Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जे पायो त्यही समाचारदेखि सावधान

Posted on September 30, 2015September 30, 2015 by Salokya

आजभोलि इन्टरनेटमा समाचार राख्न सजिलो छ। अनि फैलाउन पनि सजिलो छ। जे मन लाग्यो त्यही लेखिदियो, अनि फेसबुकबाट सेयर गर्नेहरु टन्नै भइहाल्छन्। समाचार सही हो कि गलत भनेर दिमाग खियाएर हेर्नेहरु कमै हुन्छन्। त्यसैले आजदेखि एउटा नयाँ स्तम्भ माइसंसारमा सुरु गरिएको छ- ‘जेपिटी हो कि होइन?’ तपाईँ पनि कुनै समाचार सही हो कि गलत भनेर अन्यौलमा हुनुहुन्छ वा कुनै समाचार गलत भएको थाहा पाउनुभयो भने [email protected] मा वा हाम्रो फेसबुक पेजमा जानकारी दिन सक्नुहुन्छ। आजको जेपिटी समाचार पूर्वेली न्युजबाट।

ओबामाको नाममा जे पायो त्यही
मंगलबार राति फेसबुक चहार्दै गर्दा एक जनाले सेयर गरेको समाचारमा आँखा गयो। शीर्षक थियो- ‘नेपालको संबिधानप्रति ओबामादवारा खुशी ब्यक्त : भारतलाई नाकाबन्दी फिर्ता लिन आग्रह’। अहो, के खबर रहेछ यो? ओबामाले नै भारतलाई आग्रह गरेको भनेपछि त सिरियस कुरा हो। के रहेछ भन्ने थाहा पाउन क्लिक गरेँ।

समाचार यस्तो थियो-
purbeli

यो समाचार झट्ट हेर्दा कहीँ गलत नलाग्न पनि सक्छ। किनभने यसले स्रोतका रुपमा सबैभन्दा तल रासस लेखेको छ। त्यो भन्नुको अर्थ हो- यो समाचार देशको एक मात्र सरकारी न्युज एजेन्सी राष्ट्रिय समाचार समितिले लेखेको हो। तर ओबामाले भारतलाई नाकाबन्दी फिर्ता लिन आग्रह गरेकै होला त? हो कि होइन पत्ता लगाउने एक मात्र उपाय हो- राससकै मूल समाचार हेर्नुस्। राससको मूल समाचार भने यस्तो रहेछ-
obama

यसमा त्यो अनुरोधवाला वाक्य समाचार लेख्नेले आफै घुसाइदिएका रहेछन्-

उहाले नेपाल बिरुद्ध भारतले गरेको नाकाबन्द िबिरुद्ध पनि बोल्नुभएको थियो । उहाले नाकाबन्दी फिर्ता गर्न भारतपक्षलाई अनुरोध गर्नुभएकाे छ ।

मूल स्रोतमा योबारे केही लेखिएकै छैन। समाचार लेख्नु भनेको कथा वा कविता लेखे जस्तो पक्कै होइन ताकि त्यसमा आफ्ना कल्पना मिलाउन सकियोस्। ओबामाले यस्तो भनिदिए हुन्थ्यो भन्ने लागेको भए त्यस्तोले लेख्ने कथा वा कविता हो, समाचार होइन। सर्वसाधारणलाई भ्रमित बनाउने यस्ता समाचार छाप्ने साइटबाट सतर्क होऔँ।

पूर्वेलीन्युजमा यो गलत समाचार छापिएको पढ्न यहाँ क्लिक गर्नुस्
पूर्वेलीन्युजको यो समाचार डिलिट गरिएको भए सेभ गरिएको पढ्न यहाँ क्लिक गर्नुस्।

यही मनगढन्ते समाचार छाप्ने अरु साइट र फेसबुक पेज यी हुन्-
फेसबुक पेज पूर्वेली न्युज
http://www.zoomnp.net/archives/12679
फेसबुक पेज ठूलापोखरा
फेसबुक पेज हाम्रो-नेपाल-हाम्रो-पौरख-हाम्रो-गौरब
फेसबुक पेज हाइवेखबर

अब तपाईँहरुलाई एउटा अनुरोध- यस्तो भ्रामक खबर कुनै फेसबुक पेजले सेयर गरेको रहेछ भने तपाईँलाई फेरि फेरि पनि त्यो पेजले त्यसरी नै झुक्याएर गलत सूचना दिनसक्छ। त्यसैले त्यस्ता पेजलाई तपाईँले दिने सजाय भनेको उसको पेजमा तपाईँले गरेको लाइक फिर्ता लिनु हो। यो कसरी गर्ने त ?

गलत खबर दिने फेसबुक पेजमा जानुस्,
लाइक्ड लेखिएको ठाउँमा कर्सर लगेर क्लिक गर्नुस्
र ड्रप डाउन मेनुमा अनलाइक क्लिक गर्नुस्।

unlike

7 thoughts on “जे पायो त्यही समाचारदेखि सावधान”

  1. शिशिर says:
    October 1, 2015 at 8:03 pm

    धेरै जसो यस्ता जेपीटी समाचार ब्लगस्पट.कम बाट खोलिएका साइटले दिने गरेका छन् । यस्ता साइटहरुले एडसेन्सबाट डलर पाउने आशमा झुठा खबर दिएर बढी भन्दा बढी भ्यु पाउने उद्देश्यले यस्ता साइटहरुकाे निर्माण गरी सञ्चालन गर्ने गर्दछन् । यस्ता साइटहरुको फेसबुक पेजबाट लाइक फिर्ता लिने र त्यस्ता साइटहरुमा देखिने विज्ञापनको लिङ्कको सहाराले गुगलमा उजुरी गरी त्यस्ता साइटहरुमा विज्ञापन नदेखाउने व्यवस्था मिलाउने प्रयास गर्नु नै मेरो विचारमा त्यस्ता साइटहरुलाई दण्ड दिने उपयुक्त माध्यम हुन्छ ।

    Reply
  2. Shankar says:
    September 30, 2015 at 4:26 pm

    ————सिब संकर मुखर्जी भन्ने इन्डियन दुत ले भारतीय कुनै च्यानल को टक सो मा भन्दै थ्यो
    मदिसेलाई काठमान्डू छिर्न पनि भिसा चाहिने भएको ले पनि यो आन्दोलन भएको हो |
    सुनेको थे कि राणा काल मा चै कतै त्यो ब्यबस्था थ्यो अब अहिले त्यो छैन नत्र काठमान्डू गोबर ले भरिने थिएँन |भनेपछि तेत्रो दुत भएकोले ले खुले आम झुटो बोले पनि हुने ?

    ———-मोदी ले खुद बोलेको छ सोनिया गान्धी इटालियन मुलकी भएकोले भारतीय पी यम बनाउन मिल्दैन तर बिहारी मदिसे हरुलाई नेपाल को पी यम बना भन्छ

    Reply
  3. Sunit Tamang says:
    September 30, 2015 at 3:23 pm

    very good initiative, i support

    Reply
  4. Resham says:
    September 30, 2015 at 2:58 pm

    धेरै राम्रो लेख . यस कारणले नै my sansar मेरो मन पर्ने ब्लग हो .यसमा सत्य तथ्य सहित निस्पक्षे विश्लेषण को समाचार पढ्न पाइन्छ .यसले सर्ब साधारण मा जन चेतना फैलियोस . नेपालमा अहिले पनि स्वतन्त्र विश्लेषण गर्न सक्ने मानिसहरुको कमि जस्तो देखिन्छ . यसकै दुरुपयोग गर्दै कतिपय tv ,सामाचार पत्र online ब्लग /पत्रिकाहरुले आफु वा आफ्नो साहुको अनुकुल भ्रामक समाचार हरु छाप्ने गर्छन र सर्बसाधारण हरुले धमाधम like र share गरेको देखिन्छ .नजानी नबुझी like र share ठोक्दा कुनै दिन cyber crime मा फस्न सकिने कुरा पनि सर्बसाधारण ले हेक्का राख्नु पर्छ .

    Reply
  5. Tenzing Gaba says:
    September 30, 2015 at 2:51 pm

    अस्ति भर्खर २-३ हप्ता अगाडी तिरको कुरो हो
    हाम्री आमाले फोन गरेर भनिन

    आमा : ए बाबु, नेपाल आउदा २०-२५ किलो सुन लिएर आइज है, अरु सामान ल्याउनु पर्दैन/

    म : होइन त्येत्रो सुन मैले कताबाट ल्याउनु आमा ?

    आमा ; होइन बिदेसां त आजकाल सुन बेस्सरी सस्तो भा छ रे, फालाफाल नै छ रे त्

    म : होइन एस्तो नचाहिने गफ कसले सुनायो आमालाई ?

    आमा: किन गफ हुनु नि, मैले मेरै आखाले कम्प्युटरमा देखेको, खै कता तिर हो सुनै-सुनको पहाड नै भेटियो रे त्, १ जना काले मानिसले सुन टन्न धोक्रोमा हालेर बोकी राखेको त् मैले फोटो नै देखेको /

    म: ट्वा !!!

    ——————————————————————–
    कुरो बुझ्दै जादा अस्ति एकपटक धेरैले सेयर गरेको फेस्बुके समाचार सम्झिए,
    जसमा दक्षिण अफ्रिकामा सुनको पहाड भेटिएको क्याप्सन सहित १ जनाले बडेमानको पहेलो पहेलो धुलोले लतपत भएको सुनको धोक्रो बोकिरखेको फोटो थियो / मेरी आमाले पनि त्येही फोटो देखेकी रहिछन /
    राम ! राम !! राम !!!, त्यो समाचार हावा कुरो हो, बकम्फुसे गफ हो भनेर सम्झाउनु कम गार्हो परेन मलाई, अब उनलाई SPECIFIC GRAVITY पढाउने कुरो आएन, अरु कुरो जे भन्दा पनि कुरो बुझ्नी होइन
    बल्ल बल्ल जुक्ति लगाए र भने,

    म : ए आमै !!!, त्येत्रो धोक्रोमा कति पाथी जति धान वा चामल अट्छ होला ?
    आमा: कम्तिमा पनि १ मुरी (२० पाथी) अट्छ नि
    म: अनि त्यो धोक्रो कति गह्रौ हुन्छ होला ?
    आमा: धानको धोक्रो भए ५०-६० किलो हुन्छ, चामलको भए त १०० किलो नै पुछ होला
    म : फलामको चिउराको धोक्रो भए नि ?
    आमा : फलाम चिउराको भए त हजार नै काट्छ होला नि
    म : हो त्यसै गरि सुनै-सुनको चिउराको धोक्रो भयो भने १९ हजार किलो हुन्छ त्यो धोक्रोको तौल/ अनि एउटा मानिसले १९ हजार किलोको धोक्रो बोक्नु सक्छ ? लु अब आफै विचार गर्नुस अब , त्यो खबर गफ रहेछ कि सत्य रहेछ त् ?

    आमा : ट्वा !!!!

    जदौ

    Reply
  6. Chiran Pokhrel says:
    September 30, 2015 at 2:11 pm

    इन्डियाको गलत नीतिको सधै बिरोध गरौँ । धेरै हल्ला नगरी चिनिया साईडका बाटोघाटोलाइ दुरुस्त बनाउदै लान दवाब दिउँ । सम्बन्धि संस्था थोरै तर बलियो बनाउन नेपाली मिडिया मर्जर नीति अपनाउँ । कसैलाई नेता बनाउनकै लागि मात्र मिडिया प्रयोग नगरौं । नेपालि मिडियाको पहुँच बिस्वको कुना कुना पुर्याउ । ताकि बिरोध गर्दा सबैले थाहा पाऊन । स्थानिय झडपका समाचारहरु अनलाइनमा नराखौ । देश र देशका समुदाय हितको लागि समाचार नकारात्मक हो कि सकारात्मक भनेर समाचारको बर्गिकरण गरौँ । विकासका समाचारहरुलाई प्राथमिकता दिउ । – See more at: http://www.newsabhiyan.com.np/news-details.php?nid=10129#sthash.Zby4E88Y.dpuf

    Reply
  7. Surya says:
    September 30, 2015 at 1:31 pm

    सहि कुरो. यस्तो जेपीटी समाचार लेखेर समाजमा भ्रम फैलाउने वेब साइतलाई त कारवाही हुनुपर्ने होइन र, त्यो पनि सिधै राससलाई उधृत गरेर झुठो समाचार लेख्दा…

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme