Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

शपथसँगै सत्ताको लफडा, कमल थापाको छलाङ : पढ्नुस् असोज २५ गतेको प्रमुख घटना

Posted on October 12, 2015October 13, 2015 by Salokya

२०७२ असोज २५, सोमबार

DSC_0903

हिजो संसदबाट निर्वाचित केपी ओलीले आज शपथ ग्रहण गर्ने दिन। समय तोकिएको थियो दिउँसो १ बजे। तर बिहान आठै बजे भारतीय राजदूत पुष्पगुच्छा लिएर पुगे बालकोट। एमाले, एमाओवादी, फोरम लोकतान्त्रिक र राप्रपा नेपालबाट गरी कम्तिमा चार जना उपप्रधानमन्त्री हुने तयारी थियो। तर मन्त्रालयको लफडा सुरु भएपछि एमाओवादीले एक जना मात्रै मन्त्री मन्त्रिपरिषद्‍मा पठायो। प्रचण्ड चीन भ्रमणै रद्द गरेर सत्ता साझेदारीको वार्ता गर्दैछन्। एमालेबाट विष्णु पौडेललाई अर्थमन्त्री बनाउने तयारी भए पनि एमालेभित्रै लफडा भयो, उनी मन्त्री भएनन्। दुई उप प्रधानमन्त्री र पाँच मन्त्रीसहित शितल निवासमा शपथ लिइयो। प्रधानमन्त्रीलाई राष्ट्रपतिले र मन्त्रीहरुलाई राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले शपथ खुवाउने चलन रहे पनि सबैलाई राष्ट्रपतिले नै शपथ खुवाइदिए।

प्रधानमन्त्रीले अरु कम्युनिस्ट प्रधानमन्त्रीहरुले जस्तो ईश्वरको नाममा शपथ लिएनन्। त्यसो त अन्तरिम संविधानमा जस्तो शपथको नमूना यो संविधानमा राखिएको छैन। तर पनि अन्तरिमवाला शपथ नै खुवाइयो। मनमोहन अधिकारीले ईश्वरको नाममा शपथ लिएका थिए। त्यसपछि बनेका कुनै पनि कम्युनिस्ट प्रधानमन्त्रीहरु- प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईले ईश्वरको नाममा शपथ लिएका छैनन्।

पदभार ग्रहणपछि प्रधानमन्त्रीले मन्त्रालय बाँडे। साँझतिर बिरामी हुँदाहुँदै आफूलाई सघाउने मधेस समता पार्टीका सभासद्‍लाई प्रमले राज्यमन्त्री बनाई दिए। पहिलो दिन यस्तो रह्यो मन्त्रिपरिषद् –

नेपालको संविधानको धारा २९८ को उपधारा (४), (५) र (६) बमोजिम सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीको नेतृत्वमा देहाय बमोजिम मन्त्रिपरिषद् गठन र कार्य विभाजन भएको जानकारीका लागि अनुरोध गरिन्छ ।

क्र.सं.

नाम, थर

पद

कार्य विभाजन

१.

श्री के.पी.शर्मा ओली (एमाले)

प्रधानमन्त्री

अर्थ;ऊर्जा;गृह;भूमिसुधार तथा व्यवस्था;महिला, बालबालिका तथा समाज कल्याण;युवा तथा खेलकुद;रक्षा;वन तथा भू-संरक्षण;वाणिज्य तथा आपूर्ति;विज्ञान, प्रविधि तथा वातावरण;शान्ति तथा पुनर्निर्माण;शिक्षा;श्रम तथा रोजगार;संस्कृति, पर्यटन तथा नागरिक उड्डयन;सङ्‌घीय मामिला तथा स्थानीय विकास; सहकारी तथा गरिबी निवारण;सहरी विकास;सामान्य प्रशासन;सिँचाइ;सूचना तथा सञ्चार प्रविधि र स्वास्थ्य तथा जनसङ्ख्या।

२.

श्री विजयकुमार गच्छदार (फोरम लोकतान्त्रिक)

उपप्रधानमन्त्री

भौतिक पूर्वाधार तथा यातायात।

३.

श्री कमल थापा (राप्रपा नेपाल)

उपप्रधानमन्त्री

परराष्ट्र।

४.

श्री अग्नि प्रसाद खरेल (एमाले)

मन्त्री

कानुन, न्याय तथा संसदीय मामिला।

५.

श्री सोमप्रसाद पाण्डे (एमाले)

मन्त्री

उद्योग ।

६.

श्री सत्यनारायण मण्डल (एमाले)

मन्त्री

विना विभागीय ।

७.

श्री हरिबोल गजुरेल (एमाओवादी)

मन्त्री

कृषि विकास ।

८.

श्री रामकुमार सुब्बा (राप्रपा नेपाल)

मन्त्री

विना विभागीय ।

९.

श्री मेघराज नेपाली (निषाद) (मधेस समता पार्टी)

राज्यमन्त्री

विना विभागीय ।
  • अग्नि खरेललाई सरकारको प्रवक्ता तोकियो।
  • मन्त्रिपरिषद्को पहिलो बैठकले आन्दोलनरत दललाई वार्ताको आह्वान गर्‍यो। प्रधानमन्त्री ओलीले देशभर तुइन विस्थापित गर्दै झोलुंगे पुल बनाउने फाइल सदर गरे।
  • कमल थापाको छलाङ : २०६२/६३ को जनआन्दोलनमा शाही सरकारका गृहमन्त्री रहेका कमल थापा गणतन्त्रमा पनि पहिलो पटक मन्त्री बनेका छन्। पञ्चायत काल, बहुदल काल, राजाको सक्रिय शासन काल हुँदै गणतन्त्रमा समेत मन्त्री बन्न उनी सफल भएका हुन्। यसलाई उनी आफैले ट्विटरमा ‘ऐतिहासिक उचाई’ भनेका छन्।
  • सुशील कोइरालाले बालुवाटारबाट विदाइको क्रममा मैले रामचन्द्र पौडेललाई उम्मेदवार बनाउँ भनेको तर शेरबहादुर देउवाले नमानेपछि चेपुवामा परेर आफूले उम्मेदवारी दिनुपरेको बताए।
  • एमाओवादीले सभामुख र उपराष्ट्रपतिमा तथा उपप्रमसहित ८ मन्त्रालयमा आफ्नो दावी रहने बताएको छ। राष्ट्रपतिको दावी गर्ने बाटो खुल्यो भन्ने एमाओवादी उपराष्ट्रपतिमा झरेको हो। राष्ट्रपति कसले पाउने हो अझै प्रष्ट छैन।
  • हवाई इन्धन ल्याउने आयल निगमको नेपाली भाषामा निकालिएको ग्लोबल टेन्डर नेपाल वायुसेवा निगमले जित्यो। दैनिक २२ हजार लिटर हवाई इन्धन ल्याउन २५ हजार डलर भाडा र १५ प्रतिशत कोलकाताको मूल्यमा शुल्क वायुसेवा निगमले पाउँछ।
  • हिजो भारतीय प्रमले बधाई दिएका थिए भने आज चिनियाँ प्रधानमन्त्री ली खछ्याङले केपी ओलीलाई बधाई सन्देश पठाए।
  • भारतीय दूतावासमा स्रष्टाको धर्ना : प्रगतिशील लेखक सङ्घ, नेपाली लेखक सङ्घ, एकीकृत राष्ट्रिय जनसांस्कृतिक महासङ्घलगायत २७ संस्थाको ऐक्यबद्धतामा साहित्यकारले हस्तक्षेप नगर्न आग्रह गर्दै कालोपट्टी बाँधेर विरोध जनाए। धर्नामा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा विष्णुविभू घिमिरे, सदस्य सचिव डा जीवेन्द्रदेव गिरी, वरिष्ठ साहित्यकार निनु चापागाईं, डा जगदीशचन्द्र पोखरेल, डा रामप्रसाद ज्ञवाली, अमर गिरी, डा ईश्वरचन्द्र ज्ञवाली, हरिहर खनाल, खगेन्द्र राई, मातृका पोखरेल, डा गोविन्द भट्टराई, श्रवण मुकारुङ, लक्ष्मी माली, सुशीला प्रधानाङ्ग, यशोदा अधिकारीलगायतका साहित्यकार उपस्थित थिए।
  • ओली प्रधानमन्त्री निर्वाचित हुने बित्तिकै केही खुकुलो भएको नाकाबन्दीका क्रममा आज आइओसीले पनि तेल बढाएर दियो। रुपन्देहीको बेलहिया, विराटनगरको जोगबनी र झापाका सीमा नाकाहरु खुले।
  • नेपाल प्रहरीले यात्रुको सेवाका लागि निःशुल्क बस सेवा सुरु गर्‍यो। यात्रुहरु छतमा चढी कष्टपूर्ण यात्रा गर्ने क्रम जारी छ।
  • व्यवस्थापिका–संसद्ले व्यवस्थापिका संसद्को अन्तरिक कार्यविधि–२०७२ परिमार्जन र व्यवस्थापिका–संसद् नियमावली मस्यौदा समिति गठनसम्बन्धी दुई प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। नेपालको संविधानको धारा २९६ को उपधारा १ बमोजिम व्यवस्थापिका संसद्ले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न र समितिको गठन, काम कारबाही तथा अन्य कुरा नियमित गर्न र व्यवस्थापिका–संसद्का अन्य कार्यलाई सहज बनाउन सो नियमावली ल्याउनु परेको हो।
  • नवनियुक्त उपप्रधानमन्त्री विजयकुमार गच्छदारले तराई–मधेसमा जारी आन्दोलनका माग सम्बोधनका लागि सङ्घीयताको संरचनामा हेरफेरसहित संविधान संशोधन गरिने बताए। उता पर्सा र बारामा फोरम लोकतान्त्रिकका नेता र कार्यकर्ताले पार्टी छाडेको घोषणा गरे।
  • सरिता गिरीले सद्‍भावना पार्टी त्यागेको घोषणा गरिन्।
  • संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा धनुषा र सप्तरीले दशैँलाई ध्यानमा राख्दै पाँच दिनका लागि जिल्लाका विभिन्न वित्तीय सङ्घसंस्थालाई खुल्ला राख्ने निर्णय गर्‍यो।
  • वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि आएको हिमपहिरोले लाङ्टाङ क्षेत्रमा पुरिएर हराएकामध्ये २१ जनाको कङ्काल भेटियो। पहिरोमा पुरिएका करिब ३०० मध्ये अझै ८५ जना फेला परेका छैनन्।

11 thoughts on “शपथसँगै सत्ताको लफडा, कमल थापाको छलाङ : पढ्नुस् असोज २५ गतेको प्रमुख घटना”

  1. gajen Pakhrin says:
    October 14, 2015 at 1:30 pm

    कपाल थापा गणतन्त्रात्मक देशको सम्बैधानित पररास्ट्र मन्त्रि / खै के भन्नेर / आँखा कान सबै बन्द छ मेरो /

    Reply
  2. punya prashad says:
    October 13, 2015 at 7:59 pm

    मैले बिनबिभागीय मन्त्री को महत्वो कैले बुझ्न सकिन। कसैलाई ज्ञान भये बुझाईदिन को लागि अनुरोध :

    खास मा बिनबिभागीय मन्त्री को काम के गर्ने हुन्छ ? देस को कुन बिभाग सँग सम्बन्धित काम गर्छन् यिन ले ?

    एदी कुनै बिभाग अथवा सम्बन्धित काम गर्छन् भने किन “बिनबिभागीय” भन्ने नाम राखेको ?

    एदी काम नै गर्न पर्दैन भने किन यि पद हरु बनएको ? राष्ट्रिय पैसा, श्रोत साधन को दुरुपायोग भएन र ?

    Reply
    1. Shankar says:
      October 13, 2015 at 9:19 pm

      मन्त्रि त् तिमि भयेउ , सुख सुबिधा पनि लेउ , मोज गर र आर्को ब्यबस्था न हुन्जेल तिमि बिना विभागीय | माथिको आदेश अनुसार जुन मन्त्रालय हेर्नुपर्ने पनि हुन् सक्ने |तिमि आलु हौ , जुन मा मिसाए पनि तरकारी बन्छ |

      Reply
  3. Shisir says:
    October 13, 2015 at 7:09 am

    नेपालको विकासको लागि बिज्ञान तथा प्रबिधि मन्त्रालयलाई विशेष प्राथमिकतामा राखेर ओली सरकारले काम गरोस् |

    Reply
  4. sushil says:
    October 13, 2015 at 6:47 am

    अहिले हाम्रो सामु येतिका धेरै समस्याहरु छन् कि ओलीको काम गराई हेर्नको लागि लामो समय कुर्न पर्दैन, उनको निर्णय क्षमता चाडै नै देखिनेछ र उनीप्रति हामीले गरेको विश्वासको पनि निर्णय हुनेछ. मुख्य समस्या प्रतिपक्ष हो, जब जब कांग्रेस प्रतिपक्षमा बस्छ सरकारलाई कुर्सी नछोडेसम्म पुठामा सुई घोच्ने मात्रै गर्छ.

    Reply
  5. Shankar says:
    October 13, 2015 at 4:36 am

    गोबर्धन जी
    बिज्ञान टेक्नोलोजी लाइ चै तपाइले हेप्नु भएछ | तेसो हैन |
    राजनीतिक पार्टी पसल हो , सिद्दान्त बेच्ने सामान हो | पसल कहिले चल्छ कहिले निल हुन्छ तेस्तै पार्टी पनि | हिन्दुधर्म , राजतन्त्र कमलेको मागिखाने भाडो थ्यो जसरि बहुदलीय जनबाद , नौलो जनबाद , प्रचण्ड पथ के के कम्निस्ट को | हिजो राजा मान्ने कम्निस्ट पनि त् यिनै थिए ! हिजो माउबादी को नेता हिसिला पति पी यच दि अब माउबाद नेपाल को लागि असान्धर्भिक भयो भन्दै रुदै पार्टी छोडे | तेसैले कांग्रेस को समाज बाद , कम्निस्ट को आधा दर्जन बाद , कमल को राजतन्त्र , हिन्दु धर्म हातिको देखाउने दात थ्यो र हो |
    यो पार्टी सिस्टम को बिसेसता नै हो , बहुमत पुर्याउने तेसैले लालु सग भाजपा मिल्छ , कहिले कांग्रेस अरुबेला लालु ले चारा घोटाला गर्यो भन्छ |

    Reply
    1. Gobardhan says:
      October 14, 2015 at 6:19 pm

      मैले हेप्न खोजेको होइन| त्यो मन्त्रालयलाई नाउँ अन्सुआरको कुनै रोल दिएको छैन| एकचोटी सोलर प्रबिधि र e-government को बारेमा बुझ्न जाँदा कसैले चासो देखाउनु सट्टा उल्टो हाम्रो जिम्मेवारी होइन भन्न्दै पन्छाए| बरु आफ्नै गुनासोको लिस्ट सुनाए| प्रशासनमा भएकालाई सरुवा बढुवा र विदेश भ्रमण अध्ययन सेमिनार संग मात्र मतलब रहेछ| धेरै जसो जो बिज्ञ छन् उनीहरु सरकारलाई दोष दिंदा रहेछन र तलब पकाउदारहेछन| यही तालले किन एउटालाई मन्त्रि र सचिव खान मात्र मन्त्रालय खडा गर्ने? बिभाग बनाए पनि हुन्छ| मन्त्रीलाई न वास्ता छ न जानकारी|
      क्यानाडामा राजदुतावास खोलेर राजदुतको पद राखेर आफ्नै मान्छेलाई जागिर खुवाउनु र बिज्ञान प्रबिधि मन्त्रालय खोलेर मन्त्रि र सचिव थप राख्नु उस्तै उस्तै मात्र हो| के काम गर्नु पर्ने र गरेको छ भनेर केहि तोकिने होइन, मुल्यांकन छैन| यसप्रति पनि ध्यान जाओस| बस भन्न खोजेको त्यही हो| आफै बिज्ञान र प्रविधिको पछि लाग्नेले त्यही बिषयलाई किन हेप्ने?

      Reply
  6. Surya says:
    October 13, 2015 at 2:41 am

    कमल थापाले आफ्नो अजेण्डा स्थापित गर्न गणतन्त्रबादीको हुलमा कस्तो खेल खेल्ने हुन्, त्यो हेर्न रमाइलो हुने भो. संबिधान सभाबाट निस्किसकेका यिनी वार्तापछि सजिलैसंग फेरी संबिधान सभा फर्किएकै आश्चर्यजनक थियो.

    राजनीतिक खेल बाहेक यो सरकारले अरु कुनै बिकासका ठुला योजनाहरु भने ल्याउने छैनन्. ढिलो या चांडो नाकाबन्दीको हल त भैहल्छा. त्यतिमात्र हो. Enjoy the show!

    Reply
  7. Gobardhan says:
    October 13, 2015 at 12:33 am

    धरोधरमा होला यो कमल थापालाई लिएर ओलीले एइतिहासिक महाभूल गरे| राख्ने पर्ने वाध्यता भए पनि बिज्ञान र टेक्नोलजी मिनिस्टरमा राखे भैहाल्थ्यो| २००% भ्रष्टचारी, आफ्नै भ्रस्टचारी भाईलाई सभासदमा नियुक्ति दिएर उनी महानातावादी भ्रस्टचारी र नातावादी छँदै थिएर लोकतन्त्रमा पनि नसुधरिएको प्रष्ट पारे|
    हिन्दु धर्म संबिधानमा हुनपर्ने र राजा ल्याउ भन्ने कमलेले अरु के चटक गर्ने हो| स्मरण रहोस, कमलेको पार्टीले एउटा पनि प्रयक्षमा सीट जितेका होइनन| जजस्ले राजाको कान्छो नुन खाएका थिए, त्यसैको तुष थियो र उनीहरुले भोट हाल्दा समानुपातिकमा आएका हुन्|
    देश डुबाऊ, कमले ल्याऊ भनेर तेसै नारा लगाएका होइनन|
    राजाको प्रत्यक्ष शासन ताका रु १५ करोड मेदियालाई दिने र सुलसुलेलाई दिएको भनेको राष्ट्रको ढुकुटी स्वाहा गरे बापत उनलाई सजाय हुन्पर्थ्यो|
    ओलीलाई प्रधान मन्न्त्रिको कुर्सीमा बस्नु थियो जो आए र देश डुबे पनि पर्वाह थिएन|
    कमल थापामा भरोसा नपरु हो, देश दुबाउञ्छ| विगतबाट उनी पाठ सिक्ने वाला होइनन|
    अर्का उपप्रधान मन्त्रि गच्छेदारले पनि चिट्ठा पड्काए मधेसी आन्दोलनको रापले| उनी पनि नम्बर वान भ्रस्टचारी हुन्| थारुका नेता भएर थारुलाई हेरेको भए किन अहिले थारुको यो हालत हुनेथियो|

    Reply
    1. XYZ says:
      October 13, 2015 at 7:04 am

      Great statistics, please do keep it up, we need to fight with this corrupt regime from the very start. Just watch out how Mr Lok Man will turn into a big Joke Man.

      Reply
    2. Patrick says:
      October 13, 2015 at 9:04 am

      ए गोबर्धन बाबु अरु मलाई केहि थाहा भएन तर यो बिज्ञान र टेक्नोलोजी लाइ किन यसरि हेपेको?

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme