Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तीजको दिन संविधान पारित, बेथरीमा मारिने सबै सर्वसाधारण भएको खुल्यो, घरैमा बसेकालाई गोली

Posted on September 16, 2015September 19, 2015 by Salokya

२०७२ भदौ ३० गते बुधबार

तीजको दिन महिलाहरु रातो सारीमा नाचगान गर्दै पर्व मनाउँदै थिए। उता संविधानसभामा धाराहरु ध्वनिमतले पारित गर्ने क्रम जारी थियो। संविधानसभा अध्यक्ष सुवास नेम्वाड्डले हिजो बढाएको गति देख्दा आजै सकिन्छ कि भन्ने अनुमान थियो। तर निश्चित कसैलाई थिएन। धारा ३०२ वटा थियो। तर १७७ धाराबाट सुरु गर्नुपर्ने थियो। एकछिन विश्राम लिँदा संविधानसभा भवनको अर्कै हलमा तीजको गीतमा नाचे सभासद्हरु। सबै धारा सकिएपछि प्रस्तावना पनि बहुमतले पारित भयो। त्यसपछि असोज ३ गतेदेखि संविधान प्रारम्भ हुने धारा ३०१ पारित गरियो। यति गर्दा राति ७ बजिसकेको थियो।

त्यसपछि संविधानसभा आधा घण्टाका लागि स्थगित गरेर फेरि सुरु हुँदा सिङ्गो विधेयक दुई तिहाई बहुमतले पारित गर्न मत विभाजन गरियो। राप्रपा नेपालमात्रै विपक्षमा मतदान गर्ने स्थानमा गए। अरु सबै सभासद् पक्षमा मतदान गर्न गए। पास हुने निश्चित थियो। त्यसैले सभासद्हरु एकापसमा बधाई साट्दै थिए। फोटो खिच्दै थिए। २४ घण्टाभित्र देश टुक्रने अभिव्यक्ति दिएपछिका खराब दिनका कारण बाबुराम एक्लिएका थिए। प्रचण्ड आकर्षणका केन्द्र बनेका थिए।

संविधान सभा अध्यक्ष सुवास नेम्वाङ पनि दङ्ग छन्। pic.twitter.com/xAdCwKCVfW

— PahiloPost (@PahiloPost) September 16, 2015

संविधानको परिमार्जित विधेयकमाथि मतदान गरिसकेपछि खुसी साट्दै शीर्ष नेता र सभासद्हरु pic.twitter.com/vdapaLVxpv

— PahiloPost (@PahiloPost) September 16, 2015

राति ९ बज्नु केही अघि मात्रै घोषणा भयो परिणाम- पक्षमा ५०७ मत। विपक्षमा २५ मत। संविधान पारित भएको घोषणासँगै लामो समय ताली बज्यो।

बाबुरामकै नेतृत्वको आनुसंगिक समितिलाई एक चोटी रुजु गरी धारा क्रम संख्या मिलाउन र नगरी नहुने सुधारका लागि सिफारिश गर्न समिति बन्यो। समितिले भोलिपल्ट ३ बजेसम्म प्रतिवेदन दिनुपर्ने र त्यसका आधारमा सभाध्यक्ष नेम्वाङले मिलाएर पाँच प्रति नेपाली कागजमा छापी शुक्रबार बिहान ९ बजेदेखि ३ बजेसम्म सभासद्हरुले हस्ताक्षर गर्ने र त्यही दिन उनले प्रमाणिकरण गर्ने तय भयो।

संविधान पारित भएर बाहिरिँदै गर्दा प्रचण्डले यो चानचुने घटना नभएको भन्दै पारित संविधान धर्मशास्त्र नभएकोले वार्ता र सहमतिबाट संविधान संशोधन गरी माग पूरा गर्न सकिने बताए। प्रधानमन्त्री कोइरालाले दीपावली गर्न आह्वान गरे। झलनाथ खनालले जिन्दगीकै खुसीको दिन भएको बताए। ओलीले अन्यौललाई चिरेर संविधान पारित गर्न सफल भएको बताए।

रुपन्देहीमा निहत्था र निर्दोष सर्वसाधारण मारिएको पुष्टि
यता संविधान पारित हुँदाको खुसी मनाइँदै गर्दा उता रुपन्देहीबाट दुःखद खबर आयो। भदौ २९ गते सशस्त्र प्रहरीले चलाएको गोलीबाट मारिने र घाइते हुनेहरु सबै साप्ताहिक हाटबजारमा किनमेलका लागि आएका सर्वसाधारण रहेको जिल्ला सुरक्षा समितिको भदौ ३० गते बेलुका बसेको बैठकले निश्कर्ष निकाल्यो। एमाले निकट मानवअधिकारवादी संस्था इन्सेकले समेत विज्ञप्ति निकालेर घटनामा आन्दोलनमा सामेल नभएका सर्वसाधारण परेको भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गर्‍यो। घटनामा गोनाहा गाविस ६ का ४ वर्षीय चन्दनकुमार पटेल र सिलौटिया गाविसकी १४ वर्षीया रञ्जना सिंह क्षेत्रीलाई घरमै बसेको बेला गोली लागेको थियो। मारिने अन्य दुईमा ४० वर्षका रामकुमार बरई र ४५ वर्षका विनोद लाकौल हुन्।

नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने मागसहित टुँडिखेलमा आमरण अनसन बसेका राष्ट्रिय हिन्दु युवा मञ्चका चार जनाले अनसन तोडे। उनीहरुको अनसन तोडाउन जाँदा महिलाले कानुन मन्त्री नरहरि आचार्यलाई खेदे भन्ने समाचार टेलिभिजनहरुमा फ्ल्यास न्युजमा दिइएको थियो। तर त्यस्तो कुनै घटना भएको समाचार अरुमा आएन।

बारा प्रहरीले तमलोपा सहमहामन्त्री जितेन्द्र सोनल र जिल्ला अध्यक्ष नवलकिशोर सिंहलाई सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्दा लगायो।

महोत्तरीमा एक सातादेखिको कर्फ्यु आज बिहान ६ बजेदेखि ४ बजेसम्म खुल्ला गरियो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme