Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘खिसियानी बिल्ली खम्बा नोचे’ शैलिमा भारतको प्रतिशोध कुटनीति

Posted on September 30, 2015 by mysansar

-सुदन महत-

आफ्नो जबर्जस्त कुटनीतिक सल्लाह, सुझाव र स्वार्थहित विपरित नेपालमा संविधान जारी हुनै लाग्दा असोज तिनको पेरिफेरीमा भारतीय संस्थापनको असह्यता उत्कट हुन पुग्यो। आफ्नो स्वामित्वको सम्बोधन विना ००७ सालयता प्रथम पटक नेपाली जनताले आफ्नै बुताले संविधान जारी गर्न लाग्दा उसले अन्तिम प्रयास स्वरूप विदेश सचिवलाई बिशेष दुत बनाएर नेपाल पठायो। अन्तत: बिशेष दुतको संविधान घोषणा स्थगन अथवा स्थगनको रणनीति अनुरुप संविधान घोषणा केही दिन पर सार्ने आग्रहलाई संयुक्त रूपमा अस्विकार गर्दै इतिहासमा लामो समयदेखी भारतीय लगामको नत्थी बनिरहेका नेपाली दलहरुले प्रथम पटक भारतलाई हिनताग्रस्त तुल्याए। अन्तत: संविधान जारी भयो मुलुकमा।

‘खिसियानी बिल्ली खम्बा नोचें’ भनेझैं गरी हिनताग्रस्त भारतले ‘उदेश्य अस्थिरता’ लाई एजेन्डा बनाएर प्रतिसोधको कुटनीति चल्यो। संविधानप्रति असन्तुष्टहरुको मधेसमा जारी आन्दोलनमा आफुलाई घुसाएर मधेसको मांगलाई अस्वाभाविक ढंगले उचाल्यो आफ्नो स्वार्थ अनुकूल। ७ बुंदे मांग दिल्लीबाट सार्वजानीक गर्दै मधेसको मांगको दुहाई दिदैं संविधानमा संशोधनको मांग गर्दै नेपालको संविधानमाथी ठाडो हस्तक्षेप गर्यो। चौतर्फी विरोध पश्चात् ति मांग आफ्ना हैनन् भन्न त ऊ बाध्य भयो यद्यपी मधेसी नेताको मुखबाट ति हाम्रो मांग हुन् भन्ने अभिव्यक्ति दिन सफल रह्यो।

मधेसी, जनजाती, थारु, अल्पसंख्यक लगायतको मागलाई राज्यले सम्बोधन गर्नुपर्दथ्यो र गर्नुपर्दछ। शोषण, उत्पीडन, अन्यायका अवयवहरु विच्छेद हुने गरि संविधान लेखिनुपर्थ्यो। तर बहुदलीय प्रतिस्पर्धालाई स्वीकारेको हाम्रो मूलुकले सबैलाई सबै प्रकारले चित्त बुझाएर संविधान जारी गर्न नसक्नु अस्वाभाविक थिएन। यसर्थ यो सुधारवादी संविधान मात्रै हुन पुग्यो क्रान्तीकारी हैन। यद्यपी यो संविधानले संशोधनका धारा खुला रहेको छ।

विकेन्द्रित र स्वायत्त शासनप्रणालीको अवधारणा अन्तर्गत संघियता स्वीकारेको छ संविधानले। गणतन्त्र, समानुपातिक-समावेशिता, मौलिक अधिकार, न्याय निरुपण, विभेद अन्त्य, समावेशीता आदि जस्ता प्रशस्त प्रगतिशील धाराहरु समावेश छन् संविधानमा।

संविधान सदैव अपुरो हुन्छ, तर समयको गतिसंगै आफुलाई परिवर्तन गर्न लचक हुन्छ।

मुख्य: नेताहरु असन्तुष्टिलाई सम्बोधन गर्न चुकेको यथार्थ हो। महाविनाशकारी भूकम्प पश्चात् ‘फास्ट ट्रयाक’को नाममा संविधान जारी गर्दा ‘तातो खाएर जल्दै मरौं’ मार्काले दुर्घटना निम्त्यायो। यती लामो समय देखीको प्रतीक्षा, संघर्ष र हजारौंको वलिदानी पछि जारी हुने संविधानले सर्वत्र खुसीयाली छाउने माहौल निर्माण गर्न सक्नु पर्थ्यो। तर कटु यथार्थ के हो भने त्यो आदर्श कल्पनाको यथार्थ अवतरण विश्व इतीहासमा न्यून अथवा शुन्य देशले मात्रै भोगेको छ। समाजको परिवर्तन निषेधको निषेध नियमद्वारा हुन्छ, सहज गति त स्विकार्यतामै छ, चाहे त्यो तितो होस् या मिठो।

संविधान जारी भईसकेको छ तर मुलुक अशान्त नै छ। ढिलो चाडो राज्यले आफ्नो जनताको आवाज नसुनी धर छैन तर मुलुकभित्रको समस्या, कमजोरीमा छिमेकी तानिनु अथवा आफैं हुत्तिएर आउनु यो सुखद् कुरा हैन। यसले हामीले बर्षौदेखी पूर्खाको वीरता र पौरखता मनचिन्ते झोलीं बनाएर अलाप्दै आएको स्वाधिनतामाथी कठोर प्रश्न गरेको छ।

हामीकहाँ हामीभित्रको समस्या कमजोरीलाई समग्र देशलाई प्रभावित गर्ने गरी उचालिएको छ। लामो समयदेखी साँस्कृतिक-आर्थीक (परनिर्भरता) संबन्ध रही आएको भारतले अघोषित नाकाबन्द गरेर मधेसको मागलाई सम्बोधन गरियोस् भन्ने वहाना गरेको छ। हाम्रो देशभित्रको जनाको चिन्ता यहाँ भन्दा बढी भारतलाई हुनु आश्चर्यको बिषय रहेको छ। यो बडो कच्चा र हदैसम्मको कुटनीति हो। नेपालको निर्णयमा सदैव हालीमुहाली गर्दै आएको भारत यो पटक संविधान जारी हुने समयमा नेपाली नेताहरुले देखाएको अयोग्य बफादारिताको कारण तत्काल अर्को कुनै शक्तिको खोजीमा रह्यो जसको कारण नेपाल-भारतको सम्बन्ध समदुरीको हैन भारतको निम्ति सहज चुरिफुरिको होस्।    

भारतले नाका थुनेर दिएको दबाबको डरमा गरिने संसोधनले कसको विजय हुन्छ? नेपालको मधेसी जनताको अथवा भारतीय संस्थापनको? यो संसारमा कुनचांही मुलूकले अन्य मुलूकको जनताको माग यो यो हो भनेर खुलमखुल्ला जिकिर गर्न सक्छ? यदि हामी देशको जनताको माग अरुको दबाबमा पुरा गर्न बाध्य हुन्छौ भने संबिधानमा कसको स्वार्थलाई लिपिबद्ध गर्नेछौ हामीले? छिमेकीले धमिलो पानीमा माछा मार्नु अघिनै, कयौं मधेसी जनताको मृत्यु हुनु अगावै किन गरिएन मांग संबोधन?

यस लेखमा शोषित, पिडित, अपहेलित जनताको असंन्तुष्टिमा ऐक्यबद्धता जनाउँदा जनाउँदै हामीले आफ्नो जनतालाई उपेक्षाभावले व्यवहार गर्दा, त्यो असन्तुष्टी अन्तत: कसरी हामी बिरुद्धनै प्रयोग भईरहेको छ  भन्ने बिषयमा केन्द्रित रहेको छ।

रोटी-बेटीको नेपाल भारतको संबन्ध हाल आएर ‘बेटी’लाई ‘रोटी’ बन्द गर्ने तह सम्म पुगेको छ। विदेशनीतिमा ‘नेहरू डक्ट्रिन’को सट्टा ‘आई.के. गुजराल निति’ लिएको भनिएर प्रशंशीत मोदीको छवि सिमानामा चेपिएको छ। ‘रोटी-बेटीको’ सांस्कृतिक र आर्थीक संबन्धको हौवाले ऐन-वक्तमा हामीलाई हाम्रो स्वाधीनता र समझदारीमाथी प्रश्न गर्ने ठाउँमा ल्याई पुर्याएको छ। हाम्रो राजनीति प्राय: भोट, आश्वासन, भारतको आशिर्वाद, कुर्सी र भारत-भक्तिको निम्ति नेपालको श्रोत-साधनको असमान बिक्रि वितरणमा सिमित भएको छ, भारतको सुक्ष्म ब्यवस्थापनको अंशियार नहुँदासम्म ‘विचार’को राजनीति गर्न सकिन्न भन्ने मानसिकताले जकंडीएको छ।

००७ सालदेखि काँग्रेसले भनिरहेको प्रजातान्त्रिक समाजवाद र कम्युनिष्टको आर्थीक समृद्धी युक्त साम्यवादको सपना आज ५०/६० बर्षपछी नेपाल भारतको दशगजामा निस्सासिएको छ। यो हाम्रो अस्थाई राजनैतिक सफलता र स्थाई आर्थीक विफलताको उपज हो।

संविधान घोषणाको न्यानोपनमा रहेका नेतागण भारतले संविधान घोषणामा देखाएको उदासीनता र त्यसपश्चातको उसको अघोषित नाकाबन्दीले विचलित भई चर्को विरोधमा कुर्लनु स्वाभाविक हो, यसलाई हामीले नेताहरुको असिम देशभक्तीको रूपमा मात्र ब्याख्या गर्यौं भने त्यो भ्रममात्र हुनेछ। यो राष्ट्रवादी भावनाको प्रतिविम्बले मात्र होइन। यो त महाविनाशकारी भुकम्प पश्चात् जनतामा राजनीतिप्रति उब्जेको बितृष्णा, परिवर्तनको निम्ति हजारौंको बलिदानी खेर गईरहेको दृष्टिगोचर, इतिहासदेखी आजसम्म भएका राष्ट्रघाती सन्धि-सम्झौता र जनतामा बाँडेको सपनाको अन्तर्यले जबर्जस्त झकझकाउनु र यसैबाट आज उनीहरुलाई यो विन्दुभन्दा पर आफ्नो अस्तित्वनै संकटमा परेको बोध हुनुले एकता र सहिष्णुतासहित आफ्नै बुंतामा १६ बुंदे गर्न सक्नुले पनि उनीहरुलाई जनतानै अचम्ममा पर्ने गरि भारतको शैलीको ठाडो बिरोध गर्न सक्ने बनाएको हो। अन्यथा: राष्ट्रवादीता विशेष घटना र प्रतिकृयामा मात्र उत्पन्न हुन्न, यो त देशलाई समग्रतामा जोड्ने अमुर्त शक्ति हो जसको उद्वेग प्रत्येक नेता-जनताको रगतमा हरबखत सिंचित भईरहेको हुनुपर्छ तर बिडम्बना हामीलाई जोड्ने सांझा सेतु, त्यो अमुर्त शक्तिको अभाव खड्केको लामो समय भईसकेको छ।

नाकाबन्दी पहाडलाई मात्र होईन, यो त समग्र देशलाईनै हो तर मधेसका नेताहरु मौन प्राय: छन् नाकाबन्दीको विरोधमा, किनकी मधेसको केही मठाधिसको निम्ति सिंहदरबार भन्दा लैनचोर नजिक छ। जिल्ला प्रशासन भन्दा भारतीय वाणिज्य दुतावास नजिक छ, कारण तिनले मधेसमा हुने र भएको  थिचोमिचोमा काठमाण्डौको भन्दा दिल्ली दरबारको सहानुभुतीलाई ठुलो देखेका छन्।

राज्यको लामो समयसम्मको उपेक्षा, अन्य क्षेत्रको जनताको खिसीट्युरी संगसंगै मधेसमा आन्तरिक रूपमा कथित् उपल्लो जातले अन्य जातलाई जातीय-सांस्कृतिक संरचनाद्वारा अहंता र श्रेष्ठताको आधारमा गरिने भेदभाव कम छैन। मधेस राज्यद्वारा मात्र हैन आफैंभित्र पनि पिल्सिरहेको छ। त्यसको निरुपणको निम्ति मधेसको जनताले पक्कै पनि सडक र संविधानसभामा दोहोरो प्रतिनिधि पठाएका हैनन्। संविधानसभामा पठाएको जनप्रतिनिधिले ताली बजाएर पारित गरेको संविधानमा मधेसकै मसिहा बनेर गणतन्त्र पश्चात् लामो कालसम्म नेपालको राज्यसत्तामा शासन गरेका, चुनावमा पराजीत भएका र नेपाली नागरिकता लिएको लामो अनुभव नभएकाहरु दिल्लीको धापमा उक्सिएर ४०/४५ दिनसम्म मधेसकै जनताको बिरुद्ध घात गरिरहेका छन्। स्याल कराउनु र कुखुरा हराउनु कुनै संयोग हैन भने मधेसको आन्दोलन केवल अधिकार प्राप्तिको लडाईं मात्र हैन यो त भारतले आफ्नो खिईदै गरेको स्वामित्व कायम राख्न र इतिहासदेखी नेपाली शासक बर्गले देखाएको ‘हुन्छ हजुर’ प्रथाको निरन्तरताको लागी पनि हो।

अन्यथा यो संविधानले तराई-मधेस मात्र हैन अन्य दलित, मुस्लिम, कर्णाली, अल्पसंख्यकलाई पनि अधिकार सम्पन्न बनाऊन हिच्किचाएको छ। यदि यो संविधान अधुरो, अपुरो र निरन्तर सुधारको निम्ति खुल्ला छ भने मधेसले भारतको प्रतिशोधात्मक कुटनीतिको मोहरा बन्नु हुन्न। यो बखत त देश जुरुक्क उठेर संयुक्त रूपमा भारतको ‘बडे देश छोटे दिल’ बिरुद्ध लाग्नु पर्ने बेला हो। राष्ट्रियतालाई धरमर पारेर हामी आन्तरीक रूपम अधिकार सम्पन्न हुनुको कुनै अर्थ छैन। केही सिमित अदुरदर्शी र अपरिपक्व क्षेत्रीय नेताको उत्तेजित भाषणको कारण भारतको नाकाबन्दी र खुल्ला हस्तक्षेपतर्फ आँखा चिम्लनु राष्ट्रवादीता हैन। लामो समयदेखीको एकात्मक जहाँनिया र तानाशाही शासन प्रणालीले नेपालका मधेसी, मुस्लिम, थारु, जनजाति, आदिवासी, अल्पसंख्यकलाई राष्ट्रियताको सेतुमा समाहित नगरेको यथार्थ हो तर भर्खरै शिशु गणतन्त्रमा आफुलाई हुर्काउदै, संविधान लेख्दै गरेको मुलुकमा अधिकारको लडाईले राष्ट्र र राष्ट्रियातानै धरमर पारिनु हुन्न। राष्ट्रको मूल प्रवाहमा समावेश हुन नसकेको आक्रोशमा बाहिरी हस्तक्षेपलाई स्वीकार गरिनु अक्षम्य अपराध हो। हामीले भुल्नु हुन्न रामले रावणलाई मारेको जायज मान्नेहरुले पनि आफ्नै राजा र दाजुको सुराकी गरेर रामलाई रावणको हत्यामा सघाउने विभिषणलाई स्वीकार्न सकेनन्, उनको देशद्रोहिताको कारण। हामीले राज्यसत्तालाई रावण मानौ शोषित, उत्पीडित, असन्तुष्टको नजरमा। तर हामी बिभिषण नबनौं।         

हिजो ईतिहासदेखी भारतीय आशिर्वादको खातिर चोचोमोचो गर्दै शक्तिमा पुगेर भारतलाई रिझाउने गरी गरिएका तमाम् असमान सन्धि-सम्झौताले हामीलाई यति परनिर्भर बनायो कि हाम्रो स्वाधीनता डिजेल र पेट्रोलको रागमा अल्मलिएको छ। काङ्ग्रेसले दुहाई दिने उदार अर्थतन्त्र र उदार अर्थतन्त्रको नाममा कांग्रेस-कम्युनिष्टले गरेका व्यापारीक-पारवहन लगायतका अनेकौं सन्धीले आज भारतलाई नाकाबन्दी गर्न कुनै हिच्किचाहट हुदैन। उदार अर्थतन्त्र ठुलो राष्ट्रले सानो राष्ट्रलाई परनिर्भरताको शिकार बनाई आधुनीक आर्थीक औपनिवेशिकताको निर्माण गर्ने अस्त्र हो भनेर हाम्रो कम्युनिष्टहरुले बुझ्न सकेकन्। उदारता दोहोरो हुनुपर्थ्यो तर हाम्रो असक्षमता भारतको एकोहोरो उदारता पाएर मखलेल भईरह्यो र आज ‘उदारता’ बन्द हुँदा आन्तरिक रूपमा हामी कति निरिह रहेछौं भन्ने बोध गराईदियो। भारतलाई धन्यवाद।

यो निरीहताबिच हामीले आवश्यकता पुर्तिको विकल्पको रूपमा चीनलाई व्यापारिक भन्दा पनि उदार मनकारी सोच्दै आश्रीत हुने सोच राख्नु तावाको माछो भुंग्रोमा झर्नु जस्तै हो।  

विश्वव्यापीकारण भनेकै व्यापारको सहजीकरण हो। तर व्यापार घरभित्रको आवश्यकता पूर्ण गरेपश्चात् हुन्छ। तर हाम्रो व्यापार अरबबाट रिंगेट ल्याएर बिहारबाट भारुमा नुन-तेल ल्याउनमै सिमित रह्यो। आन्तरिक राजनैतिक परिवर्तनको लडाईले आर्थीक रूपमा स्वावलम्बी बन्न तर्फ हाम्रो ध्यान गएन। खाली पेटको लड़ाई गर्दै विजयपश्चात् पनि आफैं उमार्न सक्ने भएनौ, तब त संविधान निर्माण पछि सिङ्गापुर बन्ने हाम्रो सपना भारतले सम्प्रभुतामै हस्तक्षेप गरेर यो गर र त्यो नगर भनिरहँदा हामी सुरुंग छोडेर साइकल चढ्नु पर्नेसम्मको  भयौं। यो इतिहासमा आर्थीक पाटो चटक्कै बिर्सेर राजनीतिलाई मात्र अंगालिरहेको समाजको तितो यथार्थ हो।

आज मधेस जलिरहेछ, राज्यले पानी छेपेको छैन, भारतले घिउं थपिरहेछ। भोली मागहरु पुरा भए पश्चात् मधेस राज्यप्रति अनुग्रहित हुन्छ या भारतसित? आज काठमाण्डौले भारतको दबाब अस्विकार गर्दा बन्द भएको नाका भोली मधेसले भारतीय हस्तक्षेप अस्विकार गर्दा बन्द भएमा त्यसको विकल्पको लागी तराई, मधेस, हिमाल, पहाड नभनी यथासक्य चाँडो मधेसको मांग सम्बोधन गरी एक ढिक्का भएर आर्थीक समृद्धी र समतामुलक समाज निर्माण गर्नुको विकल्प छैन हामीसंग।

दिल्लीमा रहेका दिलिप खनालले चीन कठिन समयमा स्वावलम्बिपनको बाटोमा अग्रसर हुँदा जनतालाई उत्पादनमा जोंड दिन गरिएको आव्हान, अभावमा न्यून भोजन गर्ने योगविधि जारी गरिएको, सांझा सरोकारका बिषयमा राष्ट्रिय नीति लागु गरिएको जस्ता कुराहरु शेयर गरेका थिए। यो नाकाबन्दीको कठिनतम् घडीमा हामी घुंडा नटेकी केही समय दु:ख सहेर किन स्वाबलम्बनको बाटो नहिड्ने? मधेसी नेतृत्वले चांडो भन्दा चांडो भारतीय च्याँखे सहानुभुतीलाई अस्विकार गर्दै अघोषित नाकाबन्दीको बिरोध गर्दै तत्काल वार्तामा आएर आफ्नो घरभित्रको समस्या हल गर्नु ढिला गर्नु हुन्न, यसनिम्ति मधेसी जनताको दबाब अपरिहार्य छ। यसको लागी राज्यले मधेसमा भईरहेको जन-दमनको अन्त्य गरी वार्ताको वातावरण निर्माण गर्दै समस्या समाधान तर्फ छिटो भन्दा छिटो उन्मुख हुनुपर्छ।

यसपश्चात् सबै छिमेकीसंग पंचशिलताको सिद्धान्तको आधारमा संबन्ध कायम गर्दै दबाबको लागी भारतले नाकाबन्दीको अस्त्र प्रयोग गर्दा समेत फरक नपर्ने गरी यो सानो, स्वतन्त्र राष्ट्रले आर्थीक क्रान्तिको बाटो हुदैं स्वावलम्बन तर्फको यात्रा तय गर्नु पर्दर्छ।
 
(भारतमा सीए अध्ययनरत बिद्यार्थी)  

5 thoughts on “‘खिसियानी बिल्ली खम्बा नोचे’ शैलिमा भारतको प्रतिशोध कुटनीति”

  1. madan bajracharya says:
    September 30, 2015 at 8:33 pm

    यस्तो माग माग्ने मधेसीको अगाडी झुके नेपालको तराइ प्रदेश होइन परदेस बन्नेछ/सम्पूर्ण तराइ ईतिहासको कुनै कालमा पनि कसैको पनि मध्य देसभयको छैन/ उहिले तराइ घना जंगल थिय र त्यहा मलेरिया र जंगली जनावरको दरको कारणले थारु र तराइकै केहि आदिबाशी मात्रै बस्न सक्थे/ पछि मलेरिया र जंगली जनावरको डर मिते/ बिद्स्तारै जंगल मैदान बने/ त् कुनै बेला घना जंगल भयको पानि प्रशस्त भयको तराइको समस्त भुमि खेति, मानव बस्ती र उद्द्योग को निमित अत्यन्त आकर्षक भुमि बने/ त् त्याहा नेपालको अरु जातिको बसाई सराइ पनि सुरु भयो/ तर नेपालको नेपालको नेपालीको भन्दा भारतको बिहारीको बसाइ सराइ बढी हुन् गयो/ यसको मूल कारण नेपालमा कुनैको पनि सरकार देसको सिमाना को सुरछ्या प्रति संबेदनशिल नभयकोले नै हो/

    सन् १९५०को सन्धि अनुशार भारतीयहरु नेपालमा बसाइ सर्न त् सक्छ तर भुमिको मालिक बन्न सक्दैन/ जमिनको मालिक बन्न पाउन नेपालको नागरिक बन्नु पर्छ/ त् भारतको दवाव दिलायर नेपाली नेताहरुलाई प्रभावित पारेर ती बिहारिहरुले भारतीय नागरिकता लुकायर नेपालकै बाशिन्दा भयको भनेर धाटर नेपालको नागरिकता त् लिय/ तर तिनीहरुले आफुलाई कहिले पनि नेपाली मान्न तयार भयन; नेपालको अन्य जनजातिलाई कहिले पनि आफ्ना ठानें/ बरु उल्टै कसरि हुन्छ तेसरी नेपालको तराइलाइ भारतकै बिहारको भुमि बनाउन तराइ नेपालको नभयको भारतको बिहारकै भुमि मध्यदेस भयको हल्ला फैलायो/ उनीहरुको यस्तो दुस्प्रयासमा भारतको सरकारको समर्थन रह्यो/ त् के यतिकैमा भारतको बिहार बात नेपालमा आप्रवाश गरेकाको माग अनुशार नेपालको सम्पूर्ण तराइलाई अहिलेलाई मधेश्बादिको अखण्ड मध्य्देस भोलि विदेश बनाउन सकिने स्वायत र रास्ट्रिय आत्म निर्णय गर्न सकिने संघीय मधेश प्रदेश बनाउन दिनु हुन्छ?

    नेपालको ९०% नागरिकहरुको प्रतिनिधित्व गरेको संबिधान सभाले सम्पूर्ण तराइलाइ मधेसीको स्वायत र रास्ट्रिय आत्म निर्णय समेत गर्न पाउने यक मधेश” बनाउन दिनु हुँदैन भनेर संबिधान नै बनाई सके/ संबिधान सभा संबिधान बनाउने कार्य सम्मको लागि नागरिकहरुले गठन गरेको हो/ संबिधान बनाउने कार्य सकियाकोले संबिधान सभा भंग पनि भैसक्यो/ अन्तरिम संबिधानमा भंग भयको संबिधान सभाको सभासदहरुले नेपालमा जान प्रतिनिधिहरुको अर्को चुनाव नहुन्जेल सम्म नेपालको सदन चलाउने भनेको अर्थ भंग भैसकेको सभासदहरुको यो सदन मात्र काम चलाउ सदन हो/ इनिहरुलाई संबिधान सभाले बनायको संबिधान सभा बदल्ने कुनै अधिकार छैन/

    त् लोकतन्त्र अंगालेको नेपालको बहुमतले हुँदैन भनेको कुरा मनाउन भारतले दवाव दियियो भन्दैमा तराइकै नागरिकहरुको ५% मत पनि नपाउने केहि मधेश्बादिले माग्यो भन्दैमा तराइलाइ हुँदै नभयको मध्य देस बनाउने र पहाड सिट जोडिन नचाहने पहाडियालाई तराइ बात लखेट्नु पर्छ भन्ने मात्रै नभयर तराइनै नेपालको नभयको समेत भन्नेकै मनपरी शासन चल्ने गरि तराइमा मधेसीको स्वायत प्रदेश बनाउन दिने बा नदिने भन्ने कुरामा कुनै पनि प्रकारको निर्णय अब सदनको चुनाव पछि बनेको सदनको बहुमतले मात्रै निर्णय गर्न सक्छ; अरु कसैले सक्दैन/

    नेपालमा भयका ठुला राजनैतिक पार्टीहरुमा ३ ठुला नेताहरुको श्री ३को हुकुमी सरकारको प्रविती अझै हावी भयको देखिन्छ/ लोकतन्त्रमा उनीहरुको मत अनुशार होइन नागरिकहरुको मत अनुशार शासन पद्धति चल्छ भन्ने कुरा उनीहरु बेला बेलामा भुल्छ र मनपरी सन्धि सम्झौता गर्दै हिड्छ/ लोकतन्त्रमा नेता र सरकार प्रमुखले गरेको सन्धि सम्झौताहरु पनि सदनको बहुमतले पारित नभयमा स्वत खारेज हुन्छ/ लोकतन्त्रमा नागरिकहरुको बहुमत मात्रै अन्तिम निर्णायक शक्ति हुन्छ कुनै नेता; दल बा समुह होइन हिजो गिरिजाले मधेश्बादिलाई सम्पूर्ण तराइ “मधेशबादिलाई सुम्पने सन्धि गरेकै हो भने पनि ९० प्रतिशत नागरिकहरुको मतको प्रतिनिधित्व गर्ने ” संबिधान सभा” ले त्यो कुरा नमानेकोले अब गिरिजाले यस्तो सन्धि गरेको थियो यस्तो यस्तोलाई पनि नेपालको नागरिक दिने भनेको थियो भन्ने कुराको कुनै अर्थ छैन/

    Reply
    1. bibek dhakal says:
      October 1, 2015 at 2:21 am

      ‘तर तिनीहरुले कहिले आफुलाई नेपाली ठानेनन’ भनेर त लेख्नु भो मदन जी तर अन्य नेपालि हरु ले उनीहरुलाई नेपालि सरह व्यवहार नगरेको चाही चटक्कै बिर्सिनुभो. आन्दोलन सुरु गर्ने नेताको निहित स्वार्थ होला, नाजायज स्वार्थ होला तर त्यो स्वार्थ संग कुनै मतलब नभएका सोझा साझा मधेसी हरुलाई पनि आन्दोलनमा लाग्न प्रेरित गरेको छ यस्तै हेपाहा बेहवारले.
      के भारत नजिक सिमा भएको कारणले उनिहरुसंग रहन, सहन संस्कृति मिल्न गयो भन्दैमा उनीहरुलाई ‘भारतीय’ बिल्ला भिराउनै पर्छ? तपाइंले हल्का घुमाउरो रुपमा मदेशी मुलका जनताको उद्गमको कुरा झिकेर उनीहरुलाई बिहारी ट्याग लगाउन खोज्दै हुनुहुन्छ. तेसो भए शेर्पा र भोट जातिका हरुलाई टिबेटन भनिदे भयो, उनीहरुको रहन सहन संस्कृति झन् तिब्बत संग बढी मिल्छ. बिसुद्द टिबेटन भाषामा फ्रान्सेलीले बनाको चलचित्र ‘क्याराभान’ लाइ नेपाली भन्न हतारिने हरु मैथिली र भोजपुरी बोल्ने हरुलाई ‘धोति’ भन्दै हेप्न खोज्छन.
      हो, यो रवैया देखेर वाक्क भएकाहरु पनि लागेका छन् मदन जी आन्दोलनमा. अहिलेको अवस्थामा आपसी सद्वावलाइ कायम गर्नुको सट्टा झन् भड्काउने खालको यस्ता पूर्वाग्रह हरुले कसैलाई सहयोग गर्दैन.

      Reply
  2. XYZ says:
    September 30, 2015 at 10:10 am

    At the end you introduce yourself as भारतमा सीए अध्ययनरत बिद्यार्थी, what a pathetic situation we are into.

    Reply
  3. Shankar says:
    September 30, 2015 at 7:10 am

    तपाइँ ले भन्नु भएको भारतीय प्रतिनिधिले प्रधान मन्त्रि लगायत का नेतालाई तिमीहरुलाई लाखौ भारतीय सिमाना मा ल्याएर नाकाबन्दी गर्छु भनेर धम्कि दिएर गयो रे ( हेर्नुस नारायण मान बिजुक्छे को हालैको अन्तर्वार्ता )| धोति धम्काउने पाखे नेताहरु डराएर सुराल मा मुत्ने |समा चार मा भिम रावल को भारत लाइ चेतावनी , बाम देब को चेतावनी पढ्न पाइयो तर सुसिल , गैडा माकुने , काजु ओली , भैसी पु क दा को चतावनी त् आएँन |
    बाबुराम त् मदिसे सग कुम जोड्न गएको झन्डै झन्डै पिटाइ खाएर फर्कियो |

    Reply
  4. Santosh Lamichhane says:
    September 30, 2015 at 1:04 am

    भारतका केही प्रशासकका कुटनीतिक कमजोरी र गल्तिले गर्दा सायद अब भारतीय राजदूत वा कुनै न कुनै विदेश नीति विभागका कर्मचारी को जागिर जाने जस्तो देखिन्छ | तर अब भारत तिर औला उठाउने मात्र होइन, आफ्नै देशमा हाम्रा तराइबाशी जनताका कुरा सम्मानका साथ सुन्नु पर्छ र आफ्नो समस्याको समाधान तिर लाग्नु पर्छ | आफ्नै देशका आफ्नै दाजुभाईका जायज कुरा सुन्दै नसुनी, विचार नै नगरी, भारतले गरेको कुटनीतिक गल्ति संग उनीहरूको आवाजलै नसुन्ने र बेवास्ता गर्नु ठिक हुदैन | उनीहरू पनि मानब हुन्, नेपाली हुन्, आफ्नै घरमा लत्यायो भने, सम्मान भएन भने, अधिकार दिएन भने उनीहरूले बिद्रोह गर्नु स्वाभाविक हो | हामी सब आफु संयम र सम्मान गर्ने गरौँ अनि मात्र अरुबाट तेस्तो अपेक्षा राख्ने गरौँ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme