughts on “त्यो सानो घुम्ती पसल”

  1. Roshan says:
    December 1, 2015 at 6:13 am

    You did not own the land and you had no right to collect rent on it.

    Reply
    1. subash says:
      December 2, 2015 at 9:38 pm

      Yes he does. He is leasing the land and paying the rent to the land owner and in the process making some profit.

      Reply
  2. समर्पित says:
    November 30, 2015 at 9:47 am

    नेपाली कर्मचारी को यति इमान्दारिता र बुद्धि भएको भए नेपाल कहा पुगी सक्थ्यो ! भरे “ट्वाक” खाने जुगाड मै दिन सकिन्छ ! ट्वाकेन्द्र हरु को राज मा एक्लो साक्षात ले के गर्न सक्छ ?

    Reply
  3. daman says:
    November 30, 2015 at 3:39 am

    सुशील कुरो त ठिकै हो तर तिमि आफैले पनि त त्यो पान पसलेलाई सितैमा दिन सकेनछौ |
    येस्तै हो | येस्तै | अरु लै अर्ति दिन सजिलो हुन्छ, आफु गर्न गार्हो |

    Reply
  4. eklavya says:
    November 30, 2015 at 12:26 am

    तपाइको आमाको सोच र तपाइको मिहेनत लाइ सलाम छ काम कहिले ठुलो सानो हुदैन त्यो मान्छेको सोच हो जसले भेदभाव गर्छ यो एकदमै प्रेरणादायी लाग्यो मलाइ त …तर त्यो सानो ठाउँ लाइ दुकान होइन सफाइको जरुरत छ जस्तो लाग्छ

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme