Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चीनको स्वागत, भारतको चेतावनी, सरकारको सभा, मधेसमा तनाव : पढ्नुस् असोज ४ का प्रमुख घटना

Posted on September 21, 2015September 22, 2015 by Salokya

२०७२ असोज ४, सोमबार

93 - 3mj9SZ9 संविधान जारी भएको भोलिपल्ट सरकारको आयोजनामा टुँडिखेल सैनिक मञ्चमा प्रमुख तीन दलहरुले सभाको आयोजना गरे। विभिन्न ठाउँबाट र्‍याली निकाल्दै सैनिक मञ्च अगाडिपट्टी बनाइएको मञ्चमा शीर्ष नेताहरु बसेका थिए। नयाँ संविधानको स्वागत सभा भए पनि मान्छे त्यति धेरै थिएनन्। कार्यक्रममा प्रचण्डले हामी भारतको यसम्यान हुन चाहँदैनौँ भनेर कडा अभिव्यक्ति दिए। सोमबार के के भए त अरु प्रमुख घटना?

भारतको चेतावनी : तर भारतले पनि यसको जवाफ २४ घण्टामा दोस्रो विज्ञप्ति निकालेर दियो। जसमा आन्दोलन जारी रहे सामान पठाउन सकिँदैन भन्दै अप्रत्यक्ष रुपमा नाकाबन्दीको चेतावनी दिइएको छ। चीनले भने संविधान जारी गरेकोमा नेपाललाई बधाई दियो।

प्रेस सल्लाहकारको राजीनामा : प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रतीक प्रधानको राजीनामा पनि भारतसँगै जोडियो। प्रधानले रिपब्लिकामा भारतको हस्तक्षेपको आलोचना गर्दै लेख लेखेका थिए। प्रतीक प्रधानलाई उद्‍धृत गर्दै किशोर श्रेष्ठले फेसबुकमा लेखे,’भारतीय बिदेशसचिव एस.जयशंकरले शुक्रवार हाम्रा प्रधानमन्त्री सुशील कोइरालासंगको भेटमा दुईचोटि गुनासो पोखेका रहेछन्-‘तपाइँको प्रेस सल्लाहकारले हाम्रो आलोचना गरेर किन लेख्छन् ?’ त्यसो भन्नुअगाडि प्रतिक बैठक कक्षमा पस्दै गर्दा राजदूत रन्जित रेले सचिवलाई ऊ यही हो,आयो आयो भनी चिनाएछन्।’ तर भारतको दबाब अस्वीकार गर्दै संविधान त जारी गरेका प्रमले आफ्नै सल्लाहकारलाई राजीनामा गर्न लगाए होलान् त वा राजीनाामा आए पनि स्वीकृत गरे होलान् त? प्रश्न खुला रह्यो।

प्रचण्डको चिन्ता : आजै प्रचण्डले बिबिसीसँग कुरा गर्दै आफ्नो सुरक्षामा खतरा बढेकोले केही दिनदेखि आवश्यक ठाउँमा मात्र गइरहेको र संविधान जारी भएपछि अब म मरे पनि फरक पर्दैन, गणतन्त्र संस्थागत भयो, नेपाल अघि बढ्छ भनेको सुनाए। उनले भारतसित जोडेर यस्तो चिन्ता पोखे- मोदीका दूत निकै नै कडा रुपमा प्रस्तुत हुनुभएको थियो। कडा भनेको तपाईँहरुले सबैलाई समेटेर संविधान घोषणा गर्नुभएन भने हामी समर्थन गर्दैनौँ, गर्न सक्दैनौँ, हामीले समर्थन नगरेपछि अरु दुनियाले गरेर अर्थ हुँदैन। मैले के भनेँ भने, तपाईँले गम्भीर कुरा भन्नुभयो। यस्तो गम्भीर कुरा भन्न यात तपाईँ १५ दिन अगाडि आउनुपर्थ्यो या १५ दिन पछि आएर भन्नुपर्थ्यो। अहिले आएको समयचाहिँ त्यति मिलेको लागेन भनेर प्रष्ट भनेको थिएँ। मैले अरु प्रतिवाद धेरै गरिनँ। अब म अलिकित चिन्तित छु त्यहाँनेर। मैले नेपाली जनतालाई बडो गम्भीर र जिम्मेवारीपूर्वक भन्नुपर्छ भन्ने मलाई लाग्छ। अलिकति चिन्तित त्यहाँनेर छु म। अस्ति विदेश सचिव जयशंकर आउँदा, एउटा विषय, खुला बोर्डर भएको हुनाले भारतलाई अप्ठ्यारो छ। बोर्डरमा गतिविधि भयो, त्यहाँ हिंसा भयो, त्यहाँ गतिविधि भयो भने त्यसको असर युपी, बिहारमा पर्छ। त्यसकारण हामी, भारतले चासो लिनुपर्छ भनेर उहाँले अलि बढी त्यसमा फोकस गरिरहनुभयो- खुला बोर्डर खुला बोर्डर भनेर। मैले एउटा शब्द भनेको थिएँ। तपाईँले बोर्डरको कुरा अलि बढी त गर्नुभयो, त्यसको त एउटा कारण होला तर बोर्डर होइन ब्रोडर नेपालसँगको सम्बन्धलाई बढी हेर्नु उचित होल। वृहत नेपालको हित र वृहत नेपालको सम्बन्धलाई कसरी राम्रो बनाउने भन्ने कुराले दुबै देशको हितलाई त्यसले बढी प्रतिनिधित्व गर्ला भनेर पनि मैले भनेँ। त्यसो भएर पनि आज बिहान मात्र मैले थाहा पाएँ कि भारतीय राजदूत फेरि अपर्झट दिल्ली जाँदै हुनुहुन्छ रे भन्ने थाहा पाएपछि, तपाईँ दिल्ली जाँदै हुनुहुन्छ रे, म एकछिन तपाईँसँग कुरा गर्न चाहन्छु भनेपछि उहाँ यहाँ आउनुभयो। मैले भनेँ कि ‘अब मधेसमा जो समस्या भएको छ, हामी वार्तामा ल्याउन तयार छौँ। तर त्यसमा भारतले पनि सद्भाव राख्दिन पर्‍यो। यो मेरो कुरा मोदीजीलाई पनि, किनभने मोदीजीले बोलाएर उहाँ जाँदै हुनुहुन्छ भने, प्रधानमन्त्री मोदीलाई पनि मेरो यो भनाई छ, अब वार्ताद्वारा मधेसको र थारुको या तराईको समस्या समाधान गर्न केन्द्रित हुने अब छिटोभन्दा छिटो भनेँ मैले।

तराई/मधेसमा तनाव : संविधान जलाउन गाउँगाउँबाट भेलाभएका आन्दोलनकारी र प्रहरीबीच रौतहटको गरुडा बजारमा भएको झडपमा गोली लागी ६ घाइते भएपछि त्यहाँ कर्फ्यु लगाइयो। कलैयामा काँग्रेस सभासद राधेचन्द्र यादवको कलैयास्थित घरमा तोडफोड गर्दै घरका फर्निचर, टिभीलगायतका सामान घर बाहिर झिकेर सडकमा आगजनी गरियो। काँग्रेसका अर्का सभासद लालबाबु सिंहको घरमा आगजनी र तोडफोड। कलैयास्थित एमाले र काँग्रेस पार्टी कार्यालयमा पटकपटक तोडफोड र आगजनी प्रयास गरेपछि प्रहरीले हवाइ फायर गरे। प्रहरीले फायरिङ र लखेट्दै गर्दा भागदौडमा कम्तीमा १० जना प्रदर्शनकारी घाइते भए। एमाले सभासद कमलादेवी महतोको सदरमुकाम मलंगवा स्थित घरमा सोमवार आगजनी भएपछि प्रहरीले भिड तितर वितर पार्न गोली चलायो। गोली लागेर पूर्व मन्त्री एवं फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष रामेश्वर रायका छोरा बिक्रम राय गम्भीर घाइते भए। विराटनगरको महावीर चोकमा भएकाे झडपमा तीन जनालाई गोली लाग्यो। मुलुककै १० औं ठूलो भन्सार नाका कृष्णनगर भन्सार कार्यालयमा मधेस बन्दका कारण आयात निर्यात ठप्प भएर भदौमा राजस्व संकलन शून्य भयो।तमलोपा अध्यक्ष महन्थ ठाकुरले सरकार र तीन दलले वार्ताको अध्याय समाप्त गरेको बताए।

3 thoughts on “चीनको स्वागत, भारतको चेतावनी, सरकारको सभा, मधेसमा तनाव : पढ्नुस् असोज ४ का प्रमुख घटना”

  1. Roshan says:
    September 22, 2015 at 7:20 pm

    केहि फरक पर्दैन !!!! हामी ले धेरै सिकिन्छ आफ्नो देश प्रति ‘ गाडी छाडी cycle च्लैंचा. सब लगानी hydro power लगैञ्च अर्को ५ वर्ष मल फ्री electricity Country बनैञ्च!!!!! हाल lai समान made in china use गरिन्छ पछि सब made इन नेपाल तर यो देश मा made इन इंडिया चैं BIG NO “

    Reply
  2. Govind Prasad Subedi says:
    September 22, 2015 at 4:06 pm

    My people, My Madesh, My Terai, My problem, My Nepal, My Constitution, My Pride…

    you….

    #backoffindia

    Reply
  3. bman says:
    September 22, 2015 at 2:11 pm

    don’t get excited boys
    the real task begins now

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme