Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राष्ट्रपतिलाई निम्तो, संविधानसभाको दाम्लो र बाल दिवसमा बालकलाई गोली : मंगलबारका प्रमुख घटना

Posted on September 16, 2015 by Salokya

२०७२ भदौ २९ गते मंगलबार
मंगलबारको दिन शितल निवासको गर्मीबाट सुरु भयो। हिजो समय नपाएका सभामुख र समय दिए पनि भेट्न नगएका प्रधानमन्त्री दुवैले शितल निवासमा राष्ट्रपतिलाई भेटे। राष्ट्रपतिलाई भेटेर फर्कँदा प्रधानमन्त्रीको मूड खराब थियो। के के कुरा भयो सबै बताउनु पर्छ र भनेर झर्किएछन् पत्रकारहरुसँग। सभामुख सुवास नेम्वाङले भने आफूले असोज ३ मा संविधान सार्वजनिक गर्ने कार्यक्रमको निम्तो दिएको र उपस्थित हुनुहुने विश्वास गरेको बताए। निम्तो लिएर राष्ट्रपतिले यसबारे औपचारिक जवाफ पछि पठाउँछु भनेका रहेछन्।
12033456_10203457300952195_2107195196_n
त्यसपछि संविधानसभाले औपचारिक प्रस्ताव नै पास गरी असोज ३ मा संविधान जारी गर्ने मिति घोषणा गर्‍यो। खासमा यो सार्वभौम संविधानसभाले राष्ट्रपतिलाई लगाएको दाम्लो थियो। राष्ट्रपतिले के गर्छन् यसपछि हेर्न बाँकी छ।

भैरहवाबाट आयो नराम्रो खबर

साँझ भैरहवाबाट नराम्रो खबर आयो। रुपन्देहीको भैरहवा–लुम्बिनी करिडोरबाट सामान लादिएका ट्रकलाई सुरक्षा दिई लगिँदै गरेका अवस्थामा प्रहरी र बन्दकर्ता मधेसी मोर्चाबीच आज भएको झडपमा प्रहरीको गोली लागेर चार वर्षका बालक चन्दनकुमार पटेलले प्रहरीको गोली खाएर ज्यान गुमाए। अरु चार जना पनि सिकिस्त परेका छन्। मृत्यु हुनेको संख्या त्यसैले बढ्न सक्छ। केही दिन तराई मधेसमा मान्छेको ज्यान गएको थिएन। फेरि सुरु भयो।

जनकपुरमा कर्फ्यु र दंगाग्रस्त क्षेत्र हटाएर शवयात्रा

जनकपुरमा भदौ २५ गते मारिएका निकु चौधरी, सञ्जय चौधरी र दीलिप यादवको अन्त्येष्टि शवयात्रासहित गर्ने क्रममा स्थानीय प्रशासनले त्यहाँ केही दिनदेखि लगाउँदै आएको कर्फ्यु र दङ्गाग्रस्त क्षेत्र आज बिहान बसेको सुरक्षा समितिको बैठकले ९ बजेदेखि हटायो। ठूलो संख्यामा शवयात्रामा सर्वसाधारण सहभागी भए।

ओलीका विशेष दूत गए भारत आशीर्वाद लिन

संविधान जारी भएको सात दिनभित्र नयाँ प्रधानमन्त्री चुन्नुपर्ने प्रावधान छ। नयाँ प्रधानमन्त्रीका लागि आशीर्वाद लिन भावी प्रधानमन्त्रीका रुपमा लिइएका केपी ओलीका विशेष दूत बनेर युवराज ज्ञवाली भारत गएका छन्। उनी असोज १ गते फर्कने रे। अरु बेला भए सुटुक्क जाने नेताहरुले यसपालि भने पार्टी कार्यालयबाट वक्तव्य नै निकालेर यसबारे जानकारी दिए-
EutUyMQ

सरकारलाई सर्वोच्चको आदेश

सर्वोच्च अदालतले देशका विभिन्न भागमा भइरहेको आन्दोलनका क्रममा सुरक्षाकर्मीले घातक हतियारको प्रयोग गरेको भए त्यसलाई रोक्न अन्तरिम आदेश दिएको छ। आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट घातक अश्रुग्यास र कानुनविपरीत आन्दोलनकारीको घुँडाभन्दा माथि गोली प्रहार गरिएको जनाई यही भदौ १७ गते पर्सा वीरगन्जकी विस्मिलाह खातुनको वारेस भई रक्षाराम हरिजनले दिएको निवेदनमाथि आज न्यायाधीश वैजनाथ उपाध्याय र दीपकराज जोशीको संयुक्त इजलासले कानुनको अधीनमा रही बल प्रयोग गर्न आदेश दिएको हो ।

दिनभर संविधानको चटारो, साँझको संसदको बैठकमा सभासद् गयल

दिनभर संविधानसभामा संविधानसभाको धारा पास गरेर साँझ बसेको व्यवस्थापिका–संसद्को आजको बैठकमा सभासद्हरु गयल भएपछि ‘भूकम्प प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी विधेयक, २०७२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न सकिएन। प्रधानमन्त्रीका तर्फबाट कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यले सो प्रस्ताव प्रस्तुत राखे। यसलाई निर्णयार्थ प्रस्तुत गर्दा एकीकृत नेकपा(माओवादी)का रामनारायण बिंडारीले निर्णयका लागि सदनमा आवश्यक सङ्ख्या (एक चौथाइ) नपुगेको भनी नियमापत्ति गरे। त्यसपछि सभामुख सुवास नेम्वाङले तीन मिनेट घन्टी बजाई गणना गर्दा आवश्यक सङ्ख्या पुगेन। संसद्मा कुनै पनि प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्न नेपालको अन्तरिम संविधान, २०६३ धारा ५३ बमोजिम सदनमा हाल कायम सङ्ख्याको एक चौथाइ अर्थात् १५१ हुनुपर्नेमा गणना यकिन गर्दा ८७ मात्र उपस्थित भएको पाइएकाले सो प्रस्ताव आगामी बैठकमा पेस गरिने जानकारी नेम्वाङले गराए।

  • जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी नगर क्षेत्रमा २२ दिनदेखि दिउँसोको समयमा लगाउँदै आएको निषेधाज्ञा तीजका अवसरमा बुधबार एक दिनका लागि हटाएको छ।
  • कैलालीकै टीकापुर बसपार्कमा भदौ २८ गते बेलुकी ८ बजे कर्फ्यु उल्लङ्घन गरेका दीपक विश्वकर्मा सुरक्षाकर्मीको गोलीबाट घाइते। उनको बायाँ कुहिनोमा गोली लागेको।
  • सेनाले पत्रपत्रिकामा सेना परिचालन भनी आएको समाचारको खण्डन गर्दै दङ्गाग्रस्त क्षेत्रमा स्थानीय प्रशासनको सहयोग गर्न खटिएको र आफ्नो
    जिम्मेवारी पूरा गरेर मात्र ब्यारेकमा फर्कने भन्दै विज्ञप्ति जारी गरेको छ।
  • प्रधानमन्त्रीले थरुहट तथा थारुवान संयुक्त संघर्ष समितिलाई वार्तामा आउन आह्वान गर्दै फेरि पत्र लेखेको छ।
  • झापाको कन्काई नगरपालिकामा राति राखेको बम निस्क्रिय पार्न कार्यालयतर्फ लैजाने क्रममा पडकँदा इलाका प्रहरी कार्यालय सुरुङ्गाका तीन प्रहरी घाइते।
  • तीज र विश्वकर्मा पूजालाई ध्यानमा राख्दै थारुहरुले दाङमा बन्दका कार्यक्रम फिर्ता लिए, बाँकेमा स्कूल बन्द गराए, उदयपुरमा आमहड्ताल तीन दिनका लागि स्थगन।
  • बारामा प्रहरीले तमलोपाका सहमहामन्त्री जितेन्द्र सोनलसहितका नेतालाई सवारी साधन तोडफोड र आगजनी गरेको आरोपमा पक्राउ।
  • जलेश्वरमा प्रहरीको गोली लागि मारिएका ६ जनाको सात दिनपछि सामूहिक शवयात्रा निकालियो।

2 thoughts on “राष्ट्रपतिलाई निम्तो, संविधानसभाको दाम्लो र बाल दिवसमा बालकलाई गोली : मंगलबारका प्रमुख घटना”

  1. बाउन ब्रो says:
    September 16, 2015 at 10:12 am

    जे जसरि र जुन उपाय ले भए पनि संबिधान जारि हुनु पर्छ ! तराइ मा बस्ने पहाडिया मूल का व्यक्ति को सम्बेदंसिलता लाइ बुझ्ने प्रयास गर्नु पर्छ पत्रकार हरु ले पनि ! थारु लाइ मधेशी बनाइनु हुदैन ! थारु देश टुक्राउने हरु बिरुद्द को सबै भन्दा बलियो राष्ट्रबादी समुह हो ! सुनसरी, सिरहा, महोत्तरी, जनकपुर र रौतहट का दक्षिनि भेग का केहि मधेशी भनिने हरु ले देश तुक्र्याउन खेलेको खेल लाइ थारु लगायत, दलित , मुसलमान आदि को सहयोग मा उनीहरु को पुर्ब देश मै स सम्मान फर्काइने ब्यबस्था गरिनु पर्दछ !

    Reply
  2. narendra baral says:
    September 16, 2015 at 9:21 am

    यसमा रास्ट्रपति राजा हु बन्न खोजेको भान देखिन्छ. “छोटो बढेपछि भारी फुर्ती बडाउछ”, भने को यही हो. “लोभ गरे लाप ला ले बिलाप” भनेको अब रामबरन यादब मा लागु हुने भो.

    विचार आफ्नो आफ्नो असहमत हुने अधिकार छ.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme