संविधान जारी हुने दिनको पूर्वसन्ध्यामा शनिबार असन्तुष्ट तराई/मधेसका दलहरु वा कम्तिमा लामो समयसम्म सँगै रहेका विजयकुमार गच्छदारलाई समेट्ने गरी केही सम्बोधन हुने आशामाथि तुषारापात गर्यो प्रमुख तीन दलले जारी गरेको वक्तव्यले। यो तीन पेजको वक्तव्यमा आन्दोलनरत तराई/मधेस/थारु शब्द एक ठाउँमा पनि लेखिएको छैन। एउटा शब्दसमेत लेख्न कञ्जुस्याइँ गर्नेले कसरी चाहिँ असन्तुष्टिलाई सम्बोधन गर्ने होलान्! त्यही भएर त अरुको त कुरै छाडौँ, हस्ताक्षर गर्न शुक्रबारै तम्तयार भएर बसेका गच्छदार पनि हस्ताक्षर पनि नगर्ने, वार्ता पनि नगर्ने निर्णय गर्न पुगे।
सुशील कोइराला, केपी ओली र प्रचण्डको हस्ताक्षर भएको वक्तव्य ४० नाघिसकेको मृत्यु शृङ्खलालाई कुनै पनि सम्बोधन गरिएको छैन। बेथरीमा सुरक्षाकर्मीले गोली चलाउँदा मारिने बालकसहित चार जना सबै आन्दोलनकारी हैनन्, हाट बजार भर्न आएका सर्वसाधारण हुन् भनेर त जिल्ला सुरक्षा समितिको बैठकमा नै स्वीकार भइसकेछ। अरु पनि धेरै मारिएका छन्। उनीहरुलाई सम्बोधन नगरी, घाइतेलाई शीघ्र स्वास्थ्य लाभको कामना पनि नगरी उत्सव मनाउन शीर्षक नै उत्सव मनाउन आह्वान भनेर राखेपछि असन्तुष्टलाई कसरी चित्त बुझाउन सकिन्छ। ती निर्दोष मारिएकाहरुले कसरी उत्सव मनाउने? मृत्यु उत्सव मनाउने? एक महिनाभन्दा बढी समयदेखि बन्दले पिरोलिएकाहरुले कसरी उत्सव मनाउने?
हो, प्राप्त उपलब्धिलाई संस्थागत गर्दै लानु पर्छ। त्यो कदममा यो संविधान जारी हुनु महत्वपूर्ण विषय हो। तर संघीयताको सिमाङ्कनका विषयमा थारुहरुलाई चित्त बुझाउने गरी एक दुई शब्द राखिदिँदैमा के बिग्रन्थ्यो, यदि त्यही शब्दले प्रक्रियाबाट कोही नछुट्ने हुन् भने?
एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष भीम रावल, कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलाले ‘मधेस र थरुहट’ शब्द राख्न नहुने अडान लिएको, ‘मधेस/थरुहटलगायत देशका विभिन्न भागमा उठेका सीमांकन विवाद’ भन्ने शब्दावली राखौं भन्दा पनि नमानेकोर जहाँ समस्या छ, कम्तीमा त्यसलाई सम्बोधन गरौं भन्दा पनि नस्वीकारेर हुन हुन आँटेको सहमतिबाट पछि हटेको मार्मिक समाचार कान्तिपुरमा आएको छ। यसले संभव र हुनै आँटेको सहमति पनि केही नेताको स्वार्थका कारण भाँडिएको देखिन्छ।
त्यही अनुसार यो वक्तव्य आयो, जुन वक्तव्यका लागि वक्तव्य हुने निश्चित भयो। यसले कुनै समाधान भने गर्नेछैन।
हेर्नुस् वक्तव्य-
यी ३ दलका नेताहरुले गरेका अरु कुरा त राम्रै लाग्यो , तर तराइ मधेश मा बस्ने नेपालीको लागि अलिकति पनि नसोचेको र विजय गच्छेदारको सानो “तराइ- मधेश ” शब्द राख्ने प्रस्ताव पनि नमानेकोले मलाई पनि अलि चित्त बुझेन | किन यी नेता हरुले मधेश मा बस्ने नेपालि हरुको सानो माग ( सबै मागहरु जायज छैनन् र ति पुरा गर्न पनि सम्भव छैन , र गर्नु पनि हुदैन) पनि सम्बोधन नगरेका होलान ? यसबाट थाहा भयो कि ति नेताहरुमा तराईमा बस्ने नेपालीहरूलाई हेर्ने दृष्टिकोण कस्तो रहेछ भनेर | कस्तो अहम भावना रहेछ भनेर | म आफु पहाडी भए पनि मेरो तराई मा बस्ने नेपालि प्रति यस कुरामा सहानूभूति छ | मलाइ पहाडी भएकोमा पनि अलि लज्जाबोध भै