Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सिस्नुपानीको देउसी भैलो झटारो : धन हुनेलाई हैन छोरी तेल हुनेलाई दिने हो, क्यास हैन दाइजोमा ग्यास लिने हो

Posted on November 10, 2015November 11, 2015 by Salokya

1-ADP_1024
सिस्नुपानी नेपालले हरेक वर्ष व्यङ्ग्यात्मक देउसी भैलो गर्ने गर्छ। पहिले भए मिडियाको दैलोदैलो चहारेर गाउने सिस्नुपानी आजकल अलि हाइप्रोफाइल भएको छ। पोहोर प्रज्ञा प्रतिष्ठानको डबलीमा कार्यक्रम गरेको उसले आज भने हलभित्रै कार्यक्रम गर्‍यो। अब अर्को वर्ष गाइजात्रा कार्यक्रम जस्तै टिकट सो नै पो गर्ने हुन् कि! प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरु लगायत हाइ प्रोफाइलहरुको उपस्थितिमा आयोजित कार्यक्रममा गाइएको देउसी भैलोको अडियो सुन्नुस्। लास्टमा प्रधानमन्त्रीको भाषण पनि छ। प्रधानमन्त्री भएपछि ओलीको उखानटुक्का हराएको छ, व्यङ्ग्य चेत हराएको छ। कार्यक्रमभरी पनि उनी गम्भीरै रहे।

भन भन भाइ हो —संविधान
नेपाली सारा —संविधान
गन गन बैनी हो —संविधान
दफा र धारा —संविधान
सपना थियो —संविधान
विपना भयोे —संविधान
ज्यूँदै आयो —संविधान
रुँदै आयो —संविधान
कोही भन्छन् चल्यो —संविधान
कोही भन्छन् जल्यो —संविधान
महत्व जानून् —संविधान
सबैले मानून् —संविधान ।

लिम्बु भाइले उचालेर यादव दाइलाई दिएको
पटक पटक ढोगेर तिनले लिएको ।
कति सुन्दर दृष्य थियो सम्विधान जारीको
सम्विधानमा चोखे लाग्यो सीमा पारीको ।
हिमाल पहाड तराई, छैनौँ कोही पराई
स्वाधीनता रक्षा गरौँ, हुन्न डराई ।
दिल्ली आदेश मानेनौ चम्चा हुन जानेनौ
देउसी खेल्यौँ पारिबाट ढुंगा हानेनौँ ।
उहिले दिल्ली अघि हुन्थे हाम्रा नेता मरे झैं
अहिले लाग्यो यिनले शिर ठाडो गरे झैं ।
केपी, सुशील, प्रचण्ड, मिल्दा दिल्ली डरायो ।
मध्यराति बालुवाटारमा दूत करायो ।
दिल्लीले दल फुटायो, आफ्नु मान्छे उठायो
बाठो हुन्थ्यो बल्ड्याङ् खाँदा बल्ल चाल पायो ।।
हाम्रा केही नेताले, दिल्लीको घाँस चर्दै छन्
आफ्नै देशका जनतालाई भोकै मार्दै छन् ।
मालिक होइन भारत हाम्रो, केवल एउटा साथी हो ।
सज्जन हुन्जेल साथी नत्र, धुर्बे हात्ती हो ।।
पखेटाले छोप चल्ला, ढाडे आई समाउला ।
खबरदार नेता हो, खुट्टा कमाउला ।। २०
हाम्रो देश नेपालैमा संविधान आयो भन्छन् नि लैलै
खोइ त सबै हाँसेको, एउटै माला गाँसेको —२
मेची काली रम झम । —२
संकटको कालो बादल नेपालीको शिरै माथि नि लैलै
ज न ता पालमा, खाना छैन थालमा —२
तैपनि हिँडछन् ठम ठम । —२

मुखमा राम राम — ऋषिमन
बगलीमा छुरा — ऋषिमन
अराउन पाए — ऋषिमन
चराउन पाए — ऋषिमन
रोकेर बाटो — ऋषिमन
पारेर फाटो — ऋषिमन
श्रीखण्ड बोकी — ऋषिमन
नाकाबन्दी ठोकी — ऋषिमन
बाहिर बाहिर जुटेको — ऋषिमन
भित्र भित्रै फुटेको — सिसिमन ।

काँग्रेस भन्ने पार्टीको, कसले कान घुमायो ।
प्रधानमन्त्री खोज्दा राष्ट्रपति गुमायो ।।
हो नै रैछ सुशिल दादा त्यागी नेता रहेछन्
सहमति सहकार्य त्याग गरेछन् ।।
तातातुतु मात्रै गरे सत्य कुरा बकेनन्
दिल्लीलाई टेर्दिन भन्न सकेनन् ।।
अरु देशका प्रधानमन्त्री आफ्नो देश बनाउँछन्
हाम्रा चाहिँ उप प्रधान मन्त्री फलाउँछन् ।।
नयाँ नेता केपी ओली सिंहदरबार छिरेका
यिनका पनि छन् कि कतै कानै चिरेका ?
कुर्सी ब्याटिङ माइक बलिङ गर्दा मन्त्री पाइयो
माइक क्याच गर्न सक्दा पिएम खाइयो ।
ओली पनि चाहिन्छ ओइल पनि चाहिन्छ
ओइल सँग ओली साट्न कहाँ पाइन्छ !।
यो घर कसको आलेको भित्र वाहिर टालेको
गठबन्धन मण्डले म—साले मालेको ।।
साले माले मण्डलेले सिंहदरबार भरेका
राजतन्त्र र गणतन्त्र फ्युजन गरेका ।।
प्रचण्डकोे पहलमा संविधान जारी भो
एकछिन हो कि यो नाटक सधैंभरि हो ?
एक वर्षमै पहिलो पार्टी पार्छु भन्छन् प्रचण्ड
टुक्रै टुक्रा भ्याइ नभ्याई गन्छन् प्रचण्ड ।
कुम हल्लिनै छाड्यो मेरो के भनुँ र खोई
तिमी हाँस ओली हो मै बसूँला रोई ।
कुनै बेला हाम्रो —देशैमा
भूकम्प आको —केसैमा
राहत आयो —नेपालमा
तानातान प¥यो —त्रिपालमा
जनता खुला — आकासमा
जस्ता चाहिँ मन्त्रीको — बाकसमा
कुहिएका चाउचाउ —छरेर
सेल्फीले फेसबुक — भरेर
करोडको पिलेन — भाडामा
हजारको राहत — गाडामा
इन्डियन जहाज — पसेका
एअरपोर्ट ढाकी — बसेका
यूएनले राहत —ला भन्यो
सडेका चामल —खा भन्यो
पिडितलाई हेप्न — पाइँदैन
कुहिएका चामल — चाहिँदैन ।
अख्तियारको बिरालोले, मुसामार्न छाडेको नि लैलै
सानो माछो जेलमा, ठूलो माछो खेलमा—२
संसदलाई—नि पिठ्यूँ देखाउँदै । —२
नूनको सोझो गर्न छाडी, हाम्रो देशका कर्मचारी नि लैलै
देस्लाई—गाली गर्दै, डिभि पिआर भर्दै —२
भागिरन्छन् लाज पचाउँदै । —२
महानगर भन्छ घरको फोहोर कतै नफालौं
प्रकृति नै रुने गरी प्लास्टिक नबालौं ।
रोगै लाग्न नदिए उपचार चाहिँदैन
सफा गर्न पाइँछ फोहर, गर्न पाइँदैन ।
कृषि मन्त्री पराजुली रोपाईँ गर्न गएछन्
रोपाहारलाई समातेर भूपू भएछन् ।
चित्रलेखा राधाले चुनौती नै दिएछन्
तेत्तीस पर्सेन्ट भ्रष्टाचारमा भाग लिएछन् ।
जाँदाजाँदै सरकारले सुशासनलाई मान ग¥यो
खुम्वादुरलाई जावो पैतिस लाख दान ग¥यो ।
टालाटुली बटुली बाबुरामकी पुतली
४० वर्ष बस्या घरको खाँबो उखेली ।
बाबुराम नि कराउनु तेल पनि हराउनु
नयाँ शक्ति भन्दै आउलान् घाँस चराउनू ।
छिनमै मधेस आन्दोलन छिनमै सत्ता सरर
गच्छेदारको अन्तिम लक्ष झण्डा फरर ।
चरी घैँटे मर्दा खेरि रुवाबासी नेताको
तिनका नाउँको सम्पत्ति भन कताको ?
दुगड, खेतान, गोयन्का, मित्तल र मुडबरी
नेपालका गरिब पिडित गोल्छा चौधरी ।
राज्य लक्ष्मी गोल्छाले हरियो घाँस काटेको
एमालेले हरियो घाँसमा साँसद साटेको ।

हा है देऊ देऊ सरकार — फिर्ता देऊ
स्वाधिनता हाम्रो — फिर्ता देऊ
स्थायी शान्ति — फिर्ता देऊ
बाँसवारी जुत्ता — फिर्ता देऊ
बुटवल धागो — फिर्ता देऊ
भृकृटी कागज — फिर्ता देऊ
गोरखकाली टायर — फिर्ता देऊ
हरिसिद्धि इटा — फिर्ता देऊ
रघुपति जुटमिल — फिर्ता देऊ
ट्रलि बस सेवा — फिर्ता देऊ
हेटौँडा रोप वे — फिर्ता देऊ
जनकपुर रेल वे — फिर्ता देउ
हिमाल सिमेन्ट — फिर्ता देऊ
दिएमा गर्छौ — नमस्कार
दिदैनौ भने — तिरस्कार ।।

सरकारले प्राधिकरण के खानलाई बनायो ?
प्रधानमन्त्री राहत कोषमा ढुँडी गनायो ।
जनताले चुलो बाल्न, मट्टी तेल मागेको ।
ग्यालिन बोकी हाम्रो सरकार लासा लागेको ।।
चाइनाबाट इन्धन ल्याउन मन्त्री पत्र लेख्दैछन्
कर्मचारी घुसुघुसु बाटो छेक्दैछन् ।
आइओसीको नदेखिने कमिशन मर्काऊ
लौन मन्त्री पैले तिन्का पाता फर्काऊ ।
धन हुनेलाई होइन छोरी, तेल हुनेलाई दिने हो ।
क्यास होइन दाइजोमा, ग्यास लिने हो ।।
भन्थे चन्द्रबाट हेर्दा ग्रेट वाल देखिन्छ
अचेल हाम्रो तेलको लाइनले ग्रेटवाल छेकिन्छ ।।
देश जलेका बेलामा अनसन बस्ने केसीले
जुस मागेर खाएछन् आफ्नै खुसीले ।
मेडिकलका माफियाले सरकार उठबस गराउँछन्
खडेबाबा डाक्टरलाई हाजिर गराउँछन् ।
गणतान्त्रिक संविधानमा के–के यस्तो फलायौ
मधेशमा ड्याङ कि ड्याङ गोली चलायौ ।
कार्यकर्ता गोली लागि मधेशमा ढल्दैथे
नेता जति संसदमा भोट हाल्दै थे ।
तराई जल्दा बुद्धिजीवी दिवालीमै हराए
काठमाण्डूलाई पोल्न थाल्दा बल्ल कराए ।
आन्दोलनमा मर्नेलाई ५० लाख तोकेको
आफ्नै देशमा आउने बाटो आफैँ रोकेको ।
आर्मी पुलिस मिलेर, सङ्कटमा बचाउँछन्
आन्दोलनमा किन तिनलाई, जिउँदै जलाउँछन् ।
मधेशैमा गोली चल्छन्, छाति टाउकै छे—डिन्छन् नि लै लै
अझै कति मर्ने हो, कहिलेसम्म मार्ने हो —२
बुद्ध रुन्छन् धुरु धुरु । —२
ओली सरकार घुम्टो खोली, कहिले जान्छ हनीमुन्मा नि लैलै
क्यै न क्यै त बोल, नाकाबन्दी खोल —२
इन्धन बिना केको हनीमुन । —२

केपी ओली देउसी
हा है माननीय महिला — देउसिरे
माननीय पुरुष — देउसिरे
सत्ता पक्ष — देउसिरे
प्रति पक्ष — देउसिरे
दक्षिणको साटो — देउसिरे
उत्तरको बाटो — देउसिरे
लड्दै पड्दै — देउसिरे
धराप थाप्दै — देउसिरे
छिर्के लाउँदै — देउसिरे
झटारो फाल्दै — देउसिरे
उखान हाल्दै — देउसिरे
यहाँसम्म आएँ — देउसिरे
माला लाएँ — देउसिरे
कुर्सीको झट्टी — देउसिरे
हान्नेलाई पनि — देउसिरे
मन्त्री बनाएँ — देउसिरे
माइकको झटारो — देउसिरे
समातेर — देउसिरे
उतै फर्काएँ — देउसिरे
प्रचण्डलाई — देउसिरे
बनमारा भन्थेँ — देउसिरे
बनमाराकै — देउसिरे
बुटी लाएँ — देउसिरे
माओवादीलाई — देउसिरे
बेलुन भन्थेँ — देउसिरे
बेलुनमै चढी — देउसिरे
आकासमा उडेँँ — देउसिरे
भन भन साथी हो — देउसिरे
राम्ररी भन — देउसिरे
कुर्सी र भाँच्ने — देउसिरे
माइकै फ्याँक्ने — देउसिरे
नगरौँ अब — देउसिर
एकआपसमा — देउसिर
नलरौँ अब — देउसिरे
संसदमा घुर्ने — देउसिरे
दूतावास कुर्ने — देउसिरे
नगरौँ अब — देउसिरे
बद्नामीमा — देउसिरे
नपरौँ अब — देउसिरे
देशको माटो — देउसिरे
छोएर भन्छु — देउसिरे
तराई पहाड हिमाल — देउसी रे
जय जय नेपाल — देउसी रे ।।

आशिष
रोपाईमा मन्त्री — नआओस्
हात एता उति — नलाओस्
सीमामा पर्खाल — हालियोस्
घरको छानो — टालियोस्
इन्डियन टिभीले — नदेखोस्
पराकम्पनले — नखेदोस्
चाइनाले नाकाबन्दी — नगरोस्
केरुङ्मा हिउँ — नझरोस्
घरमा ग्यासको —सिलिण्डर होस्
लालबाबु जस्तो —मिनिस्टर होस्
देशैमा हाम्रो — रोजगारी होस्
बागमती सफाई — जारी होस्
मोदीको जस्तो — चाल नहोस्
सुशिलको जस्तो — हाल नहोस्
संसदमा नहोस् — किक बक्सिङ
खेलमा नहोस् — म्याच फिक्सिङ
पानीमा छुँदा — तेल होस्
तिब्बतै जोड्ने — रेल होस्
खनियून खानी — डाँडामा
नबिकून कोख — भाडामा
पहाडले पानी —पटाओस्
मधेशले अन्न —जुटाओस्
हिमनदी कहिल्यै — नसुकोस्
पराईले आगो — नफुकोस्
चुनौति अझै — ठूला हुन्
चौतर्फी नाका — खुला हुन्
भुटेका मकै — चपाउँला
सीमाका साँढे — धपाउँला
धरहरा ढले — केही छैन
एकता हाम्रो — नढलोस्
भण्डार सुके — क्यै छैन
स्वाभीमान हाम्रो — नझुकोस्
स्वाभीमान हाम्रो — नझुकोस् ।।
हाम्रो देश नेपालैमा, भूकम्पको घा उ मा नि लैलै
छिमेकीले नून छर्‍यो, महंगीले चुक दल्यो —२
बालुवाटारमा भोज भतेर । —२
उठौँ सबै नेपाली हो, नयाँ नेपाल बनाउन नि लैलै
खेतबारी खनेर, आत्मनिर्भर बनेर —२
चन्द्र सूर्य झण्डा फरर ।। —५

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme