Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जोरबिजोर लागू, नाकाबन्दी अझ कडा : पढ्नुस् असोज १० का मुख्य घटना

Posted on September 27, 2015September 29, 2015 by Salokya

२०७२ असोज १०, आइतबार

भूकम्पले भत्किएका मन्दिर र संरचना अनि हालैको भारतीय नाकाबन्दीका बीच आज उपत्यकावासीको महत्त्वपूर्ण चाड इन्द्रजात्राको मुख्य दिन मनाइयो। गद्दी बैठक भत्किने डर भएकोले राष्ट्रपति लगायत मुख्य अतिथिलाई वसन्तपुर डबलीमा पालमा राखेर जात्रा देखाइयो। नाकाबन्दीका कारण आजैदेखि सरकारले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्‍यो। अर्थात् जोर गते जोर अङ्क भएको नम्बर प्लेटले चलाउन पाउने, बिजोर गते बिजोर नम्बर प्लेटवालाले। विदा र जोरबिजोर प्रणालीका कारण सडक खाली खाली देखियो। साँझ गाडी चढ्नका लागि बस्नेहरुको घुइँचो देखियो।

परराष्ट्र मन्त्रालयले नाकाबन्दी गरिएको र विभिन्न नाकाको स्थितिबारे यस्तो प्रेस विज्ञप्ति सार्वजनिक गर्‍यो।

तराई बन्दका कारण जिल्ला जिल्लामा परेको असर बारे कान्तिपुरले विभिन्न ब्युरोबाट यस्तो समाचार तयार पार्‍यो।

नाकाबन्दी खुकुलो हुनुको साटो अझ कडा पारियो। सुनौली–भैरहवा नाका हुँदै भारतबाट हुने आयातलाई अझ कडाइ गर्दै असहज बनाइयो।

वार्ताको वातावरण : वार्ताका लागि अब कांग्रेसी नेता घर घर धाउन थालेका छन् तर औपचारिक वार्ता हुन सकेको छैन। वार्ता कसले गर्ने भन्ने पनि कन्फ्युज देखियो। कांग्रेस नेताहरु रामचन्द्र पौडेल, नेता आनन्दप्रसाद ढुंगाना र वनमन्त्री महेश आचार्य तमलोपा अध्यक्ष महन्थ ठाकुरको घरमै गएर कुरा गरे।

आन्दोलनको वातावरण उता अझ कडा आन्दोलनको वातावरण पनि बनाइँदैछ। शनिबार राजधानीमा थरुहट/थारुवान आन्दोलनका नेता र मधेशी मोर्चा अन्तरगत सद्भावनाका अध्यक्ष राजेन्द्र महतो लगायतबीच भएको सहमतिपछि आजबाट थरुहट/थारुवान र मधेश आन्दोलन कार्यगत रुपमा एक भई सँगसँगै जाने थरुहट/थारुवान आन्दोलनका अगुवा राजकुमार लेखीले बताए। संयोगको कुरा के भने अघिल्लो संविधानसभामा मधेसी र थारु एक अर्काको विरोधमा थिए। थारुलाई मधेसी आन्दोलन निस्क्रिय पार्न उचालेको बताइन्थ्यो।

साँढेको जुधाई बाच्छाको मिचाई : दंगाग्रस्त क्षेत्रको उलंघन गर्दै प्रदर्शनकारीहरुले आइतबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको भारदह खण्डमा सयौं सवारी साधनमा ढुंगामुढा गरि तोडफोड गरे। प्रर्दशनकारीहरुले हानेको ढुंगामुढाबाट बसमा सवार तीन दर्जनभन्दा बढी यात्रुहरु घाइते भए।

बाबुराम बिना एमाओवादी बैठक बाबुराम भट्टराईको राजीनामापछि बसेको एमाओवादीको बैठकले भट्टराईको पार्टी परित्याग गर्ने निर्णयलाई अनुपयुक्त, असान्दर्भिक एवं गलत भन्दै उसले निर्णयमा पुनर्विचार गर्न आग्रह गर्‍यो।

उत्तरको आशा दक्षिणी छिमेकीले नाकाबन्दी गर्दा नेपालीहरु उत्तरप्रति धेरै आशा गर्न थालेका छन्। उत्तरी नाकाको रसुवागढी खोल्ने समाचारमा धेरैको चासो रह्यो। नेपालतर्फको पहिरो हटिसकेको र चीनतर्फको तीन दिनभित्र हट्ने यसमा भनिएको छ। यो नाका खुल्यो भने १५० किलोमिटरको दूरीमा नै काठमाडौँमा सामान ल्याउन सकिन्छ।

हाम्रो पनि नाकाबन्दी : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले भारतले गरेको नाकाबन्दी विरुद्ध भारतीय नम्बरप्लेटका गाडीलाई नेपालमा गुड्न रोक लगाउने, भारतीय फिल्म चल्न रोक लगाउने, भारतीय टिभी च्यानल र भारतीय विज्ञापनमा रोक लगाउने कार्यक्रम पत्रकार सम्मेलन गरी सार्वजनिक गर्‍यो।

नेपालीहरुको फेसबुक आक्रोश भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फेसबुक हेडक्वार्टरमा फेसबुक संस्थापक मार्क जुकरबर्गसँग गरेको क्यु एन्ड एमा नेपालीहरुले नाकाबन्दीबारे प्रशस्तै प्रश्न सोधेका थिए। तर ती प्रश्न सोधिन्छ भन्ने आशा राख्नु नै गलत थियो। सोसल मिडियाले के सही छ के गलत छ भन्ने कुरा तत्काल थाहा पाइन्छ भनेर मोदीले भनेकै कुराबाट चित्त बुझाउन बाध्य भए प्रश्न सोध्नेहरु।

ओली विचार भावी प्रधानमन्त्रीका रुपमा हेरिएका एमाले अध्यक्ष केपी ओलीले याक एन्ड यतिमा उद्योगी व्यवसायीसित कुरा गर्दै नाकाबन्दीको विरुद्धमा बोल्दा विभिन्न प्रश्न उठाइएको, नाकाबन्दी गर्नु त भएन नि भनेर टिप्पणी समेत गर्न नहुने’ अवस्था सिर्जना भएको, जाबो नाकाबन्दी लगाएको, ग्याँस बाल्न नदिएको, गाडी चल्न नदिएको, भातै खान नदिएको कुरा सम्म पनि गाँइगुँइ गर्ने? हामीलाई त त्यसो पो भने त भने।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme